नेपालमा इएमआइ (EMI) मा ग्याजेटहरु किन्न मिल्ने स्टोरहरु।

EMI scheme in nepal

हामी माझ ग्याजेट प्रेमीहरु धेरै हुनुहुन्छ। मार्केटमा हरेक दिन या केही दिनको फरकमा नयाँ नयाँ ग्याजेटहरु  रिलिज हुन्छन्। राम्रो ग्याजेट चलाउन पाउँ भन्ने रहर प्रायजसाे युवावर्ग सबैलाई हुन्छ ।  तर आर्थिक पूँजीको अभावले धेरै मानिसहरु मन परेर पनि चाहेको ग्याजेट लिन सक्नुहुन्न।तर यसको लागि एउटा समाधान छ जसको नाम रहेको छ इएमआइ। सरल तरिकामा बुझ्दा इएमआइ भनेको ऋणको किस्ता हो जुन मासिक रुपमा तिर्दै जानुपर्ने हुन्छ। त्यसैले हाल आफूसँग कुनै ग्याजेट किन्न पूरै पैसा पुग्दैन भने पनि इएमआई मार्फत् त्यो ग्याजेट किन्न सकिन्छ र मासिक रुपमा त्यसको पैसा तिर्दै जान सकिन्छ।  

के हो इएमआइ ?   

इएमआइ (EMI) भनेको इक्वेटेड मन्थली इन्सटलमेन्ट (Equated Monthly Installment) या समान मासिक किस्ताबन्दी हो। यसको नाम अनुसार पनि हामी अनुमान लगाउन सक्छौँ कि इएमआइमा मासिक रुपमा एकै नासले पैसा तिर्दै जानुपर्छ।

इएमआइमा दुईवटा पाटो हुन्छ जसअन्तर्गत प्रिन्सिपल अर्थात् सावा र इन्टरेस्ट अर्थात् ब्याज पर्दछन्। इएमआइले होम लोन या पर्सनल लोन सरह नै काम गर्दछ। बैंकमा लोन तिरे जस्तै इएमआइमा पनि हरेक महिना इन्टरेस्ट र प्रिन्सिपल अमाउन्ट तिर्नु पर्ने हुन्छ। पूरै पैसा नतिरुन्जेल सम्म यो हरेक महिना तिर्नुपर्ने हुन्छ।   

जति महिनाको लागि पनि इएमआइको सुविधा पाइन्छ भन्ने हैन। यो ग्याजेटको महँगाइमा फरक पर्छ। उदाहरणको लागि रू ४०,००० पर्ने मोबाइलको इएमआइको समय अवधी ६ महिनाको हुन सक्छ भने फ्लागसिप लेभलको रु २,००,००० पर्ने मोबाइल फोनको इएमआइ समय अवधी १२ महिना सम्म पनि हुन सक्छ। यसको साथै कति सम्मको इएमआइ लिन सकिन्छ भन्ने कुरा तपाईँहरुको स्यालारी स्टेटमेन्टमा पनि भर पर्दछ।

जसरी बैंकबाट लोन लिँदा बैंकले ब्याजदर काट्छ त्यसैगरी इएमआइमा खरिद गरेको ग्याजेटको पैसा चुक्ता गर्न ब्याज पनि तिर्नुपर्ने हुन्छ। यो चलेको प्राक्टिस हो। तर कुनै डिभाइसको लागि या कुनै रिटेलरले ब्याजदर बिना नै इएमआइ सुविधा दिने गर्छन्। यसलाई ०% इएमआइ भनिन्छ।

प्राय हरेक क्लास बैंकले इएमआइ सुविधा प्रदान गर्छ। कुनै वेबसाइट या स्टोरबाट प्रोडक्ट किन्नलाई असोसिएटेड बैंकबाट इएमआइको लागि एप्लाई गर्नुपर्ने हुन्छ। यसको लागि त्यस बैंकमा खाता र क्रेडिट कार्ड तपाईँहरुसँग हुनुपर्छ। यति छ भने प्रोडक्ट खरीद गर्दा इएमआइको लागि एप्लाइ गर्न सक्नुहुनेछ।  

