चर्चित इन्टरनेट ब्राउजर कस्ता छन्?

Top internet browsers

वेब चलाउनुलाई वेब ब्राउजिङ या वेब सर्फिङ भनिन्छ। इन्टरनेट या वेब चलाउनलाई वेब ब्राउजर या ईन्टरनेट ब्राउजरको आवश्यकता पर्छ। इन्टरनेटको आगमन भएदेखि अहिले सम्म धेरै इन्टरनेट ब्राउजरहरु बनेका छन्।

पहिलेकाे र अहिलेकाे इन्टरनेट ब्राउजरमा निकै परिवर्तन भएको छ। समयसँग हरेक कुरा परिवर्तन भए झैँ अहिलेको इन्टरनेट ब्राउजरहरुमा पनि पहिलाको तुलनामा धेरै सुविधाको उपलब्धता त छ नै, यस बाहेक यिनीहरु चलाउन पनि सजिला छन्। 

हाल बजारमा निकै इन्टरनेट ब्राउजरहरुको उपलब्धता रहेको छ। यस आर्टिकलमा २०२३ को लागि केही उत्कृष्ट इन्टरनेट ब्राउजरहरको कुरा गरिएको छ। आउनुहोस् हेरौँ।

गूगल क्रोम (Google Chrome)

२००८ मा रिलिज भएको गूगल क्रोम एन्ड्रोइड डिभाइसहरुको लागि डिफल्ट ब्राउजर हो। अर्थात् यस्ता डिभाइसहरुको लागि तपाईँहरुले गुगल क्रोम पहिले नै इन्स्टल भएको पाउनुहुनेछ। डिफल्ट ब्राउजर नभए पनि यो म्याक, लिनक्स तथा आइओएस डिभाइसहुरुमा पनि उपलब्ध छ। गूगल क्रोम विश्वको सबैभन्दा बढी युज गरिने ब्राउजर हो। ब्राउजर युजरमा ६५% भन्दा बढी युजरहरुले गुगल क्रोम चलाउने गरेका छन्।

गूगल कम्पनीले निर्माण गरेको यो ब्राउजर निकै युजर फ्रेन्डली हुनुको साथै विश्वासिलो मानिन्छ। यसका साथै यसको आकर्षक डिजाइन र छिटो लोडिङ टाइमले यसलाई अझै स्तरीय बनाउँछ। प्रायजसो हरेक वेबसाइटका कोडहरुले क्रोमलाई नै टार्गेट गर्ने हुँदा यो ब्राउजर हरेक वेबसाइटसँग कम्प्याटिबल नै हुन्छ। 

यसको अलग-अलग प्लाट्फर्मको हिस्टोरी, बुकमार्क तथा ट्याब सिङ्क्रोनाइजेसनले यसलाई एउटा डिभाइसमा चलाउँदा जहाँ छोडियो अर्को डिभाइसमा त्यहिँबाट निरन्तरता दिन सकिन्छ। यस्तो सुविधा दिने यो पहिलो ब्राउजर थियो भने पछि अरुले पनि यो सुविधा निकालेका थिए। यसको साथै गूगल क्रोमले ठूलो संख्यामा एक्सटेन्सन वा एड-अन सपोर्ट गर्छ भने यसका एक्सटेन्सनहरु पनि सिङ्क्रोनाइज हुन्छन्। 

यसको इन्टरनेट ब्राउजिङ स्पिड पनि छिटो छ। मुख्यतया यो जिमेल, युट्युब जस्ता गूगलको वेबसाइटहरुमा स्पष्ट हुन्छ। जहाँ अरु ब्राउजरहरुले युट्युब भिडियो लोड गर्न समय लगाउँछन्, गूगल क्रोमले राम्रो इन्टरनेट कनेक्सन छ भने छिनमै भिडियो लोड गरी प्ले गर्न सक्छ।  

यसका राम्रा पक्ष मात्र नभई नराम्रा पक्षहरु पनि छन्। पहिलो नराम्रो पक्ष भनेको गूगलले धेरै रयाम युज गर्छ जुन समय अनुसार थपिँदै जान सक्छ। दोस्रो कुरा भनेको यसमा बिल्ट-इन भिपिएन (built-in VPN) छैन जुन अहिलेका ब्राउजरहरुमा देखिन थालेको छ। त्यसै गरी गूगलले हटाएको अ्याड ब्लकर पनि यसको नकारात्मक पक्षमा गनिन्छ। यसको अर्को नराम्रो कुरा हो यसको पछिल्ला अपडेटहरुमा देखिएको सुरक्षामा कमी र यसको इन्कग्निटो मोडको कमजोर गोपनीयता।     

