प्रायतः मोबाइल फोनको स्क्रिनको माथि हुने नेटवर्क टावरको छेउमा साना अक्षरमा २जि(2G), ३जि(3G) या ४जि(4G) लेखेको हामीले देख्न सक्छौँ।
के हो त 4G? 4G भनेको सेल्युलर मोबाइल नेटवर्कको चौँथो जेनेरेसन हो। सेल्युलर मोबाइल नेटवर्क या वायरलेस नेटवर्क भन्नाले सामान्य रुपमा एक जना मान्छेले अर्को मान्छेसँग फोनमा कुराकानी गर्नलाई चाहिने रुट या बाटो भनेर बुझ्न सकिन्छ।
4G ले सेल्युलर मोबाइल नेटवर्क जनाएजस्तै 5G ले सेल्युलर मोबाइल नेटवर्कको पाँचौ जेनेरेसनलाई जनाउँछ। 1G 2G, 3G र 4G पछाडिको यो एउटा नयाँ ग्लोबल स्ट्यान्डर्ड हो।
यो भन्दा अगाडिको 4G लाई फाउन्डेसन बनाएर निर्माण भएको 5G ले डाटा ट्रान्समिसन स्पिडमा उल्लेखनीय परिवर्तन ल्याउँदै र लेटेन्सि(latency) एकदमै सुक्ष्म पार्दै नयाँ क्षेत्रको लागि बाटो खोलेको छ।
5G नेटवर्कका विशेषताहरु के हुन् त ? आउनुहोस् हेरौँः-
स्पिड र ब्यान्डविथ(Bandwidth) मा वृद्धिः
5G ले पिक स्पिड १० जिबिपिएस(10 Gbps) को दिन सक्ने अनुमानित छ र यो 4G को स्पिड भन्दा १० देखि १०० गुना छिटो हुनेछ। हालको टेस्टिङमा भने यसले डाउनलिङ्कमा ६०० देखि ८०० एमबिपिएस(Mbps) र अपलिङ्कमा २५० एमबिपिएस(Mbps) को स्पिड देखाएको छ जुन अहिले नै 4Gले प्रदान गर्ने डाउनलिङ्कमा १०० एमबिपिएस(Mbps) र अपलिङ्कमा ५० एमबिपिएस(Mbps) भन्दा कैयौँ गुनाले छिटो छ।
ब्यान्डव्यिथ वृद्धिले बिना रुकावटको डेटा ट्रान्सफर सम्भव छ र यसले डिभाइसहरु बिचको कनेक्टिभिटि पनि सुधार्छ।
सानो ल्याटेन्सि(Latency):
ल्याटेन्सि भनेको कुनै डाटाले एउटा पोइन्टबाट अर्को पोइन्टसम्म पुगेर पुनः सुरुकै पोइन्टसम्म आइपुग्न लाग्ने समय हो। त्यसैले जति कम ल्याटेन्सि भयो त्यति नै राम्रो युजर एक्सपेरियन्स हुने गर्छ र एउटा ग्रुपमा कनेक्ट भएका डिभाइसहरुको बिचमा अझ छिटो कम्युनिकेसन हुन्छ।
ल्याटेन्सिको गिरावटले धेरै कुराहरु सम्भव पार्छ जुन पहिले सोच्न कल्पना गर्न गार्हो थियो। यसले नयाँ-नयाँ क्षेत्रहरुको बाटो खुलाउँछ जस्तै एक्सटेन्डेड रियालिटि र अग्मेन्टेड, भर्चुवल र मिक्स्ड रियालिटिको समायोजन आदि।
5G ले ल्याटेन्सिलाई १० मिलिसेकेन्डमा झारेको छ जुन 4G को ४० देखि ५० मिलिसेकेन्ड ल्याटेन्सिभन्दा निकै कम छ।
गतिशीलता (Mobility):
5G टेक्नोलोजिले ५०० किलोमिटर पर आवरको गतिमा हिँडिरहेका डिभाइसहरुलाई पनि नेटवर्कमा रहने सक्ने व्यवस्था मिलाएको छ।
त्यसैले हाई स्पिडमा तपाईँहरु हिँड्दा पनि मोबाइल नेटवर्क हराउँदैन।
डिभाइस कनेक्सन (Device Connection):
२०२२ सम्म कनेक्टेड डिभाइसहरुको संख्या मानिसको विश्व संख्या भन्दा तीन गुनाले बढी छ। 5Gले एक वर्ग किलोमिटरमा झनडै १ मिलियन डिभाइसहरुको कनेक्सन सम्हाल्न सक्छ।
यसले गर्दा नेटवर्कमा कनेक्ट भएका आइओटि(IoT) डिभाइसहरुले एक आपसमा छिटो स्पिडमा डाटा सेयर गर्न सक्छन्।
इनर्जि खपत:
अहिलेको डिभाइस भन्दा 5G डिभाइसले १० प्रतिशत इनर्जि खपत गर्दै नेटवर्क आवश्यकता पूर्ति गर्न सक्छन्।
डाटा भोल्युम (Data Volume):
5G ले एक वर्ग किलोमिटरमा प्रति सेकेन्ड १० टेराबाइट सम्मको डाटा सपोर्ट गर्न सक्छ। त्यसैले धेरै युजर्सले एकै पटक डाटा ट्रान्समिट गर्दा पनि यसले थाम्न सक्छ।
यसले गर्दा एयरपोर्ट, स्टेडियम, शहर जस्ता धेरै जनघनत्त्व भएका ठाउँमा पनि फास्ट स्पिडको अनुभव लिन सकिन्छ।