वेब ब्राउजरहरु किन निशुल्क छन् ? ब्राउजरले कसरी पैसा कमाउँछन् ?

Why web broswers are free

इन्टरनेट हाम्रो दैनिक जिन्दगीको हिस्सा भएसँगै वेब ब्राउजरहरुले पनि त्यसको उल्लेख्य हिस्सा ओगटेका छन् । हुन त प्राय मानिसहरु केही सीमित एपहरुमा रमाउने गर्छन् तर पनि वेब ब्राउजर बिना इन्टरनेटको पूरा फाइदा लिन सकिन्न । 

तपाईँहरु कसैले पनि आजसम्म पैसा तिरेर वेब ब्राउजर चलाउनुभएको छैन होला । त्यस्तो खालका ब्राउजरहरु नभएका हैनन् तर खासै धेरैले चलाउँदैनन् । कतिपय सुरक्षालाई ध्यानमा राखेर ल्याइएका ब्राउजरहरुले आफ्ना प्रयोगकर्ताहरुसँग अनुदान माग्ने गरेका छन् । 

तैपनि हामीले नाम सुनेका अधिकांश ब्राउजरहरु निशुल्क चलाउन पाइन्छन् । गूगल, मोजिल्ला फायरफक्स, माइक्रोसफ्ट एज, ब्रेभ, एपिक, ओपेरा इत्यादी सबै सित्तैमा उपलब्ध छन् । 

अब प्रश्न उठ्छ, यिनीहरुले पैसा चाहीँ कसरी कमाउँछन् त ? कम्पनी त टिकाउन पर्यो । त्यसमाथि कम्पनी टिक्ने मात्रै हैन, यिनीहरुले संसारकै सबैभन्दा धेरै पैसा पनि कमाउने गरेका छन् । जस्तै गूगलले । 

सामान्यतया वेब ब्राउजरहरुले निम्न तरिकाहरुबाट पैसा कमाउने गरेका छन् । 

सर्च इन्जिन पार्टनरशीप

सम्भवत: प्राय: सबै वेब ब्राउजरहरुको मूख्य आम्दानी सर्च इन्जिन पार्टनरशीपबाटै आउँछ होला । यो सुन्दा तपाईँलाई अचम्म लाग्ला तर प्रविधि क्षेत्रमा संसारकै सबैभन्दा ठूलो पार्टनरशीप नै यसै सम्बन्धी रहेको छ, त्यो पनि धेरै वर्षदेखि । 

विभिन्न ब्राउजरहरुमा सर्च इन्जिन पहिल्यै हालिएको हुन्छ, जुन प्राय: गूगलको हुने गर्छ । तपाईँ आफैले गूगलको सट्टा डकडकगो लगायतका अन्य सर्च इन्जिन पनि राख्न सक्नुहुन्छ तर प्राय: मानिसलाई त्यसको मतलब हुँदैन, जे छ त्यही चलाउँछन् । 

हो यसैको फाइदा उठाएर ती ब्राउजरहरुले गूगलजस्ता कम्पनीहरुसँग सम्झौता गरेका हुन्छन् तिनको सर्च इन्जिन आफ्नो ब्राउजरमा डिफल्ट हालिदिने । त्यो बापत तिनले गूगलबाट रोयल्टि पाउँछन् । 

यस्तो रोयल्टि ती ब्राउजरको वार्षिक आम्दानीको कम्तीमा सामान्यतया ९०% हुने गर्छ । 

विज्ञापन र प्रोमोशन

यस्ता निशुल्क वेब ब्राउजरहरुले विज्ञापन पनि देखाउने गर्छन् जुन यसको होमपेजमा, एक्सटेन्सनहरु, सर्च रिजल्ट पेजहरु इत्यादिमा देखिने गर्छ । 

तपाईँले सर्च गरेका र अन्य गतिविधिहरुको मूल्याङ्कन गरेर तिनले विज्ञापनदाताहरुलाई निकै महङ्गोमा विज्ञापन शुल्क लिइरहेका हुन्छन् लक्षित विज्ञापन देखाउन । 

साथै यस्ता ब्राउजरहरुले होमपेज वा अन्यत्र साझेदारी गरिएका वा प्रायोजित वेबसाइट देखाएर पनि पैसा कमाइरहेका हुन्छन् । 