सफारी (Safari)

गूगल क्रोम पछाडिको सबै भन्दा बढी युज भएको इन्टरनेट ब्राउजर हो सफारी। एपल कम्पनीले निर्माण गरेको यो वेब ब्राउजर २००३ मा लञ्च भएको थियो। एपल कम्पनीले बनाएको यो वेब ब्राउजर आइओएस (IOS) र म्याक (MacOS) डिभाइसहरुको लागि डिफल्ट ब्राउजर हो। विन्डोज र एन्ड्रोइड डिभाइसहरुमा सफारीको उपलब्धता छैन। १८% भन्दा बढी युजरहरुले सफारी प्रयोग गर्नुहुन्छ।

ब्राउजरहरुका कैयौँ फिचरहरुमा यो अगाडि छ। जस्तै रिडिङ मोड निकाल्ने यो पहिलो इन्टरनेट ब्राउजर हो। वेब पेजको अ्याडहरु र भिडियोहरु नदेखिने यो फिचर सफारीले २०१० मा जोडेको थियो भने पछि यो अरु वेब ब्राउजरले पनि थपेका थिए। एज र विन्डोज कम्प्याटिबल भए झैँ सफारी पनि एपल डिभाइसहरुमा कम्प्याटिबल हुन्छ। यो कुरा रयाम म्यानेजमेन्टबाट पनि हेर्न सकिन्छ। जहाँ क्रोमले धेरै रयाम मेमोरी युज गर्थ्यो, त्यही ठाउँमा एपल डिभाइसहरुमा सफारीले कम रयाम मेमोरी युज गर्छ। 

सफारीले प्राय सबै एपल फिचरहरु सपोर्ट गर्दछ जस अन्तर्गत एपल पे (Apple Pay), एयरड्रप (AirDrop) आदि जस्ता फिचरहरु पर्दछन् भने कम्प्याटिबल एपल डिभाइसहरुमा टच आइडि र फेस आइडि कार्यहरु पनि यसले गर्न सक्छ। आइक्लाउड मार्फत सफारी ब्राउजरले अलग-अलग डिभाइसहरु बिचमा ब्राउजिङ हिस्टोरी, बुकमार्क तथा पासवर्डहरु सिङ्क्रोनाइज गर्ने सुविधा पनि दिएको छ।  साथै यसको एड-अन अर्थात् एक्सटेन्सन फिचर पनि राम्रो रहेको छ भने आइक्लाउड प्लसका सब्सक्राइबर्सले थप सेक्युरिटि पनि पाउने छन्।  

यसको नराम्रो पक्षमा पहिलो कुरा त सफारी नयाँ विन्डोज डिभाइस तथा एन्ड्रोइड डिभाइसहरुमा उपलब्ध नहुनु नै हो। दोस्रो कुरामा यसको लिमिटेड कस्टमाइजेसन पर्छ। अर्थात् यसमा कस्टमाइजेसनको लागि धेरै केही गर्न सकिन्न। अर्को कुरा भनेको सफारी अन्य इन्टरनेट ब्राउजरहरुको तुलनामा एचटिएमएल(HTML) फिचरहरुमा पछि पर्ने देखिन्छ तर कुनै महत्त्वपूर्ण साइटहरुसँग कम्प्याटिबल नभएको जस्तो यो देखिएको छैन। यो बाहेक सफारीले इन-बिल्ट भिपिएन पनि उपलब्ध गराएको छैन भने क्रोमको तुलनामा यो केही मात्रामा ढिलो छ।

एज (Edge)