नेपालमा इएमआइ सुविधा प्रदान गर्ने केही ग्याजेट स्टोरहरु

इएमआइको सहयोगमा तपाईँहरुसँग कुनै ग्याजेट किन्नलाई पूँजी पुग्दैन भने पनि केही चिन्ता बिना नै ग्याजेट खरिद गर्न सक्नुहुन्छ।

नेपालका स्टोरहरुमा इएमआइ सुविधा दिन थालिएको छ। इएमआइ सुविधाको फाइदालाई ध्यानमा राखेर नेपालमा पनि कैयौँ स्टोरहरुले इएमआइमा ग्याजेटहरु दिन थालेका छन्। केही स्टोरहरुले शुन्य डाउन पेमेन्टको साथ इएमआइ सुविधा दिन्छन् भने कुनैमा ५०% सम्म पनि डाउनपेमेन्ट तिर्नु पर्ने हुनसक्छ। ती स्टोरहरुका बारेमा केही जानकारी यस प्रकार छन्ः 

इभो स्टोरले इएमआइमा ग्याजेट पर्चेज गर्न मिल्ने सुविधा राखेको छ। इभो स्टोरले धेरै बैंकहरुको क्रेडिट कार्ड होल्डरहरुलाई या क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई इएमआइ सेवा उपलब्ध गराएको छ। 

इभो स्टोरबाट इएमआइमा ग्याजेट पर्चेज गर्न सपोर्ट गर्ने बैंकहरुमा नबिल बैंक, ग्लोबल आइएमइ बैंक, सिद्दार्थ बैंक, एनआइसि एसिया बैंक, हिमालायन बैंक, मेगा बैंक, एनएमबि बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, सनराइन बैंक, सानिमा बैंक आदि पर्दछन्। 

हरेक प्रोडक्टको लागि इएमआइ हुन्छ भन्ने छैन। इभो स्टोरमा रु २०,००० भन्दा माथि पर्ने ग्याजेट वा प्रोडक्टहरुले तपाईँहरुले इएमआइको सुविधा पाउन सक्नुहुनेछ। पर्चेज गर्न खोज्नुभएको ग्याजेट सेलेक्ट गर्नुभएपछि Add to cart को छेउमा EMI Calculator को अप्सन तपाईँहरुले भेट्नुहुनेछ। यसमा क्लिक गर्नुहोस्।

त्यहाँबाट फर्म फिल-अप गरेर इएमआइमा ग्याजेट पर्चेज गर्न सक्नुहुनेछ भने डाउन पेमेन्टको लागि बिना एडभान्स पैसा नै इभोस्टोरबाट प्रोडक्ट पर्चेज गर्न सक्नुहुनेछ भने प्रोडक्टमा केही पर्सेन्ट इएमआइ इन्टरेस्ट पनि तिर्नुपर्ने हुनेछ। फर्म फिलअप गरेर अन्य प्रोसेसको लागि स्टोरमा सम्पर्क राख्नुहोस्।

दराज अनलाइन स्टोर (Daraz Online Store)

दराज अनलाइन स्टोर नेपालको बढी चर्चित अनलाइन स्टोर मध्ये एक हो। दराजको अ्याप वा वेबसाइटबाट लाखौँ युजरहरुले नेपालमा सपिङ गर्नुहुन्छ। दराजले पनि आफ्नो प्रोडक्टहरुमा इएमआइ सुविधा उपलब्ध गराएको छ। 

दराजको इएमआइ प्लान एनआसि एसिया बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजच्स बैंक, एनएमबि बैंक तथा सानिमा बैंकको क्रेडिट कार्डमा उपलब्ध गराइएको छ। अन्य बैंकहरुको क्रेडिट कार्ड सर्भिसको लागि दराजमा इएमआइ सुविधा उपलब्ध गराइएको छैन। 

सिटिजन्स बैंकको क्रेडिट कार्डको लागि कम्तिमा रु १०,००० को खरीदमा र अन्य बैंकको क्रेडिट कार्डको लागि कम्तिमा रु १५,००० को खरीदमा तपाईँहरुले इएमआइ सुविधा प्राप्त गर्न सक्नुहुनेछ। 

