कुन कम्पनी हो च्याट जिपिटि निकाल्ने ?

OpenAi chat gpt-company

रिलिज भएको केहि महिना पनि नबित्दै च्याट जिपिटिले इन्टर्नेटमा तहल्का मच्च्याइ रहेको छ। २०२२ को नोभेम्बर ३० मा लञ्च गरिएको च्याट जिपिटि रिलिज भएयता बजारमा हट टपिक बनेको छ। रिलिज भएको पाँच दिन भित्रमा नै यसले १० लाख भन्दा बढी युजर संख्या भित्र्याइ सकेको थियो भने पहिलो दुई महिनामा अर्थात् २०२३ जेनुवरी सम्ममा यसको युजर संख्या १० करोड भन्दा माथि रेकर्ड गरिएको थियो। 

२०२३ यता यसलाई दिनहुँ करिब १३ मिलियन युजरहरुले प्रयोग गर्ने गर्नुभएको छ। दुई महिनामा नै यस्तो प्रगति गरेको च्याट जिपिटि छोटो समय अवधीमा सबैभन्दा छिटो युजर संख्या बढाउन सफल एप्लिकेसन बनेको छ। २०२२ नोभेम्बर ३० मा यसलाई प्रोटोटाइपको रुपमा रिलिज गरिएको थियो भने यसको स्थिर रिलिज भने २०२३ को जेनुवरी ३० मा गरिएको थियो।

के हो त च्याट जिपिटि ? यसको बारेमा थोरै केहि जानिराखौँ।

च्याट जिपिटि

च्याट जिपिटि एउटा च्याटबट हो जुनलाई ओपनएआइ(OpenAI) कम्पनीले लञ्च गरेको हो। अझ विश्लेषण गर्नुपर्दा  च्याट जिपिटिलाई कम्पनीको जिपिटि-३(GPT-3: Generative Pre-trained Transformer 3 ) टेक्नोलोजिको प्रयोगबाट बनाइएको हो। जिपिटि-३ अर्थात् जेनेरेटिभ प्रि-ट्रेन्ड ट्रान्सफर्मर एउटा ल्याङ्ग्वेज प्रोसेसिङ एआई(AI) मोडल हो र यसलाई ओपन एआइ कम्पनीले नै तयार पारेको हो। 

जिपिटि-३ ले मानव लिखित टेक्सटहरु उत्पन्न गर्नुको साथै फराकिलो क्षेत्रमा काम गर्न सक्छ। जिपिटि-३ ले ल्याङ्ग्वेज ट्रानस्लेसन, ल्याङ्ग्वेज मोडलिङको क्षेत्रमा काम गर्न सक्छ भने यसले च्याटबटको लागि टेक्स्ट पनि उत्पन्न गराउन सक्छ। यसको मानव लिखित टेक्स्ट उत्पन्न गराउन सक्ने जिपिटि-३ को विशेषतामा आधारित भएर नै च्याट जिपिटिको निर्माण भएको हो।

आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याट जिपिटिले मानिसहरु बीचको कुराकानीको नकल उतार्न सक्छ। मुख्यतया मानिसहरुसँग उनीहरुकै ल्याङ्ग्वेजमा कुराकानी गर्न सक्ने गरी निर्माण गरिएको च्याट जिपिटि यति बाहेक कम्प्युटर प्रोग्राम लेख्न र गल्ती थाहा पाउन, संगीत रचना गर्न, विद्यार्थीहरुको लागि निबन्ध रचना गर्न र अन्य धेरै कुराहरु गर्न यसको प्रयोग गर्न सकिन्छ। धेरै समय लगाएर, रिसर्च गरेर लेख्नुपर्ने केहि कुरालाई यसले सेकेन्डमै तयार पार्दिन्छ। शब्द मात्रै खुलाउनु पर्छ, त्यसलाई बुझी त्यसको उत्तर दिने काम च्याट जिपिटिले गर्छ।

सकारात्मक कुराहरू मात्र छैनन् यसमा; नकरात्मक पक्षहरु पनि छन्। यसले दिएको जवाफहरु जहिल्यै सहि हुन्छ भन्ने हुँदैन र जहिल्यै सहि हुन्छ भन्ने विश्वास पनि राख्नु हुँदैन। अर्को कुरा भनेको २०२१ पछाडिका घटनाहरुमा यसको सिमित मात्रामा ज्ञान हुन्छ। दिनानुदिन घटेका घट्नाहरुसँग अपडेट हुन सक्ने मानव दिमाग यो होइन। 

तर यो भन्दैमा यसको प्रयोगमा कमि आउला जस्तो देखिन्न। आफुले मेहेनत गर्नुभन्दा अरुको सिको गर्नुमा मानिसहरु बानी परेका छन्। यसमा पनि च्याट जिपिटि जस्तो कुरा, जुनले आफूले चाहको उत्तर सेकेन्डमै निकाल्दिन्छ। यसको चर्चा बढ्न अझ निकै बाँकि नै छ।

यस्तो तहल्का ल्याउन सफल बनेको च्याटजिपिटि पछाडिको कम्पनी ओपनएआइ बारेमा पनि केहि प्रकाश छरौँ।   

ओपनएआइ(OpenAI)

ओपनएआइ एउटा एआइ(AI) अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च कम्पनी जसले एआइ अन्तर्गत रहेर रिसर्च गरी तैनाथ पनि गराउँछ। ओएनएआइ २०१५ मा अमेरिकाको स्यान फ्रान्सिस्को स्थापित भएको थियो। 

