वेब डेभलपरको करियर कसरी सुरू गर्ने ?

BECOMING WEB DEVELOPER

यदी तपाईँ वेब डेभलपर बन्ने सोचमा हुनुहुन्छ भने सही ठाउँमा आउनुभयो । हामी यो आर्टिकलमा वेब डेभलपरको करियर कसरी सुरू गर्ने? त्यसको लागी कस्ता सीप र विशेषताहरू चाहिन्छ ? के-के गर्नुपर्छ ? लगायतका कुराहरूबारे विशेष चर्चा गर्नेछौँ । 

नेपालमा पनि वेब डेभलपरको राम्रै स्कोप छ । थुप्रै कम्पनीहरूले यसमा पदहरू माग्ने मात्रै हैन, अहिले स्वतन्त्र रूपमा फ्रिल्यान्सिङ गरेर पनि वेब डेभलपरको काम गर्न सकिन्छ जसमा मनग्ये आम्दानी हुन्छ । 

यसको लागी तपाईँले कुनै विषयमा ब्याचलर वा ग्र्याजुएशन नै गर्नुपर्छ भन्ने छैन । तपाईँमा साह्रै रूचि छ र केही खुबी छ भने सजिलै यसको आरम्भ गर्न सक्नुहुन्छ । 

वेब डेभलपरले के काम गर्छ ?

सिधा भाषामा भन्नुपर्दा वेब डेभलपरले वेबसाइट बनाउने र त्यसको मेनटेन (maintain) गर्ने काम गर्छ । 

अझै स्पष्ट पार्नुपर्दा, तपाईँ जुनसुकै वेबसाइटमा जानुहुँदा जे देख्नुहुन्छ र जस्तो अनुभूति गर्नुहुन्छ, ती सबको जिम्मा लिने काम तिनीहरूले नै गर्छन् । 

त्यसकारण जसलाई आफ्नो वेबसाइटमा भिजिटरले एकदमै राम्रो अनुभूति गरून्, तिनीहरू धेरै लामो समयसम्म बसुन् र फेरी-फेरी आइरहुन् भन्ने लाग्छ, त्यसको लागी एकदमै राम्रो वेब डेभलपरलाई भर्ती गर्नुपर्ने हुन्छ । 

वेब डेभलपरका केही जिम्मेवारीहरू यसप्रकार छन्:

  • विभिन्न markup languages को मद्दतले वेबपेज राइट (write) गर्ने ।
  • गुणस्तरीय mockups र prototypes क्रिएट गर्ने ।
  • सुरूदेखि नै वर्डप्रेस साइट बिल्ड गर्ने ।
  • HTML र CSS को जानकारी राख्ने ।
  • UI, UX लगायतका प्रयोगपरक कुराहरूको जानकारी राख्ने ।
  • चलाउन सकिने र रूचिकर वेबसाइटहरू र वेबबेस्ड अ्याप्लिकेशनहरू डेभलप गर्ने ।
  • वेबसाइट मेनटेन गर्ने र थप चुस्त पार्ने ।

यिनीहरू वेब डेभलपरले गर्ने एकदमै साधारण कामहरू हुन् । तर तपाईँको काम, अनुभव र कम्पनीको माग अनुसार तपाईँका जिम्मेवारी र काम पनि केही फरक हुन सक्छन् ।

यदी वेब डेभलपमेन्टमा अझै केही विशिष्टता हाँसिल गर्ने मन छ भने तपाईँले निम्नानुसार केही कुराहरूको बारेमा जान्नुपर्छ । 

१. फ्रन्टइन्ड डेभलपमेन्ट (Frontend Development): फ्रन्टइन्ड भन्नाले वेबसाइटमा अगाडी देखिने र साक्षात्कार गर्न सकिने कुराहरू बुझिन्छ । जस्तै मेनु, ड्रपडाउन इत्यादी ।

२. ब्याकइन्ड डेभलपमेन्ट (Backend Development): ब्याकइन्ड भनेको चाहीँ रूखको जरा जस्तै हो जुन देखिदैन तर जुनबिना रूखको कल्पना गर्न सकिन्न । अर्थात् यो बिना वेबसाइटले काम गर्न सक्दैन । ब्याकइन्डले सर्भर, अ्याप्लिकेशन, डेटाबेस इत्यादीसँग सम्बन्ध राख्छ । 

३. फुल-स्ट्याक डेभलपमेन्ट (Full-stack Development): यो फ्रन्टइन्ड र ब्याकइन्ड दुबैको सम्मिश्रण हो । 

वेब डेभलपर कसरी बन्ने ?

