अहिलेको द्रूत गतिको इन्टरनेटको जमानामा अनलाइन प्ल्याटफर्महरू जस्तै युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम इत्यादिमा भिडियो अपलोड गर्नेहरू संसारभरि धेरै छन् । यस्तो गर्दा हामी प्रायले विभिन्न खालका गीतसङ्गीतहरूको प्रयोग आफ्ना भिडियोहरूमा प्रयोग गरिरहेका हुन्छौँ ।
तर हामी मध्ये धेरै कमलाई मात्रै कपिराइटको बारेमा हेक्का हुन्छ होला । अझै नेपाल जस्तो देशमा त झन् यसको खासै कार्यान्वयन नहुने भएकाले लगभग सबैले कपिराइटको मतलब नै नगरी मन लागे जुन पाए त्यही गीतसङ्गीतको प्रयोग गरिरहेका हुन्छन् ।
तर कुरा के भने केही नहुन्जेल केही पनि हुँदैन । केही भएपछि बल्ल कहिल्यै सपनामा पनि नचिताएका समस्याहरूको ताँती लाग्न थाल्छ ।
यदी तपाईं कदाचित कपिराइट मुद्दाको फन्दामा पर्नुभयो भने त्यस्तो अवस्था पनि आउन सक्छ जब देशकै सबैभन्दा महङ्गो र उत्कृष्ट वकिलले समेत सजायबाट तपाईँलाई बचाउन सक्दैन । नेपालमा तपाईँको जस्तोसुकै राजनीतिक पहुँच भए पनि यस्ता मुद्दाबाट उम्किने मौका तपाईँले नपाउन सक्नुहुन्छ ।
जस्तै दुबई जस्ता खाडी मुलुकहरूमा ती देशको राजनीतिक जासुस गरेको अभियोगमा चालीसौँ वर्षको सजाय सुनाइदिन्छ । दुबई घुम्न गएका अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोप लगायतका शक्तिशालि तथा विकसित देशका नागरिक समेत दुबईको राजनीतिक व्यवस्था वा मुस्लिम धर्मको फेसबुकमा विरोध गरेको बहानामा बीसौँ वर्ष जेल सजायको भागीदारी भएको उदारहण छ ।
कल्पना गरौँ, तपाईंले दुबईको कुनै प्रख्यात गायक वा सङ्गीतकारको गीतसङ्गीत युट्युब वा कुनै अनलाईन प्ल्याटफर्ममा बिना अनुमति प्रयोग गर्नुभयो । केही महिना वा वर्षपछि तपाईं दुबई घुम्न जानुभयो । त्यसपछि तपाईं अचानक त्यहाँ पक्राउ पर्न सक्नुहुन्छ त्यही “अपराध” का कारण । नेपाल हो, जे गरे पनि हुन्छ भन्ने मनशाय नराख्दा नै राम्रो हुन्छ ।
यही कुरा प्राय: सबै देशको लागि लागू हुन्छ । अन्य देशमा घुम्न जाँदा त्यहाँको नियमानुसार तपाईं फन्दामा पर्नु त हुन्छ नै, स्वदेशी स्रष्टाका गीतसङ्गीतको प्रयोग गर्दा पनि जुनसुकै बेला फसिन सक्छ । नेपाल सरकारले स्रष्टाको अनुमति बिना तिनको सिर्जना प्रयोग गर्न नपाईने कानुन बनाए पनि प्रभावकारी कार्यान्वयन भएको भने छैन ।
स्रष्टाले बलियो वकिल राखेर कसैसँग रिस उठेको बेलामा फसाउन सक्ने सम्भावना सधैँ छ । नेपालमा यस्तो घटना विरलै सुनिने मात्र हो । तर यस्तो घटना भविष्यमा बढ्न पनि सक्छ किनकि आजकाल स्रष्टाले पैसा कमाउने मूल स्रोत भनेको नै इन्टरनेटबाट हो । उनीहरूको सिर्जना अरूले नै प्रयोग गरेर पैसा कमाइरहेको छ भने पक्कै पनि ऊ हातमा दही जमाएर नबस्ला ।
कानुनी रूपमा फसिने मात्र हैन, सामुदायिक वा धार्मिक रूपमा नि तपाईं फस्न सक्नुहुन्छ । जस्तै मुसलमानहरू आफ्नो धर्म र संस्कृतिमा ज्यादै कट्टर हुन्छन् । नेपालमा बसेर तिनको धर्मलाई खिल्लि उडाउने आशयका गीतहरूको प्रयोग मज्जाले गर्नुहोला तर मुसलमान बहुल ईलाकामा तपाईं प्रवेश गर्नुभयो भने समस्यामा पर्न सक्नुहुन्छ ।
मुसलमान मात्रै हैन, अन्य धर्ममा पनि कट्टरपन्थी छन् । त्यसकारण अनलाईनमा कुनै पनि धर्म, जात, नश्ल, वर्ग, लिङ्ग, समुदाय इत्यादिको भावनामा कुनै पनि खालको चोट पुग्ने गीतसङ्गीतको प्रयोग नगर्नु नै बुध्दिमानी हुन्छ । कुनै धर्म वा समुदायले पवित्र ठान्ने भजनलाई अश्लील दृश्यमा समावेश गर्ने खालको काम पनि नगर्नु नै राम्रो हुन्छ ।
हामीले अनलाईन गतिविधिमा संलग्न हुँदा ध्यान दिनुपर्ने एउटा मूख्य कुरा के भन्दा अपलोड गरिएका सामाग्रीहरू त्यहाँ सधैँभरिको लागि रहन्छन् । तपाईं आफैले डिलिट गर्नुभयो भने पनि अरूले डाउनलोड गरेर सेभ गरिरहेका हुन सक्छन् जसले भविष्यमा तपाईंलाई समस्यामा पार्न सक्छ । त्यसकारण सधैँ सुरक्षित रहने प्रयास गर्नु बुध्दिमानी हुन्छ ।
सङ्गीत भनेको कसैको बौध्दिक सम्पत्ति हो । अरूको सम्पत्तिको उसको अनुमति बिना आफ्नो फाइदाको लागी वा अन्य जुनसुकै प्रयोजनको लागि प्रयोग गर्नु सरासर चोरी जस्तै अपराध हो । यति कुरा विचार गरेर सकेसम्म सर्जकको अनुमति लिएर मात्र त्यस्ता गीतसङ्गीतको प्रयोग गर्नु बेस हुन्छ ।
सर्जकको अनुमति कसरी लिने त ?
