NOC लेटर अब अनलाइन बाटै लिन मिल्ने!!! यसरी बनाउनुहोस् NOC।

वैदेशिक अध्ययनको लागि एप्लाइ गर्ने बेलामा NOC या No Objection Certificate पेश गर्नुपर्ने हुन्छ जुन शिक्षा मन्त्रालयले प्रदान गर्दछ। सामान्यतया NOC ले नेपाल सरकारले विद्यार्थीलाई वैदेशिक अध्ययनको लागि राजी भएको भन्ने कुरा जनाउँछ। NOC बिना वैदेशिक अध्ययनको प्रोसेसिङ पूर्ण हुँदैन।

केहि अगाडि सम्म NOC को लागि एप्लाइ गर्दा एप्लिकेसन फर्म भर्न, पेमेन्ट गर्न र अन्त्यमा NOC लिन सबै प्रक्रियालाई आफैँ उपस्थित हुनु पर्ने हुन्थ्यो। तर अहिले यसको सहजताको लागि NOC को लागि अनलाइन बाटै भर्न पाइने सुविधा उपलब्ध पारिएको छ।

भन्नु नै पर्दा अहिले NOC प्रक्रिया पूर्ण रुपमा अनलाइनमा परिणत भएको छैन र यो सुविधा NOC एप्लाइ गर्न मात्र सिमित छ।  तापनि यो एउटा राम्रो सुरुवात हो र समयसँगै NOC लिन सकिने प्रक्रिया पनि अनलाइन मार्फत नै हुने सम्भावना निकै छ।  

यसै विषय अन्तर्गत रही NOC को लागि कसरी अनलाइन बाट एप्लाई गर्न सकिन्छ भन्ने कुराको जानकारी यस आर्टिकलमा समावेश गरिएको छ। 

अनलाइन बाट NOC कसरी एप्लाई गर्ने?

NOC अनलाइन बाट एप्लाइ गर्न निम्नलिखित स्टेपहरु पछ्याउनुहोस्।

१) शिक्षा मन्त्रालय अन्तर्गतको NOC website मा जानुहोस्। लिङ्कमा प्रवेश गर्नुभएपछि तपाईँहरुले यस्तो पेज देख्नुहुनेछ।

noc home page    

२) सोहि पेजमा Apply for NOC हेडिङ भएको बक्समा Mobile Number लेखिएको ठाउँमा क्लिक गरेर आफ्नो मोबाइल नम्बर हाल्नुहोस्। यति गरेपछि Proceed मा क्लिक गर्नुहोस्।

 mobile number input

३) यति गरेपछि तपाईँहरुले “OTP has been sent via SMS” लेखिएको एउटा डायलग बक्स देख्नुहुनेछ भने तपाईँहरुले हाल्नुभएको मोबाइल नम्बरमा एउटा OTP कोडको मेसेज आउनेछ।

यस डायलग बक्समा Token लेखिएको ठाउँमा क्लिक गरेर मोबाइलमा आएको OTP कोड हाल्नुहोस् र Proceed मा क्लिक गर्नुहोस्। OTP मेसेज तपाईँहरुको मोबाइलमा आएन भने Resend बटनमा क्लिक गर्नुहोस्।

noc otp token

४) यति गरेपछि तपाईँहरुले “Login Successful” भन्ने मेसेज देख्नुहुनेछ। पहिलो Login को लागि तपाईँहरुले पासवर्ड सेट गर्नुपर्ने हुन्छ। 

पासवर्ड डायलग बक्समा New Password र New Password Confirmation लेखिएको ठाउँमा एउटै पासवर्ड राखी SUBMIT मा क्लिक गर्नुहोस्।

noc password setup

५) यति गरेपछि तपाईँहरु NOC application form भर्ने पेजमा प्रवेश गर्नुहुनेछ। पहिलो स्टेपमा तपाईँहरुले आफ्नो इमेल भेरिफाइ गर्नुपर्ने हुन्छ। यसको लागि Email Verification सेक्सन अन्तर्गत E-mail* लेखिएको ठाउँमा आफ्नो इमेल हालेर REQUEST TOKEN मा क्लिक गर्नुहोस्।

noc email verification page

६) यति भएपछि Token has been mailed to your email address भनेर एउटा मेसेज देखिनेछ। आफ्नो इमेलमा NOC Online Nepal ले एउटा इमेल भेरिफेकेसन टोकन नम्बर पठाएको देख्नुहुनेछ। इमेलमा आएको टोकेन नम्बर Token लेखिएको ठाउँमा क्लिक गरेर हुबहु सार्नुहोस् र VERIFY EMAIL मा क्लिक गर्नुहोस्।

