मान्छेको जिन्दगीलाई झनझन सजिलो पार्ने क्रममा प्रविधिले यात्रा वा भ्रमणको क्षेत्रमा पनि उल्लेख्य योगदान पुर्याएको छ । घुम्ने संस्कृति नै धेरै हदसम्म परिवर्तन भैसकेको छ प्रविधिको कारण । घुम्नको लागी उपयोगी अ्याप्स होस् वा वेबसाइट, तिनले हामीलाई निकै सजिलो पारेको धेरै भैसकेको छ ।
तर यो लेखमा चाहीँ हामी तपाईँलाई घुम्न जाँदा होस् वा कतै यात्रा गर्दा होस्, केही त्यस्ता स्मार्ट ग्याजेटहरुको चर्चा गर्दैछौँ जुन ज्यादै उपयोगी मात्रै हैन, धेरै हदसम्म आजकाल आवश्यक नै भैसकेको छ ।
यि ग्याजेटमध्ये कतिपय तपाईँलाई पहिल्यै थाहा भैसकेको पनि हुनसक्छ र कतिपयसँग अनभिज्ञ रहनुभएको पनि हुनसक्छ । जे होस्, यो लेखबाट तपाईँको यात्रा सहज बनाउने स्मार्ट ग्याजेटहरुको बारेमा महत्वपूर्ण जानकारी पाउनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।
स्मार्ट लगेज
स्मार्ट लगेजले यात्रा उद्योगमा क्रान्तिकारी परिवर्तन गरेको छ। तपाईंको यात्रा भरि खाँदाखाँद पारिएका झोलाहरूसँग संघर्ष गर्ने दिनहरू बितिसकेका छन् । अझ कहिलेकाहीँ त तपाईंको जाँच गरिएको झोला एयरलाइन कम्पनीले हराएको पनि होला।
तपाईले अब GPS प्रविधि प्रयोग गरेर तपाईको सुटकेस वास्तविक समयमा कहाँ छ भनेर ट्र्याक गर्न सक्नुहुन्छ।यदि तपाइँको झोला धेरै भारी छ भने, तपाइँले बढि पैसा तिर्नु पर्दैन किनकी यसमा थुप्रै टेक फिचरहरु सहित विभिन्न सुविधाहरु उपलब्ध छन्।
स्मार्ट लगेज उच्च-प्रविधिका सामग्रीहरु प्रयोग गरेर बनाइएको छ। यसमा बिल्ट-इन ब्याट्री पनि छ ताकि तपाईं आफ्नो अर्को उडानको प्रतीक्षा गर्दा आफ्नो डिभाइसहरू चार्ज गर्न सक्नुहुन्छ। यत्तिको लागी कतै होटेलमा बसिदिनुपर्ने वा रेस्टुरेन्टमा गएर खाइदिनुपर्ने बाध्यताको अन्त्य भएको छ । पावर ब्याङ्क पनि चाहिँदैन ।
पोर्टेबल पावर ब्याङ्क
हुन त युएसबी चार्जिङ पोर्ट सहितको स्मार्ट लगेजको चर्चा माथि नै गरिसकियो । स्मार्ट लगेज बोकिसकेपछि पोर्टेबल पावर ब्याङ्कको खासै आवश्यकता पर्दैन पनि । तर कहिलेकाहीँ लगेज नबोकिएको हुनसक्छ वा बोके पनि चार्ज गर्दै चलाउन मिल्दैन वा पावरब्याङ्क बोक्दै विभिन्न डिभाइसहरु चार्ज गर्न पर्यो भने यो अत्यावश्यक छ ।
कुनै भिडियो खिच्न पर्यो तर चार्ज छैन भने लगेजमा चार्ज गर्दै चलाउन मिल्दैन । भिडियो च्याट गर्दै चार्ज गर्न पर्यो, हिँड्दाहिँड्दै डिभाइसहरु प्रयोग गर्दै चार्ज गर्नुपर्यो वा यस्तै खालका सजिला कामहरुको लागी पोर्टेबल पावरब्याङ्क आवश्यक पर्छ । कहिलेकाहीँ लगेजकै पावर पनि सिध्दिएको हुनसक्छ, त्यो बेला पनि यो काम लाग्छ ।
नोइज-क्यान्सिलिङ हेडफोन
यात्रा गर्दा होहल्ला, कोलाहल र अनेक खालका अनावश्यक कर्कश ध्वनीहरु सुन्न कसैले पनि चाहँदैन, त्यो पनि धेरै लामो समयसम्म ।
चाहे तपाईँ काठमाण्डु जस्तै कोलाहलपूर्ण शहरमा जानुहोस् वा ट्रेनमा यात्रा गर्दा होस् वा मानिसहरुको घुइँचोमा जाँदा होस् वा लामो समयसम्म एयरपोर्टमा कुर्दा होस् वा अन्य विभिन्न अवस्थाहरुमा होस्, कर्कश ध्वनीले टाउको दुख्ने, आफ्नो काममा ध्यान दिन नसकिने, तनावबाट मुक्त हुन घुम्न जान लागेको बेलामा झन् तनाव थपिने लगायतका थुप्रै सम्स्याहरु निम्त्याउँछ ।
त्यसकारण यस्ता होहल्लाबाट मुक्त रहेर आफ्नै छुट्टै शान्त संसारमा रमाउनु छ भने तपाईँलाई नोइज-क्यान्सिलिङ हेडफोन जरुरी हुन्छ । यसले तपाईँको वरीपरी पैदा भैरहेका अधिकांश ध्वनीहरुलाई निमिट्यान्न पारेर तपाईँलाई आफ्नै मनको शान्तिमा चाहेजति समय डुबुल्की मार्न सघाउँछ ।
त्यस्तै यसको प्रयोगले तपाईँले गीतसङ्गीत सुन्न पनि सक्नुहुन्छ बाहिरका ध्वनीहरुलाई हटाएर । आखिर तपाईँ आफ्नो मनमौजी पारामा घुम्दै हुनुहुन्छ, किन ती कर्कश ध्वनीको आक्रमणमा पर्न चाहनुहुन्छ र!
