ल्यापटप किन्दा ध्यान दिनुपर्ने कुराहरु 

LAPTOP BUYING GUIDE

यदि तपाईं नयाँ ल्यापटप किन्नेबारे सोचिरहनुभएको छ भने के-के कुरामा ध्यान दिने भनेर पनि सोचिरहनु भएको होला । ल्यापटपका अनेकखाले स्पेकशीटहरू हुन्छन् जसलाई हेरेर ल्यापटप किन्नु एक हिसाबले राम्रै हो तर धेरै मानिसहरू त्यसबाट झुक्किन्छन् र जस्तो किन्न चाहेको हो, त्यो पाउँदैनन् ।

प्राय: मानिसहरू स्पेक शीट अर्थात् कम्प्युटरका विशेषताहरूको सूचीलाई राम्ररी पहिल्याउन सक्दैनन् । ल्यापटप भनेको व्यक्तिको आवश्यकता, प्रयोग, बजेट लगायतका विभिन्न कुराहरूमा ध्यान दिएर किन्नुपर्ने हुन्छ ।

त्यसकारण हामीले यहाँ ल्यापटप किन्दा कस्ता कुराहरूमा ध्यान दिने भन्नेबारे चर्चा गर्दैछौँ । केही महत्वपूर्ण पक्षहरू तल पढ्नुहोला । 

आवश्यकता

ल्यापटप किन्दा ध्यान दिनुपर्ने पहिलो कुरा भनेकै तपाईंलाई ल्यापटप किन चाहिएको हो भन्नेबारे विचार गर्नु हो । के ल्यापटप नै चाहिएको हो वा डेस्कटप भए नि चल्छ ? एकैखाले विशेषता भएका ल्यापटप र डेस्कटपमा कुन राम्रो भन्नेबारे पनि थाहा पाउनुहाेस् । ल्यापटप मूलत: सजिलै यताउता लैजान पर्नेहरूको लागि हो ।

तपाईंलाई केको लागि ल्यापटप चाहिएको हो ? तपाईं अ्याप डेभलपर, भिडियो एडिटर, गेम डिजाइनर, गेमर, डिजिटिल आर्टिस्ट, अकाउण्टेन्ट, सङ्गीत निर्माता लगायतका विभिन्न पेशामध्ये केमा आवध्द हुनुहुन्छ र त्यसको लागि कुनै विशेष विशेषता वा सफ्टवेयर भएका कम्प्युटर चाहिन्छ भन्नेबारे विचार गर्नुस् ।

उदारहणको लागि यदि तपाईंलाई भिडियो सम्पादन गर्नुपर्ने हो वा गेम खेल्नुपर्ने हो भने थोरै र्याम, प्रोसेसर, ग्राफिक्स कार्ड भएका ल्यापटप काम छैनन् । या त तिनले साह्रै ढिलो काम गर्छन् वा गर्दैगर्दैनन् । 

कतिपय सफ्टवेयर यस्ता हुन्छन् जुन विन्डोजमा चल्छन् तर म्याकमा चल्दैनन् । त्यसकारण कुनचाहीँ सफ्टवेयरमा वा अपरेटिङ सिस्टममा तपाईँ काम गर्ने हो, त्यसको बारेमा पनि विचार गर्नुस् । 

तर यदि तपाईंलाई फिल्म हेर्ने, नेट चलाउने, सामान्य सफ्टवेयर भए पुग्ने हो भने किन महङ्गा र हाइ स्पेक (high spec) भएका ल्यापटप किनिरहने ? सामान्य ल्यापटपले नै त्यसको लागि काम गर्छ । 

ल्यापटप केले बनेको छ ?

सामान्यतया बजारमा प्लाष्टिक र आल्मुनियमले बनेका ल्यापटप पाइने गर्छन् । हामी चाहिँ तपाईंलाई आल्मुनियमले बनेको ल्यापटप किन्ने सल्लाह दिन्छौँ किनकी यो लामो समयसम्म टिकाउ हुन्छ । तर वजनको हिसाबले चाहिँ यो प्लाष्टिकको भन्दा बढी नै हुन्छ जसकारण बोकिरहनु पर्छ भने चाहिँ अलि गाह्रै हुन्छ । 

प्लाष्टिकको किन्न नहुने एउटा कारण के भने प्राय: सबै हार्डवेयरहरू सकुशल हुँदा पनि त्यसको बाहिरी आवरणको गुणस्तर समयक्रममा  खस्किने हुनाले फ्याल्नुपर्ने हुन्छ । टन्नै पैसा हालेर किनेको ल्यापटपलाई त्यस्तो गर्नुपर्यो भने ज्यादै पीडा हुन्छ ।

यदि प्लाष्टिकको ल्यापटप किनिहाल्नु भयो भने पनि बलियो, फिनिशिङ राम्रो भएको, कठोर प्रयोग पनि खप्न सक्ने, गह्रुङ्गो खालको किन्नुहोला । ल्यापटप उचाल्दाखेरी स्क्रिन हल्लिने खालको नकिन्नुस् । 

