एआइको युगमा मिडियाले ध्यान दिनुपर्ने द्वन्द संवेदनशीलताका कुराहरू

Media's AI-age sensitivities

कन्फ्लिक्ट सेन्सिटिभ मिडिया अर्थात्  (नेपालीमा सामान्यतया) द्वन्द संवेदनशील मिडियाले मूलत: जसको बारेमा समाचार, कथा, भाष्य, भिडियो वा जुनसुकै माध्यममार्फत् कसैको कथा वा घटना प्रकाशन, प्रसारण वा पोष्ट गर्नुपर्यो भने त्यस्ता घटनामा संलग्न मानिसहरूलाई सकेसम्म मनोवैज्ञानिक वा सामाजिक वा आर्थिक वा भौतिक वा कानुनी चोट अथवा हानी नपुर्याइकन, ज्यादै संवेदनशील भएर मात्रै निर्णय लिएर अघि बढ्नुपर्छ भन्ने कुरामा जोड दिने गर्छ ।

यहाँ हामीले बुझ्नुपर्ने कुरा के भने द्वन्द भन्नासाथ लडाईँ-झगडाको कुरा नभएर कुनै पनि घटना, समाचार, विषयवस्तु, कथा लगायतका कुराहरूमा तिनको मिडियामा प्रस्तुती दिँदा त्यससँगै गाँसिएर आउने अनेक खाले आयामका अनेक खाले विरोधाभासहरू भनेर बुझ्नुपर्ने हुन्छ । 

अहिले हामी प्रविधिको अचम्मको दुनियाँमा प्रवेश गरिसकेका छौँ र एआइको बढ्दो विकासका कारण यो आधुनिक प्राविधिक युगमा यस्ता द्वन्दात्मक कुराहरूमा कसरी संवेदनशील हुने भन्ने कुरा ज्यादै पेचिलो बनिसकेको छ। 

मिडियामा काम गर्नेहरूमा एआइको सञ्चालन प्रक्रिया र यसले कसरी काम गर्छ भन्ने कुराको राम्रो ज्ञान नभएका कारण उनीहरूले थुप्रै गलत र असंवेदनशील काम गरिरहेका छन् । यसै सेरोफेरोमा रहेर मिडियाकर्मीहरू र आम सोसल मिडिया प्रयोगकर्ताहरूले यो एआइको युगमा कसरी संवेदनशील हुने भन्ने कुरामा यो लेख केन्द्रित हुनेछ ।

जसरी जुनसुकै मिडियाको मूख्य ध्येय पैसा कमाउनेमा केन्द्रित हुन्छ, एआइ पनि त्यसमा अछुतो रहन सक्दैन । पछिल्लो दशकमा एआइ उद्योगमा सयौँ अर्ब डलर खन्याइएको छ । र पक्कै पनि तिनीहरूको मूख्य लक्ष्य भनेको त्यसलाई खरबौँ डलरको उद्योगमा परिणत गर्ने नै हो ।

जस्तै उदारहणको लागी माइक्रोसफ्टले ओपनएआइमा दश अर्ब डलर लगानी गरेको छ । ओपनएआइले बनाएको चर्चित एआइ च्याटजिपिटिको मूख्य उद्देश्य भनेको गूगल सर्च ईन्जिनलाई विस्थापित गर्ने र सर्च ईन्जिन बजारको ठूलो हिस्सा हत्याउने नै हो । 

त्यसको सिधा अर्थ भनेको, प्राय: अन्य मिडिया र सोसल मिडियाले जस्तै, यस्ता एआइहरूले द्वन्द संवेदनशीलताको बारेमा खासै वास्ता नै गर्दैनन्  ।

एआइको आधारभूत सञ्चालन प्रक्रिया भनेको यसले धेरै भन्दा धेरै डेटाहरूबाट केही स्वरूप (वा प्रवृत्ति) पहिचान (pattern recognition) गर्छ र त्योबाट केही निश्चित विचारहरूको निर्क्यौल गर्छ र त्यो निर्क्यौलमा आधारित रहेर आफ्नो काम गर्छ मानौँ त्यो निर्क्यौल वा निष्कर्ष सही वा तथ्यपरक छ ! 

