बीसौँ शताब्दिको साठिको दशकदेखि आजसम्म प्रविधिको क्षेत्रमा तीव्र क्रान्ति भएको छ । कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल, भिडियो गेम, एआइ…….। यी क्षेत्रमा अभूतपूर्व क्रान्ति र प्रगति भएको छ । र गएको दशकको एउटा अर्को मूख्य उपलब्धी भनेको ब्लकचेन प्रविधि पनि हो ।
यसको बारेमा तपाईँले बेलाबेला सुन्नुभएको होला । यदी सुन्नुभएको छैन भने हामी यसको बारेमा यो लेखमा चर्चा गर्दैछौँ । अहिलेलाई यति नै भनौँ कि बिटकोइन यस्तै ब्लकचेनमा आधारित क्रिप्टोकरेन्सी हो ।
ब्लकचेन प्रविधि के हो ? र यसको प्रयोग केमा कसरी गर्न सकिन्छ भन्नेबारे हामी तपाईँलाई यहाँ बताउँछौँ ।
ब्लकचेन प्रविधि के हो ?
ब्लकचेन त्यस्तो प्रविधि हो जसले सूचनाको सुरक्षित शेयरिङ गर्न दिन्छ । डेटाबेसमा डेटा हुने त भै नै हाल्यो, लेजर (ledger) मा कारोबारहरू रेकर्ड गरिएका हुन्छन् ।
ब्लकचेन चाहीँ यिनै फिजिएका डेटाबेस वा लेजरहरूको त्यस्तो प्रकार हो जहाँ ब्लकचेन अपडेट गर्ने अधिकार वा शक्ति पब्लिक वा प्राइभेट कम्प्युटर नेटवर्कका सहभागी अर्थात् नोडहरू (nodes) मा बाँडिएका हुन्छन् । यसलाई distributed ledger technology (DLT) पनि भनिन्छ ।
ती नोडहरूलाई ब्लकचेनमा अपडेट गराउनको लागी डिजिटल टोकन वा करेन्सी (currency) दिएर प्रोत्साहन गरिएको हुन्छ । ब्लकचेनले डेटा र कारोबारको स्थायी, अपरिवर्तनीय र पारदर्शी रेकर्ड राख्न दिन्छ । त्यसको बदलामा कुनै पनि मूल्य भएका कुराहरू यसमा साटासाट गर्न सकिन्छ ।
ब्लकचेनको तीनवटा मूख्य गुणहरू हुन्छन् । पहिलो, ब्लकचेन डेटाबेस क्रिप्टोग्राफिको रूपमा सुरक्षित हुनैपर्छ । त्यसको अर्थ, डेटाबेसमा डेटा थप्न वा त्यसमा पहुँच (access) पाउन तपाईँसँग दुईटा क्रिप्टोग्राफिक कि (cryptographic key) हुनुपर्छ ।
एउटा पब्लिक कि (public key) जुन डेटाबेसको ठेगाना (adress) हो भने अर्को प्राइभेट कि (private key) जुन नेटवर्कमार्फत् आधिकारिकता पाउनुपर्ने पर्सनल कि (personal key) हो ।
दोस्रो गुण भनेको, ब्लकचेन कारोबारहरूको डिजिटल लग वा डेटाबेस हो । अर्थात् यो पूर्णत: अनलाईन प्रणाली हो ।
तेस्रो गुण भनेको, ब्लकचेन या त पब्लिक या प्राइभेट नेटवर्कमार्फत् शेयर गरिने डेटाबेस हो ।
जस्तै, पब्लिक ब्लकचेन नेटवर्कको सबैभन्दा ठूलो उदारहण भनेको बिटकोइन ब्लकचेन हो । जो कसैले पनि बिटकोइनमा वालेट खोलेर त्यो नेटवर्कको नोड बन्न सक्छ ।
अन्य ब्लकचेनहरू चाहीँ प्राइभेट नेटवर्क हुन्छन् । यिनीहरू ब्याङ्किङ र फिनटेक (banking and fintech) मा काम लाग्छन् जहाँ मानिसहरूले को सहभागी भइरहेको छ? डेटाम कसको पहुँच छ? र डेटाबेसमा कसको प्राइभेट कि छ? भनेर थाहा पाउनुपर्छ।
अन्य प्रकारका ब्लकचेनहरूमा कन्सोर्टियम ब्लकचेन (consortium blockchain) र हाइब्रिड ब्लकचेन (hybrid blockchain) पर्छन् । दुबैले पब्लिक र प्राइभेट ब्लकचेनका विभिन्न पक्षहरू समेटेका हुन्छन् ।
मेक्किन्सि टेक्नोलोजिकल काउन्सिलले गरेको एक अध्ययनले बताए अनुसार सन् २०२७ सम्ममा विश्वव्यापी कुल गाह्रस्थ उत्पादनको कम्तीमा १०% कारोबार ब्लकचेनमा हुनेछ ।
ब्लकचेनले कसरी काम गर्छ ?
