नेपालमा फ्रिल्यान्सिङ रोजगारीको अवसर र चुनौती

FREELANCING

नेपाल बेरोजगारको देश हो भन्ने कुरा यो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको तथ्यबाटै थाहा हुन्छ । अर्थात् रोजगारको लागी विदेश नै जानुपर्ने बाध्यता छ, देशमा रोजगार व्यापक रूपमा सिर्जना हुने वातावरण अझै पनि बनिसकेको छैन । 

तर विगत दश वर्षमा फ्रिल्यान्सिङ रोजगारीका अवसरहरू नेपालमा बढेको छ र थुप्रैको गर्जो टरेको छ । धेरै मानिसहरूले त यस्तै पेशाबाट समाजले इर्ष्या गर्ने खालको प्रगति पनि गरेका छन् । 

नेपालमा फ्रिल्यान्सिङ रोजगारीका अवसरहरू बढेतापनि यसका चुनौतीहरू पनि टन्नै छन् । हामी आज यो लेखमा फ्रिल्यान्सिङ रोजगारीको अवसरहरू कुन-कुन क्षेत्रमा बढेका छन् र तीसँगै गाँसिएका चुनौतीहरू के-के छन् भन्नेबारे चर्चा गर्दैछौँ ।

तपाईँसँग सीप छ भने घरबाटै बसीबसी पैसा कमाउन सकिन्छ भन्ने छुट्टै लेख हामीले पहिल्यै लेखेका छौँ । त्यसकारण प्रत्येक त्यस्ता रोजगारको यो लेखमा चर्चा गरिनेछैन ।

फ्रिल्यान्सिङ रोजगारीको अवसरहरू

टिकटकमा लाइभ बसेर मान्छेहरूले घर जोडेको, दिनकै लाखौँ कमाइ गरेको लगायतका खबरहरू त तपाईँले सामाजिक सञ्जालहरूबाट थाहा पाउनु भएकै होला । तिनीहरू फ्रिल्यान्सरहरू नै हुन् किनकी तिनीहरूलाई कन्टेन्ट क्रिएटर मानिन्छ । 

टिकटक, युट्युब, फेसबुक, ट्विटर लगायतका चर्चित सामाजिक सञ्जालहरूले आफ्ना सञ्जालमा कन्टेन्ट क्रिएट गरेबापत विज्ञापनबाट आएको आम्दानी बाँड्ने गर्छन् । तपाईँले जति धेरै फलोवर कमाउनुभयो र तिनलाई ती सञ्जालमा जति लिप्त पार्न सक्नुभयो, त्यति नै तपाईँले टन्नै कमाउन सक्ने सम्भावना बढ्छ ।

अर्थात् तपाईँले मानिसहरूलाई मन पर्ने कन्टेन्टहरू अपलोड गराउन सक्नुपर्यो । कन्टेन्ट राइटिङ, वेब डेभलपर, एसइओ, डिजिटल मार्केटिङ, अनुवाददेखि डेटा एन्ट्री जस्ता सामान्य अनलाइन कामहरू टन्नै पाइन्छन् । 

इन्टरनेटको फाइदा उठाएर विकसित देशहरूले नेपाल जस्ता सस्तो कामदारहरू भएको देशमा आफ्ना प्रोजेक्टहरू आउटसोर्स गर्ने काम गरिरहेका छन् । फलस्वरूप नेपालमा पनि त्यस्ता थुप्रै कम्पनीहरू छन् जसले टन्नै फ्रिल्यान्स रोजगारहरू सिर्जना गरेका छन् ।

विदेशी कम्पनीले दिने पैसा धेरै पनि हुन्छ नेपाली कम्पनीले दिने भन्दा । साथै ती कम्पनीहरूमा सिक्न सकिने कुराहरू पनि धेरै छन् । नयाँ वातावरण, नयाँ सफ्टवेयर र प्रविधि, नयाँ सोच लगायतका धेरै कुराहरू नयाँ र व्यावहारिक हुनसक्ने सम्भावना हुन्छ । 

अनलाइन काम मात्रै हैन, अनसाइट काम पनि फ्रिल्यान्सिङको रूपमा धेरै पाउन सकिन्छ । जस्तै मोडल, कलाकार, गायक, नर्तक, विभिन्न क्षेत्रमा सल्लाहकार लगायतका कामहरू पनि गर्न सकिन्छ । 

विवाह, व्रतबन्ध, भोजभतेर लगायतका विभिन्न कार्यक्रममा फोटोग्राफर र भिडियोग्राफरको काम पाइन थालेको त दशकौँ भैसक्यो, यो क्रम ह्वात्तै बढेको पनि छ । अरूको भिडियो एडिट गरिदिने काम त आजको प्रचलित रोजगारी नै हो । 

यसरी नेपालमा अनलाइन र अनसाइट दुबैतिर टन्नै रोजगारहरू सिर्जना भएका छन् जसलाई योग्य मानिसहरूले सदुपयोग गर्न सक्छन् । 

फ्रिल्यान्सिङ रोजगारका चुनौतीहरू

जहाँ अवसर हुन्छ, त्यहाँ स्वभाविक रूपमा चुनौतीहरू पनि हुन्छन् । नेपालमा फ्रिल्यान्सिङ रोजगारका प्रमुख चुनौतीहरू भनेका प्रतिस्पर्धा, अनुपर्युक्त पुर्वाधार, कारोबारमा जटिलता, कर प्रणाली लगायत पर्छन् । 

