यस्तो छ वनप्लसको पहिलो ट्याबलेट: वनप्लस प्याड

OnePlus Pad

प्रविधि जगतमा वर्षौँदेखि प्रभावशाली एन्ड्रोइड फोनहरू बनाएर चर्चामा रहँदै आएको वनप्लस कम्पनीले अब ट्याबलेट पनि निकाल्ने घोषणा गरेको छ । योसँगै आइप्याड र सामसुङ ग्यालेक्सी ट्याबको लागी अर्को एउटा बलियो प्रतिस्पर्धी थपिएको छ । 

फेब्रुअरी ७ मा घोषणा गरिएको सो वनप्लसको रिलीज मिति ठ्याक्कै नतोकिए पनि अप्रिल महिनामा हुने अनुमान गरिएको छ । यसको मूल्य पनि तोकिएको छैन । 

तर तपाईँ यदी ट्याबलेट किन्ने बारे सोच्दै हुनुहुन्छ वा भैरहेको ट्याबलेट बेचेर अर्को किन्दै हुनुहुन्छ भने अर्को एकदुई महिना कुर्दा फाइदाजनक हुनसक्छ किनकी यो सस्तो र अन्य प्रतिस्पर्धीभन्दा राम्रो पनि हुन सक्छ । 

हामी यहाँ हामीले वनप्लस प्याडको बारेमा अहिलेसम्म थाहा पाएका कुराहरू तपाईँसमक्ष राख्दैछौँ । यद्यपी ध्यान दिनुपर्ने कुरा के भने यहाँ दिइएका सूचनाहरू सबै सत्य नहुन पनि सक्छन् ।

डिजाइन र डिस्प्ले

यो ११.६ इन्चको डिभाइस हुनेछ भने डिस्प्ले चाहीँ ७:५ को एस्पेक्ट रेशियोमा हुनेछ जुन हेर्दै वर्गाकार (square) जस्तो देखिन्छ । सामान्यतया ट्याबलेटहरू आयाताकार (rectangular) हुने भएकाले वनप्लस प्याड कस्तो देखिएला भन्ने जिज्ञासा छ तर कम्पनीको अनुसार यो प्रयोग गर्न झन् सजिलो छ । 

कम्पनीको अनुसार खुला किताब जस्तो देखिने गरी ल्याइने भएकाले यसमा पढ्न र काम गर्न धेरै नै सजिलो हुन्छ । यसको तीनवटा साइडतिरको कुना हल्का घुमाउरो हुन्छ भने एकापट्टि चाहीँ अलि चेप्टो हुनेछ । 

यसको डिस्प्लेले १० बिट कलर सपोर्ट गर्छ भने बढिमा ५०० निट ब्राइटनेश हुनेछ । सामसुङ र एप्पलका ट्याबलेटहरुमा १२० हर्जको रीफ्रेश रेट हुन्छ तर यो वनप्लस प्याडमा १४४ हुनेछ जसकारण चलाउन ज्यादै सजिलो हुनेछ । 

तर यो एउटै कलरमा मात्र उपलब्ध छ र त्यो कलर हल्का हरियो (halo green) हो। यसको मोटाई  २५८.०३ x १८९.४१ x ६.५४ mm छ भने वजन चाहीँ ५५२ ग्राम छ । त्यसको मतलब पक्कै पनि वनप्लस प्याड आइप्याड एयरभन्दा मोटो, फराकिलो र गह्रौँ हुनेछ । यसको डिस्प्ले रेजोलुशन चाहीँ २००० x २८०० पिक्शल हुन्छ ।

साथै यसमा आल्मुनियम फ्रेम हुनेछ र सिमकार्ड चाहीँ चल्दैन । 

ब्याट्री

१२.४ घण्टा टिक्ने यसको ब्याट्री ९५१० mAh छ । चार्ज सकिएपछि ६७W चार्जिङ ब्रिकमार्फत् तपाईँले ८० मिनेटमै फूल चार्ज गर्नसक्नहुन्छ जुन सामान्यतया अन्य कम्पनीका प्याडहरूमा सकिदैन ।

क्यामरा

यसको फ्रन्ट क्यामरा ८MP को हुन्छ भने रीयर क्यामराचाहीँ १३MP को हुन्छ । एप्पलमा सेन्टर स्टेजको फीचर जस्तै वनप्लस प्याडमा चाहीँ लाइमलाइट हुनेछ जसले तपाईँलाई फ्रेमभित्रै राखिरहन मद्दत गर्छ । 

एक्सेसरीज

ट्याबलेटमा वनप्लसले अलि फरक गर्न खोजेको छ। वनप्लस प्याडमा म्याग्नेटिक कीबोर्ड र “वनप्लस स्टाइलो” भनिने स्टाइलस हुनेछ, जसले एप्पल पेन्सिलको जस्तै काम गर्नेछ । 

पर्फमेन्स

यसले Dimensity 9000 चिप र १२ जिबि र्याम प्रयोग गरेको छ । यसमा दुइटा औँलाले स्वाइप गर्न मिल्ने भएकाले डुवल-एप मल्टिटास्किङको सुविधा दिइएको छ । भन्नाले एउटै स्क्रीनमा दुइटा भर्टिकल एपहरू मज्जाले चलाउन सकिन्छ । 

त्यस्तै अन्य ट्याबलेटहरू जस्तै फोनहरूसँग एकापसमा एपहरू साट्ने लगायतका interoperation हरू पनि यसमा गर्न मिल्छ । यसले Android, OxygenOS 13.1 को अपरेटिङ सिस्टम प्रयोग गरेको छ । यसको सिपियुचाहीँ Octa-core (1×3.05 GHz Cortex-X2 & 3×2.85 GHz Cortex-A710 & 4×1.80 GHz Cortex-A510) हुनेछ । 

जिपियु Mali-G710 MC10 को हुने भनिएको यो प्याडमा मेमोरी कार्डको लागी स्लट चाहीँ उपलब्ध छैन तर यसमा १२८ जिबिको इन्टर्नल स्टोरेज हुनेछ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.