तपाईं यदि जोन विक, म्याट्रिक्स जस्ता अ्याक्शन फिल्मका प्रशंसक हुनुहुन्छ र प्रविधि जगतमा भएका वा हुन सक्ने कुराहरूसँग जोडिएका वा भनौँ, सायन्स फिक्शन फिल्महरू हेर्न रूचाउनुहुन्छ भने अपग्रेड फिल्म तपाईलाई बिलकुलै रोचक र रोमाञ्चक लाग्नेछ ।
मान्छे र प्रविधिबीचको द्वन्दलाई कलामा देखाउने काम धेरै अघिदेखि हुँदै आएको हो । सन् २०१८ मा बनेको फिल्म अपग्रेड तिनकै अर्को रोचक निरन्तरता हो । अझ पछिल्लो समय च्याटजिपिटिपछि जसरी एआइको चर्चा र डरको बारेमा व्यापक संशयहरू उत्पन्न भइरहेको छ, यो सेरोफेरोमा एआइकै खतराको बारेमा बनेको यो फिल्म झनै रोचक लाग्न सक्छ ।
यो लेखमा हामी सकेसम्म फिल्मलाई प्राविधिक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नेछौँ ताकी प्रविधिमा रूचि राख्ने मानिसहरूको लागि यो एउटा शिक्षाको स्रोत पनि बनोस् । अनि सकेसम्म थोरै पात्रहरूको मात्रै चर्चा गर्नेछौँ । औपचारिक फिल्म समीक्षा जस्तो गरी यहाँ फिल्म समीक्षा लेखिने छैन ।
यो फिल्मले त्यस्तो विकसित संसारको कथा भन्छ जहाँ अहिलेभन्दा धेरै टेकको विकास भैसकेको वा भनौँ अहिलेका टेकसम्बन्धी थुप्रै कल्पना र सपनाहरू पूरा भैसकेको छ ।
यो संसारमा प्राय: सबै गाडीहरू आफै चल्छन् । पुलिसहरू ठाउँठाउँमा बस्नुको सट्टा ड्रोनहरू खटाइन्छ जसले नै पुलिसले भन्दा बढी सूचनाहरू बटुल्न सक्छ । मानिसहरूले हातभित्रै बन्दुक जडान गरेर निकै छिटो घातक गोली चलाउन सक्छन् । हाम्रा दैनिक लगभग सबै कामहरू रोबोट र एआइले गर्छ ।
कतिसम्म भन्दा हामीलाई साथी पनि चाहिँदैन, रोबोट नै साथी हुन्छ । मानिसको शरिरभित्र वा दिमागभित्रै भनौँ, एआइमा आधारित चिप राखेर काम गर्न सकिन्छ । एआर र भिआरको व्यापक विकास भैसकेको छ । आदी इत्यादि।
यस्तोमा यसको मूख्य पात्र ग्रे (Grey) प्रविधिमा ठूलो योगदान गर्ने मानिस हुँदाहुँदै पनि यसमा शंका गर्ने गर्छ र डर पनि व्यक्त गर्छ । यस्तैमा उसकी श्रीमतीसँग एउटै स्वचालित गाडीमा बसेर घर जाँदाजाँदै गाडीले काम गर्न छाड्छ र दुर्घटना हुन्छ । पछि थाहा हुन्छ, गाडी ह्याक भएको हुन्छ ।
दुर्घटना भैसकेपछि त्यहाँ केही मानिसहरू आएर ऊ र उसकी श्रीमतीलाई गोली हान्छन् । ऊ मात्रै बाँच्छ तर प्यारालाइज्ड भएर र अब उसले ह्वीलचेयरमा जिन्दगी बाँच्नुपर्ने हुन्छ ।
विक्षिप्त भएपछि आत्महत्या प्रयास गरेको थाहा पाएपछि एक प्रख्यात टेक इन्नोभेटर ईरोनले आफूले दिमागमा राख्न मिल्ने STEM नामक चिप बनाएको र त्यसले ग्रेको यो समस्या हल गर्ने कुरामा आश्वस्त पार्छ ।
अन्तिम आश्रयको रूपमा ग्रेले त्यो चिप आफ्नो दिमागमा ट्रान्सप्लान्ट गर्छ । अब ग्रे ह्विलचेयरबाट उठेर हिँड्न सक्ने मात्रै हैन दिमागले गर्न सक्ने थुप्रै कामहरू पनि सजिलै गर्न सक्छ । चाँडै नै चिपले ग्रेकी श्रीमतीको हत्यारा पत्ता लगाइदिन्छ । अब उसलाई त्यो हत्याराको हत्या गर्ने आतुरता बढ्छ ।
यो क्रममा ग्रेले के थाहा पाउँछ भने चिपलाई अधिमानव (superman) ले जसरी काम गर्न दिनको लागि आफ्नो दिमागको स्थान चिपलाई छाडिदिने अनुमति दिनुपर्छ । अनुमति कसरी पाइन्छ भने चिपले ग्रेसँग संवाद गर्न सक्छ जुन उसले मात्रै सुन्न सक्छ । अनुमति दिइसकेपछि चिपले ग्रेलाई मानौँ सुपरम्यान, आइरनम्यान, स्पाइडरम्यान इत्यादिले जस्तो शक्तिशाली बनाइदिन्छ ।
त्यतिमात्रै हैन, यसले प्रत्येक मिहिन जानकारी पनि सम्झिन्छ, आश्चर्यजनक तर्कप्रणाली विकास गर्न सक्छ । छोटकरीमा भन्नुपर्दा मानिसको दिमागको स्थान चिपले लिन्छ र अब दिमागले काम गर्ने भन्दा पनि चिपले नै सबै काम गर्न थाल्छ । सोच्ने, कल्पना गर्ने, तर्क गर्ने, निर्णय गर्ने लगायत सबै ।
यद्यपि चिपको त्यो अनुमति खारेज गरेर मानव दिमागलाई नै चालु गराउन पनि सकिन्छ तर त्यो गर्न धेरै गाह्रो मात्रै हैन, ग्रे आफैले चाहँदैन किनकि ऊ वरीपरीको संसार प्राविधिक रूपले यति जटिल भैसकेको हुन्छ कि ऊ एक्लै मान्छे भएर बाँच्न असम्भव जस्तै हुन्छ ।
विस्तारै विस्तारै उसले महसुस गर्न थाल्छ कि त्यो चिपबिना अब बाँच्न गाह्रो छ । उसले थुप्रै अपराधहरू गरिसकेको हुन्छ जसबाट बच्नको लागि चिपको सहयोग लिनैपर्ने बाध्यता उसलाई हुन्छ । चिप अब उसको मालिक जस्तो भैसकेको हुन्छ जसबाट ऊ उम्किने प्रयास पनि पटकपटक गर्छ ।
फिल्मका महत्वपूर्ण घटनाहरूको बारेमा केही बताए पनि पूरै बताएको भने छैन । त्यसकारण यो पढेपछि फिल्म हेर्नै झ्याउ लाग्ला भन्ने नठान्नुस् । चिपको बारेमा अरू ज्यादा रोचक कुराहरू छन् जसले तपाईंलाई आश्चर्य र डरमा पारिदिन्छ ।
यो फिल्ममा ह्याकरहरू, साइबोर्गहरू (cyborgs), प्रहरीको नवीन टेक सुरक्षाका कुराहरू, दिमागमा चिप ट्रान्सप्लान्ट लगायतका नवीन टेक प्रगति र कल्पनाहरू हेर्न लायकका छन् ।