सिम कार्डले यसको थालनी देखि केही टेक्निकल परिवर्तन पाएको छैन। परिवर्तन नै नभएको भन्न खोजेको हैन। सिम कार्ड समय यता सानो हुँदै गएको छ। यस विषयमा हामी सबै अवगत नै छौँ। पहिलेको सिम कार्डहरु ठुला हुन्थे र मोबाइलमा सिम कार्ड स्लट अर्थात् सिम कार्ड हाल्ने ठाउँ पनि ठूलो हुन्थ्यो भने अहिलेका मोबाइल डिभाइसहरुमा सिम कार्ड स्लटहरु साना हुन्छन् र प्राय डिभाइसहरुमा मिनि सिम नै प्रयोग गरिन्छ।
तर सिम कार्डको फिजिकल साइज परिवर्तन बाहेक केहि अन्य परिवर्तन हुन सकेन। सिम कार्डमा पहिलो एटक केहि टेक्निकल परिवर्तन देखियो भने त्यो इसिम (eSIM) मा देखियो। इसिम पहिलाको मोडल जस्तो फिजिकल कार्डको रुपमा आउँदैन भने यसलाई मोबाइल फोनको मदरबोर्डमा समावेश गरिएको हुन्छ।
हालसालै सिमको फेरिअर्को टेक्निकल परिवर्तनको कुरा चर्चामा आएको छ जुन हो आइ सिम। आइ सिम (iSIM) को बारेमा केही जानकारी लिनु अगाडि पहिलाकाे सिम मोडलहरुको बारेमा केही जानौँ।
फिजिकल कार्डको रुपमा सिम
सरल तरिकामा बुझ्ने हो भने सिम (SIM) कार्ड एउटा यस्तो कार्ड हो जसबाट मोबाइल उपभोक्ताहरुले नेपाल टेलिकम या एनसेल जस्ता नेटवर्क अपरेटरमा कनेक्ट गर्न सक्छन्।
सिम या SIM को पुरा नाम सस्क्राइबर्स आइडेन्टिटि मोड्युल (Subscribers Identity Module) हो। सोही नाम अनुसार सिममा युजरहरुको सब्सक्रिप्सन इन्फरमेसन पनि समावेश गरिएको हुन्छ। यस बाहेक सिम कार्डको इतिहास हेर्ने हो भने यो १९९० को दशक देखि मार्केटमा उपलब्ध छ। सिम कार्डहरुले समय यता केही परिवर्तन देखेका छन् तर सिम कार्डको पहिलो परिवर्तन भनेको फिजिकल साइज परिवर्तन हो।
सबै भन्दा पहिला निक्लेका सिम कार्डहरु डेबिट कार्ड या क्रेडिट कार्डको साइज सरह हुन्थे। यिनीहरु ट्रेडिसनल सिम कार्डका नामले जानिन्छन्। त्यसपछि समय यता ट्रेडिसनल सिमको साइज घटाइएर क्रमश स्ट्यान्डर्ड सिम या मिनी सिम, माइक्रो सिम र न्यानो सिम निकालियो।
हालको समयमा साधारण सिम भनेको न्यानो सिम हो। पूराना मोडलका फोनहरु बाहेक अहिलेका धेरै जसो मोबाइलहरुले न्यानो सिम सपोर्ट गर्छन् र सोहि साइजको सिम अटाउने सिम ट्रे यी मोबाइलहरुमा समावेश गरिएका हुन्छन्।
फिजिकल परिवर्तनबाट टेक्निकल परिवर्तन भने २०१० को दशकमा मात्र देखा पर्यो जब इसिमको कन्सेप्ट निक्ल्यो।
इ सिम (eSIM)
इसिम र पहिलाको सिमहरुको काम गराइमा कुनै फरक छैन। eSIM मा भएको “e” ले इन्बेडेड (embedded) को अर्थ दिन्छ। यसको नाम भएअनुसार यो फिजिकल कार्डको रुपमा हैन कि पहिले देखि नै मोबाइलमा इम्बेड भएर अर्थात् समावेश भएर आउँछ।
इसिम मोबाइलको मदरबोर्डमा समावेशित भएर आउँछ। यसलाई फिजिकल सिम कार्ड जस्तो हटाउन या राख्न मिल्दैन र पहिले देखि नै फिक्स हुन्छ। २०१७ मा पहिलो पटक यसलाई गूगल पिक्सल २ (Google Pixel 2) मोबाइल फोनमा समावेश गरिएको थियो।
न्यानो सिम भन्दा पनि सानो साइजको इसिमले सेक्युरिटि तथा अन्य निकै क्षेत्रमा पुराना सिमहरुको तुलनामा सुधार ल्याएको छ। अहिलेको धेरै मोबाइल डिभाइसहरुको सिम कार्डको लागि न्यानो सिम र इसिमको लागि स्पेसिफिकेसन राखिएको हुन्छ।
आइसिम (iSIM)
iSIM को “i” ले इन्टिग्रेटेड (integrated) भनेर बुझाउँछ। तसर्थ आइसिमले इन्टिग्रेटेड सिम भनेर जनाउँछ। आइसिम सिम कार्डको विकाशको क्षेत्रमा एउटा नयाँ स्टेप हो।
आइसिम सिस्टम-अन-चिप (system-on-chip) आर्किटेक्चर हो जुनले हालको सिम फिचरहरुलाई डाइरेक्ट प्रोसेसरमा समावेश (integrate) गर्छ। हाल सम्ममा सिम कार्डको क्षेत्रमा आइसिम सबैभन्दा बढी एड्भान्स, एफिसियन्ट र फ्लेक्जिबल टेक्नोलोजि हो। यो सबै गूणहरु आइसिमको मात्र एउटा कुराले सम्भव बनाउँछ र त्यो हो यसको प्रोसेसर भित्रको समावेशिता वा प्रोसेसर भित्रको इन्टिग्रेसन।
अहिले कुनै मोबाइल फोनले आइसिम समावेश भएको चिप प्रयोग गरेका छैनन् र अहिलेसम्म यो कन्सेप्टको रुपमा मात्र सिमित रहेको छ। तर भविष्यमा यसले न्यानो सिम र आइसिमको ठाउँ लिने अनुमान गरिएको छ।
कस्ता कुरामा आइसिम पुराना सिम टेक्नोलोजि भन्दा भिन्न छ?
