असी र नब्बेको दशकदेखि नै कम्प्युटर उत्पादन गर्ने र सोही अनुसारको अपरेटिङ सिस्टम विकास गर्ने मामिलामा माइक्रोसफ्ट र एप्पल एकापसमा प्रतिस्पर्धी रहँदै आएका छन् । त्यस समयमा दुबैका हार्डवेयर र सफ्टवेयरहरू आफैमा पृथक थिए ।
तर समयक्रममा प्रविधिको विकासक्रमसँगै दुबैबीच समानता बढ्दै गएको छ र कामको मामिलामा उस्तै-उस्तै लाग्छ । यी बीचको एउटा मूख्य फरक भनेको म्याकओएस एप्पलका उत्पादनहरू म्याकबुक, आइम्याक, म्याक मिनी सिरिजहरूमा चल्छ भने माइक्रोसफ्टको विन्डोज अरू थुप्रै डिभाइसहरूमा पनि चल्छ । माइक्रोसफ्टले थुप्रै भेन्डरहरूलाई विन्डोजको लाइसन्स दिएको छ र विन्डोज ११ पछिल्ला कतिपय म्याकमा पनि चल्छ ।
हुन त एप्पलका उत्पादन चलाउनेहरूले म्याकओएस नै चलाउनुहुन्छ होला र अन्य कम्पनीका उत्पादन चलाउनेहरूले विन्डाेज । तर यी बीचमा विस्तृतमा जान्न चाहनेहरूको लागि हामी यो लेखमा म्याकओएस र विन्डोजबीच केही मुख्य कुराहरूमा तुलना गर्दैछौँ ।
मूल्य
प्राय: सबैलाई थाहा नै छ कि एप्पलका उत्पादनहरू महङ्गा छन् भनेर । अपरेटिङ सिस्टमको मामिलामा पनि कुरो त्यही नै हो । त्यसमाथि विन्डोजको लाइसन्स थुप्रै उत्पादनकर्ताहरूलाई दिइएकाले स्वभावत: यसका प्रयोगकर्ताहरू धेरै छन् र प्रतिस्पर्धा धेरै हुने भएकाले यो म्याकओएसभन्दा सस्तो छ ।
हार्डवेयरको विकल्प
म्याकओएस केबल एप्पलका डिभाइसहरूमा मात्र चल्छ । कुनै पनि अरू तेस्रो-पक्ष उत्पादनकर्ताहरूलाई यो चलाउने अधिकार दिइएको छैन । तर विन्डोज चलाउने अधिकार अन्य कम्पनीका उत्पादनहरूमा पनि दिइएको छ र यो ओपन सोर्स प्रोग्राम नभएतापनि यसले तेस्रो-पक्ष उत्पादक र एपहरूलाई सपोर्ट गर्ने हिसाबले आफूलाई विकास गरेको छ।
त्यति मात्र हैन, विभिन्न कम्पोनेन्ट उत्पादनकर्ताहरूसँग विन्डोज कम्पोनेन्टहरू किनेर तपाईँ आफैले विन्डोज मसिन पनि बनाउन सक्नुहुन्छ । त्यसकारण विन्डोज जुनसुकै कम्पनीका उत्पादनमा चलाउन सकिन्छ । लामो समयसम्म एप्पलका उत्पादनमा विन्डोज चल्थेन तर पछिल्ला म्याकहरू, जस्तै एप्पल एम वन, एम टु, लगायतमा विन्डोज ११ चलाउन मिल्ने अधिकार माइक्रोसफ्टले दिएको छ।
अर्को कुरा, विन्डोज डिभाइसहरू स्वभावत: बढी शक्तिशाली हुन्छन् किनकी थुप्रै कम्पोनेन्ट उत्पादकका चिपसेटहरू यसले प्रयोग गर्छ । तर म्याकओएस डिभाइसहरूमा आफ्नै इन्टेलदेखि सिलिकन चिपसेटहरू हुने भएकाले यसका आफ्नै सीमितताहरू छन् ।