विदेशी कम्पनीहरूले काम आउटसोर्स गर्दा सकेसम्म सस्तो र राम्रो कामदार नै खोज्छन् जसमा नेपालीहरू पहिलो रोजाईमा नपर्न पनि सक्छन् । हामीभन्दा अरू देशमा जनशक्ति धेरै मात्रै हैन, योग्यतर पनि हुनसक्छन् जो ज्यादै सस्तोमा काम गर्न तयार भइदिन्छन् जसकारण हामी पछि पर्न सक्छौँ ।

नेपालमा व्यापक जनशक्तिले फ्रिल्यान्सिङ गर्ने वातावरण अझै बनिसकेको छैन । जस्तै इन्टरनेट नै देशका अधिकांश ठाउँमा पुगिसकेको छैन । हुन त प्राय: सबै जिल्लामा इन्टरनेट पुगेको भनिन्छ तर ती जिल्लाका खासखास ठाउँमा मात्रै पुगेको छ । 

इन्टरनेट पुगे पनि विना अवरोध चल्ने भन्ने कमै हुन्छ खास गरेर गाउँतिर जुन विदेशी कम्पनीको लागी अस्वीकार्य हुन्छ र उनीहरूले त्यस्तो अवस्थाका जनशक्तिलाई लिँदैनन् । 

आफूले चाहेको ठाउँबाट काम गर्न सके मात्रै फ्रिल्यान्सिङ हो । विना अवरोधको इन्टरनेट चलाउन शहरबजार नै जानुपर्ने बाध्यता स्वीकारेर गरिने कामलाई फ्रिल्यान्सिङ भन्नु उपर्युक्त पनि हुँदैन ।

अर्को प्रमुख चुनौती भनेको कारोबारमा जटिलता पनि हो । विदेशका धेरै कम्पनीहरूले प्रयोग गर्ने भुक्तानीका माध्यमहरू नेपालले प्रयोग नगर्न पनि सक्छ जसकारण भुक्तानीमा समस्या पर्न जाँदा पाएका रोजगार समेत छाड्नुपर्ने हुन्छ । 

पारिश्रमिकको माध्यम र पाउने प्रक्रियाको झन्झटकै कारण विदेशीले पनि नेपाली नलिने र नेपालीले चाहेर पनि विदेशी काम गर्न नसक्ने हुन्छ।

अर्को मुख्य चुनौती भनेको फ्रिल्यान्सरको आम्दानीमा हुने कर प्रणालीबारे नेपाली कानुन अस्पष्ट हुनु जसले योग्य मानिसहरूलाई समेत पटकपटक हतोत्साहित तुल्याइदिन्छ ।

भाषा अर्को चुनौती हो किनकी नेपालीहरू विदेशका भाषा बोल्ने अलि कमै होला अन्य देशका मानिसहरूको तुलनामा । बोले पनि दक्ष कामदारले बोल्ने स्तरको नबोल्ला । विदेशका कामदारहरूसँग बोल्ने चाहिने लवज र भाषिक दक्षता नहुँदा नेपालीहरू समस्यामा पर्छन् । 

टाइम जोन अर्को समस्या हो । जस्तै अमेरिकाको सिलिकन भ्याल्ली र दक्षिण भारत बीच १२ घण्टाको फरक भएकैले आज टन्नै दक्षिण भारतीयहरू सिलिकन भ्याल्लीमा कार्यरत छन् र दक्षिण भारतको बेङ्गलरूलाई भारतको सिलिकन भ्याल्ली मानिन्छ । 

नेपालको टाइम जोन कुन देशसँग मिल्छ ? अनि ती देशबाट माग भएका जनशक्ति हाम्रोमा छ कि छैन ? भए पनि तिनको भाषासँग हामी कत्तिको परिचित छौँ ? यस्ता चुनौती पनि पेचिला नै छन् । 

साथै हामी विदेशीको काम गर्न योग्य त छौँ ? उनीहरू जस्तो अनुभव र सीप भएका जनशक्तिको खोजीमा छन् त्यो हामीसँग छ त ? तिनले प्रयोग गर्ने प्रविधि नेपालमा उपलब्ध छ त ? भए पनि कतिको पहुँचमा होला ? कानुन कत्तिको मैत्रीपूर्ण छ ? यावत प्रश्न छन् । 

बौध्दिक सम्पत्तिको कपिराइट कानुनमा अर्को समस्या छ । नेपालमा आफ्ना बौध्दिक सम्पत्तिलाई कानुनी अधिकार दिने कुराको कार्यान्वयन नै राम्ररी भएको पाइदैन । नेपालमा आइटि पोलिसी नै कमजोर छ । यस्तोमा पनि फ्रिल्यान्सरले ठुलै चुनौती खेपिरहेका हुन्छन् ।

अर्को कुरा नेपालमा साइबर कानुन छैन । डेटा प्राइभेसी छैन । साइबर संसारमा हुने यावत कुराहरूमा सरकारले सुरक्षा दिन नसक्दा पनि धेरै फ्रिल्यान्सरहरू निराश छन् । अनि नेपालभित्रै फ्रिल्यान्सर बढेर प्रतिस्पर्धा थामिसक्नु छैन । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.