नेपालमा चुनाव र त्यसपछिको उपचुनाव सकिएको धेरै भएको छैन । पार्टि खोलेको केही महिनामै एउटा पार्टिले नेपालको संसदमा २० सिट जितिदियो जुन आधुनिक संसारमा एउटा अचम्मको घटना हो ।
अचम्मका घटनाहरू संसारका थुप्रै प्रजातान्त्रिक देशका चुनावहरूमा भइरहेका छन् । ट्रम्पको जित, ब्रेक्जिट, भारतमा मोदीको जित, ब्राजिलमा बोल्सोनारोको जित, युरोपमा कट्टर दक्षिणपन्थिको जित इत्यादी । द ग्रेट ह्याक डक्युमेन्टरीले यिनै चुनावी नतिजाको वैधतामाथि नै प्रश्न चिह्न तेर्स्याइदिएको छ ।
“डेटाको अधिकार मानव अधिकार हो” भन्ने नै यो फिल्मको मूल नारा हो । यसकी एक प्रमूख पात्राले भन्छिन् कि अबको संसारमा के फेरी पनि स्वतन्त्र चुनाव होला ? किनकी माथि उल्लिखित चुनावहरू स्वतन्त्र हैन, सिलिकन भ्याल्लिका डनहरू र क्याम्ब्रिज एनालाइटिकाको साँठगाँठमा भएका नतिजा हुन् भन्ने उनको दाबी छ ।
यो डक्युमेन्ट्रीले मूलत: बेलायतको क्याम्ब्रिज एनालाइटिकाले फेसबुकबाट डेटा लिएर त्यसलाई मार्केटिङ टूलको रूपमा प्रयोग गरेर विभिन्न देशहरूमा भएका चुनावहरूमा कसरी प्रयोग गरेर कट्टर दक्षिणपन्थीहरूलाई विजयी गराइदियो भन्ने देखाउँछ ।
यो फिल्म हेरेपछि तपाईँलाई नेपालकै चुनावमाथि पनि प्रश्न चिह्न तेर्स्याउन झकझक्याउँछ । केही दिन अघि हामीले सामाजिक सञ्जालको अँध्यारो पाटोलाई देखाइदिएको एउटा गम्भीर डक्युमेन्ट्रि द सोसल डिलेमाको बारेमा चर्चा गरेका थियौँ । द ग्रेट ह्याक चाहीँ त्यस्तै-त्यस्तै, तर चुनावमा हुने दुरूपयोग सम्बन्धी छ ।
कतिपयले हालसालै रवि लामिछानेको जितलाई पश्चिमाहरूको एक प्रयोग भएको र उनलाई नेपालको “जेलेन्सकी” बनाउन खोजेको आरोप लगाएका छन् । कतिपयले उनलाई नेपालमा धर्मान्तरण गर्न र पश्चिमाको एजेन्डा लाद्नको लागी प्रयोग गरेको समेत भनेका छन् ।
यो फिल्म हेरेपछि यस्ता कुरा पनि हो कि जस्तो लाग्न थाल्छ । भन्न खोजेको, हाम्रो डेटा भएका कम्पनीहरूले सामाजिक सञ्जालमार्फत् हाम्रो विचार, स्वभाव र निर्णय नै फेर्न सक्छन् र फेरिरहेका छन् ।
तर क्याम्ब्रिज एनालाइटिकाले यस्तो प्रयोग नेपालजस्ता विकासशील प्रजातान्त्रिक देशहरूमा मात्रै हैन, अमेरिका र बेलायतजस्ता विकसित प्रजातन्त्र भएका देशहरूमा पनि गरेको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा ट्रम्पको जित र युरोपियन युनियनबाट बेलायत छुट्टिने कि त्यहीँ रहने भन्ने जनमत सङ्ग्रहमा छुट्टिनेमा आएको बहुमत ।
डक्युमेन्ट्रिले क्याम्ब्रिज एनालाइटिकाले कस्ता डेटाहरू लिएर मार्केटिङ टूलमा परिणत गर्छ भनेर मात्रै हैन, कस्ता वर्गमा कसरी प्रयोग गर्छ भनेर पनि स्पष्ट रूपमा देखाएको छ ।
यसमा क्याम्ब्रिज एनालाइटिकामै रहेर काम गरेकी एक महिला, अबजर्भर पत्रिकाकी पत्रकार र अमेरिकाका टेक-राजनीतिक प्राध्यापकले डेटा अधिकारको पक्षमा गरिरहेको काम र विभिन्न चुनावहरूमा भएका डेटाको दुरूपयोगको पर्दाफास गरेको कथा देखाइएको छ ।