आइसिमको को के कुराले यसलाई सबैभन्दा एडभान्स सिम टेक्नोलोजि पार्छ भन्ने कुराहरु तल केही बुँदा अनुसार दर्शाइएका छन्। आउनुहोस् हेरौँ।
साइज
साइजको कुरा गर्ने हो भने आइसिम अहिले सम्मको सबैभन्दा सानो साइजको सिम हो। आइसिमको साइज एकदमै सानो छ र १ वर्ग मिलिमिटरको रेन्जमा यसको एरिया रहेको छ।
त्यसमाथि चिपभित्र नै समावेशित हुने हुँदा यसले डिभाइस भित्र स्पेस पनि खाली गराउँछ जसले अन्य केहि कम्पोनेन्टहरु थपेर स्पेस अप्टिमाइजेसनको लागि बाटो खुलाउँछ।
सेक्युरिटी
आइसिमलाई चिपभित्र सुरक्षित एरियामा समावेश गरिएको हुन्छ। डिभाइसको आवश्यकता अनुसार आइसिमको सेक्युरिटिलाई कस्टमाइज गर्न सकिन्छ।
सिम ट्याम्पर हुनबाट जोगाउने कार्यलाई ट्रस्ट कनेक्टिभिटी अलायन्स (Trust Connectivity Alliance) ले हेरेको हुन्छ। ट्रस्ट कनेक्टिभिटी अलायन्स सिस्टम-अन-चिपको इन्डिपेन्डेन्ट हार्डवेयर पार्ट हो र यसले फिजिकल या भर्चुवल अट्याकहरुबाट आइसिमलाई जोगाउन एउटा सानो लेभलको सफ्टवेयर प्रोसेस गर्छ। सेक्युरिटीको मामिलामा आइसिम पुराना मोडलको तुलनामा सुरक्षित हुन्छ।
लो पावरको आवश्यकता
आइसिमले डाइरेक्ट सिस्टम-अन-चिप बाट पावर लिने हुँदा यसलाई रन गर्न छुट्टै माइक्रोप्रोसेसर चाहिँदैन। आइसिम कम पावरमा पनि रन हुन सक्छ र यसले प्रोसेसरको काम गराइमा केहि असर पार्दैन। एउटा पावरफुल सिस्टम-अन-चिपले आइसिममा त्यति नै छिटो पावर डेलिभर गर्छ जसले गर्दा नेटवर्क रेस्पोन्स बढ्छ।
फिजिकल कार्ड नचाहिनु
सिस्टममा इन बिल्ट भएर आउने हुँदा आइसिमलाई फिजिकल कार्ड जसरी निकालिरहनु पर्दैन। यसले गर्दा कुनै नयाँ डिभाइसमा सिम कार्ड हाल्नु पर्दा फिजिकल कार्ड जसरी यसलाई झिकेर फेरि हाल्नुपर्ने स्थिति सिर्जना हुँदैन। यसको साथै फिजिकल कार्ड जस्तो आइसिम हराउने कुरा पनि आउँदैन।
अन्त्यमा,
आइसिम सिम विकाश र समग्रमा टेक्नोलोजिको क्षेत्रमा एउटा ठूलो फड्को हो। यसले धेरै थरीको सम्भाव्यता भित्र्याएको छ। माथि उल्लेखित सिमका फिचरहरु बाहेक आइसिमले साना डिभाइसहरु तथा साना सेन्सरहरुलाई पनि आइओटि (IOT) क्षेत्रमा समावेश गर्न सकिने एउटा बाटो खुलाएको छ।
सम्भाव्यताको कुरा गर्दा आइसिमले सिम टेक्नोलोजिमा सबैभन्दा ठूलो सम्भाव्यता बोकेको छ। तर यो सम्भाव्यता कतिको पूरा हुन्छ भन्ने भविष्यको कुरा हो।