नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (ISP – आइएसपी) बीच पछिल्ला वर्षहरूमा प्रतिस्पर्धा बढेको छ । यद्यपी सरकारले जनतालाई साह्रै सस्तो पर्ने गरेर प्रतिस्पर्धा हुने गरी धेरै कम्पनीहरूलाई अझै पनि लाइसन्स दिएको छैन ।
जति धेरै प्रतिस्पर्धा हुन्छ, त्यति नै धेरै गुणस्तरीय सेवा दिन आइएसपीहरू बाध्य हुन्छन् र त्यसकारण नै सस्तोभन्दा सस्तोमा राम्रो भन्दा राम्रो सेवा पाउन सकिने सम्भावना पनि बढ्छ ।
हामी यो लेखमा नेपालका सर्वश्रेष्ठ आइएसपीहरूको बारेमा तपाईँलाई जानकारी दिदैछौँ । तर यसका सेवाहरू चाहिँ व्यक्तिको अनुभव, ठाउँ लगायतका कुराहरूमा भर पर्छ । ती सबैको मुल्याङ्कन गरेर लेख्न सकिन्न ।
त्यसकारण सामान्यतया जसले सबैभन्दा धेरै प्रयोगकर्ता पाएका छन् तिनैको सेवा राम्रो र विश्वसनीय छ होला भनेर हामी सुरक्षित अनुमान गर्न सक्छौँ । तर प्रयोगकर्ता पाउनुको मुख्य कारण धेरैभन्दा धेरै ठाउँमा अरूले भन्दा छिटो सेवा पुर्याउनु पनि हो भनेर ध्यान दिनु आवश्यक छ ।
तल प्रत्येक आइएसपीको नाम सहित कोष्ठकमा प्रयोगकर्ताको सङ्ख्या दिइएको छ र तिनको बारेमा जानकारी पनि दिइएको छ ।
१. वर्ल्डलिङ्क (७,७१,२७८)
नेपालमा आइएसपी भन्नासाथ वर्ल्डलिङ्कको नाम नसुन्ने कमै होलान् । यो सर्वाधिक लोकप्रिय, नाफा कमाउने, धेरैभन्दा धेरै ठाउँमा पुगेको र गुणस्तरीय सेवा दिने भएकैले यसलाई मानिसहरुले सर्वाधिक प्रयोग गरिरहेका छन् ।
वर्ल्डलिङ्कले देशका सबै दुर्गम जिल्लाहरूमा सेवा दिने महत्वाकांक्षी लक्ष्य लिएको छ । यसले ग्राहकको लागी बेलाबेलामा थुप्रै आकर्षक अवसर र उपहारहरू ल्याउने पनि गर्छ । आइपिटिभी, रेफर अफर (refer offer), छ महिनाको र वार्षिक पैसा तिर्दा छुट लगायतका अफरहरू दिने गर्छ ।
कतिसम्म भन्दा यदी तपाईँले कम्पनीले दाबी गरे अनुसारको नेट स्पीड पाउनुभएको छैन भने यसले पैसा पनि फिर्ता दिन्छ । यसले अहिले दिइरहेको प्याकेज कम्तीमा २००० एमबिपिएस को छ । यसले NetTV Streamz+ पनि ल्याएको छ ।
२. क्लासिक टेक (२,६९,३२९)
पछिल्लो तीन वर्षमा क्लासिक टेकले उल्लेख्य सफलता पाएको छ र प्रयोगकर्ताको सङ्ख्यामा यो भन्दा अगाडि आएका चर्चित आइएसपीहरू भायनेट, सुबिसुहरूलाई समेत माथ गरेको छ ।
यसले नेपालमै सर्वप्रथम १ जिबिपिएस इन्टरनेट र ट्राइ-ब्याण्ड (tri-band) राउटरको घोषणा गरेको थियो । यसले कम्तीमा १५० एमबिपिएस इन्टरनेट ब्याण्डविथका साथै नेट टिभिका विभिन्न प्याकेजहरू उपलब्ध गराएको छ ।
