उहिल्यै टर्मिनेटर जस्ता फिल्महरूले एआइ र मानिसबीचको द्वन्दलाई मूख्य विषय बनाएर भविष्यको बारेका चिन्ताहरू व्यक्त गरेका थिए जुन आजकाल विस्तारै कतै यथार्थमा परिणत हुन थालेको त हैन भन्ने प्रश्न जन्मिएको छ किनकी पछिल्ला केही वर्षहरूमा ज्यादै शक्तिशाली एआइहरूको विकास जो भएको छ ।
सामाजिक सञ्जालमा एआइले गरेको राजको कुरा त पुरानो भैसक्यो, अब एआइको विकासले निकट भविष्यमै अरबौँको जागिर खाइदिने चिन्ता व्याप्त छ । जस्तै च्याटजिपिटिले लेखकिय काम गर्ने धेरैको जागिर अहिले नै खाइदिइसकेको छ ।
एआइले मानव सभ्यता नै निमिट्यान्न पार्ने सम्मका चिन्ताहरू हिजोदेखि आजसम्म विभिन्न क्षेत्रका विद्वानहरूले व्यक्त गर्ने गर्छन् । तर के एआइ मानिसभन्दा शक्तिशाली हुन्सक्छ ? के एआइ नैतिकवान हुनसक्छ ? एआइ र मानिसको निर्णय-प्रक्रियामा के फरक छ ? यी कुराहरूको बारेमा हामी यहाँ चर्चा गर्नेछौँ ।
साथै मान्छेले एआइलाई प्रयोग गरेर लिन सक्ने फाइदाहरू र एआइले ल्याउन सक्ने समस्याहरूलाई कम गर्ने कुराहरूमा पनि केही चर्चा गर्नेछौँ । एआइले विभिन्न क्षेत्रमा काम गर्दा यसको शुध्दता दरको प्रगति वा दुर्गतिको बारेमा पनि केही चर्चा गर्नेछौँ ।
एआइ र मानिसबीचको फरक
एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) को अर्थ नेपालीमा कृत्रिम बौध्दिकता हुन्छ । अचम्मको कुरा के भने प्राकृतिक मानिस यो कृत्रिम बौध्दिकतासँग डराएको छ यसले मानव सभ्यता नै नष्ट गरेर आफू यो धर्तीमा सबैभन्दा ठूलो शक्ति बनेर आउला भनेर ।
मानिसको दिमाग करोडौँ वर्ष लागेर बनेको छ । हामी मानिसहरू किराबाट उद्भव हुँदै बाँदरबाट मानिससम्म विकसित भएको प्रमाण चार्ल्स डार्विनले उहिल्यै प्रमाणित गरेका थिए । हुन त हाम्रो जीन र डिएनएहरूमा जथाभावी वा संयोगपूर्ण रूपान्तरण (random mutation) हुँदै अहिलेको मानिस बनेको हो भन्ने कुरा पनि छ ।
जे होस्, यो करोडौँ वर्षमा मानिसको दिमागले धेरै डेटाहरू यसमा हालेको छ र आफूलाई काम लाग्ने डेटामार्फत् निकै जटिल र अनिश्चित परिस्थितिहरूसँग पनि जुध्न सक्ने खुबी यसले विकास गरेको छ भलै सबैमा यसले सफलता नपाओस् ।
भन्न खोजेको के भन्दा मानिसको दिमागमा करोडौँ वर्षमा उसका पाँच ईन्द्रियहरूमार्फत् ग्राह्य असङ्ख्य डेटाहरूको संश्लेषण र विश्लेषण पनि छ तर एआइ केही वर्ष अगाडिदेखि बन्न थालेको एउटा यन्त्र हो । यसमा त्यति मात्रै डेटा छ जति मानिसले यसको डेटाबेसमा हालेको छ ।
त्यसमाथि योसँग हाम्रो जस्तो पाँच ईन्द्रिय छैनन् । जस्तै च्याटजिपिटिले शब्दहरूलाई मात्रै बुझ्छ, त्यो शब्दले वास्तविक संसारमा के जनाउँछ भन्ने यसलाई थाहा छैन । ड्याल-ई र मिडजर्नीजस्ता इमेज-प्रोसेसिङ एआइलाई डिजिटल इमेज मात्रै थाहा छ, तिनीहरूको वास्तविक संसारमा कस्तो अस्तित्व छ, त्यो थाहा छैन ।
यस्तै कुरा गीतसङ्गीत सिर्जना गर्ने एआइको बारेमा पनि बताउन सकिन्छ । एआइलाई वास्तविक संसार कस्तो हुन्छ भन्ने नै थाहा छैन, यसले फगत आफ्नै हिसाबको संसारमा रम्ने र त्यही अनुसार निर्णय लिने काम गर्छ ।
