तपाईंले ओपनसोर्स सफ्टवेयरको बारेमा बेलाबेला सुन्नुभएको होला । नसुने पनि पक्कै पनि कतिपय ओपनसोर्स सफ्टवेयर आफ्नो कम्प्युटर वा स्मार्टफोनमा चलाउनुभएकै होला । थुप्रै ठूला-साना कम्पनीहरूले यसको प्रयोग गरिरहेका छन् ।
जस्तै VLC Media Player, GIMP, Brave, Linux, Discord, Zoom Meetings, Mozilla Firefox, Avast, Notepad इत्यादि ओपनसोर्स सफ्टवेयर हुन् । पक्कै पनि यीमध्ये केही तपाईँले चलाउनुहुन्छ वा कम्तीमा नाम सुन्नुभएको होला ।
यो बारे तपाईंलाई कौतुहलता छ भने हामी यो लेखमा यसकै बारेमा चर्चा गर्दैछौँ । साथै यसका फाइदा र बेफाइदाहरू के-के छन् भनेर पनि हामी विशेष चर्चा गर्नेछौँ । यसले कस्तो क्रान्ति ल्याएको छ र डेभलपरहरूले किन यसलाई मन पराउँछन् भन्ने पनि तपाईंले थाहा पाउनु हुनेछ ।
ओपनसोर्स सफ्टवेयर के हो ?
ओपनसोर्स सफ्टवेयर त्यस्तो सफ्टवेयर हो जुन खुला सहकार्यबाट डेभलप गरिएको र चालु राखिएको हुन्छ । साथै यो जो कसैले निशुल्क प्रयोग गर्न, यसका कोडहरू परीक्षण गर्न, परिवर्तन गर्न र आफूले चाहे जसरी नै पुनर्वितरण गर्न सक्छन् ।
ओपनसोर्स विकेन्द्रिकृत र सहकार्यात्मक तरिकाले डेभलप गरिएको हुन्छ अनि समकक्षीको समीक्षा (peer review) र सामुदायिक उत्पादनमा निर्भर हुन्छ । सामान्यतया यो प्रोप्राइटरी वा क्लोज्ड सोर्स सफ्टवेयर (proprietary or closed source software) भन्दा निशुल्क वा सस्तो, लचिलो र ज्यादा दिर्घायु हुन्छ ।
ओपनसोर्स खासमा सफ्टवेयर उत्पादनभन्दा पनि बढी एउटा अभियान र कर्मशैली नै बनिसकेको छ । यो अभियानले तिनको समुदाय र उद्योगहरूमा समस्या समाधान गर्नको लागी नयाँ तरिका पत्ता लगाउने उद्देश्यले यसका मूल्यमान्यता र विकेन्द्रिकृत उत्पादन मोडलको प्रयोग गर्दछ ।
व्यवसायीहरूले ओपनसोर्स सफ्टवेयरको प्रयोग किन गर्छन् ?
ओपनसोर्स सफ्टवेयरको सोर्स कोड (source code) जो कसैलाई पनि उपलब्ध हुन्छ जसकारण त्यसलाई सम्पादन, फेरबदल र शेयर गर्न सकिन्छ । यसको लागी सफ्टवेयरमै लाइसन्स नै प्रदान गरिएको हुन्छ ।
त्यसकारण कुनै पनि व्यवसाय, कम्पनी वा संस्थाको लागि यसलाई आफूले चाहे बमोजिम आफ्नो आवश्यकता अनुसार काम लाग्ने पार्न मिल्छ । अर्थात् व्यवसायहरूले यसमा सजिलै विभिन्न फिचरहरू थप्न, प्रोग्रामहरूलाई मोडिफाइ गर्न र आवश्यकता अनुसार सुरक्षा बढाउन सक्छन्।
त्यसका साथै ओपनसोर्स सफ्टवेयरमा सबैले सोर्स कोड हेर्न मिल्ने भएकाले यसको पारदर्शीताको फाइदा पनि व्यवसायहरूलाई हुन्छ । व्यवसायहरूले यस्ता सफ्टवेयरले के र कसरी काम गरिरहेको छ भन्ने सजिलै हेर्न सक्छ । यस्तो हुँदा कुनै पनि गोप्य कार्यप्रणाली त्यसमा छैन भनेर व्यवसायीहरू निश्चिन्त हुन सक्छन् ।
