नेपालमा साइबर आतङ्क बढ्दो। सुरक्षित अनलाइन कारोबार गर्दा के-के कुरामा ध्यान दिने ? 

Cyber Crime nepal

केही दिन अघि मात्रै अनलाइन मार्फत् लगानी गराउने भन्दै ठगी धन्दा चलाइरहेको एउटा चिनियाँ गिरोह काठमाण्डुमा पक्राउ परेपछि फेरि पनि नेपालमा विगत केही वर्ष देखि डरलाग्दो रूपमा बढ्दै गइरहेको साइबर आतङ्कको बारेमा नेपालीहरूमाझ चर्चा हुन थालेको छ।

चिनियाँहरूले सङ्गठित रूपमै नेपालमा साइबर आतङ्क मच्चाइरहेको काठमाण्डुमार्फत् मात्र हैन, देशका विभिन्न ठाउँहरूमा उनीहरूले ठूलो घर नै भाडामा लगाएर थुप्रै नेपालीहरूलाई प्रयोग गर्दै ठूलो सञ्जाल नै निर्माण गरेका र ती मध्ये थुप्रै पक्राउ परेका पनि छन् ।

केही वर्ष अगाडि उत्तर कोरियाको एउटा ह्याकरको समूहले एनआइसी एसियाको खाताबाट ४६ करोड रूपैँया चोरेको थियो । केही महिना अगाडि इजरेल र फ्रान्स लगायतका देशहरूबाट नेपालका सरकारी वेबसाइटहरूमा व्यापक आक्रमणहरू भएका थिए ।

नेपाली ह्याकरले भारतीय प्रयोगकर्ता र भारतीय ह्याकरले नेपाली प्रयोगकर्तामाथि साइबर आक्रमण पटकपटक गरेका घटना धेरैले अझै बिर्सिएका छैनन् । नेपालीहरूको डेटामाथि दशौँ वर्षदेखि आक्रमण हुँदै आए पनि पछिल्ला केही वर्षदेखि डरलाग्दो तरिकाले खासगरी अनलाईन कारोबारहरूमाथि आक्रमण हुन थालेका छन् । 

सरकारी निकायकै कतिपयले यस्ता आक्रमणहरूलाई केबल खतराको घण्टी भएको र सरकारले यस्ता गम्भीर मुद्दामा बेवास्ता गरेको बताउने गर्छन् । ठगीमा परेका थुप्रै नेपालीहरू आफ्नो इज्जत जाने डरले पनि पुलिसलाई रिपोर्ट गर्न डराउने गर्छन् । हालै मात्रै चिनियाँ गिरोह पक्राउ परेको घटनामा एक नेपालीले अनलाइन लगानीको नाममा ४८ लाख गुमाएको घटना रिपोर्ट गरेपछि मात्र यो जालोको पर्दाफास भएको हो ।

आजकाल नेपालीहरूले अनलाइन कारोबारमा तीव्रता दिएका छन् र थुप्रै विश्वसनीय एप र अनलाइन साइटहरूमा कारोबार गरिरहेको बानीले गर्दा पनि होला, अन्य अविश्वसनीय वेबसाइट, एप र ठगीहरुमा सजिलै विश्वास गरिदिनाले उनीहरूको ठूलो रकम डुब्ने गरेको छ । 

हामी यो लेखमा सुरक्षित अनलाइन कसरी गर्ने र मूलत: के-कस्ता कुराहरूमा ध्यान दिने भन्ने कुरामा विशेष चर्चा गर्दैछौँ । 

यो पनि पढ्नुस्: किन फितलो छ नेपालको साइबर/आइटी पोलिसी ?

सुरक्षित अनलाइन कारोबारको लागि ध्यान दिनुपर्ने कुराहरू

हुन त ब्याङ्क, एपहरू, अनलाइन वेबसाइट लगायतले पनि सुरक्षित अनलाइन कारोबारको लागि ध्यान दिनुपर्ने कुराहरूमा बेलाबेलामा आफ्ना प्रयोगकर्ता र ग्राहकहरूलाई सुसूचित गराउने गरेका छन्  तर प्रायले पूर्णत: ध्यान दिँदैनन् र कुनबेला आफू पनि साइबर आक्रमणको सिकार हुन सकिन्छ भन्ने भेउ पाउँदैनन् । 

