सन् २०२० मा गुगलले आफ्नो सर्च ईन्जिनको माध्यममार्फत् मात्रै १०८ अर्ब डलर कमाएको थियो । प्रविधि जगतका जानकारहरूका अनुसार गुगलको यहि बजार हिस्सालाई खोस्ने उद्देश्यका साथ च्याटजिपिटि आएको हो । यसले थोरै हिस्सा मात्रै खोस्यो भने पनि त्यो धेरै हो ।
च्याटजिपिटि लञ्च भएपछि गुगलमा सर्च गर्ने मानिसको सङ्ख्या पनि घटेको अनुमान गरिएको छ । च्याटजिपिटि सार्वजनिक भएको छोटो समयमै गुगलले आफूले पनि च्याटजिपिटि जस्तै एआइ गुगलको सर्च ईन्जिनमै एकिकृत गर्ने जनाएको छ र त्यसको नाम “बार्ड” रहेको छ ।
च्याटजिपिटि अहिले नै सबैले सित्तैमा चलाउन (च्याटजिपिटि प्लस बाहेक) पाउँछन् भने गुगलको बार्ड चाहिं सीमित बीटा टेस्टर्स (beta testers) हरूलाई मात्रै परीक्षणको लागि चलाउन दिइएको छ । दुबैको काममा धेरै समानता भएको अनुमान गरिए पनि कुन राम्रो होला भन्ने बहस चलिसकेको छ ।
सबैले अहिले नै च्याटजिपिटि चलाउन पाइसकेकाले अहिलेको लागि च्याटजिपिटि नै राम्रो हो । बार्ड आएपछि च्याटजिपिटिको लोकप्रियता र उपादेयता के होला त भन्ने जिज्ञासा प्रविधि जगतमा चर्चाको विषय बनेको छ । यो लेखमा हामी च्याटजिपिटि र बार्ड दुईमध्ये कुन बढी राम्रो भन्ने बारे विमर्श गर्नेछौँ ।
च्याटजिपिटि र गुगल बार्डको डेटा स्रोत
च्याटजिपिटि र गुगल दुबै ईन्टरनेटमा भएका थुप्रै टेक्स्ट डेटा (text data) मा आधारित रहेर तालिम दिइएका एआइ हुन् । जस्तै कमन क्रल (Common Crawl), विकिपीडीया, किताब, डकुमेन्ट, वेबमा भएका कुराकानी, डकुमेन्ट, सामाग्री र लेखहरू इत्यादी ।
तर मुख्य फरक के हो भने आजको दिनसम्ममा च्याटजिपिटिको डेटास्रोत सन् २०२१ सम्मको मात्र छ भने गुगल बार्डले वर्तमान समयमा अपलोड भैरहेका कुराहरूसम्म पनि पहुँच पाएको छ । अर्थात् गुगल बार्डको डेटास्रोत च्याटजिपिटिको भन्दा धेरै भएकाले बार्डले अपडेटेड उत्तर र डेटा दिन सक्छ जुन च्याटजिपिटिले सक्दैन ।
गुगलका सिईओ सुन्दर पिचाइका अनुसार च्याटजिपिटिलाई माथ गरिदिने यो मुख्य हतियार हुनेछ गुगल बार्डको । यद्यपि बार्डले एउटा प्रश्नको गलत उत्तर दिँदा शेयर बजारमा गुगलले १०० अर्ब डलर गुमाएको घटना ताजै छ । च्याटजिपिटि र गुगल बार्डले आफू सधैँ ठीक हुने दाबी नगरे पनि ताजा अपडेटहरूलाई मूल्याङ्कन गरेर सही नतिजा दिन सक्ने खुबी गुगल बार्डले विकास गरिसकेको छैन भन्ने देखिन्छ ।
च्याटजिपिटि र गुगल बार्डको शुल्क
माथि नै भनिसकियो कि च्याटजिपिटि अहिले निशुल्क छ तर यसको च्याटजिपिटि प्लस भर्जनको लागि चाहिं मासिक $२० तिर्नुपर्ने हुन्छ । यो तिरेपछि तपाईँले पीक आवर (peak hour) मा पनि चलाउन सक्नुहुन्छ भने छिटो जवाफ दिने र नयाँ फिचरहरूको प्रयोग चाँडै गर्न पाउने लगायतका फाइदा हुनेछ ।
गुगल बार्ड चाहिं सित्तैमा सबैलाई उपलब्ध हुने अनुमान गरिएको छ । तर गुगलले शुल्क सम्बन्धी आधिकारिक जानकारी चाहिं दिइसकेको छैन ।
च्याटजिपिटि र गुगल बार्डको काम र उद्देश्य