यो देशका ७४ जिल्लामा पुगेको छ र आक्रामक तरिकाले आफ्ना प्रयोगकर्ताहरू बढाएको छ, खासगरी विभिन्न आकर्षक अफरहरू ल्याएर । छोटो समयमै यति ठूलो लोकप्रियता पाउनु अन्य आइएसपीहरूको लागी टाउको दुखाइको विषय भैरहेको अनुमान गर्न पनि सकिन्छ ।
३. भायनेट (२,६४,०८३)
हुन त भायनेट आज पनि चर्चामा छ तर यो एक दशक अगाडी आक्रामक तरिकाले बजार प्रवेश गरेको थियो । वर्ल्डलिङ्कको कडा प्रतिस्पर्धीको रूपमा आएको यसले एक दशक अगाडी नै नेपालमै पहिकोपटक फाइबर नेट र आइपिटिभी सेवा प्रदान गरेको थियो ।
प्रयोगकर्ताको हिसाब गर्दा यो अहिले क्लासिक टेकभन्दा पछि परेको छ तर पनि यसले हालै मात्रै नेपालमै पहिलोपटक २ जिबिपिएसको इन्टरनेट स्पीड ल्याएर फेरी पनि अर्को इतिहास रचेको छ । यसले डाउनलिङ्क र अपलिङ्क १० जिबिपिएस दिने दाबी गरेको छ ।
विभिन्न आकर्षक अफरहरू ल्याउनेमा भायनेट पनि अगडी छ । अहिले यसले एक वर्षको पहिल्यै पैसा तिरेमा भायटिभीमा २ महिना बढी पाउने, १७५ भन्दा बढी च्यानलहरू, कम्तीमा २०० एमबिपिएस लगायतका सेवा दिइरहेको छ ।
४. सुबिसु (२,५६,६१८)
सुबिसु अलि पुरानै र चर्चित आइएसपी हो जुन आफ्नो बजार विस्तारमा पछि आएका प्रतिस्पर्धीहरूभन्दा अलि पछि परेको हो कि जस्तो देखिएको छ । यद्यपी यसको विश्वसनीय सेवालाई पुराना ग्राहकहरूले अझै पनि पत्याएका भने छन् ।
यसले सस्तोमा क्लियर टिभि र इन्टरनेट प्याकेजहरू दिइरहेको छ । यसले २०० देखि ६५० एमबिपिएस सम्मको स्पीड दिइरहेको छ । तपाईँले कसैलाई सुबिसु जडान गर्न सिफारिस गर्नुभयो भने एक महिना सित्तैमा पनि पाउनुहुन्छ ।
साथै यसको अर्को आकर्षक अफर भनेको ५०, ८० र १०० एमबिपिएसका प्याकेजहरू पनि सुलभ दरमा दिइरहेको छ जुन धेरै स्पीड नचाहिने प्रयोगकर्ताको लागी उपयोगी हुन्छ ।
५. डिश होम (२,४०,६६८)
सम्भवत: पछिल्लो तीन वर्षमा सबैभन्दा आक्रामक रूपमा नेपालको इन्टरनेट बजारमा छिरेको आइएसपी यहि डिश होम होला भन्दा अत्युक्ति नहोला । सन् २०२० मा इन्टरनेट सेवा दिन थालेको डिश होमले एनटिसीलाई त जितिसक्यो नै, अन्य बलिया प्रतिस्पर्धीको लागी समेत यसले चुनौती थपिदिएको छ ।
नयाँ भएकाले पनि होला, यसको कस्टोमर सर्भिस सपोर्ट राम्रो छ । यसले कोरोना महामारीको बेलामा ५ एमबिपिएस स्पीड विद्यार्थीहरूको लागी दिएर टन्नै ग्राहक बटुलेको थियो। अहिले यसले गुणस्तरीय सेवा र देशका थुप्रै भागहरूमा सेवा पुर्याएर ग्राहकको मन जितिरहेको छ ।
