गत हप्ता हामीले एआर, भिआर र एमआर र तिनको उपयोगीताबारे चर्चा गरेका थियौँ । कतिपय कुराहरु शब्दमा भन्दा भिडियोमा बुझाउन सजिलो हुन्छ । यि कुराहरु पनि भिडियोमै बुझाउन झनै सजिलो हुन्छ । अझ भिडियोमा भन्दा पनि आफैले यि प्रविधिको उपयोग गर्दा झनै छर्लङ्ग हुन्छ ।
रेडि प्लेयर वान हेरेपछि तपाईँले भर्चुअल रियालिटिको बारेमा धेरै कुराहरु थाहा पाउनुहुन्छ र धेरै कुरामा छर्लङ्गै हुनुहुन्छ । यो फिल्म हलिउडको संस्थापन तर्फका घगडान निर्देशक मानिएका स्टिभन स्पिलबर्गले बनाएका हुन् । उनी प्राय:जसो सायन्स फिक्शन फिल्महरु बनाएका कारण चर्चित छन् ।
उनका चर्चित सायन्स फिक्शन फिल्महरुमा Close Encounters of the Third Kind, Raiders of the Lost Ark, E.T. the Extra-Terrestrial, Jurassic Park, A.I. Artificial Intelligence इत्यादी पर्छन् । रेडि प्लेयर वान उनको पछिल्लो चर्चित तथा समीक्षकहरुद्वारा प्रशंसित सायन्स फिक्शन फिल्म हो ।
स्पिलबर्गले आजभन्दा झण्डै २२ वर्ष अगाडी नै A.I. Artificial Intelligence बनाएका थिए तर आजसम्म पनि एआइले त्यो स्तरको प्रगति गरिसकेको छैन तर यसका खतराहरुबारे चाहीँ धेरैलाई झस्काएको भने छ ।
त्यस्तै रेडि प्लेयर वान पनि सन् २०४५ को समयको भनेर बनाइएको छ तर हामी एउटा सुरक्षित अनुमान के गर्न सक्छौँ भने भर्चुअल रियालिटि अर्थात् भिआरले त्यतिबेला पनि त्यो हदसम्मको प्रगति गरिनसक्ला । तर आजभन्दा धेरै प्रगति अवश्य गर्नेछ भन्ने चाहीँ पक्का छ ।
स्मार्टफोन र सोसल मिडियाको युग आउनुभन्दा केही महिना अगाडिसम्म पनि धेरै कमले मात्रै सोचेका थिए होलान् कि अबका दिनहरुमा मानिसहरु जता हेरे पनि मोबाइलमै घोत्लिएर, आँखा गाडेर बसिरहेका हुन्छन् भनेर । जताततै मानिसहरु सोसल मिडिया र स्मार्टफोनको लतमा लागेर “ज्युँदो लास” जस्तो बन्छन् भनेर ।
भिआरको व्यापक विकास भैसकेपछि मानिसहरु आजको स्मार्टफोनको भन्दा पनि ठूलो लतमा फस्नेछन् जसले उनीहरुलाई वास्तविक संसारभन्दा बढि भर्चुअल रियालिटि ज्यादा वास्तविक जस्तो आभास गराइदिन्छ । हुन त अहिले नै पनि सोसल मिडियाले मानिसलाई वास्तविकताभन्दा ज्यादा वास्तविक लाग्ने संसार दिइसकेको छ ।
अब तपाईँ आफै अनुमान गर्न सक्नुहुन्छ कि भिआरको प्रचुर विकास भएको खण्डमा मानिसहरु कस्ता गतिविधिहरुमा सामेल हुनेछन् भनेर ।
जसरी अहिले जसको हातमा पनि स्मार्टफोन छ, त्यतिबेला जसको आँखामा पनि भिआर ग्लास हुनेछ जसले देखाउने संसारमा उनीहरु यस्तरि तल्लीन रहनेछन् कि वास्तविक संसारको उनीहरुलाई कुनै पर्वाह नै हुनेछैन ।
जसरी आज मानिसहरु स्मार्टफोनमा तल्लीन भएर आँखा गाडेर औँलाहरु लगातार खेलाइरहेका हुन्छन्, त्यतिबेला चाहीँ आँखामा भिआर डिभाइस लगाएर झगडा गरिरहेका, नाचिरहेका, कराइरहेका लगायतका थुप्रै गतिबिधि गरिरहेका दृश्यहरु देखिनेछ ।
अब जाऔँ यो फिल्मको कथाको छोटो चर्चातर्फ । यसमा प्राय: मानिसहरु सबै OASIS नामक भर्चुअल रियालिटिमा डुब्छन् । नायक हुन्छ एक किशोरवयको टुहुरो जसले OASIS को गेम वा लडाईँ खेलेर जितेबापत त्यसको स्वामित्व नै दिने अभूतपूर्व अवसर छोप्ने उपाय थाहा पाउँछ ।
