टिकटकका सिइओ शउ जि चिउले अमेरिकाको हाउस एनर्जी एण्ड कमर्स कमिटिका सदस्यहरूसँग ५ घण्टा लामो सवालजवाफमा भाग लिएपछि अमेरिकामा टिकटक प्रतिबन्ध लाग्न सक्ने अनुमानहरू बारे चर्चा चुलिएको छ ।
डोनाल्ड ट्रम्पको पालादेखि नै टिकटकलाई प्रतिबन्ध लगाउने बारे ट्रम्प प्रशासनले कुरा अघि बढाएको थियो तर पछि जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि त्यसलाई बाइडेन प्रशासनले खारेज गरिदिएको थियो ।
तर खासगरी रिपब्लिकन सांसदहरूले टिकटक अमेरिकी सुरक्षाको लागि खतरा रहेको तर्क गर्दै यसलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन बाइडेन प्रशासनमाथि तीव्र दबाब दिएका थिए र त्यो मुद्दा अमेरिकी कङ्ग्रेससम्म पुगेको छ ।
अमेरिका किन टिकटकलाई प्रतिबन्ध लगाउन चाहन्छ ?
अमेरिकी सांसदहरूको मूख्य चिन्ता भनेको टिकटकको स्वामित्व लिएको मूल कम्पनी बाइटडान्सलाई लिएर छ जुन चिनियाँ कम्पनी हो । धेरै अमेरिकी नेताहरू चिनियाँ सरकारलाई बाइटडान्सले आफूले सङ्ग्रह गरेका गोपनीय डेटाहरू (सम्भावित जासुसी र राष्ट्रिय सुरक्षाका जानकारीहरू समेत) प्रदान गर्न बाध्यकारी हुन्छ ।
नीतिनिर्माताहरूलाई टिकटकले भिडियो अल्गोरिदम हेरफेर गरेर अमेरिकी प्रयोगकर्ताहरूलाई चिनियाँ कुटनीतिक लक्ष्य प्राप्त गर्न सघाउने खालका प्रोपागाण्डा भिडियो देखाइदिने देखि लिएर अमेरिकी राष्ट्रपतिय निर्वाचनमा गलत सूचना सम्प्रेषण गरेर प्रभाव पार्न सक्ने सम्ममका चिन्ताहरू व्यक्त गरेका छन् ।
कतिपयले के पनि चिन्ता व्यक्त गरेका छन् भने अमेरिकी प्रयोगकर्ताहरूको गोपनीय डेटाको प्रयोग गरेर चीनले चिनियाँ कम्पनीहरूको हात अमेरिकी कम्पनीको भन्दा माथि पर्ने गरी चिनियाँ नीति आउन सक्छ र त्यसले अन्तत: अमेरिकी अर्थतन्त्रमै नकारात्मक असर पार्न सक्छ ।
हालसम्म टिकटकमाथि प्रतिबन्धको मामिलामा के-के भएको छ ?
झण्डै तीन वर्ष अगाडि ट्रम्पको पालादेखि नै टिकटकमाथि प्रतिबन्ध लगाउने चर्चा भए पनि अहिलेसम्म चाहिं सरकारी डिभाइसहरू र क्याम्पसका डिभाइसहरूमा मात्र अमेरिकाले प्रतिबन्ध लगाएरको छ । अमेरिका कि त टिकटक कम्पनीलाई कुनै अमेरिकीलाई बेच्नुपर्ने अन्यथा यसलाई अमेरिकामा पूर्णत: प्रतिबन्ध लगाउनुपर्ने कुरामा अघि बढेको छ ।
यस्तै खालको निर्णयलाई समर्थन गर्दै क्यानडा, युरोपियन युनियन र ताइवानले पनि कार्यान्वयन गरेका छन् । भारतले सन् २०२० मै चीनसँगको सीमा विवादमा थुप्रै भारतीय सैनिकको ज्यान गएपछि त्यसको बदलामा टिकटक लगायत थुप्रै चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको छ ।
पहिले रिपब्लिकनहरूले मात्र उठाएको यो मुद्दा अहिले डेमोक्र्याटका कतिपय सांसदले पनि समर्थन गर्न थालेका छन् । पिउ रिसर्चका अनुसार झण्डै ५०% अमेरिकीहरू टिकटक ब्यान्ड भएको हेर्न चाहन्छन् भने २२% ले नभएको र २८% ले आफूलाई योबारे थाहा नभएको बताएका छन् । झण्डै १५ करोड अमेरिकीहरू टिकटक चलाउने अनुमान छ।
कानुनी व्यवधान कस्ता छन् ?
ट्रम्प प्रशासनले नै टिकटकलाई प्रतिबन्ध लगाउनको लागि पहल गरेको थियो तर अदालतले अभिव्यक्ति स्वतन्त्रा हनन हुने भन्दै उक्त प्रस्तावलाई लत्याइदिएको थियो ।
त्यसको सिधा अर्थ हो अमेरिकामा नयाँ नियम चाहिन्छ यदि टिकटकलाई प्रतिबन्ध नै लगाउने हो भने । त्यसको लागि RESTRICT ACT जस्तै कुनै द्विपक्षीय बिलको आवश्यकता हुन्छ जसले अमेरिकी कङ्ग्रेसको वाणिज्य विभागलाई नयाँ शक्ति दिनेछ जसानुसार यदि राष्ट्रको सुरक्षामा आँच पुर्याउँछ भने विदेशी प्रविधि कम्पनीलाई प्रतिबन्ध लगाउन सकिनेछ ।
तर त्यस्तो बिल पास भएमा बोल्न पाउने विद्यमान कानुनलाई छल्नेछ जसले थप कानुनी तथा सामाजिक/राजनीतिक जटिलताहरू ल्याइदिनेछ । त्यसकारण पनि कतिपयले चाँडै नै अमेरिकामा टिकटक प्रतिबन्धित हुने कुरामा संशय व्यक्त गरेका छन् ।
अन्य विद्यमान कानुनसँग बाझिने भएकाले टिकटक प्रतिबन्ध लगाउने कानुन सन् २०२४ सम्ममा आउला भन्ने कतिपय कानुनविदहरूले बताएका छन् ।