विकसित देशतिर फाइभजीको प्रयोग बढ्न थाले पनि नेपालमा यसको घोषणा मात्र भएको छ, कार्यान्वयनमा आइसकेको छैन । तर प्रविधि जगतमा सिक्सजीको चर्चा हुन थालेको केही वर्ष भैसकेको छ । पछिल्लो समयमा फेब्रुवरी २७ देखि मार्च २ सम्म चलेको मोबाइल वर्ल्ड कङ्ग्रेसमा फेरि पनि यसको बारेमा विमर्श भएपछि सिक्सजीले थप चर्चा पाएको हो ।
नेपालमा मात्र हैन, संसारभरि नै अहिले पनि फोरजीका प्रयोगकर्ताभन्दा थ्रीजीकै प्रयोगकर्ता धेरै होलान् वा समान होला । यस्तोमा फाइभजीको पूर्ण सदुपयोग र कार्यान्वयन नहुँदै सिक्सजीको चर्चा हुनुलाई धेरै हतारोको रूपमा कतिपयले लिए पनि रोचक भने छ ।
सिक्सजी कहिले आउला ?
सामान्यतया मोबाइल डेटामा एउटा पुस्ताबाट अर्को पुस्तामा पुग्न एक दशक लाग्ने गरेको छ । सन् १९७९ मा वानजी, १९९१ मा टुजी, २००१ मा थ्रीजी, २००९ मा फोरजी र २०१९ मा फाइभजी आएको थियो । यो मोटामोटी एक दशकमा गरिएको फड्कोलाई आधार मानेर धेरैले सन् २०३० को सुरूतिर सिक्सजी आइसक्ने अनुमान गरिएको छ ।
यो सिक्सजी चाहीँ संसारको कुन देश वा कुन कुनातिर चाँडै आउला भन्ने प्रश्न पनि धेरैको मनमा होला । फाइभजी सबैभन्दा पहिले दक्षिण कोरियाले लञ्च गरेको थियो । त्यसपछि अर्को एशियाली देश चीनले व्यापक प्रयोगमा ल्याएको थियो । यो पछिल्लो विकासक्रमलाई हेर्ने हो भने सिक्सजीको प्रयोगको सुरूवात पनि विकसित एशियाली देशमै होला भन्ने अनुमान गर्न सकिन्छ ।
एशियाली देशहरूले यसको परीक्षण, खोज र प्रयोगमा पश्चिमाहरूलाई उछिनेका छन् र कम्तीमा अर्को ५,७ वर्षसम्म यस्तै होला भन्ने अनुमान गर्न सकिन्छ । किन पनि भने यो क्षेत्रमा सबैभन्दा बढी टेलिकम कम्पनीहरू, फोन निर्माता कम्पनीहरु र जनसङ्ख्या भएकाले प्रयोग र प्रतिस्पर्धा पनि स्वभावत: बढी हुनेछ ।
यद्यपि सिक्सजीको प्रगति त्यति चाँडै होला भन्ने कुरामा साह्रै आशावादी पनि नभएको राम्रो किनकी फाइभजी जसरी ढिलो विकास हुँदैछ र यसको पहुँच व्यापक प्रयोगकर्तामाझ पुग्न अझै लामो समय लाग्नेछ, सिक्सजीको मामिलामा पनि त्यो लागु हुनेछ ।
सिक्सजीको फ्रिक्वेन्सी ब्याण्ड को बहसको सुरू नै भएको छैन । न त यसको स्पेक्ट्रम लाइसेन्स किन्ने कुरा, टावर कस्तो हुने र बनाउने, कस्तो नियम ल्याउने इत्यादी कुराहरूको । त्यसमाथि यसको चर्चा प्रविधि जगतमा केही वर्ष देखि हुँदै आए पनि निकै थोरै कम्पनीहरूले यसलाई गम्भीर रूपमा लिएका छन् किनकी फाइभजीकै समस्या र गर्नुपर्ने विकास बाँकी जो छ ।
सिक्सजीका सम्भावित फाइदाहरू
यो भनिरहनुपर्ने कुरा हैन कि फाइभजीमा जे-जे हुन्छन् , त्यो भन्दा कता हो कता धेरै प्रगति सिक्सजीमा हुनेछ । फाइभजीको माध्यममार्फत् निकै प्रभावशाली भिआर (भर्चुअल रियालिटी) र एआर (अगमेन्टेड रियालिटी) को प्रयोग गर्न पाइनेछ । स्मार्ट शहर, गाउँ र कृषि क्षेत्र जोडिनेछ । औँलामै एआइको प्रयोग गर्न पाइनेछ ।
