मोबाइल वा कम्प्युटर चलाइरहने मानिसहरु धेरैले भिपिएन प्रयोग गर्न थालेको धेरै भैसकेको छ । यद्यपी उनीहरुले यसको प्रयोग इन्टरनेट सेवा प्रदायक र सरकारले प्रतिबन्ध लगाएका वेबसाइटहरु खोल्नको लागी मात्रै प्रयोग गर्ने गरेका छन् ।
खासमा भिपिएनको उपयोगीता र महत्व त्योभन्दा धेरै छ जुन कमैलाई थाहा छ, भिपिएन प्रयोग गर्नेहरु सहित ।
हामी यो लेखमा खासमा भिपिएन हाम्रो लागी किन चाहिन्छ भन्नेबारे केन्द्रित हुनेछौँ । यो लेख पढिसकेपछि तपाईँले यसको महत्व राम्ररी बुझ्नुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।
भिपिएन के हो ?
भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) एक त्यस्तो प्रविधि हो जसले प्रयोगकर्ताहरूलाई इन्टरनेट जस्ता सार्वजनिक वा साझा नेटवर्क (public or shared network) मा सुरक्षित र इन्क्रिप्टेड (encrypted) जडान स्थापना गर्छ ।
यसले एक सार्वजनिक नेटवर्क भित्र अर्कै निजी नेटवर्क (private network) सिर्जना गर्दछ जसमार्फत् प्रयोगकर्ताहरूको डिभाइस निजी नेटवर्कमै जडान भएको भान पर्ने गरि तिनलाई डेटा पठाउन र प्राप्त गर्न सक्षम बनाउँछ ।
जब तपाइँ भिपिएनमा जोडिनुहुन्छ तपाइँको इन्टरनेट ट्राफिक भिपिएन प्रदायक द्वारा संचालित रिमोट सर्भर मार्फत इन्क्रिप्टेड र रुट (route) गरिन्छ।
यो प्रक्रियाले तपाइँको आईपी एड्रेस (IP address) लुकाउँछ जसले तपाइँको इन्टरनेट सेवा प्रदायक (ISP), ह्याकरहरू, वा सरकारी एजेन्सीहरूलाई तपाइँको अनलाइन गतिविधिहरूको निगरानी वा ट्र्याक गर्न को लागी गाह्रो बनाउँछ।
भिपिएन किन चाहिन्छ ?
अब हामी भिपिएन किन चाहिन्छ भन्नेबारे विशेष चर्चा गर्दैछौँ । हुन त यसको महत्व चीन, उत्तर कोरिया, रसिया लगायतका निरङ्कुश शासन भएका देशका जनतालाई सजिलै थाहा हुन्छ तर प्रजातान्त्रिक देशका मानिसहरूलाई पनि यसको महत्व थाहा हुनुपर्छ ।
यहाँ हामीले यसका विभिन्न फाइदाहरुबारे चर्चा गरेका छौँ जुन संसारभरका मानिसहरुलाई काम लाग्छ चाहे ती निरङ्कुश देश (उत्तर कोरिया) मा बसुन् वा स्वतन्त्रता उपभोग गर्न पाइने देश (अमेरिका) मा ।
१. प्रतिबन्धित वेबसाइट वा एपहरु खोल्न
विभिन्न देशका राजनीतिक र सामाजिक व्यवस्था अनुसार विभिन्न खालका वेबसाइटहरु र एपहरु सरकारले प्रतिबन्ध लगाएको हुन्छ । यदी तिनको प्रयोग तपाईँले गर्नुभयो भने साइबर कानुनमा टेकेर तपाईँमाथि अनेकथरी सजाय हुनसक्छ ।
कतिपय निरङ्कुश तानाशाहीतन्त्र भएका देशहरुमा तपाईँ घुम्न जानुभयो भने ती वेबसाइट चलाउन मिल्दैन वा भिपिएनको प्रयोग गरेर मात्रै मिल्छ । प्रजातान्त्रिक देशहरुले पनि कतिपय वेबसाइट र एपहरुमा प्रतिबन्ध लगाएका हुन्छन् । जस्तै टिकटकमा ।
सरकार, इन्टरनेट सेवा प्रदायक इत्यादीको निगरानी छल्नको लागी तपाईँले भिपिएनको प्रयोग गरेर त्यस्ता वेबसाइट र एपहरु प्रयोग गर्न सक्नुहुन्छ ।