एज या माइक्रोसफ्ट एज विन्डोज ११ (Windows 11) तथा नयाँ अपडेट पाएका विन्डोज १० (Windows 10) डिभाइसहरुको लागि डिफल्ट ब्राउजर हो भने यो एन्ड्रोइड, म्याक ओएस, आइओएस तथा विन्डोजका आगाडिका भर्जनमा पनि उपलब्ध छ। ओपन सोर्स क्रोमियम वेब ब्राउजर इन्जिन माथि एजको निर्माण गरेको हो। विश्वमा बढी युज हुने वेब ब्राउजरमा यो तेस्रो स्थानमा पर्छ। ४% भन्दा बढी युजरहरुले एज प्रयोग गर्नुहुन्छ। 

माइक्रोसफ्ट एजले ब्राउजिङ हिस्टोरी तथा बुकमार्कहरु क्लाउडमा सेभ गर्छ भने सोही डाटा आइओएस तथा एन्ड्रोइड डिभाइसको एप भर्जनमा सिङ्क्रोनाइज पनि गराउन सकिन्छ। यसले युजर एक्सपेरियन्सलाई कन्सिस्टेन्ट बनाउँछ। माइक्रोसफ्टको अन्य राम्रो फिचर भनेको यसको विन्डोज टाइमलाईनसँगको अनुकूलता हो। यसले क्रोमको एक्सटेन्सन पनि सपोर्ट गर्छ तर एक्सटेन्सनको लागि यसले तपाईँहरुलाई माइक्रोसफ्ट स्टोरमा नै पुर्याउँछ। माइक्रोसफ्ट स्टोरमा नभएका कुरा इन्सटल गर्न क्रोम वेब स्टोरको म्यानुवल लोडिङ गर्न पनि सकिन्छ।

इन्टरनेट ब्राउजरहरुमा एज सबैभन्दा कम मेमोरी खपत गर्ने ब्राउजर मध्येमा पर्दछ। यसको स्लिपिङ ट्याब फिचरले केही समयदेखि नचलिएका ट्याबहरुलाई फ्रि बनाइदिन्छ। एजको एफिसियन्सि मोडले ल्यापटपको ब्याट्री लाइफ पनि बढाउन सहयोग गर्छ।यसको गोपनीयता तथा कस्टमाइज गर्न मिल्ने स्टार्ट पेज पनि एजका राम्रा पक्ष हुन्। इन्टरनेट एक्सप्लोरर नै चलाउनुहुने युजरहरुको लागि एजले आईइ मोडको (IE Mode) को सुविधा पनि प्रदान गरेको छ।

एजको इमर्सिभ रिडिङ मोडले अ्याडहरु त हटाउँछ नै, यसको बाहेक यसले नेचुरल आवाजमा वेबपेज पनि पढ्न सक्छ। एजको बिल्ट-इन इङ्किङ (built-in inking) फिचरले पेजको स्क्रिनसट लिन सहयोग गर्छ भने कोर्टानाको सहयोगले शब्द तथा वाक्यरु उच्चारण गरेर खोज्न पनि सकिन्छ। सेक्युरिटि लेभलको लागि एजले बेसिक, ब्यालेन्स्ड तथा स्ट्रिक्ट गरी तीनवटा लेभल उपलब्ध गराएको छ।

एजका नराम्राे पक्ष भनेको हेभि पेजहरु लोडिङ गर्दा ब्राउजर अड्किन सक्छ। यस्तै इम्बेडेड भिडियो लोड गर्न पनि यसमा समय लाग्ने देखिन्छ। हेभि पेजहरुको लोडिङमा समस्या देखिए जस्तै धेरै ट्याब खोल्न पनि पावरफुल कम्प्युटरको आवश्यकता पर्न सक्छ।  

मोजिला फायरफक्स (Mozilla Firefox)

मोजिला फायरफक्स पनि राम्रो इन्टरनेट ब्राउजर मध्येमा एक हो। विश्व चर्चित ब्राउजरहरुमा मोजिला फायरफक्स चौँथो स्थानमा रहेको छ।  लिनक्स तथा उबुन्टु सिस्टमहरुमा मोजिला फायरफक्स डिफल्ट ब्राउजर हो। यसको समय-समयको अपडेटले यसलाई क्रोम, एज, सफारी जस्ता ब्राउजरहरुको अल्टरनेटिभ बनाएको छ। ३% भन्दा बढी युजरहरुले मोजिला फायरफक्सको प्रयोग गर्नुहुन्छ।

