सूचना-प्रविधि क्षेत्रका युवा किन धेरै विदेश नै जान्छन् ? 

कतिपय अपुष्ट दाबीहरूलाई मान्ने हो भने अहिले मोटामोटी एक करोड मानिसहरू विदेशमा छन् । एयरपोर्टमा गएर हेर्ने हो भने दैनिक हजारौँ युवाहरू विदेशिइरहेका छन् । हामी आफै वरिपरि नै हेर्यौँ भने पनि यस्तो लाग्छ कि यो देशमा कोही पनि बस्न चाहँदैन ।

युवा त पलायन भए भए, यदि सकेको भए बच्चाबच्ची र बुढाखाडाहरू पनि विदेश गएर उतै जिन्दगी बिताउँथे होलान् । सामाजिक सञ्जालमा हेर्दा पनि त्यस्तै देखिन्छ । देशभक्तिको ठूलै गफ दिनेहरू समेत विदेश पलायन भैरहेका छन् । राजनीति र सरकारी सेवामा आबध्दहरू समेत उतै जान खोजिरहेका छन् । यस्तो लाग्छ कि यो देशमा जनावर र चराचुरूङ्गीहरू समेत मिल्ने भए विदेशमै गएर सेटल हुने थिए हाेलान् । 

जताततै विदेशिने लहर र रहर भएपछि सूचना-प्रविधि क्षेत्रका युवा चाहिँ अपवाद हुने कुरै भएन ।अन्य प्राविधिक क्षेत्रमा भन्दा  सूचना प्रविधिका क्षेत्रका युवाहरु किन  धेरैजसो विदेश नै जान चाहन्छन् त भन्ने बारे विभिन्न कारणहरू केलाउने प्रयास हामीले यो लेखमा गरेका छौँ । 

सबैभन्दा पहिलो त विदेशिने रहर र लहरले नै काम गरेको हुन्छ । आफू वरिपरि जो पनि विदेश नै जान चाहेपछि र गएकाहरूले सामाजिक सञ्जालमा समुद्र, गगनचुम्बी भवन र गाडीको फोटो हालेपछि नेपालका जोकसैलाई पनि लोभ लाग्ने भैहाल्यो । विदेशको उच्च जीवनस्तर देखेर धेरैजसो त्यतै जान चाहन्छन् ।

अर्को सबैलाई थाहा भएको कुरा के हो भने नेपालमा आइटी क्षेत्रमा जति जनशक्ति छ, त्यसलाई पुग्ने गरी यहाँको बजारले रोजगार सिर्जना गर्न सकेको छैन । जति रोजगार छन् , ती पनि धेरैजसो त ज्यादै न्युन पारिश्रमिकमा चित्त बुझाइरहेका हुन्छन् ।

नेपालमा आकर्षक आइटी सम्बन्धी जागिर भनेको बहुराष्ट्रिय कम्पनी, सरकारी जागिर र एनजिओ/आइएनजिओहरू हुन् । ती क्षेत्रमा सीमित मात्रै रोजगार छन् जुन सबैले पाउँदैनन् । त्यसमाथि जुनसुकै क्षेत्रमा “राम्रोभन्दा हाम्रो” लाई प्राथमिकता दिने त नेपाली संस्कार भइ नै हाल्यो । त्यसकारण थुप्रै युवाहरू विचलित भएर विदेश जाने निर्णय गर्छन् ।

यसमा उल्लेख गर्नैपर्ने त्यस्तो वर्ग पनि छ जो निकै राम्रो तलबमा काम गरिरहेका हुन्छन् तर हठात् त्यो कम्पनीबाट निकालिन्छन् र नेपालमा रोजगारीको सीमितताको कारण अर्को त्यस्तै लोभलाग्दो तलब भएको जागिर पाउँदैनन् र त्योभन्दा कम तलबमा सम्झौता गर्न उनीहरूको अहङ्कारले दिँदैन । तिनीहरू अन्तत: विदेशिन्छन् ।

अनि त्यस्तो अर्को वर्ग छ जो आफूसँगै पढेकाहरू र आफूभन्दा कम प्रतिभाशालीहरू माथि पुगेका वा बढी तलबमा काम गरेका तर आफू त्यो ठाउँमा विभिन्न कारणले पुग्न सक्दैन र आफूलाई तिनीहरूसँग तुलना गर्न पुग्छ । त्यो वर्ग पनि विदेशिइन बाध्य हुन्छ । 

त्यति मात्र हैन, नेपालमा शिक्षा अनुसारको काम नपाईने तर शिक्षामा खासै मेहनत नै नगरेकाहरू, जस्तै जग्गा दलाल, ठेकेदार, गुण्डा, राजनीतिक कार्यकर्ता, तथाकथित अभियन्ता इत्यादिले धेरै कमाउँदा पनि यो वर्ग स्वभावत: निराश भएर विदेशिने गर्छन् ।

त्यस्तो एउटा सानो वर्ग पनि छ जो कुनै कम्पनीमा काम गरेर दक्षता हाँसिल गर्छ । नेपालमै केही गरौँ भनेर आफूले कमाएको पैसा वा जग्गै बेचेर भए पनि आफै कम्पनी खोल्छ । तर विभिन्न कारणहरूले गर्दा कम्पनी नाफामा जान नसकेर केही वर्षमै कम्पनी बन्द गर्नुपर्ने हुन्छ । 