त्यसकारण अनलाइन कारोबार गर्दा विभिन्न कुराहरूमा विशेष सतर्क हुनुपर्ने हुन्छ । हामी तपाईंलाई अन्त्यसम्मै यी विशेष उपायहरू पढ्न र मनन गर्न सिफारिश गर्छौँ ।

पासवर्ड

  • अरूलाई अनुमान गर्नै गाह्रो हुने पासवर्ड प्रयोग गर्नुस् जसमा खासगरी अङ्ग्रेजीका अपर र लोवर केस लेटर (upper and lower case letters), नम्बर र सिम्बोलको प्रयोग गर्नुस् ।
  • सबै अनलाइन अकाउण्टहरूको लागि एउटै युजरनेम र पासवर्ड प्रयोग नगर्नुस् ।
  • पासवर्ड परिवर्तन गरिरहनुस् । सामान्यतया तीन महिनामा एकचोटी पासवर्ड प्रयोग गर्ने गर्नुस् ।
  • तपाईंको पासवर्ड, ओटिपि, युजर आइडेन्टिफिकेशन (जस्तै ईमेल) इत्यादि कसैलाई पनि शेयर नगर्नुस् ।
  • एउटा महत्वपूर्ण कुरा सधैँ दिमागमा राख्नुस् कि इन्टरनेट प्रदायक कम्पनी, ब्याङ्क, अनलाइन व्यावसायिक कम्पनी इत्यादिले कहिल्यै पनि तपाईंलाई फोन गरेर युजरनेम र पासवर्ड सोध्ने काम गर्दैनन् । 
  • तपाईंको ईमेलमा आफ्नो युजरनेम र पासवर्ड मागिएको मेसेजमा भएको लिङ्क कहिल्यै पनि क्लिक नगर्नुस् । त्यस्तो बेलामा सम्बन्धित संस्था वा कम्पनीलाई फोन गरेर रिपोर्ट गर्नु राम्रो ।

अनलाइन किनमेल

  • अनलाइनमा किनमेल वा कारोबार गरेपछि सधैँ तिनको वेबसाइटबाट लगआउट गर्न नबिर्सनुस् ।
  • ब्याङ्क लगायतका अनलाइन कारोबार गर्ने वेबसाइटको युजरनेम र पासवर्ड तपाईंको आफ्नै कम्प्युटर र फोनमा पनि स्टोर गर्ने अनुमति नदिनुस् । आफ्नो दिमागमा मात्र ती कुराहरू राख्नुस् । 
  • अनलाइनमा सोधिएका सुरक्षासम्बन्धी प्रश्नहरू (security questions) को गलत उत्तर राख्नुस् र त्यो सम्झिने गर्नुस् ।

ई-कमर्स वेबसाइट र एपहरू

  • कनेक्ट आइपिएस जस्ता विश्वासिला तेस्रो-पक्ष वेबसाइटहरू मात्रै प्रयोग गर्ने गर्नुस् । कुनै पनि अनलाइन वेबसाइट प्रयोग गर्दा तिनले आफ्ना प्रयोगकर्ताहरूमाझ कत्तिको विश्वास आर्जन गरेका छन् र कानुनी वैधता लिएका छन् कि छैनन् भन्नेबारे बुझेर मात्र कारोबार गर्नुस् । 
  • सुरक्षित अनलाइन कारोबार गर्ने वेबसाइटहरू https:// बाट सुरू हुन्छन् तर त्यस्तोमा S नभएको अर्थात् http मात्र भएको वेबसाइटमार्फत् कारोबार गर्दै नगर्नुस् । 
  • प्राय: विश्वसनीय वेबसाइटहरूले आफ्नो लोगो वेबसाइटमा राख्ने गर्छन् (जस्तै कनेक्ट आइपिएस) । यस्तो लोगोमा तपाईँले क्लिक गर्नुभयो भने तिनको वेबसाइटमा जान सकिन्छ र कारोबार गर्न सकिन्छ ।
  • अनलाइन कारोबार गर्दा केबल एउटा मात्र क्रेडिट कार्डको प्रयोग गर्नुस् ताकी धेरैभन्दा धेरै कार्डहरू अनलाइन ठगीको फन्दामा पर्ने सम्भावना कम होस् । सकिन्छ भने क्रेडिट कार्डको सट्टामा प्रि-पेड डेबिट कार्ड प्रयोग गर्नुस् । 
  • सार्वजनिक र फ्री वाइफाइबाट कहिल्यै पनि अनलाइन कारोबार नगर्नुस् । कि त घरको वा सुरक्षित इन्टरनेट वा वाइफाइबाट मात्रै अनलाइन कारोबार गर्ने बानी बसाल्नुस् । 
  • सकेसम्म पछिल्लो अपडेटेड इन्टरनेट ब्राउजर मात्रै प्रयोग गर्नुस् किनकि त्यसमा तपाईंले हाल्नुभएको डेटा ब्राउजरले सुरक्षित तरिकाले वेबमार्फत् पठाउने गर्छ । 
  • हरेक अनलाइन कारोबारको रेकर्ड जाँच गर्ने गर्नुस् र ब्याङ्क वा अन्य एपको स्टेटमेन्ट हेर्ने बानी बसाल्नुस् । यदि कारोबारमा दायाँबायाँ भएको थाहा पाउनुभयो भने रिपोर्ट गरिहाल्नुस् । पटकपटक त्यस्तो भयो भने त्यस्तो ब्याङ्क, वेबसाइट र एपबाट सेवा लिन बन्द गर्नुस् ।

