गूगल र बिङ ! के फरक छ ?

Difference between google and bing

गुगल र सर्च (search) पर्याय बनिसकेका छन् । कुनै कुराको बारेमा सोधखोज गर्न पर्यो भने मान्छेहरू “गुगल गर्ने” वा “गुगलमा हेर्ने” भन्न थालेको धेरै भैसकेको छ । हुन पनि सर्च कै मामिलामा  गुगलको जस्तो एड्भान्स्ड सर्च ईन्जिन अरूको छैन  । तर प्राइभेसीको मामिलामा गुगललाई डकडकगो र ब्रेभजस्ता ब्राउजरहरूले माथ गर्छ । गुगलले डेटा चोरी, अनावश्यक विज्ञापन लगायतका कुराहरूमा बेलाबेलामा मुद्दा पनि खेपेको छ । त्यति हुँदाहुँदै पनि गुगल नै अहिलेको लागि सबैभन्दा राम्रो र ज्यादा प्रयोग भएको सर्च ईन्जिन मानिन्छ ।

तर हालसालै माइक्रोसफ्ट बिङले आफ्नो सर्च ईन्जिनमा च्याटजिपिटिलाई एकिकृत गरेपछि यसले गूगलाई माथ गर्ने हो कि भन्ने आँकलन कतिपयले गरेका छन् । च्याटजिपिटिले अबको दुई वर्षमै गूगललाई सिध्याउने जस्ता भविष्यवाणी प्रविधि जगतकै घागडान सिइओहरूले गरिरहेकाले यस्तो अनुमान हुनु सामान्य पनि होला ।

तर हामीले बुझ्नुपर्ने कुरा के हो भने, च्याटजिपिटिको बदलामा गुगलले बार्ड ल्याउने घोषणा गरिसकेको छ र यो परिक्षणको अवस्थामा छ । र उसले बार्डलाई आफ्नो सर्च ईन्जिनमा एकिकृत गर्ने घोषणा पनि गरेको छ। 

यही सेरोफेरोमा हामी तपाईँलाई गूगल र बिङमा के फरक छ भन्नेबारे आज बताउँदैछौँ ।

बजार हिस्सा

भनिरहनु पर्दैन, गूगलले सर्च ईन्जिन बजारको अधिकांश (झण्डै ९३%) हिस्सा ओगटेको छ तर माइक्रोसफ्ट बिङले जम्माजम्मी ३% मात्र । यस्तो हुनुमा गूगल राम्रो भएकैले भनेर चाहिं मान्न सकिन्न किनकि यसको पछाडिअनेक खालका पार्टनरशीपले पनि काम गरेको हुन्छ ।

जस्तै उदारहणको लागि गूगल र एप्पलको पार्टनरशीपलाई लिन सकिन्छ । आईफोन, आईप्याड, म्याकजस्ता एप्पल डिभाइसहरूमा डीफल्ट सर्च ईन्जिन गूगललाई राखिदिएबापत गूगलले एप्पलाई वर्षेनी दशौँ अर्ब डलर तिर्छ । गत वर्ष मात्र गूगलले एप्पललाई अनुमानित २० अर्ब डलर तिरेको थियो । 

गूगलले अरू धेरै कम्पनीहरूलाई पनि यस्तै सर्तमा पैसा तिर्ने गरेको छ । तर बिङ यो मामिलामा धेरै पछाडि छ । उसको सर्च ईन्जिनलाई खासै धेरैले प्रयोग गर्दैनन् । हुन त याहु, डकडकगो, अमेजन लगायतले बिङको प्रयोग गर्छन् तर तिनको सङ्ख्या गूगल सर्चको अगाडि निकै कम छ जसकारण बजार हिस्सामा बिङ धेरै पछाडी छ । 

सर्च ईन्जिन 

हुन त गूगलको सर्च ईन्जिन धेरै मामिलामा बिङको भन्दा राम्रो छ भनेर माथि नै भनिसकियो । तर कतिपय मामिलामा बिङले गूगललाई माथ गरेको छ, प्रयोग धेरै नभए पनि । खासगरी भिडियो सर्च र इमेज सर्चको मामिलामा । जब कि गूगलसँग युट्युब र गूगल इमेजहरू भएकाले यो राम्रो छ भन्ने आम धारणा छ ।