दराजबाट इएमआइमा पेमेन्ट गर्न निम्नलिखित स्टेपहरु हेर्नुहोस्।

१) एउटा प्रोडक्ट सेलेक्ट गर्नुहोस्। दराजले एउटा प्रोडक्टको लागि मात्र इएमआइ सुविधा प्रदान गर्छ।

२) प्रोडक्ट खरीदको लागि Credit/Debit Card सेलेक्ट गर्नुहोस्।

३) एनआइसि बैंकको लागि पेजमा उपलब्ध गराइएको EMI request form फिल गर्नुहोस्। अन्य बैंकको लागि क्रेडिट कार्ड नम्बर, इएमआइको समय अवधी, दराजको स्क्रिन्सट, इएमआइमा कन्भर्ट गर्नुपर्ने अमाउन्ट नोट गरी आफ्नो बैंकलाई इमेल पठाउनुहोस्।

ओलिज स्टोर (Oliz Store)

ओलिज स्टोर पनि एपल कम्पनीको प्रोडक्टहरुको अथोराइज डिलर हो। एपल ब्रान्ड बाहेक यहाँ अन्य विभिन्न ब्रान्डका प्रोडक्टहरु पनि उपलब्ध रहेका छन्।  ओलिज स्टोराबाट तपाईँहरुले अनलाइन मार्फत या स्टोर भिजिट गरेर प्रोडक्टहरु पर्चेज गर्न सक्नुहुनेछ। ओलिज स्टोरको ब्रान्चहरु काठमाडौँ र इटहरीमा रहेका छन्।

ओलिज स्टोरले पनि आफ्नो प्रोडक्टहरुमा इएमआइ सुविधा प्रदान गरेको छ। ओलिज स्टोरको इएमआइ बैंकिङ पार्टनरहरुमा हिमालयन बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, सिद्दार्थ बैंक, माछापुच्छ्रे बैंक तथा सनराइज बैंक रहेका छन्। यी बैंकहरुको क्रेडिट कार्ड तपाईँहरुसँग छ भने मात्र तपाइँहरुले इएमआइबाट प्रोडक्ट खरीद गर्न सक्नुहुनेछ।

ओलिज स्टोरबाट इएमआइमा प्रोडक्टहरु खरीद गर्नलाई कम्तिमा रु २०,००० बराबरको सपिङ गर्नुपर्ने हुन्छ भने एउटा प्रोडक्टको लागि मात्र इएमआइको सुविधा उपलब्ध रहेको छ।

https://www.olizstore.com/

यस लिंकमा क्लिक गरेर तपाईँहरु ओलिज स्टोरको होम पेजमा प्रवेश गर्नुहुनेछ।

ओलिज स्टोरबाट इएमआइमा ग्याजेटहरु लिनलाई निम्न स्टेपहरु हेर्नुहोस्।

१) ओलिज स्टोरको होम पेजको मेनुबाट EMI सेलेक्ट गर्नुहोस्। मोबाइलबाट हेर्दै हुनुहुन्छ भने ओलिज स्टोरको होमपेजमा माथिल्लो बायाँ कुनामा देखिने तीनवटा तेर्सा धर्कामा क्लिक गर्नुहोस्।

२) यहाँबाट तपाईँहरुले फर्म फिलअप गर्नुपर्ने हुन्छ। फर्म फिलअप गरेपछि Submit मा थिच्नुहोस्।

३) इएमआप फर्म फिलअप गरिसक्नुभएपछि तपाईँहरुले बैंकमा कन्ट्याक्ट गरेर बैंकको अप्रुभल लिनुपर्ने हुन्छ।

४) यति गरेपछि ओलिज स्टोरमा गएर भिजिट गर्नुभएपछि कन्फर्मेसन गरेर ओलिज स्टपरले तपाईँहरुलाई सामान डेलिभर गर्छ।

ओलिज स्टोरको अर्को फाइदा भनेको यसमा ०% डाउनपेमेन्टमा पनि इएमआइमा प्रोडक्ट खरीद गर्न सक्नुहुनेछ भने केहि इन्टरेस्ट रेट पनि यसमा तिर्नुपर्ने हुन्छ।