त्यस्तै उद्योगधन्दामा रोबोटिक कामदारहरुको व्यापक प्रयोग हुनेछ । स्वचालित कारहरूका साथै गाडीहरूबीच सम्पर्क आदानप्रदान हुनेछ । र अन्य थुप्रै पहिले अकल्पनीय लाग्ने कुराहरूलाई वास्तविकतामा परिणत गरेको छ । सिक्सजीले यी सब कुराहरूलाई झनै सामान्य त बनाइदिनेछ नै, आजको थुप्रै कल्पना र सपनाहरूलाई साकार पनि पार्नेछ । जस्तै ईमर्सिभ एक्सपिरिएन्स (immersive experience) र होलोग्राम भिडियो कल इत्यादि।
फाइभजीलाई यति उत्कृष्ट मानिनुको कारण भनेको यसको न्युन ल्याटेन्सी (low latency) हो जुन मात्र ४ मिलि सेकेण्ड छ । सिक्सजीले यसलाई लगभग शून्यमा झार्ने अपेक्षा धेरैले गरेका छन् । त्यसकारण फिल्म हेर्ने र गेम खेल्ने अनुभव बिलकुलै अर्को स्तरको हुनेछ भने भिडीयो कल गर्दा अर्को मानिस आफ्नै सामुन्ने छ जस्तो अनुभव हुनेछ ।
सिक्सजी र फाइभजीका सम्भावित फरकहरू
हरेक पुस्तामा स्पीड र ल्याटेन्सीमै मूख्य फरक हुन्छ । सिक्सजीको स्पीड फाइभजीको भन्दा कम्तीमा तीन गुणा हुने ठानिएको छ । फाइभजीको भन्दा सिक्सजीको क्षमता न्युनतम ५० गुणादेखि अधिकतमा १०० गुणासम्म हुने अनुमान छ । साथै, फाइभजीले १ वर्ग किमिमा १० लाखवटा डिभाइस सपोर्ट गर्न सक्छ भने सिक्सजीले एक करोडसम्म गर्न सक्ने अपेक्षा छ ।
सामसुङ ईलेक्ट्रोनिक्सले परिक्षण गरेको सिक्सजीले फाइभजीको भन्दा ५० गुणा ज्यादा स्पीड समातेको थियो । यस अनुसार के अनुमान गरिएको छ भने फाइभजीको जसरी १ जिबिपिएस स्पीड छ, त्यसको भन्दा सयौँ गुणा धेरै अर्थात् सयौँ गिगाबाइट वा टेराबाइटमै समेत स्पीड हुन पनि सक्नेछ ।
फाइभजीले उच्च रेडियो फ्रिक्वेन्सीको प्रयोग गरेका कारण यसको उच्च ब्यान्डविथ भएको हो । रेडियो स्पेक्ट्रम जति धेरै प्रयोग गर्यो, त्यति नै धेरै डेटा धान्न सकिन्छ । यसर्थ सिक्सजीले यसअघिका सबै रेकर्ड तोडेर ३०० गिगाहर्ज वा टेराहर्जसम्म पनि फ्रिक्वेन्सी लेबल छुन सक्ने अनुमान गरिएको छ ।
के सिक्सजीको आवश्यकता छ ?
धेरै अघि जानु पर्दैन, दश वर्ष अगाडि मात्रै जाने हो भने पनि नेपालका विभिन्न इन्टरनेट प्रदायक कम्पनीहरूले १ एमबिपिएसको स्पीड दिन समेत धौधौ थियो र यो नै त्यतिबेला, कम्तिमा नेपालमा, सबैभन्दा धेरै थियो । तर अहिले व्यापक प्रयोगको विस्तार (जस्तै भिडीयो हेर्ने, गेम खेल्ने, भिडीयो कन्फेरेन्स इत्यादी) का कारण ५० एमबिपिएस समेत थोरै भएको छ ।
ठिक त्यस्तै कुरा फाइभजीमा पनि लागु हुन्छ । फोरजी नै धेरै मानिसहरूले चलाइनसकेको अहिलेको अवस्थामा फाइभजी कता हो कता धेरै स्पीड भएको प्रविधि मानिएको छ । तर जब यसको प्रयोग मानिसहरूले व्यापक क्षेत्रहरूमा बढाउँदै लान्छन् , तब यो पनि ज्यादै सुस्त (slow) मान्न थालिनेछ । प्रविधिको व्यापक विकासमा मानिसहरूले यसलाई आफ्नो बृहत्तर जिन्दगीमा समावेश गर्दै लाँदा जतिसुकै उच्च विकास पनि समयक्रममा निकै कम जस्तो लाग्छ । सिक्सजीको कुरा पनि त्यस्तै हो । फाइभजीको प्रयोगको केही वर्षपछि नै यो सिक्सजीको आवश्यकता संसारमा खट्किने पक्का छ ।