हाम्रो सनातन धर्मको मान्यता अनुसार यो संसार भगवानको लीला हो जसलाई मानिसले कहिल्यै बुझ्न सक्दैन । अर्को शब्दमा भन्दा, संसार केबल भ्रम हो र मानिस भ्रममै बाँच्छ र भ्रममै मर्छ, उसले यो संसारको भेउ कहिल्यै पाउन सक्दैन । मान्छेले संसार बुझ्न खोज्नु भनेको अन्धोले हात्ती छामेर हात्ती बुझ्न खोज्नु जस्तै हो ।
यता पूर्वमा मात्रै हैन, पश्चिमा संसारमा पनि यस्तै खालको विचार वा निष्कर्षमा उहिल्यै ग्रीक दार्शनिकहरू पुगेका थिए । त्यसपछि युरोपमा पुनर्जागरणको युगमा पनि त्यहाँका महान दार्शनिकहरू यस्तै खालको निष्कर्षमा पुगेका थिए ।
यस्तै खालको विचार बोक्ने आधुनिक दार्शनिकहरू बीसौँ शताब्दिमा पनि थिए र अहिले पनि छन् । यो संसार यति रहस्यमय छ कि मानिसले कहिल्यै बुझ्न सक्दैन र उसले यो संसारको बारेमा जतिसुकै ठूलो कुरा पत्ता लगाए पनि त्यो केबल अन्धोले हात्ती छामेजस्तै हो वा केबल छामछाम-छुमछुम मात्रै हो ।
यस्तै विचारबाटै केओस थ्यौरी (chaos theory), अनिश्चितता (uncertainty), सम्भाव्यता (probability), काकताली (chance), अन्धाधुन्धपना (randomness) जस्ता सिध्दान्तको बीसौँ र एक्काइसौँ शताब्दिमा चर्चा र एकखालको विकास भयो ।
लाखौँ वर्षको मानव इतिहाँसमा हरेक पुस्ताले अन्धोले हात्ती छामेजस्तै गरेर यो संसारको बारेमा आफ्नो धारणा बनाउँछ र उसको त्यो धारणा र कल्पनालाई पूरै मानव समाजमा नै लाद्ने प्रयास उसले गर्छ । जुनसुकै वाद, सिध्दान्त, धर्म, विज्ञान, विचार इत्यादी त्यस्तै नै हो ।
“अल वाच्ड ओभर…….” नामक यो डक्युमेन्ट्रिका निर्देशक अ्याडम कर्टिस यो कुरामा पक्का छन् र उनको अनुसार बीसौँ र एक्काइसौँ शताब्दिमा भएका ठूल्ठूला (प्राविधिक र वैज्ञानिक) विकास पनि त्यस्तै भएको जिकिर गर्छन् । यो संसार यति जटिल र अज्ञेय छ कि यस्ता सरल सिध्दान्त र धारणाले व्यक्त गर्नै सक्दैन तर ती जबर्जस्ती लादिएका छन् भन्ने उनको कथन छ ।
कर्टिसको धारणासँग तपाईँ असहमत हुन पनि सक्नुहुन्छ तर यसलाई नजरअन्दाज चाहीँ गर्न सक्नुहुन्न । यो गम्भीर डक्युमेन्ट्री केबल प्रविधिको बारेमा मात्रै छैन, जीवशास्त्र, भौतिकशास्त्र, वनस्पतिशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र इत्यादीको बारेमा पनि छ ।
तर ती सबको प्रविधिसँग कस्तो सम्बन्ध छ? वा भनौँ प्रविधिको बारेको केही मानिसको धारणा ती क्षेत्रमा कसरी लादियो र ती क्षेत्रको बारेको केही मानिसको धारणा प्रविधिमा कसरी लादियो भन्ने यो फिल्ममा कर्टिसले आफ्नो धारणा राखेका छन् ।
अब त्यसैको बारेमा कुरा गरौँ । सबैभन्दा पहिले पहिलो भाग वा श्रृङ्खलाको ।
रूसबाट अमेरिकाको क्यालिफोर्नियामा बसाईँ सरेकी प्रख्यात आख्यानकार एन र्यान्ड (Ayn Rand) ले आफ्ना आख्यान र गैरआख्यानहरूमा यथार्थवादी वा वस्तुवादी (objectivism) विचारधाराको प्रखर मत जनाइन् जसानुसार मानिस पूर्णत: बन्धनबाट मुक्त हुनुपर्छ, तर्कमा चल्नुपर्छ, खुशी नै उसको मूल लक्ष्य हो जस्ता धारणा पर्छन् ।
त्यतिबेलाका विद्वानहरूले उनका कृतिहरूलाई खासै मन नपराए पनि एउटा त्यस्तो वर्ग थियो जसले उनलाई ठूलो विचारक मान्थ्यो र लगातार उनलाई समर्थन र साथ दिइरह्यो । त्यो वर्गमा धेरै क्षेत्रका मानिसहरू थिए जसमध्ये अमेरिकाको फेडेरल रिजर्भका पूर्व-अध्यक्ष एलेन ग्रीनस्प्यान र सिलिकन भ्याल्लिका थुप्रै प्राविधिक (technologist) प्रमुख थिए ।