विन्डोज प्राय: जुनसुकै कम्पनीका कम्प्युटरमा चलाउन मिल्ने भएकाले प्राय: प्रयोगकर्ताको रोजाइमा विन्डोज पर्ने गर्छ ।
मर्मत र नियोजित अप्रचलन
एप्पलमाथि लामो समयदेखि एउटा जायज आरोप लाग्ने गरेको छ । यसले आफ्ना उत्पादनहरूमा यस्ता सामानहरू प्रयोग गर्छ जुन केही वर्षको अन्तरालमै प्रयोगमा हराउन वा प्रचलित हुन छाड्छ । यसलाई नियोजित अप्रचलन भन्ने गरिन्छ । यस्तो नीति ल्याउनुको कारण भनेको प्रयोगकर्ताले केही वर्षमै एप्पलका नयाँ डिभाइसहरू किनुन् भन्ने अभिप्राय हो ।
त्यसमाथि एप्पलका उत्पादनहरू बिग्रिए भने अर्को सामान फेर्न साह्रै महङ्गो पर्छ र एउटा मात्र फेरेर नपुग्ने, अरू पनि फेर्नुपर्ने जस्ता समस्याहरू छन् । एप्पलका सामानहरू बनाउनको लागी वारेन्टिका नियमहरू भङ्ग हुने सर्तमा
यसकै आधिकारिक बिक्रेता वा मर्मतकर्ता कहाँ मात्र लग्न सकिन्छ ।
विन्डोजको हकमा त्यस्तो समस्या छैन । यो मर्मत गर्न जहाँ लगे पनि हुन्छ, सस्तो पर्छ, लामो समयसम्म चलाउन सकिन्छ र जुन सामान बिग्रिएको हो , त्यही मात्र फेरे पुग्छ ।
यस मामिलामा म्याकओएस डिभाइसभन्दा पनि विन्डोज अगाडि रहेको छ ।
मोबाइल इन्टिग्रेशन
हुन त माइक्रोसफ्टले जुनसुकै मोबाइललाई इन्टिग्रेट गर्ने सुविधा दिएको छ तर म्याकओएसको जस्तो एकनाशको अनुभव दिने खालको भने छैन । म्याकओएस आइप्याड र आइफोनमा पनि इन्टिग्रेट भएको छ भने विन्डोजले एन्ड्रोइड र आइओएस एपहरू मज्जाले इन्टिग्रेट गरेको छ ताकी एउटा डिभाइसमा तपाईँ जहाँ पुगेर रोक्किनुभएको छ, एउटै ट्याप वा क्लिकमा अर्को डिभाइसमा सजिलै त्यहीँबाट सुरू गर्न सक्नुहुन्छ ।
विन्डोजले सधैँ तेस्रो-पक्ष सफ्टवेयरलाई इन्टिग्रेट गर्ने गरेकाले माइक्रोसफ्टले धेरै प्रयोगकर्ता पाउने तथ्यले एप्पललाई निराश नबनाउने हैन तर पनि एप्पलले आफ्नै डिभाइस र सफ्टवेयरबाहेक अन्यलाई पहुँच दिने कुनै योजना बनाएको छैन ।
विन्डोजमा आइओएस र एन्ड्रोइड दुबैको एमुलेटर (emulator) चलाउन सकिन्छ भने म्याकओएसमा यस्तो कुनै सुविधा छैन ।
टास्क म्यानेजमेन्ट
विन्डोजमा के-के काम भइरहेको छ भनेर मोटामोटी जानकारी दिने काम टास्क म्यानेजरले गर्छ । तर यो मामिलामा म्याकओएसको एक्टिभिटि मनिटर केही राम्रो छ । एक्टिभिटि मनिटरले कम्प्युटरको विस्तृत ज्ञान नहुनेले समेत सजिलै बुझ्ने गरी ज्यादै सफा इन्टरफेसमा यस्तो जानकारी दिने काम गर्छ ।
