डिजिटल मार्केटिङ के हो र  कसरी सिक्ने ?

Digital Marketing

हामी सबैलाई विज्ञापन भनेको के हो भन्ने थाहा छ । इन्टरनेटको विकास हुनु अघि मूलत: समाचारपत्र, रेडियो, टिभी इत्यादीमार्फत् विज्ञापन गरिन्थ्यो । त्यो भन्दा पनि अघि शायद मानिसहरू बोलेर वा चित्रमार्फत् विज्ञापन गर्थे होलान् । घरघरमा गएर सामानको विज्ञापन आज पनि ग्रामीण भेगहरूमा कायमै छ ।

जसरी बीसौँ शताब्दिमा अखबार, रेडियो र टिभीहरूले त्योभन्दा पहिलेका परम्परागत विज्ञापनलाई विस्थापित गरिदियो, ठिक त्यसैगरी एक्काइसौँ शताब्दिमा डिजिटल मार्केटिङले विज्ञापनको सबैभन्दा ठूलो बजार लिएको छ र यसअघिका प्राय: सबै माध्यमहरूलाई विस्थापित गरिदिन लागेको छ ।

डिजिटल मार्केटिङ के हो ?

सामान्यतया अनलाइन मार्केटिङ पनि भनिने डिजिटल मार्केटिङ भनेको विज्ञापनको त्यस्तो रूप हो जसले इन्टरनेट र डिजिटल प्रविधिको प्रयोग गरेर ग्राहकहरूसँग आफ्नो सम्बन्ध कायम गर्छ । यसले छापा, रेडियो, टिभी इत्यादीको सट्टामा कम्प्युटर, मोबाइल र अन्य डिजिटल डिभाइसहरूको प्रयोग गरेर विज्ञापन गर्ने गर्छ ।

अन्य परम्परागत विज्ञापनजस्तै यसको उद्देश्य पनि ग्राहकसामु वस्तु र सेवाको प्रचार गर्नु, विभिन्न ब्राण्डहरूको बारेमा सूचना दिनु, विक्रि बढाउनु इत्यादी नै हो । तर यसको माध्यमचाहीँ पछिल्लो समयमा तीव्र रूपमा विकास भइरहेको इन्टरनेट र डिजिटल डिभाइस हो । 

डिजिटल मार्केटिङको आवश्यकता

छापाखानाहरू र रेडियो त अब सङ्ग्रहालयमा राख्न लायकका हुन लागिसके नै, हुँदाहुँदा टिभी पनि विस्थापित हुने पीर तिनका उत्पादकलाई परिसक्यो । यसको मूख्य कारण भनेको अधिकांशका हातहातमा मोबाइल र घरघरमा कम्प्युटर हुनु हो । यि डिजिटल डिभाइस र इन्टरनेटले मानिसहरूलाई परम्परागत प्रविधिले भन्दा कता हो कता धेरै स्वतन्त्रता र सुविधा दिएको छ ।

र जहाँ मान्छे हुन्छन् , विज्ञापन हुने पनि त्यहीँ नै हो । फलस्वरूप वर्षैपिच्छे डिजिटल मार्केटिङको बजार बढ्दो छ र यो अहिलेको सबैभन्दा ठूलो विज्ञापन बजार पनि हो । डार्क मार्केटमा हुने डिजिटल डेटाको किनबेच त ओपन सेक्रेट नै भैसकेको छ । अनि परम्परागत विज्ञापनको बजार दिनानुदिन खुम्चिदो छ । 

एउटा अध्ययनको अनुसार संसारमा अनुमानित ६२% भन्दा बढी मानिसहरूले इन्टरनेट र डिजिटल डिभाइस चलाउँछन् । अहिलेको संसारमा डेटालाई नयाँ सुन मानिन्छ र जोसँग जति धेरै डेटा छ, तिनीहरूसँग त्यति नै धेरै पैसा छ । संसारका सर्वाधिक धनी मानिसहरूको सूचीमा सबैभन्दा अग्रपङ्क्तिमा प्रविधि जगतकै हस्तीहरूको नाम आउँछ ।

मानिसहरूको डेटा भनेको तिनीहरूले इन्टरनेटमा गर्ने क्रियाकलापको सङ्कलन हो जसको मूल्याङ्कन गरेर भविष्यमा तिनले के किन्न सक्छन् ? तिनलाई के मन पर्छ ? तिनीहरूलाई कस्तो वस्तु वा सेवा मन पर्छ ? जस्ता प्रश्नहरूको भविष्यवाणी वा अनुमान गर्ने काम विभिन्न कम्पनीहरूले गर्छन् । 