त्यसपछि ऊ र उसका साथीहरु, जसलाई उसले वास्तविक संसारमा भेटेको हुँदैन, भर्चुअल रियालिटिमै साथी बनाएको हुन्छ, मिलेर लडाईँमा सहभागी हुन्छन् । उनीहरुको विपक्षमा हुन्छ ठूलो टेक कर्पोरेट हाउस चलाएर बसेको एक मानिस जो फिल्मको खलनायक पनि हो ।
भनिरहनु पर्दैन होला कि खलनायकले OASIS को स्वामित्व पाएमा त्यसको व्यापक दुरूपयोग गर्न सक्ने भयका कारण किशोरवयको नायकले ऊ विरुध्द लडाईँ छेड्छ । यो फिल्मको कथाको बारेमा अन्य कुराहरु नखोल्नु नै राम्रो हुन्छ किनकी हेर्दा मजा नआउन सक्छ ।
बरु लागौँ यसमा देखाइएका प्रविधिको प्रयोगको बारेमा ।
अघि नै भनिसकियो कि OASIS नामक क्रान्तिकारी भर्चुअल रियालिटि यसको मूख्य पृष्ठभूमि हुन्छ जसमा पस्नको लागी मानिसले वास्तविक संसारलाई नै भूलिदिन्छन् । यस्तरि कि त्यहाँ भुलिरहेका मानिसहरुलाई वास्तविकता के हो र भर्चुअल के हो भन्ने पनि बिर्सन्छन् ।
यसमा पस्नको लागी प्रयोगकर्ताले आफ्नो कुनै न कुनै अवतार (avatar) को प्रयोग गर्नुपर्छ जुन एकहदसम्म उनीहरुको आकृतिको र व्यक्तित्वको प्रतिबिम्ब जस्तो हुन्छ । उनीहरुले आफूले सोचेको जे पनि गर्न सक्छन् तर अरुले पनि गर्न सक्ने हुनाले व्यापक प्रतिद्वन्दिता हुन्छ ।
OASIS मा छिर्नको लागी भर्चुअल हेडसेट, ह्याप्टिक फीडब्याक सुट (Haptic Feedback Suit) र फुलबडि मोशन ट्र्याकिङ सिस्टम (Full Body Motion Tracking System) जस्ता निकै विकसित प्रविधिको प्रयोग गरिएको छ ।
भर्चुअल हेडसेट, माथि भिआर ग्लास भनिएको छ, कान र आँखामा पर्ने गरेर लगाइन्छ, आजकाल विभिन्न मलहरुमा 8D फिल्महरु देखाइने डिभाइसजस्तै जसको सहाराले तपाईँले भर्चुअल रियालिटिको संसारलाई हेर्न र सुन्न सक्नुहुन्छ । यिनले वास्तविक जस्तो लाग्ने गरी हाइ-रेजोलुशनकको डिसप्ले र फराकिलो भ्यु देखाउँछ ।
ह्यप्टिक फीडब्याक सुटले चाहीँ तपाईँको शरिरमा स्पर्श, चाप र तापक्रम परिवर्तनको समेत अनुभूत हुने गरी निकै संवेदनशील सेन्सरहरुको प्रयोग गरेको हुन्छ । यो सुट शरिरमा लुगा लगाएजस्तो लगाएर आफू वरिपरिका भौतिक अनुभूति दिनको लागी प्रयोग गरिन्छ ।
ह्याप्टिक पञ्जा पनि स्पर्शकै लागी हो तर यो मूलत: भर्चुअल वस्तुहरु चलाउन र अन्तरक्रिया गर्न प्रयोग गरिन्छ । OASIS निकै विकसित सफ्टवेयर सिस्टम भएको एक शक्तिशाली सिमुलेशन ईन्जिनको प्रयोग गरेर सिर्जना गरिएको हुन्छ ।
यसमा आफ्नै मुद्रा पनि हुन्छ जुन पाउनको लागी केही खास उपलब्धीहरु प्राप्त गर्नुपर्ने वा खेल जित्नुपर्ने हुन्छ ।
रेडि प्लेयर वानमा प्रयोग गरिएका उच्चस्तरका प्रविधिको प्रयोगको चर्चापछि तपाईँलाई पक्कै पनि भविष्यमा विकास हुनसक्ने प्रविधिको बारेमा जान्नकै लागी भए पनि यो फिल्म हेर्न रहर लाग्यो होला चाहे तपाईँ प्रविधि क्षेत्रमै काम गरिरहनुभएको होस् वा अन्यत्रै ।
तर तपाईँलाई विशुध्द मनोरञ्जन चाहिएको हो भने पनि यो फिल्म हेर्न सक्नुहुन्छ जसले तपाईँलाई बिलकुलै अर्कै संसारमा पुर्याइदिन्छ ।