त्यसमाथि टास्क म्यानेजरको भन्दा पनि गहन जानकारी दिन्छ । यद्यपि टास्क म्यानेजरले जस्तो सबै जानकारी चाहिं दिदैन एक्टिभिटि मनिटरले । र यसमा तपाईँको कम्प्युटरको सिस्टम कति समयदेखि चलिरहेको छ भन्ने जानकारी पनि हेर्न मिल्दैन ।
गेमिङ
गेमिङको मामिलामा म्याकओएसले विन्डोजलाई निकट भविष्यमा जितिहाल्ने कुनै छाँट छैन । विन्डोज धेरै हदसम्म ओपन सोर्स भएकोले डेभलपरहरूले सित्तैमा यो ओएसबाट गेम डेभलप गर्न सक्छन् जसकारण नै विन्डोजको प्राय: गेमिङ प्ल्याटफर्महरूमा पहुँच छ । त्यसको अर्थ प्रायजसो गेमहरू विन्डोजकै लागि बन्छ र सपोर्ट टीम पनि यसकै लागि नै बढी हुन्छ । म्याकको हकमा विन्डोजको तुलनामा नगण्य मात्रै त्यस्तो सुविधा हुन्छ । खासगरी स्वतन्त्र गेम डेभलपरहरूले एप्पलको लाइसेन्स किन्न सक्दैनन् र विन्डोजकै लागि प्राय गेम डेभलप गर्ने गर्छन् ।
सुरक्षा
प्रविधि जगतमा फैलिएका थुप्रै भ्रमहरूमध्ये एउटा चर्चित भ्रम हो – म्याकओएस विन्डोजभन्दा सुरक्षित हुन्छ । तर कुरा के हो भने म्याकओएसका प्रयोगकर्ता नै थोरै छन् र यसमा हुने डेटा एकदमै कम छन् । ह्याकरको लागि चाहिने भनेको प्रयोगकर्ताको डेटा हो । थोरै डेटा हुने डिभाइसमा स्वभावत: ह्याकरहरूले चासो कम दिन्छन् ।
यस्तो भ्रम फैलिनुको एउटा कारण भनेको विन्डोज धेरै हदसम्म ओपन सोर्स प्रोग्राम हो र म्याकओएस चाहिं क्लोज्ड सोर्स । ओपनसोर्स भएकाले विन्डोजका कम्पोनेन्टहरूमा सुरक्षा छिद्रहरू (security holes) फेला पार्न र त्यसमार्फत् आक्रमण गर्न सजिलो हुने बताइन्छ ।
तर म्याकओएस चाहीँ क्लोज्ड सोर्स भएकाले यसको डेटामा पहुँच पाएर सोही अनुसारको एप र गेम डेभलप गर्नको लागि एप्पलसँग लाइसन्स किन्नु पर्छ जसकारण पनि ह्याकरको लागि यो खासै रूचिको विषय नै बन्दैन । त्यसमाथि विन्डोजमा आक्रमण गर्न साह्रै सजिलो हुँदाहुँदै ह्याकरले म्याकको लागि छुट्टै म्यालवेयर बनाउने टन्टा नै किन गरिराख्छन् र ?
जहाँ धेरै म्यालवेयर आक्रमण हुन्छ, त्यहाँ धेरै र कडा सुरक्षाका उपायहरू अवलम्बन गरिन्छ । विन्डोजको सुरक्षाको लागि माइक्रोसफ्टको आफ्नै र अन्य स्वतन्त्र सुरक्षा सपोर्ट टीमहरू पनि उपलब्ध छन् । म्याकओएसको लागी आधिकारिक टीम मात्र छ ।
म्याकओएस चलाउँदैमा सुरक्षित भइन्छ भन्ने भ्रममा नबस्नु नै राम्रो हुन्छ किनकी म्यालवेयरबाइट्स, सर्चअसम लगायत थुप्रै चर्चित प्रोग्रामीरूले म्याकओएसमा सफलतापूर्वक आक्रमण गरेका उदारहणहरू छन् । त्यसमाथी म्याकओएसमा त्यस्ता थुप्रै सुरक्षा छिद्रहरू पाइएका छन् जसमार्फत् साधारण म्यालवेयरहरू पनि प्रवेश गरेका छन् ।