माथि उल्लेख गरिएका खतराहरूको मनन तपाईंले गरिसकेपछि अब तपाईंको मनमा सर्जकको अनुमति कसरी लिने त भन्नेबारे खुलदुली लाग्यो होला । त्यसको लागी त तपाईँले आफूले प्रयोग गरेको सङ्गीत कसले बनाएको भनेर पहिले बुझ्नुपर्यो ।
यो मामलामा खास गरेर तपाईँले उक्त बौध्दिक सम्पत्तिको कपिराइट स्वामित्वकर्ता को हो भन्नेबारे बुझेर पत्ता लगाउनु आवश्यक छ । हुन त त्यो प्रक्रिया सुरूमा तपाईँलाई ज्यादै झीँजो लाग्ने खालको हुनसक्छ तर अलि राम्ररी बुझिसकेपछि तपाईँलाई थाहा हुन्छ कि बिना कुनै झण्झट तिनीहरूलाई फेला पार्न सकिन्छ ।
यसको जटिल पक्ष भनेको के भन्दा कुनै पनि गीत वा सङ्गीत सिर्जना गर्दा एकभन्दा बढी व्यक्तिको संलग्नता भएको हुन्छ । लिखित गीतको कपिराइट भनेको गीतकार, कम्पोजर र प्रकाशकको हातमा हुन्छ । रेकर्डिङको अधिकार पनि यही समूहको हातमा हुन्छ । यो समूहबाट तपाईंले सही व्यक्ति छान्नुपर्ने हुन्छ ।
कपिराइट स्वामित्वकर्ता कसरी चिन्ने ?
आफ्नो मूख्य लक्ष्य भनेकै कपिराइट खासमा कसको स्वामित्वमा छ भनेर चिन्नुपर्ने हो । सामान्यतया तपाईँले कपिराइट सूचनामा हेर्नासाथ यसबारे थाहा पाउनुपर्ने हो जसकारण यो विषय तपाईँलाई त्यस्तो झीँजो लाग्न त नपर्ने हो । तपाईंले कम्पनीको नाम फेला पार्न सक्नुहुन्छ र त्यो कम्पनी खोज्दै जान सक्नुहुन्छ ।
सामान्यतया त्यो गीतसङ्गीत निकाल्ने कम्पनी (रेकर्ड स्टुडियो वा प्रकाशक) सँग कुराकानी गर्नु तपाईंको लागि पहिलो कदम हुनसक्छ । अथवा तपाईंले गीतसङ्गीतको लाइसन्स वा कपिराइटको संरक्षण गर्ने संस्थालाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
स्वामित्वकर्तालाई सम्पर्क गरेर कसरी सम्झौता गर्ने ?
सम्पर्क समस्याको विषय नहुनु पर्ने हो किनकी आजकाल इन्टरनेटमा सजिलै कुनै कम्पनीको फोन नम्बर, ईमेल वा ठेगाना नै पाइन सकिन्छ । तपाईंलाई सजिलो लाग्ने माध्यम प्रयोग गरेर आफ्नो कुरा व्याख्या गर्न सक्नुहुन्छ ।
जस्तै तपाईंको नियत के हो? कस्तो सामाग्री प्रसारण गर्न खोज्दै हुनुहुन्छ? कुन गीत वा सङ्गीत कहाँ कसरी प्रयोग गर्दै हुनुहुन्छ ? हो यस्ता कुराहरू सर्जकलाई विश्वस्त पार्ने तरिकाले बताउनुस् ।
अन्त्यमा उनीहरूलाई हस्ताक्षर गरेको चिठी पठाउनको लागि आग्रह गर्नुस् वा फोन गर्नको लागी भन्नुस् वा आफै फोन गर्नुस् । त्यसो गर्दा तपाईँले सम्झौताको प्रक्रिया अघि बढाउन सक्नुहुन्छ । कदाचित तपाईंले अनुमति पाउनुभयो भने के कुरा याद राख्नुस् भन्दा तपाईंको भिडियोबाट कमाएको पैसाबाट काटेर उनीहरूलाई तिर्नुपर्छ ।