एआइका सम्भावित खतराहरूको बारेमा यो क्षेत्रभित्रका र बाहिरका विज्ञहरूले अनेक खालका चेतावनी दिएको र दिँदै आएको पचासौँ वर्ष बितिसकेको छ । यस्ता खतराहरूलाई लिएर थुप्रै सायन्स-फिक्शन फिल्महरू बनेका छन् , उपन्यासहरू लेखिएका छन् , अभियानहरु चलाइएका छन् । त्यो क्रम आज पर्यन्त जारी छ ।
च्याटजिपिटि जस्तो एआइ बनाएको कम्पनी ओपनएआइकै सिईओले मात्रै चिन्ता व्यक्त गरेका छैनन् , एलन मस्क लगायता प्रविधि क्षेत्रका घगडान व्यक्तिहरूले समेत यसको नैतिकता, सुरक्षा र भविष्यलाई लिएर पटकपटक आफ्नो चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् ।
तपाईं जोन कार्पेन्टरले उहिल्यै बनाएको फिल्म टर्मिनेटर देखि लिएर पछिल्लो पटक बनेका अपग्रेड जस्ता फिल्महरू हेरेर पनि एआइका खतरा र यसको सम्भावित दुरूपयोगबारे धेरै थरी अनुमान लगाउन सक्नुहुन्छ भलै ती सायन्स फिक्शन फिल्म नै किन नहुन् र तिनले व्यक्त गरेका चिन्ता आजसम्म हामीमाझ देखिइसकेका छैनन् ।
एआइले आजसम्म मानवको स्थान ग्रहण गरिसकेको छैन । एआइमा नैतिकताको विकास पनि भैसकेको छैन । आजसम्म एआइले गर्न सकेको भनेको मशिन र मानव रोजगारहरुको विस्थापन मात्रै हो । तर यसले त्योभन्दा ज्यादा हानी गर्न सक्ने चिन्ताहरू हिजो पनि र आज पनि व्यक्त भैरहेका छन् ।
हुन त मानव समाजले जति-जति समस्याहरू सिर्जना भैरह्यो, त्यति-त्यति नयाँ-नयाँ समाधानका उपायहरुको पनि विकास गर्ने गरेका छन् । त्यसकारण यसले के-कस्ता समस्याहरू सिर्जना गर्छ र त्यसको असर कस्ता-कस्ता क्षेत्रहरूमा पर्छ भन्नेबारे हामीसँग ठोस जानकारी नभएसम्म ती उपायहरूको बारेमा अहिले नै निश्चयमा पुगिहाल्न पनि सकिदैन ।
माथि भनिए झैँ, जसरी मशिनले सयौँ वर्षदेखि मानिसको रोजगारलाई विस्थापन गरिदिएको छ तर लामो समयान्तरालमा झनै धेरै रोजगारहरू सिर्जना गर्ने र मानिसको जीवनस्तरलाई उकास्ने काम गर्दै आएको छ, एआइले पनि गर्ने त्यति नै हो ।
तर मशिनले भन्दा एआइले मानव रोजगारहरूलाई धेरै नै चाँडै, त्यो पनि धेरैभन्दा धेरैको, विस्थापित गर्ने हुँदा सबैभन्दा पहिला यसको मारमा को पर्छन् भन्ने चिन्ता समाजमा आम चासोको विषय बनेको छ । जस्तै च्याटजिपिटिका टेक्स्ट सम्बन्धी धेरै कामहरूबाट सबैभन्दा धेरै कन्टेन्ट राइटर र कपि राइटरहरू मारमा परेका छन् ।
एआइले मानव रोजगार विस्थापन गर्ने बाहेक अन्य थुप्रै समस्याहरू र खतराहरू निम्त्याइदिनेछ जसलाई सजिलै र चाँडै नै समाधान गर्नु धेरै गाह्रो पनि हुनसक्छ ।
सायन्स फिक्शन फिल्महरूमा देखाइने चिन्ताहरू र रोजगार विस्थापन जस्ता चिन्ताहरूलाई एकातिर छाडेर हामी यो लेखमा एआइले निकट भविष्यमै वास्तविक लाग्ने गरी कस्ता क्षेत्रमा कस्ता खतरा र समस्याहरू निम्त्याउन सक्छ भन्नेबारे हामी यो लेखमा केन्द्रित हुन्छौँ ।
एआइ के-केमा दुरूपयोग हुनसक्छ ?
