अगमेन्टेड रियालिटि (एआर), भर्चुअल रियालिटि (भिआर) र मिक्स्ड रियालिटि (एमआर) के हो ? यी केमा प्रयोग हुन्छन् ?

AR-VR-MR

सामान्यतया हामीले कम्प्युटरमा हेर्ने गरेका स्क्रिनहरू 2-D मा हुन्छन् तर 3-D मा अनुभूत गर्ने प्रविधिलाई चाहीँ “इमर्सिभ टेक्नोलोजी” (immersive technology) भनिन्छ । पछिल्लो दशकमा यो क्षेत्रमा व्यापक लगानी, अध्ययन र प्रयोगहरू भएका छन् जसकारण एआर, भिआर र एमआरबारे चर्चा बढेको छ । 

यि प्रविधिहरूको फरकको बारेमा बुझ्नको लागी अलि गाह्रै छ तर मेट्रिक्स जस्ता चर्चित फिल्महरूका कारण यिनीहरूको बारेमा धेरै मानिसहरू एक हदसम्म परिचित नै छन् । यि सबै इमर्सिभ टेक्नोलोजीको प्रयोगले कुनै पनि कम्पनीका उपभोक्ता र कर्मचारीको डिजिटल अनुभवहरूमा उल्लेख्य प्रगति हुन्छ । 

हामी यो लेखमा यी प्रविधिहरू के हुन् र के-केमा यिनीहरूको प्रयोग गर्न सकिन्छ भनेर चर्चा गर्नेछौँ ।

अगमेन्टेड रियालिटि (एआर) 

यदी तपाईँलाई विस्तृतमा जान्न मन छ भने अगमेन्टेड रियालिटि (एआर) प्रविधि के हो ? भन्ने छुट्टै लेख हामीले लेखेका छौँ । तर छोटकरीमा भन्नुपर्दा एआरले त्यस्ता डिभाइसहरूलाई जनाउँछ जसले वास्तविकता (रियालिटि) लाई परिवर्तन नगरिकनै तपाईँको दृष्टिमा सूचनाहरूलाई प्रोजेक्ट गर्ने काम गर्छ । 

गूगलले यही प्रविधिको प्रयोग गरेर त्यस्तो स्मार्ट ग्लास बनाउँदैछ जसले अहिलेको अहिले नै गूगल ट्रान्सलेशन हेर्न मिल्छ मानिसहरूसँग कुरा गर्दा । लेनोभो स्मार्ट ग्लासले तपाईँको फोन वा कम्प्युटरलाई तपाईँको आँखामा प्रोजेक्ट गरिदिन्छ । मेटाले पनि यो क्षेत्रमा ठूलो लगानी गरिरहेको छ । 

भर्चुअल रियालिटि (भिआर)

भिआर त्यस्तो प्रविधि हो जसले प्रयोगकर्तालाई अरू नै संसारको भर्चुअल प्रोजेक्शनमा लैजाने लक्ष्य राख्छ । त्यो संसार ३६० डिग्री क्यामराबाट खिचिएको पनि हुनसक्छ वा पूरै कम्प्युटरबाट सिर्जित पनि हुनसक्छ । तपाईँको immersion अर्थात् इमर्सिभ अनुभवलाई बचाउनको लागी बाह्य संसारको दृश्यलाई पूर्णत: ढाकिएको हुन्छ । 

मेटा, सोनी, भल्भ, पिको जस्ता कम्पनीहरूले अहिलेसम्म कै सर्वोत्कृष्ट भिआर ग्लासहरू बनाइरहेका छन् । गूगल कार्डबोर्ड जस्ता पूराना ग्लासहरूले केबल तपाईँको आँखामा डिसप्ले राख्ने काम गर्थे तर अहिलेका आधुनिक भिआर ग्लासहरूले डिसप्लेलाई ठूलो पारेर (म्याग्निफाइ गरेर) इमर्सिभ अनुभव अझै प्रभावकारी बनाउँदछ । 

तपाईँले मेट्रिक्स र रेडि प्लेयर वान जस्ता फिल्महरू हेर्नुभएको छ भने तपाईँले यसको बारेमा सजिलै बुझ्न सक्नुहुन्छ । त्यसमा त्यस्तो भर्चुअल संसार हुन्छ जुन पूर्णत: इमर्सिभ, कम्प्युटर-सिर्जित हुन्छ जसले वास्तविक संसारका सबै इन्द्रियजन्य अनुभूतिहरूको नक्कल गर्छ ।

हुन त आजसम्म केबल आवाज र दृश्यजस्ता अनुभवहरू मात्रै भिआरमा समावेश छन्, स्पर्श, स्वाद र वासना जस्ता अनुभूतिहरू धेरै टाढाका कुरा हुन् । तर अहिलेको लागी यही मात्रै पनि ठूलै प्रगति हो भनेर मान्नुपर्छ ।

भिआर केमा प्रयोग हुन्छ ? 