फाउन्डर्स(Founders)

Openai founders
Peter Thiel, Llya Sutskever and Reid Hoffman ( From Left to Right)

ओपनएआइ कम्पनी हाल ओपनएआइका सिइओ स्याम अल्ट्म्यान(Sam Altman), टेस्ला कम्पनीका सिइओ इलन मस्क(Elon Musk), लिंक्डइनका को-फाउन्डर रिड हफ्म्यान(Reid Hoffman) , पेप्यालका को-फाउन्डर तथा पूर्व सिइओ पिटर थिएल(Peter Thiel), क्यानेडियन कम्प्युटर साइन्टिस्ट तथा हालका ओपनएआइका चिफ साइन्टिस्ट इल्या सुस्केभर (Ilya Sutskever) तथा अरुको समन्वयमा १ बिलियन डलरको साझेदारीमा स्थापित भएको थियो।

२०१८ मा इलन मस्कले ओपनएआइको बोर्ड अफ डिरेक्टर्सबाट राजीनामा दिनुभयो। २०१९ मा माइक्रोसफ्टले ओपनएआइ मा १ बिलियन डलरको इन्भेस्टमेन्ट गर्यो भने २०२३ जेनुवरीमा माइक्रोसफ्टले गरेको दोस्रो इन्भेस्टमेन्ट १० बिलियन डलर रहेको पाइएको छ।

मिसन(Mission)

ओपनएआइ स्थापना हुँदाको मिसन भनेको आर्टिफिसियल जनरल इन्टेलिजेन्स या एजिआइले सम्पूर्ण मानव जातिको फाइदा गरोस् भन्नु हो। आर्टिफिसियल इन्टेलिजेन्सको नकारात्मक पोटेन्सियललाई मध्यनजर गर्दै सुरक्षित तरिकामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर मानव जाति हित होस् भन्ने मनसायले उक्त कम्पनीको सुरुवात गरिएको थियो।

यो कुरालाई कम्पनीले निभाइरहेको पाइन्छ किनकी कम्पनीले आफूमा मात्र सिमित नरहेर अरु रिसर्च संस्थाहरु तथा व्यक्तिहरुसँग पनि समन्वय गर्ने आशय राखेको छ।

संक्षिप्तमा कम्पनीको इतिहास(Brief History of the Company)

  • ओपनएआइ कम्पनी स्याम अल्ट्म्यान, इलन मस्क, रिड हफ्म्यान, पिटर थिएल तथा अन्यको समन्वयमा १ बिलियन डलरको साझेदारीमा सुरुवात गरियो।
  • २०१८ मा इलन मस्कले टेस्लाको कामसँग हुने द्वन्द्व देखेर कम्पनीको बोर्ड अफ डिरेक्टर्सबाट राजीनामा दिनुभयो। मस्कले पछि ओपनएआइ टिमले एआइमा गर्ने केहि कुराहरुमा आफू सहमत नभएको कुरा खुलाउनुभयो।
  • २०१९ मा  कम्पनीले नक्कली न्युज बनाउन सक्ने एउटा एआइ टुल बनायो र पछि त्यसलाई जिपिटि-२ भनेर रिलिज गर्यो। २०२० मा कम्पनीले जिपिटि-३ को नामबाट एउटा च्याटबट रिलिज गर्यो।
  • २०१९ मा नै यस कम्पनीले नन-प्रफिटबा प्रफिटमा आफूलाई बदल्यो। फेरी, २०१९ को अन्त्यतिर मा माइक्रोसफ्टले ओपनएआइसँग पार्टनर्सिप गर्यो र सो कम्पनीमा १ बिलियनको इन्भेस्टमेन्ट पनि गर्यो।
  • २०२१ मा कम्पनीले ए आर्ट डिजाइन गर्ने ड्याल इ(Dall E) नामक एआइ प्रोग्राम तयार पार्यो जसले ईमेज या आर्टको विवरणका आधारमा मात्रै यथार्थपरक चित्रहरु बनाउन सक्छ। २०२२ को नोभेम्बरमा यस प्रोग्रामको अपडेट भर्जन ड्याल-इ २(Dall-E 2) पनि रिलिज गरियो।
  • अन्त्यमा २०२३ मा च्याट जिपिटि त छँदै छ।

अन्त्यमा,

आर्टिफिसियल इन्टेलिजेन्सले भविष्यमा गएर सकारात्मक प्रभाव पार्छ या नकारात्मक प्रभाव पार्छ भनेर अनुमान गर्न अहिले गार्हो छ। राम्ररी सधुपयोग गरेर यसको प्रयोग गरिने हो भने यो पक्कै सकारात्मक नै रहनेछ। स्टिफन हकिङ, एलन मस्क जस्ता विश्व प्रख्यात व्यक्तित्वहरुले आर्टिफिसियल इन्टेलिजेन्सलाई मानव समुदायको लागि यो धेरै खतर्नाक बन्न सक्ने चेतावनी पनि दिइसक्नुभएको छ।

तर ओपनएआइले सकारात्मक बाटोमा आर्टिफिसियल इन्टेलिजेन्समा काम थालेको कुरामा पनि आदर गर्नै पर्छ। पाइला बढाउनु ठुलो कुरा हो, भविष्य पक्कै राम्रो हुनेछ।   

     

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.