युट्युब एउटा साह्रै राम्रो प्ल्याटफर्म हो जहाँ सित्तैमा संसारभरका गीतसङ्गीतहरु सुन्न पाउनु यसका थुप्रै फाइदाहरु मध्ये एक हो । सिडीडिभिडीको जमाना गएको धेरै भैसक्यो । आजकाल प्राय: मानिसहरु गीतसङ्गीत सुन्न युट्युबकै सहारा लिने गर्छन् ।
तर यसमा गीत सुन्नको लागी अ्याप वा ब्राउजरमा भिडियो नै खोल्नुपर्ने बाध्यता छ । हामीहरु प्राय:जसो सबैजना काम गर्दै वा सत्दै भिडियो नहेरिकन गीतसङ्गीत सुन्न मात्रै चाहन्छौँ । त्यस्तो बेलामा भिडियो खोलिरहन र सिध्दिएपछि फेरी अर्को खोल्न झ्याउ हुन्छ ।
गीतसङ्गीत सुन्न मात्रै चाहनेहरु त्यो समयमा अरु नै काम गरेर समयको थप सदुपयोग गर्न चाहन्छन् । अझ त्यस्तो अवस्था धेरैपटक आउँछ जब इन्टरनेट हुँदैन वा भए पनि सीमित मात्रै डेटा हुन्छ वा नेट राम्ररी चलेको हुँदैन तर गीत सुन्न अति नै मन हुन्छ ।
यस्ता समस्याको लागी सबैभन्दा राम्रो भनेको तपाईँलाई मन पर्ने गीतसङ्गीतहरुलाई एमपिथ्री (MP3) मा परिणत गरेर आफ्नो कम्प्युटर वा मोबाइलमा राख्ने र मन लागेको बेला मज्जाले सुन्ने ।
यस्तो काम गरिदिने सफ्टवेयरलाई एमपिथ्री कन्भर्टर भनिन्छ । प्राय:जसोलाई कुन चाहीँ सबैभन्दा राम्रो भन्ने थाहा हुँदैन जसकारण कन्भर्ट गर्दा आवाजको गुणस्तर खराब हुनसक्छ ।
त्यसकारण हामीले यहाँ ५ उत्कृष्ट युट्युब टु एमपिथ्री कन्भर्टरहरु (YouTube to MP3 Converter) को बारेमा चर्चा गरेका छौँ । तपाईँ यी मध्ये जुनसकुै प्रयोग गर्न सक्नुहुन्छ र जुनसुकै समयमा आफूलाई मन परेका गीतसङ्गीतहरु सुन्न सक्नुहुन्छ ।
एनि भिडियो कन्भर्टर फ्री (Any Video Converter Free)
यदी तपाईँ द्रूत गतिको लचक युट्युब टु एमपिथ्री कन्भर्टर चाहनुहुन्छ भने यो सफ्टवेयर तपाईँको लागी सबैभन्दा राम्रो हुन्छ । हुन त जमानादेखि नै यो सफ्टवेयरले भिडियोको एउटा फर्म्याटबाट अर्कोमा परिणत गर्दै आएको छ तर यसले भिडियोबाट अडियोमा पनि परिणत गर्ने गर्छ ।
तर त्यति मात्रै हैन, यसले युट्युबाट भिडियो डाउनलोड गर्ने र त्यसलाई एमपिथ्रीमा सेभ गर्ने काम पनि गर्छ र हामीलाई चाहिएकै त्यही हो ।
यसले थुप्रै कामहरु गर्ने भएकाले यसको साइज धेरै हुन्छ र तपाईँको र्याम पनि धेरै खान्छ तर यो अन्य थुप्रैमा पनि काम लाग्ने भएकाले अन्य कामहरु पनि तपाईँलाई पर्छ भने इन्स्टल गर्नु उचित नै हुन्छ । तर इन्स्टल गर्ने बेलामा यसको अतिरिक्त अ्याडवेयर (adware) चाहीँ नगर्नुस्।
युट्युबबाट एमपिथ्रीमा कन्भर्ट मात्रै गर्ने सफ्टवेयर छान्न गाह्रै हुन्छ तर यही सफ्टवेयर पनि इन्स्टल गरेपछि तपाईँलाई आफ्नो काम गर्न धेरै सजिलो हुन्छ ।
तपाईँले गर्नुपर्ने भनेको युट्युब भिडियोको युआरएल (URL) कपि गरेर यसमा पेष्ट गर्ने, आउटपुटमा MP3 छान्ने र Convert Now मा क्लिक गर्ने हो । केहीबेर पछि तपाईँको काम फत्ते हुन्छ ।
फोके युट्युब टु एमपिथ्री (4K YouTube to MP3)
फोके युट्युब टु एमपिथ्री त्यस्तै नाम भएको अर्को फोके भिडियो डाउनलोडर जस्तै छ तर यो चाहीँ मूख्यत: भिडियोबाट अडियो निकाल्नकै लागी भनेर बनाइएको हो ।
