हाम्रो पात्रो अन्तर्गतको डिजिटल भुक्तानी गर्न मिल्ने एप, “हाम्रो पे” अब सार्वजनिक।  

Hamro Pay Patro

हाम्रोपात्रो अन्तर्गतको डिजिटल वालेट ‘हाम्रो पे’ गत शुक्रबार सार्वजनिक भएको छ। कम्पनीले लामो समयदेखि परीक्षण गरिरहेको डिजिटल वालेट शुक्रबार एक कार्यक्रमका माझ सार्वजनिक हुन भएको हो। 

हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत, शिशिर पोखरेल ज्युका अनुसार लेन्डन सेवा प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको कम्पनी, हाम्रो पेले नेपालमा जनताहरूलाई डिजिटल फाइनान्स सँग सम्बन्धित थुप्रै सेवाहरू प्रदान गर्नेछ। 

हाम्रो पे का प्राय फिचरहरू अरु साधारण डिजिटल वालेट जस्तै भएपनि यस वालेटको स्पेसल फिचर चाहिँ ‘बिल स्प्लिट’ गर्न मिल्ने हो। यो फिचर प्रयोग गरी कुनै एउटा बिल धेरै प्रयोगकर्ताहरू मिलेर तिर्न सक्नेछन्। विदेशमा यस्तो फिचर धेरै चलन चल्तिमा भएपनि नेपालका लागि भने यो नयाँ नै हो।

साथै, यस एपमा आफूले हरेक खर्चको छुट्टाछुट्टै विवरण राख्न सकिने ‘एक्सपेन्स ट्रयाकर’ भन्ने फिचर पनि  समावेश हुनेछ। ‘हाम्रो पे’ सोझै  हाम्रोपात्रो एपबाट प्रयोग गर्न सकिन्छ। कम्पनीका अनुसार हाम्रो पेमा ‘आस्क मनी’, ‘एनालिटिक्स’ जस्ता फिचरहरु पनि उपलब्ध हुनेछन् ।

‘आस्क मनी’ फिचर प्रयोग गरी अरु कोहीलाई सापटी दिएको वा कसैबाट लिन बाँकी रहेको रकम माग गर्न सकिनेछ भने एनालिटिक्सबाट आफूले हाम्रो पेबाट गरेका सबै खर्च विवरण हेर्न सकिने बताइएको छ। त्यसबाहेक, मोबाइल टपअप गर्ने, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधा हाम्रो पे बाट प्रयाेग गर्न सकिन्छ। यस एपमा नेपाली र अङ्ग्रेजीका साथै नेपालभाषा, मैथिली, डोटेली र थारूलगायत ६ भाषाहरू समावेश भएकाले भाषाका हिसाबले पनि यो निकै प्रयोगकर्तामैत्री रहेको छ।

हाम्रो पे कसरी प्रयोग गर्ने त? 

1) हाम्रो पात्रो खोल्नुहोस्।

२) होम पेजमा उपलब्ध हाम्रो पे अप्सन ट्याप गर्नुहोस्।

3) आफ्नो फोन नम्बर हाल्नुहोस् र आफ्नो Gmail लिङ्क गर्नुहोस्।

4) लगइन पछि आफ्नो केवाइसी भर्नुहोस्।

5) आफूले चाहे अनुसार यस एपमा भएका फिचरहरू प्रयोग गर्नुहोस्। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.