फायरफक्स ब्राउजरको हरेक अपडेटमा बग फिक्सेस(bug fixes), स्पिड इम्प्रुभमेन्ट, सेक्युरिटि इम्प्रुभमेन्ट तथा नयाँ फिचरहरु थपिने हुँदा यो ब्राउजरलाई एउटा राम्रो ब्राउजरको रुपमा लिइन्छ। फायरफक्स विन्डोज, म्याक, एन्ड्रोइड, म्याक, एन्ड्रोइड डिभाइस सबैको लागि उपलब्ध हुने हुँदा सबै डिभाइसमा डाटा सिङ्क्रोनाइज गर्न सकिन्छ।

फायरफक्सले धेरै एक्सटेन्सनहरु प्रदान गर्दछ। यसको मल्टि-अकाउन्ट कन्टेनर्स (Multi-Account Containers) ले अलग ट्याबहरुबाट एउटै साइटमा मल्टिपल लगइनको सुविधा प्रदान गर्छ। यसका साथै यसमा तपाईँहरुको अकाउन्ट सिङ्क गर्नुभएकाे जुनै डिभाइसमा पनि वेबपेज ट्रान्सफर गर्न सक्नुुहुन्छ। यो फिचरको सहायताले तपाईँहरुले ल्याप्टप या कम्प्युटरमा हेर्दै गर्नुभएको वेबपेज मोबाइलमा पनि सजिलै हेर्न सक्नुहुन्छ।

यसको विन्डोज भर्जनमा थप सेक्युरिटिको लागि विन्डोज हेलो अथेन्टिकेसन (Windows Hello Authentication) राखिएको छ। यो बाहेक यसको इन-बिल्ट भिपिएन पनि यसको अर्को राम्रो पक्ष हो।

मोजिला फायरफक्सको नराम्रो पक्षको कुरा गर्ने हो भने, फायरफक्स अपडेटहरु ब्राउजर ओपन गर्ना साथ अटोमेटिक सुरु हुनाले केही समय यसको इन्सटलेसनमा कुर्नुपर्छ। यसको लिमिटेड डाइरेक्ट सपोर्ट यसको अर्को नराम्रो पक्षमा पर्छ भने यसको स्क्रोलिङ पनि निकैलाई अड्केको या सरल नभएको जस्तो लाग्न सक्छ।    

ओपेरा (Opera)

यस लिस्टमा रहेको अर्को इन्टरनेट ब्राउजर हो ओपेरा ब्राउजर। यो लिस्टमा भएको सबैभन्दा पुरानो ब्राउजर हो ओपेरा। यो १९९६ मा विन्डोजमा लञ्च गरिएको थियो भने हालसम्ममा यो सबै प्लाटफर्महरुमा उपलब्ध छ भने करिब २% युजरहरुले ओपेरा प्रयोग गर्नुहुन्छ।

अन्य ब्राउजर भन्दा सेक्युरिटिमा ओपेराले राम्रो सपोर्ट दिन सक्छ। यसको इन-बिल्ट भिपिएनले रिरुट ट्राफिकबाट बचाउँछ। यसको अर्को फिचर भनेको इन-बिल्ट अ्याड ब्लकर हो जसले नचाँहिदो अ्याडहरु ब्लक गरेर डाटा खपत पनि कम गर्छ। यसका साथै यसको ओपेरा टच मोबाइल ब्राउजरले तपाईँहरुलाई क्युआर(QR) स्क्यानबाट डेक्सटपमा कनेक्ट गराउन सक्छ। यसको र्याम मेमोरी खपत गर्ने कुरामा पनि यो राम्रो मानिन्छ।  

यसको स्पिड डायल स्टार्ट र नयाँ ट्याब पेज तथा धेरै चलाइने सर्भिस जस्तै मेसेन्जर, वाट्सअ्यापको लागि क्विक एक्सेस साइडबारले यसको युजर इन्टर्फेसले ओपेरालाई स्तरीय बनाएको छ। यसको माई फ्लो (My Flow) फिचरले अलग-अलग डिभाइसहरुमा वेबपेज र नोटहरु सजिलै पठाउन सकिन्छ। ओपेरामा धेरै भन्दा धेरै एक्सटेन्सनहरुको उपलब्धता रहेको छ भने यसमा बिल्ट-इन स्क्रिन क्याप्चरको पनि फिचर रहेको छ।