ब्राउजर एक्सटेन्सन र अ्याड-अन

प्राय: सबै ब्राउजरहरुको एक्सटेन्सन स्टोर हुने गर्छ जहाँ डेभलपर वा कम्पनीहरुले आफ्ना एक्सटेन्सन वा अ्याड‍-अनहरु राखेर शुल्क लिन पाउँछन् । हो, त्यो शुल्कको केही प्रतिशत यी ब्राउजरहरुले पाउने गर्छन् । 

यस्ता स्टोरहरुले प्रयोगकर्ताहरुलाई थप विशेषता र कष्टोमाइजेशन विकल्पहरु दिने हुनाले उनीहरुको अनुभव बिलकुलै सजिलो हुने गर्छ । त्यसकारण यस्ता स्टोरको पनि आफ्नै बजार हुन्छ । 

डेटाको सङ्ग्रह र विश्लेषण

प्रयोगकर्ताले ब्राउजरमा सर्च गर्ने लगायतका विभिन्न गतिविधिहरुको सङ्ग्रह तिनले गरिरहेका हुन्छन् जसको औषत मूल्याङ्कन हुने गर्छ । 

प्रयोगकर्ताको आनीबानी, रुचि लगायका विभिन्न कुराहरुको मूल्याङ्कन विज्ञापनदाताहरुको लागी ठूलो पूँजी हो जसले लक्षित विज्ञापन तिनलाई देखाउने गर्छन् । यस्ता डेटाहरु ब्राउजरले यी विज्ञापनदातालाई बेच्ने पनि गर्छन् । 

हुन त यो राम्रो अभ्यास हैन र नैतिक पनि हैन तर प्राय: सबै ब्राउजरहरुले यस्तो गर्ने गरेको सकारेका छन् । सुरक्षालाई ध्यानमा राखेर बनाइएका डकडकगो, ब्रेभ, एपिक जस्ता ब्राउजरहरुले भने त्यस्तो नगर्ने बताउँछन् । 

जे होस्, यी ब्राउजरहरुले आफ्ना प्रयोगकर्ताका अनलाइन ब्राउजर गतिविधिहरुको मूल्याङ्कन गर्दै तिनको औषत स्वभाव र रुचि पत्ता लगाएर विज्ञापन दातालाई बेचेर पैसा कमाउने गर्छन् । 

प्रिमियम संस्करण र अनुदान

कतिपय ब्राउजरहरुले उन्नत सुविधाहरु, सुरक्षा, प्रयोगकर्ता-समर्पित सहयोग इत्यादी दिने भन्दै प्रिमियम संस्करण ल्याउने गर्छन् जसको लागी शुल्क लाग्छ । 

यस्ता संस्करणहरु खासगरी विभिन्न व्यवसाय र संस्थाहरुलाई चाहिन सक्छ जो सजिलै पैसा तिर्न राजी हुन्छन् किनकी आफ्ना आवश्यकता अनुसार ब्राउजरले काम पनि गरिदिन्छ । 

अर्काथरिले चाहीँ सिधै पैसा नलिइकन अनुदान माग्ने गरेका छन् । जस्तै सुरक्षाको लागी राम्रो मानिएको डकडकगो, एपिक जस्ता ब्राउजरहरुले अनुदान मागेका छन् । मन हुने र सक्नेले दिन सक्छन् यदी आफु यी ब्राउजरहरु चलाएर सुरक्षित छु जस्तो लागेको छ भने ।

बजारको आधिपत्य र प्रयोगकर्ताको आधार

प्राय: सुरुवाती कम्पनीहरु जस्तै ब्राउजरले पनि प्रयोगकर्ताको आधार बढाएर बजारमा आफ्नो आधिपत्य जमाउने र त्यसपछि अन्य माध्यम (माथि उल्लिखित) मार्फत् पैसा कमाउने उपाय पनि अवलम्बन गर्ने गरेका छन् । 

ब्राउजर टन्नैले चलाउँदा यसको प्रचारप्रसार हुन्छ र ब्राण्डको मूल्य पनि बढ्छ । विस्तारै यसले ठूलो स्तरको प्रयोगकर्ताको आधार बनाउँछ र बजारमा आफ्नो आधिपत्य जमाउँछ, त्यसले पैसा कमाउने अन्य उपायहरुको लागी शक्तिशाली उत्प्रेरकको काम गर्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.