के एसएलसी (SEE) पछि नै उच्च आइटि शिक्षाको लागी तयारी गर्नुपर्छ ?

SEE EXAM AND IT STUDY

हिजो भर्खरै एसइइ परिक्षाको नतिजा आएको छ र देशभरका दशौँ लाख विद्यार्थीहरू अब के पढ्ने, कस्तो विषय लिने, कहाँ पढ्ने, आफ्नो रूचि र क्षमता अनुसारको विषय कसरी छान्ने, अब पढ्ने विषयले भविष्यमा कस्तो असर पार्ला लगायतका विभिन्न प्रश्नहरूको बारेमा स्वभावत: सोच्दैछन् ।

एसइइ लाई पहिले एसएलसी भनिन्थ्यो जसलाई फलामे ढोका भनिन्थ्यो । यसमा पास र फेल हुनु समाजमा ठुलै कुरा हुन्थ्यो । समयक्रममा एसएलसीलाई एसइइमा बदलियो र पासफेलमा भन्दा पनि ग्रेडमा ज्यादा महत्व दिन थालियो ।

यो पनि पढ्नुहोस्: आइटि पढेर कस्तो-कस्तो पद/काममा जागिर पाइन्छ ?

फलामे ढोका पार गरेका शिक्षकहरूले नै आजका विद्यार्थीहरूलाई पढाउने भएकाले उनीहरूले एसइइलाई पनि फलामे ढोकाकै अर्थमा महत्व दिने भैहाले । समाजले पनि धेरै हदसम्म आज यसलाई त्यही अनुसारको महत्व दिने गर्छ । 

तर हामी चाहिँ यहाँ त्यस्ता विद्यार्थीहरूको लागी केहि महत्वपूर्ण जानकारी र सल्लाह पस्किदैछौँ जो पछि गएर आइटि क्षेत्रमा जाने सोच बनाइरहेका छन् । वा तिनका अभिभावकले आफ्ना सन्तान यो क्षेत्रमा गइदियोस् भन्ने चाहेका छन् ।

खासगरी कोरोना महामारीको बेलामा शिक्षामा जबर्जस्त रूपमा प्रविधि घसेको थियो । विद्यालयहरूमा समेत अनलाईनमा पाठ्यक्रम पढाइन थालेपछि स-साना विद्यार्थीलाई समेत  प्रविधिको महत्वको बारेमा ज्ञात हुन थालेको थियो ।

उसो त आजकालका बच्चाहरूले स्कुलबाट भन्दा गूगल, युट्युब, फेसबुक, टिकटक लगायतका अनलाइन प्ल्याटफर्महरूबाट धेरै सिक्छन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग भैसकेको छ । तर यि कुरा चलाउनु र यिनको सिर्जना गर्नु फरक कुरा हो । 

आइटि पढेकाहरूले यस्ता प्ल्याटफर्महरू बनाउने वा सिर्जना गर्ने हो । संसार झन्झन् डिजिटलमय हुँदै गएकाले यससम्बन्धी साक्षरता त अनिवार्य छ नै, योभन्दा पनि भित्र गएर डिजिटल दुनियाँको आन्द्राभुँडीको अध्ययन गर्ने र निर्माण गर्ने काम आइटिका मान्छेहरूले गर्छन्  ।

यो पनि पढ्नुहोस्: के नेपालले सफ्टवेयर विकासमा विकसित राष्ट्रहरूको जस्तो काम गर्न सक्छ ?

यदी तपाईँलाई वा तपाईँका सन्तानलाई पनि यो क्षेत्रमा लाग्ने इच्छा छ भने यो लेखले पक्कै पनि तपाईँलाई सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ । 

एउटा खुशीको कुरा ! आइटि नै पढ्नुपर्छ भन्ने छैन !