  noc email verification token    

७) इमेल भेरिफाइ भए पछाडि तपाईँहरु Citizenship Setup पेजमा प्रवेश गर्नुहुनेछ।

noc citizenship setup entry 

यस पेजमा तपाईँहरुले आफ्नो नागरिकता अनुसार चाहिने विवरणहरु सबै भरेर नागरिकताको अगाडि/पछाडिको फोटो र अहिलेको आफ्नो एउटा फोटो अट्याच गर्नुपर्ने हुन्छ। यति गरेर CONFIRM मा क्लिक गर्नुहोस्।

noc citizenship setup confirm

८) यहाँबाट तपाईँहरु Passport Setup पेजमा प्रवेश गर्नुहुनेछ। Passport Setup पेजमा पनि यहाँ मागिएका विवरणहरु सबै भरेर CONFIRM मा क्लिक गर्नुहोस्।

तपाईँहरुसँग हाल पासपोर्ट छैन भने पनि यसको लागि “I do not have passport” भनेर अप्सन राखिएको छ। यो लेखिएको छेउमा रहेको चेकबक्समा क्लिक गरेर CONFIRM मा क्लिक गर्नुहोस्। 

noc passport setup confirmation 

९) यति भएपछि तपाईँहरुको Application for No Objection Letter भन्ने पेजमा प्रवेश गर्नुहुनेछ। यहाँ तपाईँहरुले पहिला पढेको देश, एकेडेमिक लेभल र एकेडेमिक फ्याकल्टि जस्ता विवरण भर्नुपर्ने हुन्छ।

यी विवरण भर्पनुभएपछि तलतिर स्वतः Application detail भन्ने हेडिङ देखिनेछ जुन यी विवरणहरु भर्नु अगाडि देखिँदैन थियो। Application Detail तपाईँहरुले एकेडेमिक लेभल र फ्याकल्टिको विवरण भर्नुभएपछि मात्र खुल्नेछ।noc application detail open

Application Detail अन्तर्गत तपाईँहरुले वैदेशिक अध्ययनको लागि एप्लाइ गर्ने देशको साथै एप्लाइ गर्न लाग्नुभएको कलेज, फ्याकल्टि र विषय जस्ता कुराको विवरण दिनुपर्ने हुन्छ। Application Detail अन्तर्गत Country सेलेक्ट गर्नुभएपछि मात्र अन्य विवरणहरु भर्न पाइनेछ।

यो स्टेपमा अन्तिम विवरणको लागि Select Subject भन्ने अप्शन आउँछ जहाँबाट तपाईँले आफूले पढ्न खोज्नुभएको विषय छान्नपर्ने हुन्छ। यदि तपाईँहरुले आफूले पढ्न खोज्नुभएको विषय भेट्नुभएन भने REQUEST NEW? मा क्लिक गरी उक्त विषयको लागि रिक्वेस्ट पनि गर्नसक्नुहुनेछ।

 noc application detail fill

११) यी सबै विवरणहरु भर्नुभएपछि Academic Detail को तल Eligibility Descriptions भन्ने हेडिङ स्वतः देखिनेछ। Eligibility Descriptions अन्तर्गत कलेजको अफर लेटर या एक्सेप्टेन्स लेटर, नोटराइज गरेको ब्याचलरको एकेडेमिक ट्रान्सक्रिप्ट र सर्टिफिकेट, कलेज या युनिभर्सिटिको इन्भोइस र अन्य सपोर्टिङ डक्युमेन्टहरु अपलोड गर्नुपर्ने हुन्छ। 

यति गरेपछि अन्तिममा Studying through Consultancy र Self मा कुनै एउटा अपसन सेलेक्ट गरी CONFIRM मा क्लिक गर्नुहोस्। आफैँ फर्म भर्दै हुनुहुन्छ भने Self मा क्लिक गर्नुहोस्।

noc eligibility description

१२) अब देखिने पेजमा आफ्नो विवरणहरु फेरी कन्फर्म गरी PROCEED मा क्लिक गर्नुहोस्।

noc final proceed

यति गरेपछि Application Successfully Submitted भन्ने एउटा मेसेज तपाईँहरुको स्क्रिनमा देखिनेछ। Application Successfully Submitted लेखिएको तल तिर तपाईँहरुले Application Number र Download form भन्ने कुराहरु देख्न सक्नुहुनेछ।

Download Form मा क्लिक गरी फर्म डाउनलोड गर्नुहोस्। फर्म चेक गरी केहि गल्ती भएको देखियो भने तपाईँहरुले पूनः लग इन गरी फेरी सँच्याउन सक्नुहुनेछ। यो फर्म तपाईँहरुले प्रिन्ट गर्नुपर्ने हुन्छ जुन केहि दिन पछाडि NOC लिन जाँदा आवश्यक पर्ने हुन्छ।

NOC सब्मिट भएपछि के गर्ने?