फायरवाल र एन्टिभाइरस प्रोग्राम

  • सधैँभरि सबैभन्दा पछिल्लो अपडेटेड फायरवाल र एन्टिभाइरस प्रोग्राम प्रयोग गर्ने गर्नुस् । 
  • आफ्नो फायरवाल र एन्टिभाइरस प्रोग्रामलाई अपडेट गरिरहनुस् ताकी ह्याकरहरूले निर्माण गरेका नयाँनयाँ उपायहरूलाई जित्न सकियोस् ।
  • क्आफ्नाे डिभाइसलाई अपडेटेड एन्टिभाइरसले हप्तैपिच्छे स्क्यान गरिरहने बानी बसाल्नुस् ।
  • विज्ञापन ब्लक गर्ने र स्पाइवेयर वा म्यालवेयर पत्ता लगाउने प्रोग्राम पनि प्रयोग गर्नुस र अपडेट पनि गर्ने गर्नुस् ।

व्यक्तिगत विवरण

  • आफ्नो र आफ्नो परिवारका सदस्यको जन्ममिति सामाजिक सञ्जालमा हाल्ने काम नगर्नुस् ।
  • तपाईंले अनलाइनमा हाल्नुभएका कुनै पनि जानकारी जुनसुकै समयमा पनि ह्याक भएर चोरी हुन सक्छ । त्यसकार ण सकेसम्म कम सूचना मात्रै हाल्ने गर्नुस्। 
  • ईमेल, एपहरू, इन्टरनेट साइटहरू शंकास्पद लागेमा आफ्नो डिभाइस बन्द गरिहाल्नुस् र केही समयपछि खोलेर एन्टिभाइरसले स्क्यान गर्नुस् । 

अनलाइन ठगीमा परिहालेमा

  • यी सब गर्दागर्दै पनि कदाचित तपाईं  अनलाइन ठगीमा परिहाल्नु भयो भने तुरून्तै प्रहरी वा सम्बन्धित निकाय, संस्था वा कम्पनीमा रिपोर्ट गरिहाल्नुस् ।
  • तपाईंको क्रेडिट कार्ड तपाईंको अनुमतिबिना नै अरू कसैले चलाइरहेको थाहा पाउनासाथ ब्याङ्कमा कल गरेर कारोबार गर्न बन्द गर्न लगाउनुस् । एपहरूमा पनि त्यस्तै भए एप चलाउने कम्पनीलाई खबर गरेर त्यसको कारोबार पनि बन्द गर्न लगाउनुस् । तपाईंले ठगिएको पैसा फिर्ता पाउने सम्भावना तपाईँले कति चाँडो रिपोर्ट गर्नुभयो भन्ने कुरामा पनि भर पर्छ ।
  • अर्को कुरा तपाईं ठगीमा परिहाल्नु भयो भने क्षतिपूर्ति पाउनको लागि तपाईंले रिपोर्ट गरेको हुनै पर्छ । त्यसकारण जुनसुकै ठगीमा पर्नु भए पनि रिपोर्ट गर्न कहिल्यै ढिला नगर्नुस् ।

यो पनि पढ्नुस्: के तपाईँ ईन्टरनेट घोटाला (स्क्याम) मा त फस्नुभएको छैन ?

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.