ट्विटरले पनि अन्तत: आफ्ना क्रिएटरहरूलाई पैसा तिर्ने नयाँ फिचर ल्याएको छ !
पहिलो पारिश्रमिक चाहिँ गत फेब्रुअरी महिनादेखि कम्तीमा ५० लाख इम्प्रेशन्स कटाएका नीलो टिक मार्कको सुविधा लिएका क्रिएटरहरूले तिनको पोष्टमा देखाइएका विज्ञापनबाट भएको आम्दानीबाट निश्चित प्रतिशत शेयर पाउनेछन् ।
ट्विटरका मालिक एलन मस्कले महिनौँ अगाडी नै केहि प्रयोगकर्ताहरूले ट्विटरको विज्ञापन आम्दानीको हिस्सा पाउने खुलासा गरेका थिए ।
यो स्किम ट्विटको रिप्लाइमा राखिने विज्ञापनहरूमा भर पर्नेछ र ट्विटर ब्लु सब्स्क्रिप्शनको लागी पैसा तिर्ने प्रयोगकर्ताहरूको लागी मात्रै उपलब्ध छ । योग्य क्रिएटरहरूले केहि हजारदेखि झण्डै ४० हजार डलरसम्म पैसा पाएका छन् ।
ट्विटरले यो महिना योग्य क्रिएटरहरूको सङ्ख्या बढाउने घोषणा गरेका छन् । मस्कले पनि ट्विट गर्दै शायद यो महिना ट्विटर सबैभन्दा धेरै डिभाइसबाट चलाइने आशा व्यक्त गरेका छन् ।
ट्विटरको यो कदम कन्टेन्ट क्रिएटरहरूले यो पल्याटफर्मबाटै जिन्दगी गुजार्न सकुन् भनेर अपनाएको जनाएको छ । यस्तो कदम युट्युब, फेसबुक, टिकटक लगायतका प्ल्याटफर्महरूले धेरै अघिदेखि नै कार्यान्वयन गरिसकेका छन् ।
स्मरणीय छ, मस्कले पहिलो वर्ष आफ्ना क्रिएटरहरूलाई सब्सक्रिप्शबाट आएको आम्दानीको शतप्रतिशत पैसा नै दिने समेत बताएका थिए ।
आम्दानीको हिसाबकिताब कसरि हुन्छ, कस्तो हुन्छ, कसले कति पाउँछ भनेर अहिले नै स्पष्टत: खुलाइसकिएको छैन । प्राय: यस्तो प्ल्याटफर्महरूमा विज्ञापनको आम्दानी कसलाई कति बाँड्ने भनेर किटान गर्न गाह्रो हुने गर्छ ।
ट्विटरले यो सुविधा स्ट्राइप (Stripe) पेमेन्ट सिस्टम चल्ने जुनसुकै देशमा लागु गर्दैछ । त्यसकारण नेपालमा पनि यो सिस्टम चल्छ र यहाँका प्रयोगकर्ताले पनि ब्लु टिकको लागी पैसा तिरेर पछिल्लो तीन महिनामा कम्तीमा ५० लाख इम्प्रेशन पुर्याएका छन् भने उनीहरू पनि पैसा पाउन योग्य हुन्छन् ।
तपाईँ योग्य भैसकेपछि क्रिएटर मनिटाइजेशन स्ट्यान्डर्ड पास गर्नुपर्ने हुन्छ । त्यसपछि स्ट्राइप अकाउण्ट छैन भने अकाउण्ट बनाउने र क्रिएटर सब्सक्रिप्शन पोलिसि मान्नुपर्छ ।
यद्यपी ट्विटरले यस्तो खालको सुविधा ल्याउने घोषणा केहि महिनाअघि नै गरिसकेको थियो, तर पनि ब्लु टिक मार्को लागी पैसा तिर्नुपर्ने जस्ता प्रावधान ल्याएपछि बरू क्रिएटरलाई नै पैसा तिर्नुपर्ने माग र दबाब ट्विटरसामु परेका थिए ।
एलन मस्कले ४४ अर्ब डलर तिरेर किनेको ट्विटरको अन्तरनिहित मूल्य २२ अर्ब डलरभन्दा तल खस्किएको उनी आफैले आफ्ना कर्मचारिसँग सकारेका थिए । साथै हालै ट्विटरको प्रतिद्वन्दी अ्याप थ्रेड्स आएपछि त झनै ट्विटरमाथि दबाब परेको थियो ।