डक्युमेन्ट्रिको अनुसार मानिसहरूको डेटा प्रयोग गरेर तिनको स्वभाव र निर्णय नै फेर्न सकिन्छ र त्यसको सफल प्रयोग एक्काइसौँ शताब्दिमा भैसकेको पनि छ । त्यसकारण मानिसहरूको डेटामा अनाधिकारिक पहुँच कसैलाई पनि हुनुहुँदैन । मानिसको आफ्नो डेटा आफैसँग राख्न पाउनुपर्छ भन्ने फिल्म मूलभूत सन्देश हो ।
मानिसहरूको डेटा भएका कम्पनीहरूले कसरी मनोवैज्ञानिक रूपमा लक्षित वर्गसम्म आफूले चाहेका पोष्टहरू र विज्ञापनहरूको बाढि नै ल्याउन सक्छ ? कसरी तपाईँका पूर्वाग्रहलाई थप बलियो बनाउँछ, तपाईँको असुरक्षामा कसरी खेल्छ, तपाईँका चिन्ताहरूलाई कसरी बढाइचढाइ गर्छ? भनेर पनि देखाएको छ ।
यो फिल्म हेरेपछि यस्तो लाग्छ कि अहिले संसारको सबैभन्दा शक्तिशाली मानिसहरू सिलिकन भ्याल्लिका “डनहरू” हुन् किनकी संसारभरका मानिसहरूको डेटा तिनीहरूसँग छ जसको तिनले आफ्नो फाइदाको लागी जसरी पनि प्रयोग गर्न सक्छन् ।
तिनले संसारका थुप्रै प्रजातान्त्रिक देशका चुनावहरूमा आफूले चाहेका मानिसहरू जिताउन सक्छन् किनकी जम्मा मतदाताको ६,७% लाई निर्णय फेर्न मनाउन सकियो भने चुनावी नतिजा आफूले भनेजस्तो पार्न सकिन्छ ।
आधुनिक चुनावहरू प्रविधिको कारण कति जटिल र भ्रामक हुन्छन् भनेर यो डक्युमेन्ट्रि हेरेपछि थाहा हुन्छ । यसै पनि प्रविधिको प्रचुर विकासको कारण थुप्रै क्षेत्रहरूमा पहिले कहिल्यै सामना गर्न नपरेका समस्याहरूको ओइरोका कारण परिस्थिति अज्ञात र अजीव भएका थिए, अहिलेको राजनीतिक चुनावहरू पनि त्यस्तै भएका छन् ।
नेपालजस्ता देशले यस्तो अचम्मको परिस्थितिसँग कसरी जुझ्छ ? हुन त गूगल नेपालमा दर्ता भयो जसकारण केही कम्पनीहरूसँग कम्तीमा कानुनी हिसाबले कुरा गर्न सजिलो भएको छ तर डेटाको दुरूपयोग गरेर चुनावमा हुने आक्रमणहरूलाई रोक्न धेरै गाह्रो छ । अमेरिकालाई त गाह्रो भयो, नेपालको त परको कुरा ।
नेपालमा करोडौँ मानिसहरूले विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्छन् । तिनको अधिकांश डेटा सिलिकन भ्याल्लिसँग छ । ती डेटाको प्रयोग गरेर यहाँका मतदाताको विचार, स्वभाव र निर्णयलाई परिवर्तन गरेर चुनावी नतिजा नै फेरिदिने, यहाँ अनेक खालको अभियान चलाइदिने क्षमता तिनले राख्छन् । यो समस्यासँग कसरी जुध्ने ?
रवि लामिछानेले उपचुनावमा ल्याएको अपार जनमतको मूख्य कारण सामाजिक सञ्जालका प्रयोककर्ताहरू नै हुन् । उनको पार्टिका एक सांसदले दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो सार्वजनिक हुँदा समेत रविका समर्थकहरूले उनको समर्थन गर्न चुकेनन् र रविलाई त्यसले केही फरक पनि पारेन ।
नेपाली मतदाताले आफ्नै बुध्दिले भोट हाल्नु एउटा कुरा । तर यो भोट कतै क्याम्ब्रिज एनालाइटिका जस्ता कम्पनीहरूले गरेका प्रयोग त हैनन् ?
प्रश्न रविको पार्टिलाई मात्रै हैन, अन्यलाई पनि छ । जस्तै, नेपालमा धर्म निरपेक्षता, संघीयता जस्ता मुद्दा बोकेका पार्टिहरूलाई यसअघिका चुनावहरूमा बहुमत जानु यस्तै प्रयोगको नतिजा त हैन ?
यी केही प्रश्नहरू शंका मात्रै हुन् जुन सत्य हुन पनि सक्छ नहुन पनि सक्छ । तर यो डक्युमेन्ट्रि हेरेपछि तपाईँले आधुनिक संसारमा विभिन्न देशहरूमा हुने चुनावहरूलाई छुट्टै कोणबाट हेर्न सक्नुहुन्छ ।