जस्तै बिङमा भिडियोको प्रीभ्यु ज्यादा दृश्यमान हुन्छ र निकै सजिलो तरिकाले भिडियो खोज्न र पाउन पनि सकिन्छ। बिङको होमपेजमै भिडियो होभर गरेर प्ले गर्न सकिन्छ र एउटा भिडियोबाट अर्को भिडियोमा सजिलै जान सकिन्छ । यस्तो गूगलमा खासै पाइँदैन ।त्यस्तै इमेज सर्चको मामिलामा पनि बिङ राम्रो छ किनकी यसमा ज्यादा प्रयास नगरिकनै ठुला प्रीभ्युहरू हेर्न सकिन्छ तर गूगलमा प्रीभ्यु सानो हुन्छ । बिङमा कुनै इमेजमा क्लिक गर्दा यसको ठूलो इमेज वेबसाइटमा नगइकनै देखिन्छ र यस्ता इमेजहरू हेर्नको लागी धेरै समय खर्च हुँदैन । गूगलमा यो सुविधा छैन ।

अनि अर्को कुरा । गूगलले इमेजमार्फत् सर्च गर्ने धेरै राम्रा सुविधाहरू त उपलब्ध गराएको छ तर बिङको झन् राम्रो र धेरै छ । जस्तै, गुगलमा इमेज सर्च गर्दा इमेजको युआरएल पेस्ट गर्ने वा डिभाइसमार्फत् इमेज डाउनलोड गर्ने सुविधा दिइएको छ । तर यही मामिलामा बिङमा डेस्कटपबाट ड्र्याग एण्ड ड्रप गर्ने र वेबक्याम वा फोन क्यामराबाट इमेज हाल्न समेत सकिन्छ । 

त्यस्तै बिङको होमपेज गूगलको भन्दा ज्यादै सुन्दर पनि छ । हरेक दिन नयाँ सुन्दर फोटोले तपाईँलाई स्वागत गरिन्छ र यसमा तपाईँले आफूले चाहे जस्तो होमपेज पनि राख्न सक्नुहुन्छ । 

एआइको प्रयोग

बिङलाई अहिले चर्चामा ल्याएको नै यसमा उसले च्याटजिपिटिलाई आफ्नो सर्च ईन्जिनमा एकिकृत गरेकोले हो । माइक्रोसफ्टले च्याटजिपिटिमा १० अर्ब डलर लगानी गरेको छ जसको मूख्य उद्देश्य गूगलको बजार हिस्सा खोस्नु हो । तर च्याटजिपिटि लञ्च भएको छोटो समयमै गूगलले त्यस्तै खालको आफ्नै एआइ गूगल बार्ड ल्याउने र आफ्नो सर्च ईन्जिनमा चाँडै नै एकिकृत गर्ने घोषणा गरिसकेको छ । 

आगामी दिनहरू प्रविधि जगतमा चासो राख्नेको लागि रोचक हुनेछ किनकी बिङले अहिले नै यो मामिलामा गूगललाई उछिनिसकेको छ र गूगल बार्ड र च्याटजिपिटिमध्ये कुन राम्रो होला भन्ने व्यापक विमर्शहरू पनि भएका छन् । बिङमा तपाईँले अहिले नै च्याटजिपिटिको जस्तो अनुभव पाउन सक्नुहुन्छ तर गूगलमा बार्डको अनुभव पाउन केही समय कुर्नुपर्नेछ ।

बिङले च्याटजिपिटिको नयाँ भर्जन जिपिटिफोर (GPT-4) पनि आफ्नो सर्च ईन्जिनमा एकिकृत गरिसकेको खबर आएको छ जसकारण गूगलले बार्डको लञ्च नगरून्जेल धेरै प्रयोगकर्ताहरू यो नयाँ प्रविधिको फाइदा लिन बिङतर्फ लागेका छन् र लाग्ने नै छन् । अहिले नै बिङले गूगलको भन्दा धेरै राम्रो नतिजा दिएका विवरणहरू आएका छन् । कतिले आफ्ना अनुभव पनि इन्टरनेटमा साटेका छन् । 

बिजनेस इन्साइडरले लेखेको छ कि बिङमा एआइको प्रयोग भएपछि यसमा गूगलको भन्दा ठूलो सर्च बक्स (search box) मा सोधिएका प्रश्नको जवाफ छिटै र सही आउँदो रहेछ । बिङमा एआइको प्रयोग गर्न बटनहरूको सुविधा पनि रहेको छ जसमार्फत् तपाईँले professional, casual, enthusiastic जस्ता विकल्पहरूका साथै कति शब्दको उत्तर पाउने भन्ने छनौट पनि गर्न सक्नुहुन्छ । 

सोही लेखका अनुसार बिङको सर्च रीजल्ट गूगलको भन्दा पनि ज्यादा वैयक्तिक (personalized) छ । यसले तपाईँका स्वभाव र रूचिहरूको गूगलले भन्दा पनि राम्ररी पहिचान गर्न सक्छ र तपाईँलाई मन पर्ने वा तपाईँको रूचि अनुसारका नतिजाहरू अझै राम्ररी दिन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.