NOC सब्मिट भएपछि तपाईँहरुलाई प्राय २ देखि ३ दिन भित्रमा जिमेल र NOC भेरिफाइ भयो भन्ने एसएमएस (SMS) आउनेछ। यस मेसेजमा तपाईँहरुलाई उक्त दिनमा र उक्त समयमा NOC लिन आउनुहोला भनेर लेखिएको हुनेछ।

NOC भेरिफाइ भएको मेसेज आएपछि तपाईँहरुले ई-सेवाबाट पनि पेमेन्ट गर्न सक्नुहुनेछ या राष्ट्रिय वाणिज्य बैंकमा गएर पेमेन्ट गर्नसक्नुहुनेछ या NOC लिन जाँदा शिक्षा मन्त्रालयम पनि पेमेन्ट गर्न सक्नुहुनेछ। पेमेन्टको लागि तपाईँहरुलाई रु.२००० तिर्नुपर्ने हुन्छ।

ईसेवामा पेमेन्ट गर्नुभएपछि या राष्ट्रिय वाणिज्य बैंकमा गएर पेमेन्ट गर्नुभएपछि तपाईँहरुले पेमेन्ट स्टेटमेन्ट या पेमेन्ट भाउचरको फोटोकपि गर्नुपर्ने हुन्छ। यो पनि तपाईँहरुले NOC लिन जाँदा चाहिने हुन्छ।

NOC लाई एप्लाइ गर्दा कस्ता डक्युमेन्टको आवश्यकता पर्दछ?

NOC अनलाइन एप्लाइ गर्दा तपाईँहरुले केहि डक्युमेन्टहरु स्क्यान गरी PDF फर्म्याटमा तयार पार्नुपर्ने हुन्छ। ती डक्युमेन्टहरु यस प्रकार रहेका छन्।

१) नागरिकता (फ्रन्ट र ब्याक) – सक्कल र नोटराइज फोटोकपि

२) पासपोर्ट (फ्रन्ट दुई पेज र ब्याकको दुई पेज) – सक्कल र नोटराइज फोटोकपि

३) एकेडेमिक ट्रान्सक्रिप्ट र सर्टिफिकेट – सक्कल र नोटराइज फोटोकपि

४) कलेज या युनिभर्सिटिको अफर लेटर/ I-20

५) काउन्सिल सर्टिफिकेट (इन्जिनियर, डाक्टर र नर्सको लागि) – सक्कल र नोटराइज फोटोकपि

६) पूनः एप्लाइ गर्दै हुनुहुन्छ भने पुरानो NOC

७) पासपोर्ट (PP) साइज फोटो

८) विवाह पछाडि नाम परिवर्तन भएको खण्डमा म्यारिज सर्टिफिकेट (marriage certificate)

NOC लिन जाँदा तपाईँहरुलाई के-कस्ता डक्युमेन्टहरु चाहिन्छन्?  

NOC लिन जाँदा तपाईँहरुलाई निम्न ड्युमेन्टहरुको आवश्यकता पर्नेछ।

१) अनलाइन एप्लिकेसन फर्म,

२) सक्कल नागरिकता र शैक्षिक प्रमाणपत्र,

३) पेमेन्ट स्टेटमेन्ट या पेमेन्ट भाउचर,

४) पहिले NOC लिनुभएको भए यसको आफ्नो र बैंकको गरी दुई थान सक्कल प्रति,

५) पहिले NOC लिई विदेशी मुद्रा सटही गर्नुभएको भए आफ्नो NOC को सक्कल प्रति १ थान र बैंकद्वारा प्रमाणित गरिएको Refunded Bank Statement,

६) पहिले लिएको NOC हराएको खण्डमा NOC को पुलिस रिपोर्ट र बैंक द्वारा प्रमाणित गरिएको Bank Statement। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.