सामसङ प्लाजा (Samsung Plaza)   

सामसङ तथा हिमस्टार ब्रान्डका प्रोडक्टहरुको डिलरको रुपमा सामसङ प्लाजा चिनिन्छ। सामसङ प्लाजाबाट पनि तपाईँहरुले अनलाइन मार्फत या स्टोर भिजिट गरेर ग्याजेटहरु खरीद गर्न सक्नुहुनेछ। सामसङ प्लाजा स्टोरहरु तपाईँहरुले काठमाडौँ, ललितपुर र भक्तपुरमा भेट्न सक्नुहुनेछ।  

सामसङ प्लाजाबाट तपाईँहरुले ०% इएमआइमा ग्याजेटहरु खरीद गर्न सक्नुहुन्छ। अर्थात तपाईँहरुले इएमआइमा ग्याजेट खरीद गर्दा कति पनि ब्याज तिर्नुपर्ने छैन। सामसङ प्लाजाको इएमआइ बैंकिङ पार्टनरहरुमा एनएमबी बैंक, एनआइसि एसिया बैंक, कुमारी बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंक पर्दछन्। 

तपाईँहरुले अनलाइनमा हुलास फिन सर्भ मार्फत इएमआइको कोटेसनको लागि एप्लाइ गर्नपनि सक्नुहुनेछ। यसको साथै सामसङ प्लाजाले क्रेडिट कार्ड बिना नै इएमआइको लागि एप्लाइ गर्न मिल्ने प्रयोजन पनि मिलाएको छ। सामसङ प्लाजाले प्रदान गर्ने यो सुविधा अन्य स्टोरहरुको भन्दा फाइदाजनक छ। 

सामसङ प्लाजाबाट इएमआइमा ग्याजेट खरीद गर्नलाई तपाईँहरुले कम्तिमा रु ३०,००० को प्रोडक्ट खरीद गर्नुपर्ने हुन्छ भने ग्याजेटको पुरा दामको ४०% डाउनपेमेन्ट पनि गर्नुपर्ने हुन्छ। डाउनपेमेन्ट गरिसकेपछि बाँकी रहेको अमाउन्टको लागि मात्र तपाईँहरुले इएमआइ पाउनुहुनेछ। 

फ्लाग्सिप लेभलको फोनहरुको लागि तपाईँहरुले इएमआइमा ६ देखि १२ महिनासम्मको समय अवधी प्राप्त गर्नुहुन्छ भने बजेट तथा मिड रेन्ज फोनहरुको लागि ६ महिनाको समय अवधी प्राप्त गर्न सक्नुहुनेछ।

https://www.samsungplaza.com.np/

यस लिंकबाट तपाईँहरु सामसङ प्लाजाको होम पेजमा प्रवेश गर्न सक्नुहुनेछ।

सामसङ प्लाजाबाट इएमआइ मार्फत ग्याजेट खरीद गर्नलाई निम्नलिखित स्टेपहरु हेर्नुहोस्।

१) आफुलाई खरीद गर्न मन भएको ग्याजेट सेलेक्ट गर्नुहोस्। 

२) ग्याजेट सेलेक्ट गर्नुभएपछि स्टोरबाट कोटेसन प्राप्त गर्नुहुनेछ। 

३) कोटेसन र अन्य चाहिने डक्युमेन्ट तपाईँहरुले हुलास फिन सर्भिसको प्रतिनिधिलाई सब्मिट गर्नुपर्ने छ। कोटेसन तपाईँहरुले अनलाइन पेजबाट EMI ट्याबमा क्लिक गरेर पनि भर्नसक्नुहुन्छ।

 EMI ट्याबमा क्लिक गर्नुभएपछि खोलिने पेजबाट Emi Service हेडिङ भित्र नीलो रङमा click लेखिएको देख्नुहुनेछ। यसमा क्लिक गर्नुहोस् र फर्म फिलअप गरेर Submit मा क्लिक गर्नुहोस्।