यस्तो गर्दा कम्पनीहरूले आफ्ना लक्षित ग्राहकमाझ मात्र विज्ञापनको पैसा तिरे पुग्छ जुन सुविधा परम्परागत मिडियामा हुँदैन । साथै कम्पनीका वस्तु र सेवाको विज्ञापन यिनै कारणहरूले गर्दा सस्तो र प्रभावकारी हुन्छ । अर्को कुरा मानिसहरूको हातहातमा मोबाइल हुने भएकाले विज्ञापनले मानिसहरू जतिबेला मोबाइल खोल्छन् , त्यतिबेला मानिसको मनमा बसिरहने सम्भावना बढी हुन्छ ।

संसारमा डिजिटल प्रविधिको विकास तीव्र रूपमा भएकाले गर्दा सोही अनुसारको डिजिटल मार्केटिङ आजको आवश्यकता बनिसकेको छ । जसले डिजिटल मार्केटिङ गर्दैनन् , तिनले आजको समयमा बजार पाउनु झण्डै झण्डै असम्भव जस्तो हुन लागेको छ ।

डिजिटल मार्केटिङ कसरी सिक्ने ?

डिजिटल मार्केटिङ सिक्नको लागी तपाईँले सबैभन्दा पहिले यसको कुन चाहीँ क्षेत्रमा विशेषज्ञता हाँसिल गर्ने हो, त्यसको बारेमा निर्णय गर्नुपर्छ । यसका विभिन्न प्रकारहरू हुन्छन् । जस्तै सोसल मिडिया मार्केटिङ, एस.ई.ओ मार्केटिङ, पे-पर-क्लिक (Pay-per-click) मार्केटिङ, कन्टन्ट मार्केटिङ, इमेल मार्केटिङ, गुगल एड, कपिराइटिङ इत्यादी ।

यि र अन्य विधामार्फत् तपाईँले आफू कुनमा लाग्यो भने धेरै राम्रो काम गर्न सक्छु जस्तो लाग्छ, त्यसको बारेमा मूल्याङ्कन गर्नुस् । त्यसपछि सोही अनुसारको कुनै एउटा विधा छान्नुस् । मानौँ तपाईँले एस.ई.ओ मार्केटिङ छान्नु भयो भने यसको काम मूख्यत: कुनै पनि वेबसाइट गुगल वा अन्य सर्च इन्जिन ब्राउजरमा सर्च गर्दा सबैभन्दा माथी आउने पार्नु हो । 

अब कुनै विधा छानिसकेपछि तपाईँले त्यसको या त तालिम वा कोर्स लिनु राम्रो या त कुनै कम्पनीमा इन्टर्नशीप गर्नु पर्छ । हामी चाहीँ तपाईँलाई इन्टर्नशीप गर्नको लागी सल्लाह दिन्छौँ यदी पाउनुभयो भने किनकी सिध्दान्त र व्यवहार फरक पर्न सक्छ । आफूले सिकेको कुरालाई काममा लगाउन सक्नु राम्रो कुरा हो जुन इन्टर्नशीपमा मात्र पाइन्छ । 

त्यो बाहेक तपाईँले इन्टरनेटमा आफूले छानेको मार्केटिङको विधाको बारेमा अनुसन्धान गरेर व्यापक अध्ययन गर्न सक्नुहुन्छ । गुगल, युट्युब लगायतमा तीबारे धेरैभन्दा धेरै कुराहरू सिक्नुस् । विभिन्न तालिमहरूमा भन्दा यस्ता माध्यममार्फत् तपाईँले धेरै कुराहरू सिक्ने सम्भावना धेरै हुन्छ । 

फ्री वेबिनार र अनलाइन ट्युटोरियलहरू अन्य प्रभावकारी माध्यमहरू हुन् । त्यो बाहेक तपाईँले प्रभावशाली डिजिटल मार्केटिङ इन्फ्ल्युएन्सर (influencer) हरूलाई विभिन्न सामाजिक सञ्जालहरूमा फलो गर्ने र तिनीहरूका काम र गतिविधिबाट पनि धेरै कुराहरू सिक्न सक्नुहुन्छ ।

सिकिसकेपछि त्यसको कार्यान्वयन गर्नको लागी तपाईँ आफै कुनै प्रोजेक्ट सुरू गर्न सक्नुहुन्छ वा अरूको प्रोजेक्टमा काम गर्न सक्नुहुन्छ । सकेसम्म तपाईँले जे सिक्नुभएको हो वा तपाईँको जे स्किल छ, त्यसैको काम छानेर गरेको राम्रो । 

यसरी तपाईँ आफूले चाहेको डिजिटल मार्केटिङको शिक्षा लिन सक्नुहुन्छ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.