  • उत्पादकहरूले विशेष भिआर हेडसेटको प्रयोग गरेर आफ्ना सामानहरूको विश्लेषण गर्ने, उत्पादन प्रक्रियाको मूल्याङ्कन गर्ने र कामदारलाई तालिम दिने गर्न सक्छन् । उदारहणको लागी कामदारले भर्चुअल रूपमै उत्पादन प्रक्रियाको पुनर्सिजना गर्न सक्छन् र त्यसको मूल्याङ्कन गर्न सक्छन् । 
  • उत्पादकले कुनै उत्पादनको भर्चुअल मोडल वा डिजिटल जुम्ल्याहा (digital twin) पनि सिर्जना गर्न सक्छन् जसमार्फत् त्यसको जीवनचक्र निगरानी गर्न र भित्री कामहरूको बारेमा जान्न सकिन्छ । 
  • स्वास्थ्य क्षेत्रमा भिआरको ठूलै काम हुनसक्छ । जस्तै PTSD मा एक्सपोजर थेरापी गर्न र स्नायुसम्बन्धी रोग लागेकाहरूको उपचारको लागी प्रयोग गर्न सकिन्छ । 

मिक्स्ड रियालिटि (एमआर)

एमआर भनेको चाहीँ एआर र भिआरको मिश्रण हो जुन परिस्थितिमा भर पर्छ । एआरले जस्तै एमआरले पनि कृत्रिम वस्तुलाई वास्तविक दृश्यमा थपथाप पार्ने नै हो । तर एमआरले चाहीँ तपाईँलाई हातको ट्र्याकिङ वा कन्ट्रोलरको मद्दतले ती वस्तुलाई यताउति पार्न (म्यानिपुलेट गर्न) र तीसँग साक्षात्कार गर्न दिन्छ । 

एमआरमा भिआरको पनि प्रयोग हुने हुनाले पासथ्रो प्रविधि (passthrough technology) को प्रयोग गरेर तपाईँको वरिपरिको दृश्यलाई पुनर्सिर्जना गर्ने काम गर्छ । खासगरी मेटाले यसको presence platform र भिआरको हेडसेट क्यामराको प्रयोग गरेर तपाईँको वरिपरिको दृश्य र विशेष “bounding box” play area सिर्जना गर्दछ; जस्तै भान्छाको डाइनिङ टेबल इत्यादी । 

एमआर केमा प्रयोग हुन्छ ?

  • एमआर हेडसेट लगाएको कुनै प्राविधिकले कुनै पार्टपुर्जाको होलोग्राफिक इमेज (holographic image) हेरेर भर्चुअल रूपमा त्यसलाई छुट्टाएर त्यसका आन्तरिक कामहरू हेर्न सकिन्छ । त्यसले एकातिर समय बचाउँछ भने अर्कोतिर पार्टपुर्जाको निरिक्षण गर्न त्यसको भौतिक उपस्थिति चाहिँदैन ।
  • थोक विक्रेताले वास्तविक संसारमा सामानहरू लग्नुभन्दा अगाडी नै एमआरको मद्दतले स्टोरको लेआउट हेरेर मूल्याङ्कन गर्न सक्छन् । होलोग्रामको मद्दतले कुनै स्टोरमा कुनै डिसप्ले वा कुनै सामान राख्दा कस्तो देखिन्छ भनेर देखाइदिन्छ ।
  • विद्यार्थीहरूले थ्रीडि प्रोजेक्शन र सिमुलेशनमार्फत् भर्चुअल कन्टेन्टहरूसँग साक्षात्कार गरेर आफ्नो सिकाइलाई थप सुधार्न र प्रबल बनाउन सक्छन् । वास्तविक शिक्षामा जस्ता जोखिमहरू हुन्छन् तिनलाई न्युनीकरण गर्ने काम एमआरले गर्न सक्छ । जस्तै डक्टरले हस्पिटलमा काम गर्नुभन्दा अगाडी भर्चुअल हस्पिटलमा बिना कुनै जोखिम काम गर्न सक्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.