आइ एम ह्युमन – – साँच्चैका साइबर्गहरु बारेको डक्युमेन्ट्री

I am Human Documentary nepali

“हामी मानवजातिकै इतिहाँसमा सबैभन्दा महत्वपूर्ण क्रान्तिमा प्रवेश गर्दैछौँ । जहाँ हामीले आफ्नो संज्ञान उद्भव (cognitive evolution) लाई नै नियन्त्रण गर्न सक्छौँ । हामी त्यस्तो प्रविधिको कुरा गर्दैछौँ जसले हामी मानव जस्तो छौँ, त्यसलाई नै दूरगामी रुपमा परिवर्तन गरिदिन सक्छ । 

हामीले के देखिरहेका छौँ भने प्रविधि हाम्रो हिस्सा हुन्छ । किनकी हामी जैविक दिमागलाई प्रत्यक्ष रुपमा मशिनसँग जोड्दैछौँ । 

हामी मानिसहरुले पहिले कहिल्यै नभएको क्षमता विस्तार गर्न सक्यौँ भने के हुन्छ ? यहाँ त्यस्तो वर्गका मानिसहरु छन् जसले भन्नेछन् कि यो अप्राकृतिक हो, यो अमानवीय हो, हामीले यस्तो गर्न दिनु हुँदैन । तथ्य के हो भने हामी नयाँ प्रजातिमा परिणत हुँदैछौँ, प्राविधिक प्रजाति । 

तपाईँलाई थाहा छैन के नतिजा निस्कन सक्छ भनेर । तपाईँलाई थाहा छैन कि यसको कसरी प्रयोग गरिन्छ भनेर ।”

आइ एम ह्युमनको ट्रेलर

माथिका हरफहरु बोल्दै आइ एम ह्युमन डक्युमेन्ट्रिको सुरुवात हुन्छ जसले तपाईँलाई यसको पूरै डेढ घण्टा बाँधेर राख्न र यसले जे देखाउन खोजेको छ, त्यसलाई बुझ्न अनि सकारात्मक रुपमा लिन सघाउ पुर्याउँछ । 

तर डक्युमेन्ट्रिको चर्चा गर्नु अगाडी केही कुरा गर्नु अहिले सान्दर्भिक हुन्छ ।  गत हप्ता स्वास्थ्य र प्रविधि दुबै क्षेत्रमा दुइटा समाचारले विशेष चर्चा पायो । 

पहिलो, ह्विलचेयरमै जिन्दगी जाने हो कि भन्ने चिन्तामा बसेका एक व्यक्तिले प्रविधिको मद्दतले आफ्नो टाउकोमा प्राविधिक दिमाग हालेपछि हिँड्न सफल भए । अहिले कनीकुथी हिँडे पनि विस्तारै उनी मज्जाले हिँड्न सक्ने अपेक्षा गरिएको छ । 

दोस्रो, कम्प्युटर इन्टरफेस दिमाग मानव शरिरमा हाल्ने प्रणालीको विकास गरिरहेको एलन मस्कको कम्पनी न्युरालिङ्कले खास प्रकारका रोगीहरुलाई दिमाग इमप्लान्ट (brain transplant) गर्न पाउने स्वीकृति पाएको छ । यो सँगै प्रविधि र स्वास्थ्यको क्षेत्रमा नवीन प्रयोगहरुले तीव्रता पाउने अपेक्षा गरिएको छ । 

 यि दुई समाचारमा भएका घटनाहरु रातारात भएका हैनन् । यसका पछाडि वर्षौँको मेहनत, लगानी, खोज र अनुसन्धानहरु भएका छन् । योभन्दा अगाडी नै लाखौँ मानिसहरुमा यस्ता प्राविधिक दिमागहरु हालेर प्रयोग पन गरिएको छ; डक्युमेन्ट्रिले यस्तै भन्छ । 

हामीले केही महिनाअघि मात्रै प्यारालाइसिस भएर ह्विलचेयरमा जिन्दगी बिताउन अभिशप्त एक व्यक्तिले आफ्नो टाउकोमा एआइ चिप हालेर कसरी आफूलाई प्राविधिक प्राणीमा परिणत गर्छ भन्ने बारेको थ्रिलर फिल्म “अपग्रेड” को बारेमा समीक्षा लेखेका थियौँ । यस्तो कामलाई फिल्ममा मानिसको “अपग्रेड” गरिएको कुरा अर्थ्याइएको छ ।