माथि नै भनिसकियो कि वेब डेभलपर बन्नको लागी औपचारिक शिक्षा चाहिँदैन । हुन त थुप्रै ले कम्प्युटर सायन्स वा कम्प्युटर इन्जिनियरिङ वा त्यस्तै कुनै प्राविधिक विषयमा ब्याचलर गरेका हुन्छन् जसले जागिरको लागी अझै प्रतिस्पर्धी त बनाउँछ तर मूख्यत: काम नै महत्वपूर्ण हुन्छ । 

तपाईँले कत्तिको धेरै र राम्रो वेबसाइट डेभलप गर्नुभएको छ भनेर पोर्टफोलियो नै हेरिने हुनाले ब्याचलर गरेकाहरूले पनि सुरूदेखि नै काम गर्नुपर्ने वा इन्टर्न गर्नुपर्ने वा सिक्नुपर्ने हुन्छ । 

यसो भन्नुको अर्थ के हो भन्दा तपाईँले औपचारिक शिक्षा नपाइकनै पनि वेब डेभलपर बन्न सक्नुहुन्छ । त्यसको लागी निम्न कामहरू गर्नुस् । 

१. वेब डेभलपरका सीपहरू बढाउनुस्

कम्पनी र क्यायन्टहरूले वेब डेभलपरहरूसँग केही खास सीपहरूको अपेक्षा गरेका हुन्छन् जुन हेर्दा वा मूल्याङ्कन गर्दा उनीहरूलाई लागोस् कि तपाईँ त्यो काम गर्न सक्नुहुन्छ । केही सीपहरू यसप्रकार छन् : 

प्राविधिक सीप

  • कोडिङ: HTML, PHP, CSS र JavaScript जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजहरू फ्रन्टइन्ड डेभपलपमेन्टको लागी चाहिन्छ भने Python, Ruby र Java इत्यादी चाहीँ ब्याकइन्डको लागी चाहिन्छ ।
  • डिजाइन: यो निकै महत्वपूर्ण कुरा हो किनकी मानिसले हेर्दा खेरी राम्रो भयो भने मात्रै त्यो वेबसाइटमा बसिरहने सम्भावना ज्यादा हुन्छ । त्यसकारण कम्प्युटर, स्मार्टफोन, ट्याबलेट इत्यादी जुनसुकैमा हेर्दा राम्रो देखिने खालको वेबसाइट डिजाइन बनाउन सक्नुपर्छ ।
  • टेक्निकल एसइओ: थुप्रै कुराहरूले एसइओ र्याङ्किङ (SEO ranking) मा असर पुर्याउँछ । वेब डेभलपरले कम्तीमा यसका टेक्निकल कुराहरू बुझेको हुनुपर्छ ।
  • भर्जन कन्ट्रोल: यसले तपाईँलाई सोर्स कोडमा जतिबेला समस्या आउँछ, त्यही बेला त्यही ठाउँमा सम्पादन र नियन्त्रण गर्ने अधिकार दिन्छ ताकी केही भइहाल्यो भने सुरूदेखि नै प्रोग्राम रन गर्न नपरोस् ।
  • भिजुअल डिजाइन: ह्वाइट स्पेश (white space) कसरी प्रयोग गर्ने, फन्ट कसरी घटबढ पार्ने र छान्ने, इमेजहरूको प्रयोग कसरी गर्ने लगायतका आधारभूत कुराहरू सिक्दा मार्केटिङमा फाइदा पुर्याउँछ  ।

कार्यगत सीप

  • सम्पर्क र संवाद: वेब डेभलपरले क्यान्ट र टिम मेम्बरसँग लगातार सम्पर्क र संवाद गरिरहन सक्ने खुबीको विकास गर्नुपर्छ ।
  • ग्राहक-सेवा: वेबसाइट बनाउने भनेकै क्यान्ट अर्थात् ग्राहकको लागी हो जो खुशी नभएसम्म वेबसाइटको जिम्मा लिइरहनुपर्छ र सकेसम्म उसले भनेकै खालको वेबसाइट बनाइदिने कोशिश गर्नुपर्छ ।
  • विवरणोन्मुख: विविरण र स-साना कुराहरूमा, जस्तै केही कोडहरूमा, पनि ध्यान दिन सक्ने हुनुपर्छ किनकी यस्तै कुराले वेबसाइटमा ठूलो फरक पार्न सक्छ ।
  • संगठन: डेडलाइन, प्रोजेक्टका कामहरू, कामको सिलसिला र बजेटजस्ता कुराहरूमा ध्यान दिनुपर्छ ताकी भनेको समयमा भने अनुसारकै काम हुन सकोस् ।
  • समस्याको समाधान: वेब डेभलप गर्दा अनेक खालका समस्याहरू बारम्बार आइरहन्छन् । तिनको धैर्यतापूर्वक पहिचान गरेर समाधान गर्ने बानी बसाल्नुपर्छ । 