हुन त दुबैले ट्रान्सफर्मर आर्किटेक्चर भनिने न्युरल नेटवर्कको प्रयोग गरेका छन् जसले क्रमिक डेटाहरूको प्रोसेस गर्छ तर पनि च्याटजिपिटि इन्टरनेटमा भएका विशाल डेटास्रोतहरूमार्फत् तालिमप्राप्त हो भने गुगल बार्ड चाहिं इन्फिनिसेट (Infiniset) मा तालिमप्राप्त हो जुन संवाद र कुराकानीमा केन्द्रित हुन्छ ।
च्याटजिपिटिले बहुउद्देश्यको लागि बृहत पाठहरू बुझ्न र सिर्जना गर्न सक्छ भने गुगल बार्डचाहिं मानवसँग खुला र प्राकृतिक वार्तालाप गर्न सक्छ । बार्डले प्रयोगकर्ताले सोधेको प्रश्नको उद्देश्य र कुनै पनि सन्दर्भको मिहिनता बुझ्न सक्छ । बार्डले मान्छेकै जस्तो लाग्ने बोलीको नक्कल गर्न सक्छ र कुराकानी गर्दागर्दै सजिलै सन्दर्भ फेर्न पनि सक्छ ।
तर च्याटजिपिटि चाहिं प्राकृत भाषाका थुप्रै कामहरूको लागिमानक टूल नै मान्न थालिसकिएको छ र नै ज्यास्पर, कपिएआइ र बिङहरूमा एकिकृत पनि गरिसकिएको छ । च्याटजिपिटिले बृहत पाठको पनि सारांश दिन सक्छ, अनुवाद गर्ने, आर्टिकल लेख्ने र टेक्स्ट सम्बन्धी थुप्रै कामहरू गर्न सक्छ । यी कामहरू बार्डले गर्न सक्दैन ।
च्याटजिपिटिले टन्नै पाठ लेख्न सक्छ तर बार्डले……..
च्याटजिपिटिले पाठसम्बन्धी थुप्रै कामहरू गर्न सक्छ । जस्तै कन्टेन्ट राइटिङ, कपि राइटिङ, इमेल राइटिङ, रिपोर्ट लगायतका कामहरू निकै छिटो र वास्तविक लाग्ने गरी गरिदिन्छ । यद्यपि कहिलेकाहीँ अस्पष्ट हुने गरी लेख्न सक्छ ।
तर बार्डको मूख्य काम चाहिं त्यस्तो हैन । यो गुगलको सर्च इन्जिनकै विकसित रूप हुनेछ । यसमा तपाईंले च्याटजिपिटिमा जस्तै अनेक खालका प्रश्नहरू सोध्न सक्नुहुन्छ तर रीयल टाइमकै अपडेटेड जवाफहरू पाउनुहुनेछ ।
बार्डले गुगलमा भएका थुप्रै आर्टिकहरूमार्फत् सकेसम्म सटिक र सही जवाफ तपाईँसामु ल्याइदिन्छ ताकी विभिन्न लेखहरूमा गएर जवाफ खोजिरहनुपर्ने अहिलेको झण्झटबाट मुक्त होइन्छ । यसले मूलत: थुप्रै लेखहरूको निचोड र सोधेका प्रश्नको जवाफ दिने काम गर्छ ।
च्याटजिपिटि बिङमा र बार्ड गुगलमा
च्याटजिपिटि बिङमा एकिकृत गरिसकिएको छ र सर्चबारमै यसको अनुभव मज्जाले गर्न सकिन्छ । यद्यपिअहिलेको लागि यसका सीमितताहरू छन् ।
बार्ड चाहिं गुगलको सर्च इन्जिनमा एकिकृत हुनेछ र जटिल विषय पनि मान्छेले सजिलै र छिटै बुझ्न सकिने भाषामा वेबमा भएका आर्टिकलका निचोड र जवाफहरू पाउन सकिने छ, त्यो पनि अपडेटेड । बार्ड शिक्षा, स्वास्थ्य, व्यवसाय, प्रविधि लगायतका थुप्रै क्षेत्रहरूमा अनुसन्धान र बुझाइको विकासको लागि बनाइएको हो ।
निष्कर्ष
दुबै पाठमा आधारित एआइ टुलहरू भए तापनि दुबै फरकफरक कुराहरूमा आफ्नै हिसाबले राम्रा छन् । च्याटजिपिटिले निकै लामा लेखहरू लेख्ने, पाठसम्बन्धी थुप्रै कामहरू गर्ने गर्छ । यसले अहिले नै थुप्रै कन्टेन्ट राइटर, कपि राइटर, रिपोर्टर लगायतको जागिर खाइसकेको छ । यदि तपाईँ यस्तै कामहरू गर्न सक्नुहुन्छ भने यसको प्रयोग मज्जाले गर्न सक्नुहुन्छ तर सन् २०२१ सम्मको डेटास्रोत मात्र योसँग छ ।
तर बार्ड चाहिं गुगल सर्च ईन्जिनकै विकसित रूपस्तो हुने भएकाले गुगलमा पसेर अनेक जिज्ञासा मेटाउनुभन्दा सिधै यसको प्रयोग गर्न सक्नुहुन्छ र यसले तपाईँलाई रीयल टाइमकै अपडेटेट निचोड र जवाफहरू दिनेछ ।