यद्यपी यसले तपाईँलाई अन्य फर्म्याटहरु जस्तै OGG र M4A मा परिणत गर्ने विकल्प पनि दिएको छ । साथै तपाईँले विभिन्न बिटरेट (bitrate) हरु पनि चयन गर्न सक्नुहुन्छ । र उच्चतम बिटरेट भएको अडियो निकाल्न पनि निकै छिटो हुन्छ ।
यसको अर्को एउटा फाइदा भनेको यसले युट्युबबाट मात्रै अडियो निकाल्ने भने हैन । फेसबुक, भिमियो, फ्लिकर, साउण्डक्लाउड जस्ता अन्य प्ल्याटफर्मबाट पनि भिडियोबाट अडियोमा परिणत गर्ने काम गर्छ ।
अर्को फाइदा पनि छ । त्यो हो यो इन्स्टल गर्दा यसमा टन्नै अरु “अनावश्यक” कुराहरु पनि इन्स्टल गरिरहनुपर्ने झन्झट छैन ।
फोके भिडियो डाउनलोडर (4K Video Downloader)
हुन त यो मूलत: भिडियो डाउनलोड गर्नको लागी बनाइएको हो तर यसले भिडियोबाट अडियो निकाल्ने काम पनि गर्छ जसमा थप केही थोरै कदमहरु पछ्याउनुपर्ने हुन्छ । यसले युट्युब, भिमियो, फेसबुक, फ्लिकर, डेलिमोशन इत्यादीका युआरएललाई पनि काम गर्छ ।
तिनको युआरएल (URL) कपि गर्ने, Paste URL क्लिक गर्ने र Extract audio चयन गरेपछि तपाईँले MP3, OGG, M4A जस्ता फर्म्याट चयन गर्न सक्नुहुन्छ । त्यसपछि Extract मा क्लिक गरेपछि अडियोमा परिणत हुन्छ र तपाईँले छानेको फोल्डरमा सेभ हुन्छ ।
यसले कुनै प्लेलिष्टमा भएका २४ वटा भिडियोहरु कन्भर्ट गर्ने सुविधा दिएको छ । पैसा तिर्नुभयो भने एमपिथ्रीमा अझै बढी पाउनुहुन्छ ।
फ्री युट्युब टु एमपिथ्री कन्भर्टर (Free YouTube to MP3 Converter)
यसले ट्याक्क आफ्नो नाम अनुसारको काम गर्छ अर्थात् युट्युबबाट भिडियोहरु एमपिथ्रीमा कन्भर्ट गर्छ । त्यसकारण यो इन्स्टल गरेपछि अनेकथरि विकल्पहरुको जञ्जालमा तपाईँ फसिरहनु पर्दैन, सिधै आफ्नो काम थाल्न सक्नुहुन्छ ।
यसमा तपाईँले क्वालिटि र फर्म्याट छान्नको लागी ड्रपडाउन मेनुको सहारा लिने हो । युआरएल कपिपेष्ट गरेपछि Download मा क्लिक गर्ने हो, फाइलहरु कन्भर्ट र सेभ हुन्छन् ।
यसको सुन्दर पक्ष भनेको यसमा अनेक खाले तन्द्र्याङतुन्द्रुङहरु छैनन् । केबल एउटै काम गर्छ, त्यो भनेको युट्युबबाट एमपिथ्रीमा कन्भर्ट गर्ने । तपाईँलाई केबल यस्तै काम मात्र गर्ने सफ्टवेयर चाहिन्छ भने यो उत्कृष्ट छनौट हो ।
क्लिपग्र्याब (ClipGrab)
ओपेरा ब्राउजरको झ्याउलोलाई एकातिर छाडिदिँदा (सचेत हुनुभयो भने इन्स्टल गर्ने बेलामा यसलाई छाड्न पनि सक्नुहुन्छ) क्लिपग्र्याब युट्युब भिडियोलाई एमपिथ्रीमा कन्भर्ट गर्ने एउटा साह्रै सजिलो सफ्टवेयर हो ।
यसको इन्टरफेस नै यति सजिलो छ कि सुरुदेखि नै तपाईँलाई यो चलाउन एकदमै सजिलो लाग्छ । यसको क्लिपबोर्डमा तपाईँले युट्युबको युआरएल कपि गर्नासाथ डाउनलोड गर्ने विकल्प देखाउँछ ।
त्यसपछि तपाईँले एमपिथ्रीको रुपमा अडियो डाउनलोड गर्ने कुराको संकेत त्यहाँ दिनुपर्छ । त्यसपछि Grab this clip! मा क्लिक गरेपछि तपाईँको काम फत्ते हुन्छ । अर्थात् तपाईँको एमपिथ्री फाइल डेस्टिनेशन फोल्डरमा गएर बस्छ ।