मोबाइलको लागि भने आफ्नो स्क्रिनको माथिल्लो दायाँ कुनामा देखिने तीनवटा ठाडो थोप्लोमा ट्याप गरेर EMI सेलेक्ट गर्नुहोस् र Emi Service हेडिङमा निलो कलरमा लेखिएको click मा ट्याप गरेर फर्म भर्नुहोस्। 

४) डक्युमेन्ट भेरिफाइ भएपछि तपाईँहरुलाई हुलास फिन सर्भिसले प्रोडक्ट डेलिभर गर्नेछ भने इएमआइबाट आरामले पेमेन्ट गर्नसक्नुहुनेछ।

नोटः तपाईँहरुलाई इएमआइ एप्लाइ गर्नको लागि नागरिकता या पासपोर्ट या भोटर आइडि, दुईवटा पासपोर्ट साइज फोटो, इन्कम स्टेटमेन्ट जस्ता डक्युमेन्ट चाहिनेछ। यस बाहेक तपाईँहरुले प्यारेन्ट या कोइ परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्ने हुन्छ।

मेगाटेक ट्रेड ग्रुप(Megatech Trade Group)

मेगाटेक नेपालमा लेनोभो ब्रान्डको ल्यापटपको अथोराइज डिस्ट्रब्युटर हो। यो बाहेक मेगाटेकले लेनोभो ब्रान्डको स्पेयर पार्ट्सहरु, एसिनय ब्रान्डको ब्याट्रिहरु तथा स्यान् डिस्क, वेस्टर्न डिजिटल र अन्य ब्रान्डका प्रोडक्टहरु पनि बिक्रि गर्दछ। लिड एसिड ब्याट्रिहरुको पनि सबैभन्दा ठुलो डिस्ट्रिब्यटरहो मेगाटेक।

तपाईँहरुले काठमाडौँ, भक्तपुर, ललितपुर, बिराटनगर, बिरगन्ज, चितवन, नेपालगञ्ज, जनकपुर, धनगढी, बुटवल आदि ठाउँहरुमा मेगाटेकको ब्रान्चहरु भेट्नुहुनेछ। आफूलाई उचित हुने ठाउँमा मेगाटेक भिजिट गर्नुभएर तपाईँहरुले इएमआइको लागि एप्लाइ गर्न सक्नुहुनेछ।

मेगाटेकबाट इएमआइमा ग्याजेट पर्चेज गर्नलाई मेगाटेकमा कन्ट्याक्ट गरेर तपाईंहरुले कोटेसन प्राप्त गर्नसक्नुहुनेछ। उक्र कोटेसनलाई तपाईहरुले आफ्नो बैंकमा लगेर इएमआइको लागि कुरा गर्नुपर्ने हुन्छ।

मेगाटेकको इएमआइ सुविधा सपोर्ट गर्ने बैंकहरुमा सनराइज बैंक, ग्लोबल आइएमइ बैंक र एनएमबी बैंक पर्दछन्। यी बेंकहरु मध्ये कुनै बैंकको क्रेडिट कार्ड तपाईंहरुसँग छ भने तपाईँहरुले मेगाटेकबाट इएमआइमा प्रोडक्टहरु लिन सक्नुहुनेछ।

अन्त्यमा,

नेपालका स्टोरहरुले पनि डिजिटल ग्याजेटहरुको खरिदमा इएमआइको प्रयोजन उपलब्ध गराएका छन्। इएमआइले गर्दा तपाईँहरुसँग हातमा कुनै ग्याजेट खरिद गर्न पैसा पुग्दैन भने पनि त्यो डिभाइस खरिद गर्न सकनुहुनेछ।

इएमआइको लागि प्राय सबै स्टोरहरुले कोटेसन फर्म भर्न लगाउँछन्। कुनै स्टोरमा कोटेसन फर्म अनलाइनबाट नै भर्ने सुविधा हुन्छ भने कुनै स्टोरमा यसको अनलाइन सुविधा हुँदैन। इएमआइको लागि पुरै प्रोसेस भने अनलाइनबाट मात्र गर्न मिल्दैन र यसको लागि चाहिने डक्युमेन्टको साथ स्टोर र बैंक भिजिट गर्नुपर्ने हुन्छ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.