कहिलेकाहीँ त्यस्तो निष्कर्ष सही हुनसक्छ र कहिलेकाहीँ गलत । हाम्रो मूख्य उद्देश्य भनेको एआइले निचोड निकालेको वा सिर्जना गरेको गलत, भ्रमपूर्ण र खतरापूर्ण सामाग्रीबाट आफू र समाजलाई कसरी बचाउने अनि मिडियाकर्मीहरू त्यसको जालबाट कसरी उम्कने भन्नेमा हो ।

बुझ्ने, सम्झने र निचोड निकाल्ने मामिलामा हामी मान्छेहरूमा सीमित मात्रै क्षमता हुन्छ तर एआइमा त्यस्तो क्षमता असीमित हुन्छ, त्यो पनि असीमित डेटाहरूमा ! हुन त त्यो हाम्रो लागी सहयोगी नै हुन्छ तर खतरापूर्ण पनि हुन्छ । 

यसले निकै स-साना कुराहरूमा पनि ध्यान दिने हुनाले गर्दा कुनै प्रवृत्ति वा विशेषता वा स्वरूप (pattern) पनि यसले पहिचान गरिदिन सक्छ, जुन भ्रमपूर्ण र खतरापूर्ण दुबै हुन्छ ।

उदारहणको लागी यसले खास धर्म, नश्ल, जात, समुदाय, राष्ट्र ईत्यादीका मानिसहरूमा थुप्रै नकारात्मक र आपत्तिजनक विशेषताहरू पहिचान गरिदिन्छ, बिना कुनै वैज्ञानिक प्रमाण । 

अनि यसले त्यस्ता कुराहरूलाई तथ्य मानेर अरबौँ मानिसहरूमाझ फैलाइदियो भने र आफ्नो काम गरिदियो भने सम्बन्धित मानिसहरूलाई दशकौँसम्म अपूरणीय र अकल्पनीय क्षति हुन्छ ।

खासमा यस्तै खालको घटना केही वर्ष अगाडी भएको थियो जब माइक्रोसफ्टले आफ्नो च्याटबट ट्विटरमा सार्वजनिक गरेको थियो । त्यसले अमेरिकाका खास समुदायमाथि नश्लिय टिप्पणी गरेपछि यसको व्यापक आलोचना भएको थियो । त्यसको केही समयपछि नै माइक्रोसफ्ट र ट्वेिटरले त्यो च्याटबट हटाउन बाध्य भएका थिए ।

अमेरिकी जासुसी संस्था सिआइएले समेत केही वर्ष अगाडी अनुहार चिन्ने एआइ सफ्टवेयरको प्रयोग गरेको थियो तर त्यसले अमेरिकाको अल्पसङ्ख्यक समुदायका थुप्रै मानिसहरूलाई अपराधिको रूपमा गलत पहिचान गरिदिएपछि विवादास्पद भएको थियो । त्यो एआइ एक हदसम्म नश्लीयतालाई प्रश्रय दिने खालको भन्न सकिन्छ ।

अहिलेको समयमा प्राय: मानिसहरू समाचार र जानकारीको लागी सोसल मिडियामा भर पर्छन् । तर तिनमा एआइको प्रयोगको कारण प्रयोगकर्ताहरूले तथ्यपरक समाचार र जानकारीको सट्टा त्यस्तो सामाग्री, विचार र सूचनाहरू मात्रै पाउँछन् जुन उनीहरूलाई मन पर्छ ।

त्यसको अर्थ, यदी कोही जातिवादी छ भने उसको न्युजफीडमा जातिवादी कुराहरू नै धेरै आउँछ, तथ्यपरक जानकारीको सट्टामा । प्रविधिविदहरूका अनुसार डोनाल्ड ट्रम्पले यस्तै कारणले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बाजी मारेका थिए । 