एसइइ पढेर बसेका सबै विद्यार्थीहरूको लागी पहिलो खुशीको कुरा भनेको आइटि सम्बन्धी काम गर्नको लागी वा यसका विभिन्न सीपहरू सिक्नको लागी तपाईँले आइटि नै पढ्नुपर्छ भन्ने छैन । पहिला त्यस्तो समय थियो, अहिले छैन । 

आइटि पढेर मानिसहरूले जे-जस्ता जागिर खाइरहेका छन्, आइटि नपढिकन पनि पाउन सकिन्छ यदी तपाईँमा केहि निश्चित कोर्सहरूमा रूचि छ र सीप विकास गर्न सक्नुहुन्छ भने । अनि त्यस्ता सीप छ भने तपाईँले घरमै बसीबसी पैसा कमाउन सक्नुहुन्छ ।

जस्तै तपाईँलाई वेब डेभलपर बन्न मन लाग्यो भने वेब डेभलपरको करियर कसरी सुरू गर्ने ? भन्ने जस्ता आर्टिकल पढेर घरबाटै ट्युटोरियल हेरेर सिक्न सक्नुहुन्छ वा यसको लागी चाहिने कोडिङ लगायतका शिक्षा कुनै संस्थामार्फत् ट्रेनिङ लिन सक्नुहुन्छ । 

आइटिको लागी चाहिने कोडिङ, ग्राफिक्स डिजाइनिङ, एसइओ लगायतका कोर्सहरू अहिले विभिन्न ट्रेनिङ सेन्टर वा सिटिइभिटि जस्ता मान्यताप्राप्त संस्थाहरूले पनि दिइरहेका छन् । 

यदि तपाईँ आइटि नपढिकनै यसका विभिन्न सीपहरू आफै वा कुनै संस्थामार्फत् सिक्न सक्नुहुन्छ भने ४ वर्ष कोर्स पढेर समय र पैसा किन सक्काउने ? यो पक्कै पनि एउटा दमदार तर्क हो ।

अहिले अमेरिकाका ठूला टेक कम्पनीहरूका मालिकहरूले निकै सानो उमेरमै कोडिङ लगायतका विषय सिकेका थिए स्कुल पढ्दापढ्दै । 

जस्तै माइक्रोसफ्टका मालिक बिल गेट्सले स्कुल पढ्दाताका नै १३ वर्षको उमेरदेखि प्रोग्रामिङ सिकेका थिए । मेटाका मालिक मार्क जकरबर्गले १२ वर्षको उमेरदेखि नै कोडिङ र सफ्टवेयर डेभलपिङ सिकेका थिए । 

अरू पनि थुप्रै उदारहण छन् । अझ स्टिभ जब्सको कुरा गर्ने हो भने त उनी टेक क्षेत्रका भिजनरी कहलिन्छन् तर यस्ता कोडिङसोडिङको ज्ञान उनलाई थिएन । 

भन्न खोजेको यति मात्रै हो कि यदि तपाईँ आइटि क्षेत्रमा लाग्न चाहनुहुन्छ भने सबैबन्दा महत्वपूर्ण भनेको तपाईँको रूचि नै हो । यदि तीव्र रूचि छ भने तपाईँलाई पढाईले कुनै बाधा पार्दैन । स्मरणीय छ, गेट्स र जकरबर्गले कलेज ड्रप गरेका थिए । 

तर याद राख्नुस्: सबै कलेज ड्रपआउटहरू अर्बपति बन्दैनन् । प्रायजसो ड्रपआउटहरू श्रमिक बन्छन् । त्यसकारण शिक्षाको महत्वलाई कम नआँक्नुस् तर यसलाई धेरै नै ठूलो ठानेर यसमा आफ्नो अक्षमता र असफलताका कारण आत्महत्या गर्ने जस्ता काम पनि नगर्नुस् । 

तपाईँ यदि आइटि नपढिकनै यसका विभिन्न कोर्सहरूमा दक्षता हाँसिल गरेर काम गर्न चाहनुहुन्छ भने पनि नेपालमै त्यसको विकल्प छ । अहिले त्यस्तो गर्ने मानिसहरूको सङ्ख्या धेरै छ । विभिन्न ट्रेनिङ सेन्टरहरूमा आफुलाई चाहिएको सीप सिक्नुस् ।

अर्को कुरा, सबै निर्णय यही उमेरमा गर्न सकिन्छ वा बाउआमाले नै सबैभन्दा राम्रो निर्णय गर्न सक्छन् भन्ने पनि हैन । थुप्रै त्यस्ता सफल र सामान्य मानिसहरू छन् जसले विश्वविद्यालयबाट आफ्नो औपचारिक शिक्षा सकिसकेपछि आइटि सम्बन्धी कामहरू सिके । खासगरी काम गर्दै जाँदा त्यसको आवश्यकता देखेर ।