ओपनसोर्स सफ्टवेयरले व्यवसाय र संस्थाहरूलाई विभिन्न तरिकाले सहयोग गरे पनि यो पर्फेक्ट भने हुँदैन । यसका पनि आफ्नै फाइदा-बेफाइदाहरू छन् जसको बारेमा अब चर्चा गरिनेछ ।
ओपनसोर्स सफ्टवेयरका फाइदाहरू
- सस्तो वा निशुल्क – प्राय: सबै ओपनसोर्स सफ्टवेयरहरू निशुल्क नै हुन्छन् । त्यसकारण विभिन्न कामहरूको लागि प्रयोग गर्दा तपाईंको लागत निकै कम हुन जान्छ ।
- विश्वसनीय – विश्वसनीय र अनुभवी डेभलपरहरूले नै यी सफ्टवेयर बनाउँछन् तर जो कसैले पनि कोड हेर्न र फेरबदल गर्न सक्ने हुनाले अर्थात् पारदर्शी भएकाले यो ज्यादा विश्वसनीय हुन्छ ।
- लचकता – कुनै कम्पनी वा भेन्डरले बनाइदिएको सफ्टवेयरमा जस्तो जे छ त्यसैमा चित्त बुझाउनुपर्ने बाध्यता यसमा छैन । आफूलाई कुनै कुरा मन नपरेमा आफैले त्यो हटाउन पनि सकिन्छ ।
- त्रुटिरहित – जुनसुकै बेलामा पनि सयौँ वा हजारौँ अनुभवी डेभलपरहरूले यो प्रयोग गरिरहेका हुन सक्छन् र कुनै त्रुटी फेला परेमा रिपोर्ट गर्ने, सम्पादन गर्ने र फेरबदल गर्ने गर्दछन् जसकारण यो ज्यादा त्रुटिरहित हुन्छ ।
- लाइसन्स – यी सफ्टवेयरले तपाई्लाई कोड सम्पादन गर्न सक्ने लाइसन्स दिएका हुन्छन् जसकारण तपाईँ निश्चिन्त रहन सक्नुहुन्छ । यसलाई धेरैपटक इन्सटल गर्न, जहाँबाट पनि चलाउन सक्नुहुन्छ ।
- समायोजित प्रबन्ध (Integrated Management) – यसले CIM (Common Information Model) र WEBM (Web-based Enterprise Management) जस्ता उच्च प्रविधिको प्रयोग गर्ने हुनाले यसको समायोजित प्रबन्ध ठूलै फाइदा हो । यसले तपाईँलाई विभिन्न एप्लिकेशन, सर्भिस, सर्भर, वर्कस्टेशन म्यानेजमेन्ट इत्यादीलाई समायोजन गर्ने अधिकार दिन्छ ।
ओपनसोर्स सफ्टवेयरका बेफाइदाहरू
- प्रयोगकर्ता-मैत्री – त्यस्ता थुप्रै ओपनसोर्स सफ्टवेयरहरू हुन्छन् जुन प्रयोग गर्न र पहुँच पाउन गाह्रो छ । यसको इन्टरफेस एकदमै जटिल हुने भएकाले डेभलपर र प्रविधिका सिपालुहरूले मात्रै बुझ्छन् । त्यसकारण कम्पनी र व्यवसायीहरूले त्यस्तै मानिस भर्ती गर्नुपर्ने हुन्छ ।
- चालुखर्च – हुन त यसको सिधा खर्च केही पनि हुँदैन तर यसका विभिन्न कामहरूको लागि गुप्त खर्चहरू भने हुन्छन् ।
- सुरक्षा जोखिम – यो जो कसैले पनि सित्तैमा सम्पादन गर्न सक्ने हुनाले यसका आफ्नै खालका सुरक्षा जोखिमहरू छन्। सम्पादन गर्दा गलत नियतले कसैकसैले सूचना चोर्ने, भाइरस सिर्जना गर्ने, साइबर आक्रमण गर्ने लगायतका काम गर्न सक्छन् ।