अर्को महत्वपूर्ण कुरा के भने हामी मानिसहरू भावनात्मक प्राणी हौँ, तार्किक हैनौँ (भए पनि कहिलेकाहीँ मात्रै ) । तर एआइ भनेको तार्किक भौतिक यन्त्र हो जसमा कुनै भावना नै हुँदैन । यही कारणले गर्दा एआइले अरूको भावनाको बारेमा सोच्नै सक्दैन । 

हामी मानिसहरू बोल्नु वा कुनै विचार व्यक्त गर्नुभन्दा अगाडी अरूलाई कस्तो असर पर्ला भनेर सोच्ने गर्छौँ तर एआइले यो गर्न सक्दैन । हुन त निश्चित अवस्था र सर्तहरूमा एआइलाई अरूलाई कुनै नकारात्मक असर नपार्नको लागी प्रोग्राम गर्न नसकिने हैन तर कुरा के भने भावनाको कुनै निश्चित सीमा हुँदैन । 

त्यसकारण एआइले वास्तविक संसार अर्थात् यो असीमित र अज्ञेय संसारमा के कुराले कसको भावनामा कसरी र कस्तो हानी वा चोट पुर्याउँछ भन्नेबारे सोच्न र जान्न सक्दैन ।

एआइले तपाईँका पूर्वाग्रह र झुकावहरूलाई ह्वात्तै बढाइदिन सक्छ । यसले तपाईँका स्वभाव बुझ्ने प्रयास गर्छ तपाईँका अनलाईन गतिविधिहरूमार्फत् र तपाईँलाई ती कुराहरू मन पर्छ भन्ने निचोड निकाल्छ ।

त्यसपछि त्यो निचोडका आधारमा यसले तपाईँको न्युजफिडमा त्यस्तै खालका समाचार, भिडियो, जानकारी र विभिन्न सामाग्रीहरू लगातार पठाइरहन्छ ताकी तपाईँ तिनीहरूको प्ल्याटफर्ममा धेरैभन्दा धेरै समय बिताउनुहोस् र त्यस्तो एआइ बनाउने कम्पनीले तपाईँलाई धेरै भन्दा धेरै विज्ञापन देखाएर पैसा कमाउन सकोस् ।

एआइलाई धेरै राम्ररी थाहा हुन्छ कि तपाईँले आफूलाई मनपर्ने सामाग्री पाउनु भएन भने त्यस्तो प्ल्याटफर्ममा तपाईँ धेरै समय बिताउनुहुन्न । त्यसकारण तपाईँलाई त्यहाँ अड्काउनको लागी यसले गलत र भ्रमपूर्ण नै भएपनि सामाग्रीहरू पठाइरहन्छ जसले तपाईँको पूर्वाग्रह र गलत झुकावहरूलाई थप बलियो पारिदिन्छ । 

एआइको कारणले घटित त्यस्ता घटनाहरू पनि छन् जसमा निर्दोष मानिसहरू दोषी जस्तो देखिएका छन् । जस्तै निर्मला काण्डको कुरा गरौँ । त्यो घटनामा बम दिदिबहिनी महिनौँसम्म मूख्य दोषी जस्तो गरेर मिडियाले समाचार बनाएको थियो र कथित बौध्दिकहरूले पनि त्यही आशयको विचार व्यक्त गरेका थिए ।

मिडियामा आएका समाचार र सोसल मिडिया प्रयोगकर्ताका अनुसार ती बम दिदिबहिनीले उच्च पदस्थ र हाइप्रोफाइल व्यक्तिहरूलाई केटी मिलाउने काम गर्ने गरेको र एक प्रहरी अधिकृतलाई निर्मला मिलाइदिएको र पछि तिनीहरूकै कारणले यस्तो घटना भएको सम्मका कुराहरू महिनौँसम्म विश्वास गरिएको थियो जुन पछि गलत सिध्द भयो । 