कम्पनी खोलेर माथिल्लो पोष्टमा सिइओ वा कम्पनी मालिक नै भएर काम गरिरहेकाहरू त्यो स्तरबाट झर्न चाहँदैनन् । बरू कसैले नदेख्ने ठाउँ अर्थात् विदेशमा गएर भाँडै माझ्न पनि तयार हुन्छन् । यो वर्गको पीडा झन् बेग्लै हुन्छ । 

यि त भए देशभित्रका निराशाका कुरा । अब आशाका कुरा गरौँ तर विदेशमा ।

जे-जस्तो भए पनि विदेश भनेको विदेश हो । कम्तीमा यहाँबाट हेर्दा नेपालमा भन्दा विदेशमा त पक्कै पनि धेरै रोजगार सिर्जना हुन्छ । विदेशमा आइटी क्षेत्रमै रोजगार पाउने सम्भावना एकदमै कम भए पनि आशाको त्यान्द्रो भने निकै बलियो हुन्छ । त्यही त्यान्द्रो समातेर अधिकांश विदेशिन्छन् ।

हुन त विदेशमा आइटी लगायत सम्मानित पेशामा आबध्द नेपालीहरू नभएका हैनन् तर निकै कम छन् र निकै धेरै तलब बुझ्छन् । अनि प्रायजसो मानिसहरू त्यो आशाको त्यान्द्रो समात्दासमात्दै र सपना देख्दादेख्दै जिन्दगी गुजार्ने गर्छन् । आइटी क्षेत्रका अधिकांश युवाहरू विदेशमा बाँकी जीवन मजदुरी गरेर बिताइरहेका हुन्छन् । 

यो नेपालमा बसिरहेका धेरैलाई थाहा हुन्छ तैपनि आशाको त्यान्द्रो निकै बलियो हुन्छ । चित्त बुझाउने अर्को बलियो तर्क छ उनीहरूको । त्यो हो, केही नभएपनि विदेशमा जीवनस्तर राम्रो छ नेपालको भन्दा । र कतै कुनै कम्पनीमा निकालिहाल्यो भने पनि तुरुन्तै अर्कोमा पाइने सम्भावना पनि धेरै छ, त्यहाँको बजारमा रोजगार धेरै भएकाले भलै त्यो आइटीइतर क्षेत्रमा किन नहोस् ।       

आइटी क्षेत्रका विद्यार्थीलाई भिसा लाग्ने सम्भावना धेरै हुन्छ र विदेशमा आफ्नो शिक्षा अनुसारको काम पाइने सम्भावना पनि तुलनात्मक रूपमा अन्य क्षेत्रको भन्दा बढी हुन्छ । संसारभरी आइटी क्षेत्रमा सबैभन्दा बढी अवसर र सम्भावना छ भन्ने सबैलाई थाहै छ । यो कारण पनि आइटी क्षेत्रका युवाहरू विदेशिइन नै चाहन्छन् किनकी तलब र सुविधाहरू पक्कै पनि विदेशमै राम्रो छ । 

अर्को एउटा रमाइलो कुरा । विदेशमा पिआर पाएको भनेपछि नेपालका बाउआमाले आफ्नी प्राणभन्दा प्यारी र सुन्दरी छोरी आँखा चिम्लेर विवाह गरेर पठाउँछन् । यो कारण थुप्रै केटाहरू विदेशिइरहेका छन् । केटीहरू पनि उस्तै-उस्तै कारणले गर्दा विदेशिइन चाहन्छन् । 

विदेशमा बसे सुन्दरी केटी पाइन्छ भन्ने आमधारणा धेरै युवाहरूमा पाइन्छ । अङ्कल उमेरको विदेशिएको पुरूषले निकै कम उमेरकी सुन्दरी केटीसँग विवाह गरेका फोटो र भिडीयोहरू हामीले देखिरहेका हुन्छौँ ।      

त्यस्ता मानिसहरू पनि छन् जसको यहाँ राम्रो हुँदाहुँदै पनि लहैलहैमा लागेर वा रहरले वा परिवारको करले गर्दा उनीहरू विदेशिन्छन् । उनीहरू यहाँको आइटी क्षेत्रको लोभलाग्दो जागिर छाडेर भाँडै माझ्न भए पनि विदेशिन तयार हुन्छन् । 

तर त्यस्ता युवाहरू पनि हुन्छन् जो विदेशमा उच्च शिक्षा हाँसिल गरेर नेपाल फर्किएर केही गर्ने सपना बोकेर जान्छन् र फर्किन्छन् पनि । नेपालमा दुर्लभ मानिएका दक्षता हाँसिल गरेर यहाँ लोभलाग्दो जागिर खाने र उच्च तहमा पुग्ने तिनको आशा हुन्छ । कति पुग्छन् पनि । तर यस्तो वर्ग निकै सानो हुन्छ । 

त्यस्तै विदेशमा प्राविधिक काम नै गर्नको लागी जानेहरू पनि छन् जसमध्ये कतिपय त्यहाँको अनुभव नेपालमै प्रयोगमा ल्याउने उद्देश्यका साथ गएका हुन्छन् । नेपाल फर्किएर यहीँ केही गर्नेहरू पनि हुन्छन् तर तिनको वर्ग पनि निकै सानो छ । 

अन्त्यमा छोटकरीमा भन्नुपर्दा अन्य थुप्रै क्षेत्रमा जस्तै, आइटी क्षेत्रका युवाहरू पनि उज्ज्वल भविष्य, उच्च जीवनशैली, उच्च शिक्षा, अनेकथरी सपना, लहैलहै, रहर र कर इत्यादीका कारण विदेशिने गरेका छन् ।        

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.