डिसप्ले र जिपियु

ल्यापटप चलाउँदा सबैभन्दा बढी अनुभूत हुने कुरा भनेकै डिसप्ले हो । हुन त तपाईं ल्यापटपमा ओलेड जस्ता स्क्रिन भएका मनिटरहरू पनि जडान गर्न सक्नुहुन्छ । त्यो खण्डमा चाहिँ तपाईँले डिसप्लेको बारेमा खासै धेरै चिन्ता लिनु पर्दैन । अन्यथा यो सर्वाधिक महत्वको कुरा हो । 

यदि तपाईंलाई सामान्य कामको लागि यताउता बोकेर लगिरहनुपर्छ भने १३ इन्चको स्क्रिन भएको ल्यापटप छान्नुस् तर भिडियो एडिट गर्ने, गेम खेल्ने लगायतका ग्राफिक्स धेरै चाहिने खालको काम गर्नुपर्छ भने चाहीँ ठूलो स्क्रिन भएको ल्यापटप छान्नुस् ।

त्यति मात्रै हैन, त्यसको लागि तपाईंले गेम वा भिडियो एडिटिङकै लागि भनेर बनाइएका डेडिकेटेड जिपियु (dedicated GPU) भएका ल्यापटप छान्नुस् ।

ग्राफिक्स डिजाइनिङ, थ्रीडि एनिमेशन जस्ता रङको ज्यादा प्रयोग गर्ने काम गर्नुहुन्छ भने चाहिँ रेजोलुशन र डिसप्लेको गुणस्तरमा ज्यादा विचार गर्नुस् । त्यसको लागि पिक्सेल डेन्सिटि (pixel density) र पिक्चर क्वालिटि धेरै भएको डिसप्ले, कम्तीमा WQHD, छान्नुस् । 

स्क्रिनको गुणस्तर पनि राम्ररी जाँच्नुहाेस् । स्क्रिन डिसप्ले प्यानलमा राम्ररी ट्याप्प परेर बसेको छ कि छैन ? यसमा थोरै मात्रै पनि झ्यारझ्यार आउँछ कि ? घाममा बसेर चलाउँदा यसको ब्राइटनेश कस्तो छ ? लामो समयसम्म ल्यापटप चलाइरहनुहुन्छ भने डिसप्लेमा ब्लु लाइट (blue light) फिल्टर गर्ने सुविधा छ कि छैन ? यी कुरामा ध्यान दिनुस् । 

स्पीकर

हुन त स्पीकरलाई आजकाल ल्यापटपको महत्वपूर्ण पक्ष धेरैले मान्दैनन् किनकि प्राय: सबैको लागी आफ्नै नीजी अनुभव महत्वपूर्ण हुन्छ जसलाई हेडफोन, इयरफोन इत्यादिले सम्बोधन गर्छ भने कतिपयले ब्लुटुथ स्पीकर, मल्टिमिडिया स्पिकर इत्यादि प्रयोग गर्छन् ।

तर पनि यदि तपाईंलाई ती सबको खासै जरूरत छैन र ल्यापटपकै स्पिकरमा भर पर्नुहुन्छ भने यसमा प्रयोग हुने स्पीकरको बारेमा ध्यान दिनुस् । कुनै गीत, सङ्गीत वा फिल्म खोलेर यसको आवाज सुन्नुस् । सानोदेखि ठूलो सम्म पारेर सुन्नुस् । यदि त्यसमा कुनै समस्या छैन भने त्यो राम्रै हो ।

तपाईंले कुन स्पिकर प्रयोग भएको छ भनेर त्यसको विशेषतामा हेर्न वा पसलेलाई सोध्न पनि सक्नुहुन्छ । यदि तपाईंलाई साह्रै राम्रो स्पिकर चाहिन्छ भने त्यही अनुसार सोधेर लिन सक्नुहुन्छ । 

स्टोरेज र र्याम

स्टोरेजमा सामान्यतया सफ्टवेयर देखि, भिडियो, अडियो, डकुमेन्ट लगायतका प्राय: सबै कुराहरू राख्न मिल्छ । र्याम भनेको चाहिँ कम्प्युटरले तपाईँको कम्प्युटर र यसमा भएका विभिन्न प्रोग्रामहरू चलाउनको लागी चाहिने कम्प्युटरको आफ्नै अत्यावश्यक मेमोरी स्टोरेज हो । यी दुबै जति धेरै भयो, त्यति राम्रो हो ।

गेम खेल्ने, भिडियो एडिट गर्ने, रेन्डर गर्ने लगायतका र्याम धेरै चाहिने काम गर्नुहुन्छ भने धेरै र्याम भएको ल्यापटप किन्नुस् । फिल्महरू वा अन्य धेरै साइज भएका डकुमेन्टहरू टन्नै राख्नुपर्छ भने धेरै स्टोरेज भएका ल्यापटप छान्नुस् । 