निर्दोष बम दिदिबहिनीको भावना र संवेदनशीलताको बारेमा निकै कम मिडिया, बौध्दिक र सोसल मिडिया प्रयोगकर्ताहरूले ख्याल गरे । लगभग सबै बम दिदिबहिनी दोषी भएकोमा विश्वस्त मात्रै हैनन् , तिनलाई कारवाही गर्नुपर्ने र मृत्युदण्डसम्म दिनुपर्ने कुराहरू सोसल मिडियामा पढ्न पाइन्थ्यो । 

यो घटनालाई लिएर सोसल मिडियामा भएको के थियो भने मानिसहरूले त्यस्ता सामाग्री मात्र पढे जुन तिनीहरूलाई विश्वासयोग्य र रोचक लाग्यो र पटकपटक उस्तै प्रमाणविहिन सामाग्रीहरू तिनीहरुका न्युजफिडमा आइरहे र त्यसलाई नै तिनीहरूले प्रमाण मानिदिए । त्यसकारण तिनीहरूले बम दिदिबहिनीको संलग्नताको प्रमाण बिना नै यो घटनामा नकारात्मक प्रतिक्रिया दिइरहे ।

एआइको यस्तो खालको फिचरले संसारका धेरै ठाउँहरूमा ठूला डरलाग्दा घटनाहरू घटेका छन् । जस्तै भारतमा हुने दङ्गाहरू, म्यानमारमा रोहिङ्ग्या समुदायको नरसंहार, पश्चिमा देशहरूमा एशियाली समुदाय विरूध्दको घृणाभाव इत्यादी । 

शेयर बजार र वित्तीय बजारहरूमा एआइले विध्वंशात्मक परिणाम दिएको छ । यसले बजारको उतारचढावमा हुँदै नभएका प्रवृत्ति र स्वरूपहरू देख्छ र त्यसले ल्याउन सक्ने परिणामको बारेमा भविष्यवाणी गर्छ र त्यही अनुसार प्रतिक्रिया जनाउँछ । अर्थात् शेयर किन्ने र बेच्ने सम्बन्धी । 

र यसले सोही अनुसारको प्रतिक्रिया जनाउँदा वर्षौँसम्म बजार थिलथिलो बनाइदिन्छ । खासगरी वालस्ट्रिटमा यस्तो घटना हुने गर्छ । यस्ता घटनाले धेरैलाई आर्थिक घाटामा पुर्याउने, अवसादग्रस्त बनाइदिने र कतिलाई त आग्महत्या गर्न समेत बाध्य बनाइदिने गर्छ ।

समस्याहरू अनगिन्ति छन् । त्यसो भए अब तपाईँको मनमा प्रश्न जन्मियो होला कि एआइको यस्तो पासोमा पर्नबाट कसरी बच्ने त ? एआइबाट सिर्जना हुन सक्ने विभिन्न गलत समाचार, भ्रामक जानकारी, पूर्वाग्रही विचार, अवैज्ञानिक निष्कर्ष इत्यादीबाट कसरी बच्ने त ? एआइको युगमा सबै मानिसहरू र खासगरी मिडियाकर्मी कसरी संवेदनशील हुने त ?

हामी अहिले एआइको विकासको भ्रूणकै अवस्थामा रहेकोले यसका नकारात्मक असरहरूबाट बच्नको लागी हामीसँग अहिले नै अचुक उपायहरू छैनन् । तर हामीसँग पक्कै पनि थुप्रै उपायहरू छन् जसले आम इन्टरनेट प्रयोगकर्ता र मिडियाकर्मीहरूलाई द्वन्दको मामिलामा धेरैभन्दा धेरै संवेदनशील हुन सघाउ पुर्याउँछ ।

रिपोर्टर, सामाजिक सञ्जाल प्रयोगकर्ता, लेखक, सम्पादक, कन्टेनट क्रिएटर इत्यादीले सामाजिक सञ्जाल र इन्टरनेटमा फैलिएका समाचार र सामाग्रीहरूमा आँखा चिम्लेर विश्वास गर्नु हुँदैन । उनीहरूले सकेसम्म बहुआयामिक नत्र अर्को पक्षको दृष्टिकोणलाई पनि स्थान दिनुपर्छ । उनीहरूले विश्वसनीय स्रोत र प्रमाण खोज्ने बानी बसाल्नुपर्छ । 