तपाईँलाई पक्कै पनि स्प्रेडशीट वा डेटाबेसको बारेमा थाहा छ । ब्लकचेन धेरैहदसम्म त्यस्तै डेटाबेस हो जहाँ सूचनाहरूको प्रविष्टि र भण्डारण गरिन्छ। तर स्प्रेडशीटहरू र ब्लकचेनबीचको मूख्य फरक चाहीँ डेटा कसरी हालिन्छ र त्यसको पहुँच कसरी पाइन्छ भन्नेमा छ ।
ब्लकचेनमा scripts भनिने प्रोग्रामहरू हुन्छन् जसले तपाईँले डेटाबेसमा गर्ने कामहरू गर्छ । अर्थात् डेटा हाल्ने, पहुँच पाउने, सेभ गर्ने र स्टोर गरेर कतै राख्ने । ब्लकचेन बाँडिएको (distributed) हुन्छ जसको अर्थ एकभन्दा धेरै कपिहरू थुप्रै मेशिनमा स्टोर गरिन्छ र सप्पैमा त्यो डेटा म्याच भएको हुनुपर्छ ।
ब्लकचेनले कारोबारको सूचना सङ्कलन गरेर यसको ब्लकमा हाल्छ जुन स्प्रेडशीटको cell जस्तै हो । यो भरिनासाथ यसको सूचना इन्क्रिप्शन अ्याल्गोरिदम (encryption algorithm) मार्फत् जान्छ जसले hash नामक हेक्जाडेसिमल नम्बर सिर्जना गर्छ ।
यो ह्याश त्यसपछिको block header मा इन्टर गरिन्छ र ब्लकमा अन्य सूचनाहरूसँगै ईन्क्रिप्ट गरिन्छ । यसले ब्लकहरूको एउटा श्रृङ्खला नै सिर्जना गर्छ जुन आपसमा बाँधिन्छ ।
कारोबार कसरी हुन्छ ?
यसको कारोबारको विशेष तरिका हुन्छ जुन यो कहाँ हुन्छ भन्ने कुरामा भर पर्छ । जस्तै बिटकोइन ब्लकचेनमा तपाईँले कारोबार गर्नुभयो भने घटनाको सिलसिला सुरू गर्छ । तपाईँको कारोबार मेमोरी पुलमा पठाएर स्टोर गरिनन्छ र माइनर वा कुनै भ्यालिडेटर (miner or validator) ले नलिएसम्म क्यू (queue) मा राखिन्छ ।
ब्लकमा ईन्टर गराएपछि र त्यो ब्लक कारोबारले भरिएपछि यो बन्द हुन्छ र ईन्क्रिप्शन अ्याल्गोरिदम प्रयोग गरेर ईन्क्रिप्ट गरिन्छ । त्यसपछि माइनिङ (mining) सुरू हुन्छ । यो पूरै नेटवर्कले ह्याशको समाधान गर्छन् । माइनरले कुनै मान्य ह्याश सिर्जना नगरेसम्म यो क्रम जारी रहन्छ र अन्त्यमा उसले कुनै पुरस्कार पाउँछ ।
ब्लक बन्द भएपछि कारोबार पनि सकिन्छ । तर अन्य पाँचवटा ब्लकहरू मान्य नभएसम्म त्यो ब्लकको पक्कापक्की चाहीँ हुँदैन । पूरै नेटवर्कलाई त्यो ब्लकको पक्कापक्की गर्न करिब एक घण्टा लाग्छ किनकी एउटा ब्लकलाई सामान्यतया १० मिनेट लाग्छ; ५ वटालाई ५०-६० मिनेटसम्म लाग्छ ।
यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने यो बिटकोइनको उदारहण हो । अन्य ब्लकचेनले ठ्याक्क यसरी नै काम गर्छन् भन्ने छैन ।
ब्लकचेन केमा प्रयोग गर्न सकिन्छ ?
- उर्जा– एक व्यक्तिसँग अर्को व्यक्तिले खासगरी सीमानामा उर्जाको साटासाट गर्न सक्छन् ।
- सप्लाइ चेन (Supply Chains) – सबै प्रकारका ढुवानीहरूको पूर्ण रूपमा पारदर्शी भएर ट्र्याक गर्न मिल्छ । विभिन्न देशहरूमा कहाँ कसको हातमा सामान कतिखेर पुग्यो भनेर हेर्न सकिन्छ ।
- खुला डेटाबजार– ठूला ओपन-सोर्स प्ल्याटफर्महरूमार्फत् महत्वपूर्ण डेटा गोप्य रूपमा साटासाट गर्न । इन्टरनेट व्यवसायमा डेटालाई रगत जत्तिकै महत्वपूर्ण मानिन्छ ।
- सरकार – विभिन्न देशका सरकारहरूले सार्वजनिक क्षेत्रहरूमा गति र पारदर्शीता देखाउन प्रयोग गर्न सक्छन् ।
- लेखापरिक्षण र नियमन गर्न – नियमन निकायहरूलाई आफ्नो काम छिटो र सजिलो गर्न ।
- इन्सुरेन्स – इन्सुरेन्सलाई अझै पारदर्शी बनाउन र बिमा दाबीलाई भरपर्दो बनाउन ।
- अर्थतन्त्र – अर्थतन्त्रका थुप्रै अन्य कुराहरूमा स्मार्टफोनको प्रयोगलाई बढाएर कारोबारहरूलाई निकै सजिलो र भरपर्दो बनाउन ।