त्यसको लागी तपाईंले HDD स्टोरेज छान्नुपर्ने हुन्छ ।

तर HDD भन्दा SDD ले चाँडै डेटा रिड गर्ने र छिटो चल्ने भएकाले तपाईंलाई सोही अनुसार चाहिन्छ भने चाहिँ SSD स्टोरेज नै लिनुस् । यसले ल्यापटप चाँडै खुल्ने र अन्य प्रोग्रामहरु पनि चाँडै खुल्छ । तर यो HDD स्टोरेज भन्दा महङ्गो पनि हुन्छ र कम स्टोरेज पनि हुन्छ । 

कष्टोमर केयर सपोर्ट

तपाईंले ल्यापटप किन्नु त भयो तर पछि दाँयाँबाँयाँ भयो भने बनाउन त लग्नु पर्यो ! तर लग्ने ठाउँ नै छैन वा साट्न मिल्ने सामान नै पाइँदैन, बाहिरबाट मगाउनुपर्छ । मगाए पनि निकै ढिलो, त्यो पनि निकै महङ्गो पर्छ भने त्यो धेरैको लागि ठूलै समस्या हुन्छ ।

त्यसकारण कष्टोमर केयर सपोर्ट पनि हेर्नुपर्छ । तपाईंलाई कम्पनीले कत्तिको वारेन्टि वा ग्यारेन्टी दिएको छ? त्यसका सामानहरू बिग्रेमा नेपालमै पाइन्छ कि पाइँदैन ? पाए पनि तपाईंलाई साह्रै महङ्गो पो पर्ला कि ? तपाईँको घर नजिकै ती ल्यापटपहरू बन्छन् कि बन्दैनन् ?

जहाँ ल्यापटप किन्नुहुन्छ, त्यहाँ फेरि बनाउन वा किनेको केही दिनभित्रै कुनै कारणवश ल्यापटप नै साट्न पर्यो भने त्यो पसलले साट्ला कि नसाट्ला ? कतै बिग्रेको सामान पो भिडाउला कि ? 

ल्यापटप किन्दा यस्तो समस्या आउन सक्ने हुनाले विदेशबाट नमगाउनु धेरै राम्रो हो किनकी साट्न पर्यो भने विदेश नै पठाउन झन् महङ्गो पर्छ वा नेपालमै बनाउन पनि महङ्गो नै पर्छ । यदि तपाईं विदेशबाट कसैमार्फत् ल्यापटप वा म्याकबुक मगाउँदै हुनुहुन्छ भने यस्ता कुरामा विचार गरेर मात्र किनिदिन आग्रह गर्नुस् , नत्र पछि पछुताउनु पर्छ । 

पोर्टहरू

तपाईंको कामको आवश्यकता अनुसार पोर्टहरू पनि निकै महत्वपूर्ण हुनसक्छन् । पोर्ट भनेको युएसबी वा रिचार्ज जस्ता कामहरू गर्ने बाहिरबाट प्लग गर्न मिल्ने विशेष प्वालहरू हुन् । तपाईंलाई USB-C, USB-A र माइक्रोफोन वा हेडसेट ज्याक जोड्ने कम्तिमा एक-एकवटा पोर्ट चाहिँ चाहिन्छ नै ।

USB-C चार्जर भयो भने झनै राम्रो किनकि योमार्फत् तपाईले पोर्टेबल चार्जर मार्फत् पनि चार्ज गर्न सक्नुहुन्छ । तपाईँलाई पावर आउटलेटबाट धेरैबेर टाढा बस्नुपर्यो तर ल्यापटप चाहिँ चलाउनुपर्यो भने यो आवश्यक नै हुन्छ । USB-C चार्जर किन्दा चाहिँ विश्वसनीय ब्राण्डको राम्रै किन्नु होला, नत्र ब्याट्री चाँडै फेर्नुपर्छ । 

यदि तपाईंफोटोग्राफर वा भिडियोग्राफर हो भने SD वा microSD card रीड गर्न मिल्ने पोर्ट पनि भएको राम्रो किनकि तपाईंलाई बारम्बार क्यामराबाट ल्यापटपमा फाइल डाउनलोड गर्नुपर्छ । यसले तपाईंको कामलाई साह्रै सजिलो बनाइदिन्छ । अन्यथा तपाईंले डङ्गल (dongle) नै बोकिरहनुपर्ने हुन्छ । 

त्यस्तै अर्कै मनिटर वा प्रोजेक्टर जोड्नुपर्ने आवश्यकता कहिलेकाहीँ तपाईंलाई पर्छ भने सोही अनुसारको पोर्ट छ कि छैन भन्नेबारे पनि विचार गर्नुस् । तपाईंलाई चाहिएको मनिटर वा प्रोजेक्टर त्यो पोर्टले सपोर्ट पो नगर्ला कि ? यी कुराहरू निकै महत्वपूर्ण हुन्छन् । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.