भन्न खोजेको, तपाईँले अहिले आइटि पढ्न आवश्यक विषय साइन्स छान्नु भएन तर समय बित्दै जाँदा यसमा तपाईँलाई रस पस्यो भने मास्टर सकिसकेपछि पनि तपाईँले यसका विभिन्न सीपहरू सिक्न सक्नुहुन्छ । अहिलेकै निर्णयलाई उत्तम वा खत्तम मान्नुपर्छ भन्ने पनि छैन । 

यो पनि पढ्नुहोस्: किन फितलो छ नेपालको साइबर/आइटी पोलिसी ?

११,१२ कक्षामा जे पढे पनि आइटि सम्बन्धी कोर्स पढ्न पाइने !

अब कुरो गरौँ, ११,१२ कक्षामा के पढ्ने त ? पक्कै पनि तपाईँलाई वा तपाईँको सन्तानलाई आइटि पढ्ने रहर छ भने साइन्स पढ्ने वा पढाउनेबारे सोचिरहनु भएको होला । 

तर अहिले विभिन्न विश्वविद्यालयहरूले साह्रै धेरै लचकता अपनाएर ११, १२ मा जे पढे पनि आइटि सम्बन्धी विभिन्न फ्याकल्टिमा जान सक्ने व्यवस्था ल्याएका छन् । यो प्राय: सबैको लागी खुशीको कुरा हो । 

यद्यपी सावधान हुनुपर्ने कुरा चाहिँ के भन्दा आइटि सम्बन्धी निश्चित फ्याकल्टिमा मात्रै जान पाइन्छ र सबै विश्वविद्यालयले त्यस्तो सुविधा दिएका छैनन् । त्यसकारण तपाईँले यहि वा त्यहि विश्वविद्यालयमा यहि वा त्यहि फ्याकल्टि पढ्छु भन्ने विकल्प भने छान्न पाउनुहुन्न ।

फ्याकल्टि र विश्वविद्यालयका सीमितताले केहि असर त पक्कै गर्छ । जस्तै भनेकै देश वा शहरमा, भनेकै साथीभाइसँग, आफुलाई पायक पर्ने ठाउँतिर पढ्ने व्यवस्था नहुन पनि सक्छ । साथै पढिसकेपछि सरकारी सेवामा त्यस्तो फ्याकल्टि पढ्ने र आइटि पढ्नेहरूलाई दिइने रोजगारको अवसर छुट्टाछुट्टै पनि हुन सक्छ । 

यी केहि बेफाइदाका बावजुद पनि संसारभरी बढिरहेको आइटि उद्योगका कारण यसमा साइन्सबाट गएका मानिसहरू मात्रै हैन, जुनै क्षेत्रका मानिसहरूको पनि चासो र रूचि बढेको पाइन्छ । 

त्यसोभए कुन-कुन विश्वविद्यालयमा जे पढे पनि आइटि सम्बन्धी फ्याकल्टिमा जान पाइन्छ त ? त्योबारे छोटो चर्चा गर्नु यहाँ सान्दर्भिक हुन्छ । 

त्रिभुवन विश्वविद्यालयमा ११ र १२ मा जुनसुकै विषय अध्ययन गरेतापनि न्युनतम “डि” ग्रेड ल्याउनेले पनि बिसिए (ब्याचलर अफ कम्प्युटर एप्लिकेशन) पढ्न पाउनेछन्। यसमा मुख्यत: कम्प्युटर एप्लिकेशन र सफ्टवेयर डेभलपमेन्टलाई फोकस गरिन्छ । 

त्यस्तै पोखरा विश्वविद्यालयमा ११ र १२ मा जुनसुकै विषय पढेर पनि “सी” ग्रेड ल्याउनेले बिसिआइएस (ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन) पढ्न पाउँछ । यसमा मूलत: प्रोग्राम, टेक्नोलोजी, डाटाबेस, एप्लिकेसन, सफ्टवेयर लगायतमा फोकस गरिन्छ । 

बिआइटी (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी) अर्को त्यस्तै फ्याकल्टि हो जुन पढ्न थुप्रै विश्वविद्यालयले बेग्लाबेग्लै सर्त राखेका हुन्छन् । सामान्यत: ११ र १२ मा कुनै एउटा कक्षामा गणित लिएर पास गरेकाले यो फ्याकल्टि पढ्न पाउनेछन् । 

यी केहि उदारहण हुन् । अन्य विकल्पहरू पनि छन् जुन तपाईँले विभिन्न विश्वविद्यालयमा गएर वा तिनको वेबसाइटमा हेरेर जानकारी लिन सक्नुहुन्छ । साथै अर्को दुई वर्षमा विश्वविद्यालयहरूले थप लचकता अपनाउन पनि सक्छन् । 

आइटि पढ्न चाहिँ के पढ्ने त ?