सिलिकन भ्याल्लिका र्यान्ड-प्रशंसकहरूले त्यस्तो संसारको परिकल्पना गर्न थाले जहाँ राजनीतिक, धार्मिक लगायतका कुनै पनि वाद र सिध्दान्तको कुनै हस्तक्षेप हुँदैन र मानिस निर्धक्क आफूले चाहे जस्तो बाँच्न पाउँछ । यही सोचको उपज कर्टिसले इन्टरनेट र वेबलाई मानेका छन् ।
इन्टरनेट र वेबमा मानिसले आफ्नो मर्जीले एकअर्कासँग साक्षात्कार गर्न सक्छ, खुशी हुनसक्छ, सबै मानिस पूर्णत: स्वतन्त्र हुन्छ इत्यादी । कम्प्युटर, मशिन लगायतका सामान उत्पादन गर्ने कम्पनीहरूमा पनि र्यान्डका प्रशंसकहरू नै मूख्य मानिस थिए जसले यिनै प्रविधि मार्फत् मानिसलाई स्वतन्त्र र खुशी बनाउने कल्पना गरे ।
कर्टिसका अनुसार ती प्रविधिज्ञहरूले मानवजातिलाई वेबको सन्तुलनमा राख्ने र सबैलाई उन्मुक्त हुनको लागी प्रयास गरेतापनि त्यो साधारण विचार यो जटिल संसारमा खासै उचित हुँदैन र प्रविधिले मानिसलाई स्वतन्त्र राख्ने भन्दा पनि बरू बन्धनमा राख्न चाहीँ थालेको जिकिर छ ।
र्यान्डका अर्का सबैभन्दा चर्चित चेला थिए एलेन ग्रीनस्प्यान जो अमेरिकामा रोनाल्ड रेगन, बिल क्लिन्टन र जर्ज बुशका बाउछोरा सम्मका राष्ट्रपतिले पत्याइएका थिए र झण्डै बीस वर्षसम्म फेडेरल रिजर्भको अध्यक्षको रूपमा काम गरिरहे ।
ग्रीनस्प्यानलाई के लाग्यो भने सिलिकन भ्याल्लिले गरेको प्रगतिले पूरै संसारलाई नयाँ ढङ्गले परिवर्तन गरेको छ र यसको प्रविधिले अर्थशास्त्रमा पनि काम गर्न सक्छ । जस्तै शेयरबजारमा मशिन लर्निङको प्रयोगले कारोबार गर्ने, कम्प्युटरको सहयोगले आर्थिक मोडलहरू बनाउने इत्यादी ।
ग्रीनस्प्यानले त्यसलाई “नयाँ अर्थतन्त्र” समेत भनेका थिए तर समयक्रममा त्यसले काम नगरेको मात्रै हैन कि अर्थतन्त्रमा ठूल्ठूला दुर्घटना समेत ल्याइदियो, अहिलेसम्म ल्याइरहेको छ । जस्तै डटकम बबल, १९८७ को क्र्याश, सन् २००८ को आर्थिक मन्दी इत्यादी ।
डक्युमेन्ट्रिको यो पहिलो भागले के देखाउँछ भने कम्प्युटर र प्रविधिका एकदमै सरल कुराहरू यो जटिल संसारमा लाद्न खोज्दा ठूल्ठूला खालका दुर्घटनाहरू हुन्छन् र कसैले नसोचेका परिणतिहरू मानवजातिले भोग्नुपर्छ ।
दोस्रो भागले चाहीँ कसरी साइबरनेटिक र सिस्टम थ्यौरी (system theory) का धारणाहरू प्राकृतिक परिप्रणाली (natural ecosystem) मा कसरी लादियो र त्यसले यो क्षेत्रमा कस्ता दक्षप्रजापतीय सिध्दान्तहरू (chimerical theories) जन्मायो भन्ने कर्टिसले देखाएका छन् ।
तेस्रो भागमा चाहीँ रिचर्ड डकिन्सले वेब, इन्टरनेट, गेम थ्यौरी (game theory) इत्यादीको मद्दतले विलियम ह्यामिल्टनको स्वार्थी जीनको सिध्दान्त (selfish gene theory) को कसरी “विकास” गरे भन्ने बताउँछ ।
यहाँनेर पाठकवर्गले बुझ्नुपर्ने कुरा के भने तीन घण्टाको यो डक्युमेन्ट्रिमा केबल माथि भनिएका कुराहरू मात्रै छैनन्, अन्य थुप्रै कुराहरू पनि छन् ।
एउटा क्षेत्रको धारणा अर्को क्षेत्रमा (जस्तै प्रविधिको धारणा अन्य क्षेत्रमा वा त्यसको उल्टो) लादेमा कस्ता आधुनिक दक्षप्रजापतिहरू जन्मिन्छन् र कस्ता भयावह दुर्घटनाहरू निम्त्याउँछन् भनेर यो डक्युमेन्ट्रिमा कर्टिसले देखाउन खोजेका छन् ।
उनको विचारसँग पूर्णत: सहमत हुन नसके पनि यो डक्युमेन्ट्रि गम्भीर दर्शकले हेर्नुपर्छ भन्ने हाम्रो विचार छ ।