यसको नौलो फिचरमा चाहिँ ओपेरा युएसबि (Opera USB) फिचर पर्छ। यो फिचरले तपाईँहरुले युएसबि ड्राइभको सहायताले विन्डोज ७ (Windows 7) र माथिका हरेक विन्डोज भर्जनमा ओपेरा चलाउन सक्नुहुन्छ। यो ओपेराको सबैभन्दा उत्कृष्ट फिचर मान्न सकिन्छ किनकि थप प्रोग्राम इन्सटलेसन हुन नमिल्ने कम्प्युटरमा पनि यो चलाउन सकिन्छ।

यसको नराम्रो पक्ष भनेको ओपेराले हेभि पेजहरु ढिलो लोड गर्नु हो। अर्को कुरा भनेको यसको कम्प्याटिबिलिटि अन्य ब्राउजरहरुको तुलनामा कम हुनु हो। यो कारणले डेभलपरहरुको लागि ओपेरा खासै राम्रो मानिँदैन। यस्तै यसको नयाँ युजर इन्टर्फेस कसेलाई सजिलो लाग्न सक्छ भने कसैलाई कम्प्लेक्स लाग्न सक्छ।

ब्रेभ (Brave)

यहाँ भएका ब्राउजरहरु मध्ये सबै भन्दा ढिलो लञ्च भएको ब्रेभ ब्राउजरले निकै राम्रो चर्चा पाएको छ। २०१६ मा लञ्च भएको ब्रेभ ब्राउजर गोपनीयता तथा सुरक्षालाई फोकस गरेर निर्माण गरिएको हो। ब्रेभ विन्डोज, म्याक, लिनक्स, एन्डरोइड र आइओएस हरेक डिभाइसहरुको लागि उपलब्ध छ।

ब्रेभ ब्राउजरले इन्सटलेसनबाट नै अ्याडभर्टाइजिङ, कुकिज (cookies), फिसिङ (Phishing) र मालवेयर (Malware) ब्लक गरेर तपाईँहरुको इन्टरनेट ब्राउजिङलाई सुरक्षित बनाउँछ। यसका साथै ब्रेभको HTTPS Everywhere को एड्भान्स अप्सनले ब्राउजर फिङ्गरप्रिन्टिङ पनि रोक्ने सुविधा प्रदान गर्छ। त्यसैले अनलाइन प्राइभेसिमा सायदै ब्रेभ अरु भन्दा पछि पर्ला। यसको इन-बिल्ट भिपिएन आइओएस र एन्ड्रोइड भर्जनको लागि उपलब्ध छ भने कम्प्युटरको लागि पनि छिटै उपलब्ध हुने देखिन्छ।

अर्को कुरा हो यसको स्पिड। यसको अनेक सेक्युरिटि अप्सनहरुले यसलाई बजारमा उपलब्ध हुने ब्राउजरहरुमा छिटो मध्येमा पार्दछ। अ्याड नै नआउने भएपछि अवश्य पनि ब्राउजिङ छिटो नै हुन्छ। यसका साथै यसले समय र ब्यान्डविथ पनि बचाउँछ। डेभलपरहरुको लागि ब्रेभ ब्राउजर एउटा राम्रो अप्सन हो।

ब्रेभलाई अन्य ब्राउजरहरु भन्दा भिन्न पार्ने भनेको यसको क्रिप्टोकरेन्सी (cryptocurrency) अर्थात् बेसिक अटेन्सन टोकन (Basic Attention Token, BAT) ले हो। ब्रेभ ब्राउजरमा BAT टोकनहरु स्टोर गर्न एउटा वालेट उपलब्ध हुन्छ जुन ब्रेभ ब्राउजर भित्र नै हुन्छ। यो टोकनहरुले वेबसाइट मालिकहरुलाई फाइन्यान्सियल सपोर्ट पनि गर्न मिल्छ। युजरहरुले ब्राउजिङ गर्दा ब्रेभ-रन अ्याडहरु इनेबल गरेर BAT कमाउन पनि सक्नुहुन्छ। 

ब्रेभको नकारात्मक पक्षमा यसको लिमिटेड एक्सटेन्सनहरु पर्दछ भने यसमा रयाम मेमोरीको खपत पनि धेरै नै हुने गरेको छ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.