हुन त कुरै गर्ने हो भने मानिसलाई पनि वास्तविक संसार कस्तो हुन्छ भन्ने थाहा छैन, संसारका कुनै पनि प्राणीलाई थाहा छैन । किनकी हरेक प्राणीको लागी संसार फरक-फरक हुन्छ । त्यस्तै एआइको लागी पनि त्यस्तै अर्को फरक संसार छ जसले आफ्नो शक्तिले भ्याएको खण्डमा न्युनतम हतियारले समेत मानिसलाई सिध्याइदिन सक्छ ।
त्यो कसरी भन्दा एआइले मानिसको कमजोरीहरू पत्ता लगाइदिन सक्छ जसमा यसले व्यापक आक्रमणहरू गरेर मानव सभ्यतामाथि ठूलो समस्या ल्याइदिन सक्छ । त्यो गर्नको लागी संसारको व्यापक बुझाइको आवश्यकता छैन । यस्ता कुराहरू पनि व्यक्त नभएका हैनन् ।
तर पनि अहिलेको लागी एआइ भनेको एआइ हो । संसार अनुभूत गर्नको लागी योसँग इन्द्रियहरू छैनन् । यसको आधारभूत कार्यप्रणाली भनेको विशाल डेटाबेसको विश्लेषण र संश्लेषण गरेर त्यसमा विशेष विशेषता वा स्वरूप (pattern) पत्ता लगाउनु र त्यही अनुसार निर्णय गर्नु हो ।
यसले मानिसले जस्तो प्रोग्राम वा अ्याल्गोरिदम हालेको छ, त्यही अनुसारका नैतिक निर्णय पनि गर्न सक्छ तर नैतिकता भनेको ज्यादै जटिल कुरा हो । मानिसले कुनै पनि क्रियाकलाप गर्दा भविष्यमा पर्न सक्ने असरको बारेमा सोचेर निर्णय लिन्छ तर एआइले यसमा भएको अ्याल्गोरिदमको आधारमा ।
एआइले भविष्यको बारेमा सोच्नै सक्दैन, केबल विगतमा भएका डेटाबेसका स्वरूप र यसका अ्याल्गोरिदम नै अहिलेको लागी यसका प्रमूख हतियारहरू हुन् जुन अनिश्चित वातावरणमा मानिसको दिमागले जस्तो तुरून्तै निर्णय लिन नसक्ने हुन्छ ।
मानिस बाँच्ने वास्तविक संसार र एआइको संसारमा फरक छ । वास्तविक संसार ज्यादै अनिश्चित छ र यहाँ असङ्ख्य अज्ञात कुराहरू छन् जसलाई पहिल्याउनु लगभग असम्भव छ । तर एआइको संसारमा मानिसले नै राखेका निश्चित डेटाबेसहरू हुन्छन् जसको विश्लेषण नै सबै ज्ञान हो जस्तो यसलाई लाग्छ ।
मानिस र एआइबीचको एउटा प्रधान फरक यही नै हो कि वास्तविक संसारमा अनिश्चितता र अज्ञानताहरूसँग करोडौँ वर्षसम्म जुध्दै र असङ्ख्य आकस्मिक निर्णयहरू गर्दै मानिस यहाँसम्म आएको हो । ती निर्णयहरूमा भविष्यमा आइपर्ने परिणामको विचार, भावना, कल्पना लगायत अनेक कुराहरूको सम्मिश्रण थियो ।
तर एआइको निश्चित र यान्त्रिक संसारमा केबल डेटाबेस र अ्याल्गोरिदमले निर्णय-प्रक्रियामा ठोस योगदान गर्छ । यसलाई वास्तविक संसारको ज्ञान मानिसलाई जत्तिको कहिल्यै नहुन पनि सक्छ किनकी यसको डेटाबेसमा केबल मानिसले राखेका डेटाहरू मात्रै हुन्छन् । मानिसले आफूले अनुभूत गरेका सबै डेटा राख्न सक्दैन ।
अहिलेसम्मको एआइका सफलताका क्रमहरूलाई हेर्दा केबल यान्त्रिक संसारमा मात्रै देखिन्छ, मानवीय र वास्तविक संसारमा देखिएको छैन । जस्तै चेस, अल्फागो, डिपब्लु जस्ता यान्त्रिक खेलहरूमा यसले ठूलै र आश्चर्यजनक सफलता हाँसिल गरेको छ, मानिसलाई सजिलै जितेको छ ।
तर मानवीय गतिविधि र स्वभावमा भर पर्ने शेयर बजार जस्ता वित्तीय बजारहरूमा यो दशकौँदेखि असफल सिध्द भएको छ । यो शेयर बजारमा सुरूका केही समय सफल हुने तर धेरैले यही प्रयोग गर्दा असफल हुने गरेका छन् । हुन त अझै पनि यस्ता एआइहरूले “हाइ-फ्रिक्वेन्सी-ट्रेडिङ” गरेर मालामाल पैसा त कमाउँछन् तर त्यो पनि लामो समय टिकेको उदारहण छैन ।