२. कम्प्युटर सायन्स/इन्जिनियरिङ वा वेब डिजाइनमा डिग्री लिनुस्

यसको बारेमा माथि नै केही लेखिसकियो । यहाँ यति मात्रै भन्दा काफि हुन्छ कि फ्रन्टइन्ड डेभलपरमै रमाउन चाहनुहुन्छ भने वेब डिजाइनिङ वा UX को कुनै डिग्री लिनुस् । तर त्यसमा मात्रै हैन, त्योभन्दा ज्यादा, ब्याकइन्ड र फुलस्ट्याकतिरै जान चाहनुहुन्छ भने चाहीँ कम्प्युटर सायन्स/इन्जिनियरिङको डिग्री लिनु राम्रो हुन्छ । 

३. वेब डेभलपमेन्टको कोर्स लिनुस्

विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेजहरू जस्तै Python, Java, JavaScript, Ruby, CSS, HTML इत्यादीको कोर्स वा ट्रेनिङ लिनुस् र त्यसमा राम्रो गर्नुस्। जब तपाईँ ती ल्याङ्ग्वेजहरूमा सिपालु हुनुहुन्छ तब वेब डेभलपमेन्टमा धेरै राम्रो गर्नुहुन्छ । कुन डेभलपमेन्टको लागी कुन ल्याङ्ग्वेज चाहिन्छ भनेर माथि लेखिसकिएको छ । 

४. पोर्टफोलियो बनाउनुस्

यी सबै गरेपछि तपाईँले गर्ने भनेको काम नै हो । अर्थात् वेबसाइट बनाउने । कतै जागिर नपाए पनि आफू के गर्न सक्छु भनेर आफैले थाहा पाउन र अरूलाई देखाउनको लागी भए पनि वेबसाइट बनाउनुस् । त्यसपछि कतै इन्टर्न गर्नुस् यही कामको लागी । 

विस्तारै कम्पनीले वा क्लायन्टले पत्याएको खण्डमा वेबसाइट नै बनाउनुस् र त्यसको पोर्टफोलियो बनाएर आफ्नो सिभि वा रेजुमे (CV or Resume) मा हाल्नुस् ताकी अरूले देखुन् कि तपाइँ कस्तो खालको वेबसाइट बनाउन सक्नुहुन्छ भनेर । त्यसमा कुन ल्याङ्ग्वेज प्रयोग गरिएको पनि लेख्नुस् ।

पोर्टफोलियोले तपाईँमाथि अरूको विश्वास बढ्छ र तपाईँलाई थप जिम्मेवारी र काम दिने सम्भावना बढ्छ । 

वेब डेभलपरले कति कमाउँछ ?

जुनसुकै देशमा वेब डेभलपरले कति कमाउँछ भन्ने कुरा तपाईँको कम्पनी, संस्था वा क्लायन्टमा भर पर्छ । राम्रा कम्पनीहरूले आफ्ना वेब डेभलपरलाई मासिक २ लाखभन्दा बढी दिएका पनि हुन्छन् । यो बहुराष्ट्रिय आइटि कम्पनीको कुरा हो । 

अनुभवी डेभलपरले नेपालका राम्रा कम्पनीमा अहिले कम्तीमा ५० हजार कमाउँछन् । भर्खरका वेब डेभलपरले कम्पनी हेरेर १५ – २५ हजारसम्म कमाउँछन् ।

तर अहिले घरमै बसेर संसारका विभिन्न देशका क्लायन्टहरूको लागी काम गर्दा मासिक लाखौँ कमाइने अवसरहरू पनि आएका हुन्छन् । कतिपय विदेशी कम्पनीहरूले पनि यो सुविधा दिएका हुन्छन् । 

छोटकरीमा भन्नुपर्दा वेब डेभलपरको तलब कम्पनी, क्लायन्ट र कन्ट्र्याक्टमा भर पर्छ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.