डिश होमले ५० देखि ६०० एमबिपिएस सम्मका स्पीडहरू उपलब्ध गराएको छ । साथै तपाईँले डिशहोम आइपिटिभीका प्याकेजहरू पनि छनौट गर्न सक्नुहुन्छ । यदी तपाईँलाई विश्वसनीय र गुणस्तरीय सेवा चाहिएको छ भने परिक्षण गरेर ढुक्कले डिश होमको इन्टरनेट जडान गर्न सक्नुहुन्छ ।
६. नेपाल दूरसंचार (२,२२,८३४)
जुनसुकै क्षेत्रमा सरकारी सेवा नीजी सेवाभन्दा कमजोर भएको कुरा संसारभरी लागु हुन्छ । नेपाल दूरसंचार अर्थात् एनटिसीले नीजी आइएसपीहरूसँग लज्जास्पद प्रतिस्पर्धा गरिरहेको छ जबकी यो नेपालको सबैभन्दा पुरानो आइएसपी र टेलिकम हो ।
८,९ वर्ष अगाडी सम्म पनि यसको सेवामा निकै समस्याहरू थिए । अहिले धेरै हदसम्म त्यस्ता समस्याहरू घटेको प्रयोगकर्ताले बताउने गरेतापनि नीजि आइएसपीको दाँजोमा यसको कस्टोमर सपोर्ट सर्भिस लाजमर्दो छ ।
एनटिसीले २५ देखि १०० एमबिपिएससम्म का स्पीडहरू उपलब्ध गराइरहेको छ र फाइबर नेटमा यसले आफूलाई अपग्रेड गराइसकेको छ । यसले इन्टरनेटका साथै एटिटिभी र टेलिफोन सर्भिस पनि दिइरहेको छ ।
७. सिजि कम्युनिकेसन्स (४६,७०२)
शायद एउटा दृष्टिकोणबाट हेर्दा सिजी कम्युनिसेसन्स डिश होमभन्दा पनि आक्रामक तवरले आइरहेको छ भन्दा अत्युक्ति नहोला । यसले उच्च गतिका इन्टरनेट पनि सस्तोमै दिइरहेको छ र त्यो पनि गुणस्तरीय र विश्वसनीय ।
छोटो समयमै यसले झण्डै ५०,००० प्रयोगकर्ता पाइसकेको छ । यसले अहिले १५० देखि ३५० एमबिपिएस सम्मका इन्टरनेट स्पीडहरू उपलब्ध गराइरहेको छ । यसको आइपिटिभीमा २५० भन्दा बढी च्यानलहरूका साथै नेटफ्लिक्स र युट्युब अ्यापहरू स्वत: पाउन सक्नुहुन्छ ।
साथै सिजिले पोष्टपेड इन्टरनेट प्लान पनि ल्याएको छ । तपाईँले इन्टरनेट चलाइसकेपछि पैसा तिर्छु भन्न पनि पाउने यो सुविधा अहिले २५० एमबिपिएसको मासिक रू १०४९ पर्छ ।
अन्त्यमा,
अबका दिनहरूमा आइएसपीहरूको प्रतिस्पर्धा कस्तो होला भन्ने समयले देखाउला । यहाँ उल्लेख गरेका बाहेक अन्य राम्रै खालका आइएसपीहरू पनि छन् । जस्तै वाइफाइ नेपाल, ब्रोडलिङ्क, वेबसर्फर नेपाल, कनेक्ट नेपाल, अ्यारोनेट, टेकमाइन्ड्स नेटवर्क, सिम्पल मिडिया इत्यादी ।
फोरजी, फाइबजी र सिक्सजी ले कस्तो रूप लेला र यिनले आइएसपीहरूको भविष्यमा कस्तो असर पर्ला भन्ने अर्को विषय छ । स्टारलिङ्क जस्ता स्याटेलाइट इन्टरनेट सेवा नेपालमा आए भने के होला । पकेट राउटरले व्यापकता पाए भने के होला ?
आइएसपीहरूको लागी आइएसपी भन्दा पनि अन्य तरिकाको इन्टरनेट चाहीँ चुनौती हुनसक्ने प्रष्ट छ । जे होस्, फाइदा भनेको अन्तत: उपभोक्तालाई नै हो ।