च्याटजिपिटि प्रयोग गरेर ह्याकरहरूले आतङ्क मच्चाएको देखि लिएर डीप फेक (deep fake) फोटो र भिडियो बनाएर सामाजिक-राजनीतिक पक्षहरूमा नकारात्मक असर एआइले पारेका समाचारहरूबारे त तपाईं अवगत नै हुनुहुन्छ होला । हामी यहाँ बुँदागत रूपमा विभिन्न सम्भावनाबारे बताउँदैछौँ ।
१. स्वचालित हतियार
एआइको प्रयोग गरेर स्वचालित हतियारको विकास गर्ने सम्भावना छ । समस्या के भने यसले मान्छेको निरीक्षण बिना नै निर्णय लिने र काम गर्ने अधिकार पाउन सक्छ । त्यसले यस्ता स्वचालित हतियारको जिम्मेवारी र नैतिक परिणतिहरूको बारेमा प्रश्न खडा गर्न सक्छ ।
२. निगरानी
एआइलाई व्यापक जनताको निगरानी बढाउन र तिनलाई नियन्त्रणमा राख्नको लागि प्रयोग हुने सम्भावना छ । हुन त तानाशाही शासन भएका मुलुकहरूमा आधुनिक प्रविधिको प्रयोग गरेर निगरानी बढाएको दशकौँ भैसकेको छ तर एआइले त्यसलाई थप विकसित र जटिल बनाइदिन सक्छ
३. सिक्ने आक्रमणको वितरण
एआइ मूलत: आफ्नो ट्रेनिङ डेटामा भर पर्छ जसले विशेष ट्रेनिङबाट खास कामहरु गर्दछ । तर त्यस्तो खास काम गर्ने मोडलहरू ह्याक गरेर एआइले यस्ता आक्रमणहरू अन्य थुप्रै क्षेत्रमा निकै चाँडै फैलाइदिन सक्छन् । त्यसकारण सुरक्षा टिमहरूलाई यस्ता आक्रमणहरू पहिल्याउन र समाधान गर्न धेरै गाह्रो हुन सक्छ ।
४. दुष्प्रचार
एआइले हेर्दा साँच्चिकै जस्तो तर झुटो (डीपफेक) भिडियोहरू बनाउने, झुटो समाचार बनाइदिने, झुटो आवाजहरू सिर्जना गर्ने लगायतका थुप्रै खालका डिजिटल झुटहरूको बाढी नै ल्याइदिन सक्छ । यसले सर्वसाधारणको विचार नियन्त्रण गर्ने, सामाजिक-राजनीतिक-धार्मिक सवालहरूमा गम्भीर रूपमा दूरगामी असर पार्ने इत्यादी गर्छ ।
५. भेदभाव
एआइको ट्रेनिङ डेटा नै यदी भेदभावपूर्ण छ भने यसको निष्कर्ष पनि सोही अनुसारको हुन्छ र त्यही अनुसार यसले आफ्नो काम गर्छ । मिडियामा संवेदनशीलताको मामिलामा अहिले नै थुप्रै समस्याहरू आइसकेका छन् ।
६. वित्तीय ठगी
स्वचालित फिसिङ (phising) आक्रमणदेखि लिएर नक्कली परिचय बनाएर वित्तीय क्षेत्रमा व्यापक ठगी हुनसक्ने खतरा छ ।
७. अनलाइन प्रणालीमा नियन्त्रण
एआइको विकासको लागी इन्टरनेटको आवश्यकता हुन्छ किनकी यसले डेटाहरूबाट सिक्ने हो जुन मूलत: इन्टरनेटमै हुन्छ । ती डेटाहरूमा ह्याकरले दाँयाँबाँयाँ गरेभने एआइले पनि त्यही अनुसारका गलत निष्कर्षहरूमा पुग्ने खतरा हुन्छ जसकारण तिनीहरूमा व्यापक आक्रमणको खतरा हुन्छ ।
यदी डेटामा मात्रै हैन, यसको ट्रेनिङ प्रक्रियामै आक्रमण गरेर समाजलाई असर पार्ने खालको एआइ बनाइयो भने त झन त्यसको नकारात्मकता झनै संवेदनशील बनिदिन्छ ।
८. साइबर आक्रमण
कुनै प्रणालीको कमजोरी पत्ता लगाउने र सोही अनुसारको म्यालवेयर बनाउने खालको एआइ बनाइयो भने त्यसले निकै जटिल र परिष्कृत खालको साइबर आक्रमण निम्त्याउने जोखिम बढ्छ ।
९. स्वास्थ्यसेवा
विभिन्न स्वास्थ्य समस्या भएका मानिसहरूको लागि उपचार गर्ने एआइको विकास हुनसक्छ जुन राम्रो हो । तर समस्या के भने यदि यसलाई राम्ररी निगरानी गरिएन र ट्रेनिङ राम्रो भएन भने यसले गलत उपचार गरेर स्वास्थ्य बर्बाद पार्ने मात्रै हैन, ज्यान नै जान पनि सक्छ ।
अन्त्यमा,
हुन त माथि चर्चा गरिएका कति समस्याहरू अहिले नै देखिइसकेका छन् जसको समाधानको लागि विभिन्न उपायहरू अवलम्बन गरि पनि सकिएका छन् । कति समस्याहरू निकट भविष्यमै हामीले प्रत्यक्ष अनुभव गर्ने गरी नै देखा पर्ने नै छ ।
यस्ता समस्याहरू अर्थात् एआइको दुरूपयोग रोक्न र सकेसम्म सदुपयोग गरी मानव समाजलाई अझै उन्नत बनाउनको लागी यसमा विभिन्न नैतिक र कानुनी नियमहरूको परिपालनालाई बाध्यात्मक बनाउन सकिन्छ । साथै यसको आधारभूत संरचनालाई पारदर्शी बनाउँदै सुरक्षा र नियमनका उपायहरूलाई पनि उचित ध्यान पुर्याउनुपर्दछ ।