च्याटजिपिटिले कविता र कथा त लेख्न सक्छ तर कवि र साहित्यकारले जसरी मन छुने चाहीँ हुँदैन । ड्यालईले चित्रकारको जस्तो र एआइ म्युजिक जेनेरेटरहरूले सङ्गीतकारको जस्तो मिठो र ह्रदयस्पर्शी सिर्जना गर्न सक्दैन किनकी मानिसले मानिस र वास्तविक संसार बुझेको हुन्छ ।
जसरी कुनै क्यालकुलेटरले वा कम्प्युटरले संसारको सर्वोत्कृष्ट गणितशास्त्रीले भन्दा छिटो र त्रुटिरहित तरिकाले काम गर्छ, एआइले पनि कतिपय क्षेत्रमा मानिसको भन्दा राम्रो काम गर्न जरूर सक्छ, तर यान्त्रिक क्षेत्रमा मात्रै । वास्तविक संसारमा तत्काल जसरी परिस्थिति फेरिन्छ, त्योसँग जुझ्न एआइलाई गाह्रो पर्छ तर मानिसलाई पर्दैन ।
मानवीय र वास्तविक संसारमा एआइ पटकपटक फेल खानुको एउटा प्रमूख कारण यो पनि हो । स्वचालित कारमा दशकौँदेखि चालीसौँ अर्ब डलरको लगानी भएको छ तर आजसम्म पनि सफलता पाएको छैन र शायद पाउने पनि छैन किनकी एआइले मानवीय संसारमा राम्रो काम गर्ने त परको कुरा, बरू धेरै नराम्रो क्षति पुर्याउन सक्छ ।
एआइको सदुपयोग
एआइले अहिलेसम्म चेस, डिपब्लु, अल्फागो जस्ता यान्त्रिक संसारमा मात्रै मानिसलाई जितेको रेकर्ड छ, मानवीय र वास्तविक संसारमा यो पटकपटक असफल सिध्द भएको कुरा माथि नै लेखिसकियो ।
मान्छेले जसरी हिजो मेशिनलाई प्रयोग गरेर यहाँसम्म आयो, त्यस्तै गरी एआइलाई पनि प्रयोग वा सदुपयोग गरेर अगाडी बढ्न सक्छ । जसरी क्यालकुलेटरको प्रयोगले मानिसलाई बरू कम्प्युटर र एआइजस्ता कुराको विकास गर्न ध्यान दियो, उसको दिमागलाई बिगारेन, बरू झनै विकसित तुल्याइदियो, त्यस्तै गरी अबको समयमा मानिसले एआइलाई सदुपयोग गर्नुपर्छ ।
हुन त यसको दुरूपयोग नहुन सक्ने हैन तर सदुपयोगमा ज्यादा ध्यान दिएमा मानिसले योबाट थुप्रै क्षेत्रमा टन्नै फाइदा लिन सक्छ । मान्छेले अहिले जे काम गरिरहेको छ, तीमध्ये थुप्रै कामहरू एआइलाई लगाउँदा हामी अन्य कुराहरूतिर ध्यान दिन सक्छौँ जसले मानव सभ्यता अझै माथि पुर्याउन मद्दत गर्छ ।
जसरी मेशिनले करोडौँको जागिर खाइदिएको छ तर त्योभन्दा बढी जागिरहरू सिर्जना पनि गरेको छ, ठिक त्यस्तै गरेर एआइले अरबौँको जागिर खाइदेला तर त्योभन्दा ज्यादा सिर्जना पनि गर्छ । अझ महत्वपूर्ण कुरा त यसले उत्पादन बढाएर मानिसको जीवनस्तरलाई अर्को उचाइमा पुर्याउने पक्का छ ।
थुप्रै क्षेत्रहरूमा, जस्तै स्वास्थ्य, तथ्याङ्क, युध्द इत्यादी, एआइको प्रयोगले कामहरू र त्योसम्बन्धी भविष्यवाणीहरूमा शुध्दता दर निकै बढाएको रिपोर्टहरू प्रकाशित हुने गर्छन् ।
सजिलो भाषामा बुझ्दा एआइ भनेको डिजिटल मेशिन हो, बढि केही हैन ।
मेशिनले सबै मजदुर र सर्वहारा वर्गको जागिर खाइदिएकाले पूँजीवाद ठिक छैन भन्ने आशयको कुरा गर्दै मार्क्सले कम्युनिष्ट घोषणापत्रमार्फत् मानिसहरूलाई जसरी अत्याएका थिए, आज एकथरी तथाकथित विद्वानहरूले एआइको हकमा त्यस्तै तर्क गर्दै अत्याएका मात्रै हुन् ।
एआइ मानिसको शत्रु हैन, मित्र हुनेछ भन्ने हाम्रो विचार छ ।