यस्ता साइबर्गहरु लामो समयसम्म कल्पना र फिल्महरुमा मात्रै सीमित थिए तर केही वर्षदेखि यसले वास्तविक स्वरुप लिन थालेको छ भलै त्यो स्तरको विकास चाहीँ भैसकेको छैन । यद्यपी यो प्रविधिले तीव्र रुपमा विकास गर्ने कुरा चाहीँ धेरैले अपेक्षा गरेका छन् । 

डक्युमेन्ट्रिमा तीनजना रोगी हुन्छन् । एकजना दुर्घटना भएपछि प्यारालाइसिस भएको हुन्छ । अर्कोलाई पार्किन्सनको रोग लागेको हुन्छ भने अर्का एकजनाले चाहीँ स्नायुसम्बन्धी समस्याका कारण आँखाको ज्योति गुमाएका हुन्छन् । यि तीनैजना ले आफ्नो सुस्वास्थ्यको लागी आफूमा प्राविधिक दिमाग हाल्ने अनुमति दिन्छन् । 

र यो डक्युमेन्ट्रि मूलत: यही प्रक्रिया, ती रोगीहरुको दुख, दिमाग हालेपछि पहिले गुमाएका क्षमताहरु पुन: पाउन गरेका प्रयास, कस्ता औषधि लिइरहेका छन् भन्ने जानकारी, पछि तिनीहरुमा आएका सानादेखि ठूला प्रगतिहरु लगायका बारेमा केन्द्रित छ । 

यदी तपाईँ यस्तो विषयमा सकारात्मकदेखि नकारात्मकसम्म सबै कुराहरुको विवेचना गरिएको डक्युमेन्ट्रि हेर्न चाहनुहुन्छ भने यो ज्यादै उपयोगी छ । यसले यस्ता टेक्नोलोजिक ब्रेन मानव शरिरमा हाल्नुलाई सकारात्मक रुपमा लिएको छ । 

नलियोस् पनि कसरी जब प्यारालाइसिस भएको मानिस यस्ता दिमागको कारण हिँड्न सक्छ, घरबाट बाहिर निस्कन नसक्ने मानिस विदेश घुम्न सक्छ र आँखाको ज्योति नै गुमाएकाले त्यो क्षमता पुन: पाउँछ भने । डक्युमेन्ट्रिका अनुसार यस्तो दिमाग खास प्रकारका गम्भीर रोग लागेकालाई मात्रै दिइन्छ ।

यद्यपी स्वस्थ मानिसमा पनि यस्ता प्रकारका दिमागहरु हाल्न सकिने, त्यो पनि कुनै अपरेशन नगरिकनै, त्यस्तो दिन पनि आउन सक्ने चर्चा यसमा गरिएको छ । अहिले नै त्यस्तो प्रविधि बनिसकेको छ जसले मानिसले के सोचिरहेको छ भनेर थाहा पाउन सक्छ, एक हदसम्म । 

यसमा प्रविधि जगतका जानकारहरु मात्रै हैन, स्नायुसम्बन्धि थुप्रै जानकारहरुको पनि अन्तर्वार्ता लिइएको छ । र यस्ता दिमागका उद्भव, विकास, जोखिम, विद्यमान अवस्था, भविष्य, फाइदा लगायतका बहुआयामिक पक्षहरुबारे चर्चा गरिएको छ । 

अपग्रेड जस्ता फिल्महरुले यस्ता दिमागले मानवजातिलाई नै सङ्कटमा पार्ने जस्ता जोखिमहरु देखाउने गर्छन् । प्राय:जसो सायन्स फिक्शन फिल्महरुले प्रविधिको व्यापक विकासले यस्तै खालका जोखिमहरुलाई मूख्य विषयवस्तु बनाउने गरेको पाइन्छ । 

तर आइ एम ह्युमनले यस्ता प्रविधिको विकास सभ्यताको नयाँ चरण भएको र मानिसलाई मूलत: फाइदा नै पुर्याउने जस्तो दाबी गरेको छ । यो डक्युमेन्ट्रिले तपाईँलाई पनि मानव शरिरको दिमागलाई सिधै कम्प्युटर वा मशिनसँग जोड्ने जस्तो नवीन प्रविधिको बारेमा सकारात्मक धारणा बनाउन मद्दत गर्दछ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.