युनिभर्सल ट्राभल एड्याप्टर
तपाईँ यदी विदेश घुम्न जाँदै हुनुहुन्छ भने पहिले कहिल्यै नदेखेका पावर सकेटहरु र आउटलेटहरु देख्नुहुन्छ किनकी देश अनुसार विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरु बिक्रि भैरहेका हुन्छन् । यस्तो बेलामा तपाईँलाई आफ्ना महत्वपूर्ण इलेक्ट्रोनिक्स डिभाइसहरु, जस्तै ल्यापटप, स्मार्टफोन, क्यामरा इत्यादी चार्ज नै गर्न नमिल्ने हुन्छ ।
यस्तो अप्ठ्यारो अवस्थामा तपाईँका डिभाइसहरुलाई मिल्ने खालका एड्याप्टरहरु खोजेर समय र पैसा दुबै खेर फाल्नुपर्ने बाध्यता तपाईँलाई आइलाग्छ । हो, यहीबेला तपाईँलाई युनिभर्सल ट्राभल एड्याप्टरको जरुरतको महसुस हुन्छ र यसमा पैसा खर्च गर्नु सस्तो पनि लाग्छ ।
युनिभर्सल ट्राभल एड्याप्टरमा जुनसुकै देशमा धेरै प्रयोग हुने अनेक खालका आउटलेटहरुको व्यवस्था गरिएको हुन्छ ताकी तपाईँका अनेक खालका डिभाइसहरु यसमा सजिलै म्याच भएर जुनसुकै बेलामा चार्ज गर्न सक्नुहुन्छ ।
पकेट साइजको पोर्टेबल वाइफाइ राउटर
इथरनेटको जमाना लगभग हराउन लागिसक्यो । तर अब वाइफाइमा पनि घरभित्रै सीमित हुने राउटर हैन, पकेट साइजको वाइफाइ राउटरको विकास भैसकेको छ यद्यपी यो बहुप्रचलित भैसकेको चाहीँ छैन, हुने चाहीँ पक्का छ । यो क्षेत्रमा पनि ५०औँ अर्ब डलर खर्च भैरहेको छ ।
यो पकेट साइजको पोर्टेबल वाइफाइ राउटरको मद्दतले तपाईँ जहाँसुकै गएपनि इन्टरनेटमा जोडिइरहन सक्नुहुन्छ । चाहेको बेलामा आफुले खिचेका भिडियो अपलोड गर्न, लाइभ आउन, परिवारसँग जोडिन लगायतका विभिन्न कामहरु यात्राको क्रममा आवश्यक पर्छन्, ती सबैको समाधान यसले गरिदिन्छ ।
अन्त्यमा,
हुन त माथि उल्लेख गरिएका स्मार्ट ग्याजेटहरु मात्रै नभइ अरु थुप्रै आवश्यक ग्याजेटहरु छन् जुन यात्राको क्रममा ज्यादै उपयोगी हुन्छन् । जस्तै ब्लुटुथ हेडफोन, अ्यान्टि-थेफ्ट ब्याकप्याक (anti-theft backpack), स्मार्ट ट्राभल लक, स्मार्ट वालेट, अ्याक्शन क्यामरा, स्मार्ट वाटर बोटल, स्टिम आइरन, पकेट साइज वाशिङ मशिन, पोर्टेबल वाइफाइ हटस्पट, ट्राभल ड्रोन, स्मार्ट वाच इत्यादी ।
व्यक्ति पिच्छे आफूलाई आवश्यक स्मार्ट ग्याजेटहरु फरक-फरक हुनसक्छ । तपाईँ पहिला आफूलाई के चाहिन्छ भन्ने कुराको बारेमा विचार गर्नुस् र त्यही अनुसारका ग्याजेटहरु किन्नुस् । प्राय:जसो प्रयोग भैरहने ग्याजेटहरु किन्नु उचित निर्णय हुन्छ ।