यति पढिसकेपछि तपाईँलाई धेरै हदसम्म के पढ्ने त भन्नेबारे निर्णय गर्न सजिलो पनि भैसक्यो होला । पहिलो कुरा त आइटि सम्बन्धी फ्याकल्टि नै पढ्नुपर्छ भन्ने छैन । अर्को, ११ र १२ मा आइटिको लागी आवश्यक विषय नै छान्नुपर्छ भन्ने पनि छैन । 

तर माथि भनिसकियो कि यी कुराहरूका आ-आफ्नै सीमितताहरू छन् भनेर । जे भए पनि साइन्स पढ्ने विद्यार्थीलाई जति विकल्प अरू कसैलाई पनि हुँदैन । त्यसकारण पनि ११ र १२ भनेको निकै महत्वपूर्ण हुन्छ । 

यो बेलामा मानिसले आफ्नो के पढ्ने भन्ने क्षमता पनि थाहा पाउन सक्छ । साइन्स पढेको विद्यार्थीले त्यसपछि आफू लगभग जुनसुकै विषय पनि छान्न सक्छ भने अन्य विषय पढेकाको हकमा त्यो लागु हुँदैन ।

त्यसकारण आइटिका जुनसुकै फ्याकल्टि ब्याचलरमा गएर छान्न पाउने सुविधा तपाईँलाई चाहिन्छ भने साइन्स पढेर कम्प्युटर साइन्स र म्याथ छान्न सक्नुहुन्छ । यसले तपाईँलाई आइटिका जुनसुकै विषय पढ्न सक्ने क्षमता बढाउँछ र त्यसको लागी योग्य पनि पार्छ । 

अहिले ११ र १२ मै प्रोग्रामिङका विषयहरू पढाइ हुने हुनाले यसमा तपाईँलाई कत्तिको रूचि लाग्छ भन्ने सोचेर त्यसमै अन्य ल्याङ्वेजहरूमा पनि सिक्न सक्नुहुन्छ ट्रेनिङ सेन्टरहरूमा । ११ र १२ पढिरहेकाहरूले अहिले नै काम गर्दै पढ्दै गरिरहेका उदारहण पनि धेरै छ । 

१२ सकिसकेपछि तपाईँसँग भएका थुप्रै विकल्पहरू देश र विदेश दुबैमा उपलब्ध हुन्छन् जसको फाइदा तपाईँले लिन सक्नुहुन्छ । 

निष्कर्ष

यति पढिसकेपछि तपाईँलाई निर्णय लिन पक्कै पनि सजिलो हुन्छ होला भन्ने हाम्रो विश्वास छ । छोटकरीमा भन्नुपर्दा, ११ र १२ मा तपाईँले साइन्स पढ्नुभयो भने सबैभन्दा राम्रो हो किनकी त्यसपछि तपाईँले टन्नै विकल्पहरू छान्न पाउनुहुन्छ । 

तर सबैले साइन्स पढ्न नसक्ने हुनाले जे पढे पनि आइटिसँग सम्बन्धित कोर्सहरूमा तपाईँलाई रूचि छ भने ब्याचलरमा ती छानेर पढ्न सक्नुहुन्छ ।

तर विश्वविद्यालयमा पाइला पनि नटेकेर आफै घरमै सिकेर वा ट्रेनिङ इन्स्टिच्युटहरूमा गएर सिकेर आइटि क्षेत्रमा एकदमै राम्रो जागिर खान पनि सक्नुहुन्छ । प्राइभेट कम्पनीहरूले तपाईँको सर्टिफिकेट हेर्ने भनेको कमै हुन्छ । मूलत: तपाईँको सीप र क्षमता हेरिन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.