गलत समाचार, भ्रामक जानकारी, अवैज्ञानिक विचार इत्यादीलाई पटकपटक स्थान दिने र सच्याउँदा पनि नसच्याउने र असंवेदनशील भाषा र शैलीको प्रयोग गर्ने खालका मिडिया, पेज इत्यादीलाई अनफलो वा अनसब्सक्राइब नै गर्दा बुध्दिमानी हुन्छ । 

अन्य मानिसहरू प्रति घृणा फैलाउने खालका मिडिया, समूह वा व्यक्ति विरूध्द रिपोर्ट गर्ने वा ब्लक नै गर्ने बानी बसाले झनै राम्रो हो । आलोचनात्मक रूपले तार्किक हुने र समाचारको स्रोत र प्रमाण खोज्ने बानी बसाल्नु धेरै बुध्दिमानी हुन्छ । 

र यदी सक्नुहुन्छ भने स्रोत र प्रमाण फेला पारिसकेपछि पनि त्यो कुरा सत्य वा तथ्यपरक छ कि छैन भनेर केलाउने बानी पनि बसाल्नु आफू, देश र समाजको हितमा हुन्छ । 

त्यस्तो मिडिया वा पेज वा वेबसाइटलाई सब्स्क्राइब वा फलो गर्नुस् जसले सकेसम्म कुनै पनि घटनालाई बहुआयामिक कोणबाट वा कम्तीमा पनि आलोचनात्मक तरिकाले हेर्ने गर्छ । सधैँभरी त्यस्तो जानकारी वा सूचना खोज्नुस् जसले तपाईँलाई गलत सिध्द गर्छ किनकी त्यस्तै बानीले तपाईँलाई आलोचनात्मक हिसाबले तार्किक बनाउँछ ।

बेलाबेलामा एआइलाई झुक्याउने काम गर्नुस् । त्यो कसरी भन्दा अन्धाधुन्ध सर्च, रियाक्ट, लाइक, कमेन्ट इत्यादी गर्ने, खासगरी विश्वसनीय समाचार र जानकारी पस्किने मिडिया र पेजका सामाग्रीहरूलाई अझै धेरै ताकी तपाईँले आफ्नो न्युजफीडमा पर्याप्त मात्रामा तथ्यपरक सामाग्री पाउनुहोस् । 

इन्टरनेटमा आएका सामाग्रीहरूमाथि तुरून्तै प्रतिक्रिया दिइहाल्ने बानी त्याग्दिनुस् । सामाजिक सञ्जालमा धेरै समय बिताउने र समाचारको स्रोत नै त्यसैलाई बनाउने काम छाड्नु नै राम्रो हुन्छ किनकी त्यहाँ समाचार निकै कम र हल्ला अति नै धेरै हुने गर्छ । हल्लाबाट सूचना तब मात्र पाइन्छ जब हल्लाबाट परै बसिन्छ । 

खासगरी व्यक्ति, समाज, र मान्छेको भावनासम्बन्धी सबै कुराहरूको बारेमा लेख्न वा रिपोर्टिङ गर्न वा विचार व्यक्त गर्न एआइको प्रयोग कहिल्यै नगर्नुस् किनकी त्यसले ती पक्षहरूको बारेमा आपत्तिजनक र असंवेदनशील प्रतिक्रिया जनाउने सम्भावना सधैँ रहन्छ । गरिहाल्नु भयो भने पनि प्रकाशन वा प्रसारण गर्नु अघि धेरै पटक जाँच गर्नुस् । 

र अन्त्यमा, एआइको सदुपयोग मात्रै गर्ने प्रयास गर्नुस् अनि यसका सम्भावित नकारात्मक परिणामहरूको बारेमा सधैँ विचार गर्नुस् ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.