यद्यपी तपाईँले के बुझ्नु हितकारी हुन्छ भने सरकारले प्रतिबन्ध लगाएका वेबसाइटहरुमा नजानु नै राम्रो हुन्छ किनभने सरकार साह्रै तानाशाही छ र तपाईँका “खतरापूर्ण” गतिविधिहरु थाहा पायो भने तपाईँ समस्यामा पर्नुहुन्छ । सकेसम्म उत्कृष्ट भिपिएनको प्रयोग गर्नुस् ।
२. भौगोलिक प्रतिबन्ध लागेका वेबसाइट खोल्न
सरकारले प्रतिबन्ध नलगाएका त्यस्ता वेबसाइट वा एपहरु पनि हुन्छन् जुन स्वयम ती वेबसाइट, च्यानल वा सामाग्रीका मालिकहरुले विभिन्न देशहरुमा हेर्न वा प्रयोग गर्न नमिल्ने पारेका हुन्छन् ।
जस्तै विश्वकप खेलका लाइभ स्ट्रिमिङहरु वा हाइलाइटहरु खास देशमा मात्रै हेर्न मिल्ने पारेका हुन्छन् थुप्रै च्यानल वा वेबसाइट वा एपहरुले । तपाईँले भिपिएन प्रयोग गरेर अर्कै देशको सर्भरमा जोडिएर ती सामाग्रीहरुमा सजिलै पहुँच पाउन सक्नुहुन्छ ।
३. संवेदनशील डेटाको सुरक्षा गर्न
आजकालको डिजिटल दुनियाँमा हाम्रा थुप्रै संवेदनशील गतिविधिहरु अनलाइनमै हुने गर्छन् । जस्तै ब्याङ्कको खाता खोल्न, पैसा पठाउन, अनलाईन कारोबार गर्न, संवेदनशील मेसेज पठाउन इत्यादी ।
भिपिएनको प्रयोग गरेर तपाईँले सुरक्षाको तह थप्न सक्नुहुन्छ र थप सुरक्षित रहन सक्नुहुन्छ । यसले तपाईँको डेटालाई इन्क्रिप्ट गरिदिन्छ र ह्याकर तथा साइबर अपराधीहरुलाई सूचना चोर्न र आक्रमण गर्न धेरै नै गाह्रो बनाइदिन्छ ।
यो पनि पढ्नुहोस्: द ग्रेट ह्याक – – आधुनिक संसारमा चुनावमा डेटाको दुरूपयोग देखाउने डक्युमेन्टरी
खासगरी सार्वजनिक वाइफाइ प्रयोग गर्दा यो निकै उपयोगी हुन्छ किनकी तिनीहरु सुरक्षाको हिसाबले निकै कमजोर हुन्छन् । तिनको प्रयोग गर्दा तपाईँका थुप्रै डेटाहरु चोरि हुनसक्ने खतरा हुन्छन् ।
४. सरकार वा इन्टरनेट सेवा प्रदायकको निगरानीबाट बच्न
चाहे प्रजातान्त्रिक होस् वा निरङ्कुश सरकार, जनताको निगरानी गर्ने, तिनका गतिविधिहरुको दुरुपयोग गर्ने जस्ता कामहरु जसले पनि गर्न सक्छ ।
तपाईँ इन्टरनेटमा के खोज्नुहुन्छ, के हेर्नुहुन्छ, केमा धेरै समय बिताउनुहुन्छ, कोसँग ज्यादा समय च्याटमा बिताउनुहुन्छ लगायतका संवेदनशील कुराहरु अरुलाई किन थाहा दिने ?
अझ नेपाल जस्तो सानो देशमा त सरकार वा आइएसपीमा तपाईँले चिनेका मानिसहरु पनि हुन सक्छन् जसकारण तपाईँलाई तिनले सजिलै समस्यामा पार्न सक्छन् ।
भिपिएनको प्रयोग गरेर तपाईँले तिनको आँखा छल्न सक्नुहुन्छ । तपाईँको गोपनीयताको पूर्ण सुरक्षा गर्दै तपाईँलाई मस्तले इन्टरनेट चलाउने वातावरण भिपिएनले गर्छ ।
५. साइबर आक्रमणकारीबाट बच्न
नेपाल जस्ता साइबर नीति कमजोर भएको देशमा प्रायले पाइरेटेड अपरेटिङ सिस्टम र सफ्टवेयरहरु प्रयोग गर्ने गर्छन् जसकारण हामी साइबर अपराधीको आक्रमणमा पर्न सक्ने जोखिम अत्यधिक छ । भाइरस, मालवेयर, फिसिङ जस्ता अपराध यहाँ टन्नै हुन्छ ।
तपाईँले भिपिएनको प्रयोग गरेर सजिलै आफ्ना डेटा इन्क्रिप्ट गर्न सक्नुहुन्छ । भिपिएनले तपाईँको इन्टरनेटको सुरक्षित मार्ग बनाइदिएर तपाईँको जोखिम घटाइदिन्छ ।
भिपिएनले तपाईँका डेटा र संवेदनशील सूचनाहरु ह्याकरको आक्रमणबाट जोगाएर तपाईँका अनलाइन गतिविधिहरु सुरक्षित बनाइदिन्छ ।