अर्को हप्तादेखि ओपनएआइले एन्ड्रोइडको लागी च्याटजिपिटि अ्याप उपलब्ध गराउने घोषणा गरेको छ । एप्पल डिभाइसहरूको लागी भने सन् २०२३ को मे महिनादेखि नै उपलब्ध भैसकेको थियो ।
ओपनएआइले ट्विटरमा घोषणा गर्दै भनेको छ कि इच्छुक प्रयोगकर्ताहरूले गूगलको प्लेस्टोरमा गएर च्याटजिपिटि एन्ड्रोइड अ्याप प्रि-रेजिस्टर गर्न सक्छन् ।
यो आधिकारिक अ्याप निशुल्क छ र तपाईँका जुनसुकै डिभाइसहरूमा यसको हिस्टोरी सिङ्क हुन्छ र ओपनएआइले ल्याएका नवीनतम सुधारहरू पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ ।
कम्पनीले ट्विट गर्दै लेखेको छ, “एन्ड्रोइडको लागी च्याटजिपिटि घोषणा गर्दै । अ्याप प्रयोगकर्ताको लागी अर्को हप्ता उपलब्ध हुनेछ र तपाईँले आजबाट गूगलको प्लेस्टोरमा गएर प्रि-अर्डर गर्न सक्नुहुन्छ ।”
हुन त ओपनएआइले कुन मितिमा एन्ड्रोइड अ्याप लञ्च गर्छ भनेर किटेर त भनेको छैन तर यो सबैभन्दा पहिले अमेरिकामा उपलब्ध हुने र त्यसपछि संसारका विभिन्न देशहरूमा उपलब्ध हुने ठानिएको छ ।
च्याटजिपिटि अ्याप गूगल प्लेस्टोरमा प्रि-अर्डरको लागी उपलब्ध भैसकेको छ । तपाईँले Pre-Register बटनमा क्लिक गर्नुपर्छ ।
क्लिक गरेपछि “You’re pre-registered for this app. We’ll notify you when ChatGPT is available for your device.” लेखिएको एउटा डाइलग बक्स आउँछ । यद्यपी प्रि॒अर्डर गरिसकेपछि पनि तपाईँले आफ्नो निर्णय उल्टाउन सक्नुहुन्छ ।
गत वर्षको नोभेम्बरमा लञ्च भैसकेपछि च्याटजिपिटिले प्रविधि जगतमा ठूलै सनसनी मच्चाइदिएको थियो । विभिन्न रचनात्मक काममा प्रयोग गर्न सकिने च्याटजिपिटिले एक खालको विवाद पनि निम्त्याएपछि च्याटजिपिटिबाट लेखिएका कुराहरू छुट्याउन सकिने डिटेक्टर पनि बनाइएको छ ।
च्याटजिपिटि को प्रयोग कसरी गर्ने ? भन्ने हामीले छुट्टै लेख नै लेखेका छौँ जुन मूलत: डेस्टकपको लागी हो तर प्रक्रिया सालाखाला एन्ड्रोइडमा पनि उस्तै हुनेछ । सावधान हुनुपर्ने कुरा के पनि हो भने कतिपय कामहरूमा तपाईँले च्याटजिपिटिको मद्दत लिनु हुँदैन ।
डेस्कटप संस्करण सार्वजनिक भएपछि एक हप्तामै यो चर्चित एआइ च्याटबटले दशौँ लाख प्रयोगकर्ता पाएको थियो र आजकाल यो टेक्स्ट सम्बन्धी एआइमा सर्वाधिक लोकप्रिय छ । यद्यपी च्याटजिपिटिभन्दा शक्तिशाली एआइहरू पनि नभएका हैनन् ।
च्याटजिपिटिले एआइ दौडमा गूगललाई पछाडी पारेको चर्चा व्यापक छ । यो बिङमा एकिकृत भैसकेको छ । हुन त गूगलले बार्ड ल्याइसकेको पनि छ तर यो अझै पनि प्रयोगात्मक चरण मा छ । च्याटजिपिटि र बार्डमा कुन राम्रो ? भन्ने विषयमा हामीले छुट्टै लेख लेखेका पनि छौँ ।
अब एन्ड्रोइड र एप्पल डिभाइसहरू दुबैमा च्याटजिपिटि लञ्च भैसकेपछि गूगललाई थप चुनौती दिने ठानिएको छ । अहिले नै मानिसहरूले च्याटजिपिटिको व्यापक प्रयोग गर्न थालेपछि गूगलमा मानिसहरूले कम सर्च गर्न थालेका खबरहरू आउने गर्छन् ।