एन्ड्रोइड १२ का प्रयोगकर्ताले जान्नुपर्ने उपयोगी फिचरहरू 

android 12 best features

हालसम्म एन्ड्रोइड १४ लञ्च भैसकेको छ तर यसका प्रयोगकर्ता कमै छन् । धेरैभन्दा धेरै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई सहयोगी होस् भन्नाका लागि हामीले यहाँ एन्ड्रोइड १२ का त्यस्ता उत्कृष्ट फिचरहरूको चर्चा गर्दैछौँ जुन प्राय:जसो एन्ड्रोइड १३ का प्रयोगकर्ताहरूको लागी पनि काम लाग्छ ।

यी फिचरहरूमध्ये कतिपय तपाईंलाई पहिल्यै थाहा भएको पनि हुन सक्छ र कतिपय थाहा नहुन पनि सक्छ । जे होस् , यी फिचरहरूले तपाईंको एन्ड्रोइड प्रयोगलाई थप सजिलो र फलदायी बनाउँछ भन्ने हामीले अपेक्षा गरेका छौँ । ढिलो नगरी ती १० महत्वपूर्ण फिचरहरूको बारेमा कुरा गरौँ ।

१. स्क्रिनशटमा टेक्स्ट र ईमोजि हाल्ने

एन्ड्रोइडले चाँडोचाँडो अपडेट गर्ने गरेतापनि कतिपय फिचरहरूको मामिलामा धेरै ढिला गर्ने गर्छ । तर एन्ड्रोइड १२ मा चाहिँ तपाईंले स्क्रिनशट गर्दा हल्का एडिट गर्न यस अघिका संस्करणहरूमा मिले पनि टेक्स्ट र ईमोजि थप्ने फिचर पनि समावेश गरिएको छ । 

तपाईंले अब स्क्रिनशट गरेपछि एडिटका साथै सजिलै टेक्स्ट र ईमोजिहरू थप्न र तिनको साइज बढाउन वा घटाउन पनि सक्नुहुन्छ । टेक्स्टकको रङ विभिन्न ७ कलरहरूमा छनौट गर्न सक्नुहुन्छ । 

२. वान-ह्यान्डेड मोड (One-Handed Mode)

लामो समयदेखि स्मार्टफोनहरू झनझन ठूलो हुँदै आइरहेको एकखालको “समस्या” लाई सजिलै “हल” गर्ने उद्देश्यले आइफोनले त Reachability mode ल्याएको धेरै भैसकेको छ तर एन्ड्रोइडले पनि त्यस्तै खालको फिचर ल्याएको छ जसलाई उसले वान-ह्यान्डेड मोड भनेको छ । 

यो फिचरको प्रयोग गरेर तपाईंले एउटै हातले फोन चलाउन सक्नुहुन्छ किनकी स्क्रिनको माथिल्लो आधाभाग तल्लो आधाभागमा आउँछ र यदि त्यस्तो गर्न पर्दैन भने पनि तपाईंले सजिलै यसको जेस्चर बार (gesture bar) माथिपट्टी स्वाइप गर्न सक्नुहुन्छ । 

यो मोड चलाउनको लागि यी कदमहरू पछ्याउनुस् : Settings>System>Gestures>One-handed mode

३. डबल ट्याप (Double Tap)

फोनको पछाडि ट्याप गर्दा विभिन्न कामहरू हुने खालको फिचर आइफोनमा आइसक्यो तर एन्ड्रोइडले चाहिँअन्य तेस्रो-पक्ष अ्यापहरूको सहारा लिनुपर्ने थियो । तर यतिखेर कम्तीमा पिक्सल ५ (Pixel 5) त्यस्तै खालको काम गर्ने डबल ट्याप फिचर आएको छ । 

डबल ट्याप ईनेबल गरेपछि तपाईंले स्क्रिनशट लिन, मिडिया खोल्न वा रोक्न (play or pause), भर्खर खोलेका वा बन्द गरेका अ्यापहरू हेर्न, नोटिफिकेशन शेड (Notification Shade) खोल्न र असिस्ट्यान्ट (assistant) लाई कल गर्न सक्नुहुन्छ । 

यो फिचर ईनेबल गर्न यी कदमहरू पछ्याउनुस्: Settings>System>Gestures>Double Tap

४. नियरबाइ शेयर (Nearby Share) बाट वाइफाइ पासवर्ड शेयर गर्ने

क्युआर कोडमार्फत् वाइफाइ पासवर्ड शेयर गर्ने सुविधा त एन्ड्रोइडले पहिल्यै पनि दिइसकेको हो तर एन्ड्रोइड १२ मा आइफोनको एयरड्रप (AirDrop) जस्तै नियरबाइ शेयरमार्फत् पनि गर्न सकिन्छ । 

त्यो गर्नको लागि तपाईं Settings>Network & Internet>WiFi मा गएर आफूले प्रयोग गरेको वाइफाइमा ट्याप गर्नुस् अनि Share मा ट्याप गर्नुस् । 

त्यसपछि पिन, पासवर्ड, प्याट्टर्न वा कुनै बायोमेट्रिक अथेन्टिकेशन (biometric authentication) प्रयोग गरेर भेरिफाइ गर्नुस् ।

अब Nearby बटन सेलेक्ट गर्नुस् । त्यसपछि नियरबाइ शेयर इनेबल गरिएको अर्को डिभाइससँग तपाईँले पासवर्ड शेयर गर्न सक्नुहुन्छ । 

५. क्यामरा र माइक्रोफोनको प्राइभेसी

एन्ड्रोइड १२ मा तपाईंले प्रत्येक अ्यापमा क्यामरा र माइक्रोफोनलाई दिइएको पर्मिशन डिसेबल गर्न सक्नुहुन्छ । यो त अरुमा पनि सकिन्थ्यो तर यसको विशेष फिचर भनेको यी पर्मिशन चाहिने अ्यापहरूमा मात्रै हैन, यसको ओएस (OS) लाई समेत क्यामरा र माइक्रोफोनको पहुँच (access) डिसेबल गर्न सकिन्छ ।

६. वालपेपरमा आधारित थीम

गूगलले एक्सेन्ट कलर (accent color) मात्रै हैन कि ब्याकग्राउण्ड कलर नै परिवर्तन गर्ने हिसाबले थीम सिस्टम ल्याएको छ । जसरी विन्डोज १० को वालपेपर यसको सिस्टमको थिमको कलरसँग म्याच हुन्छ, त्यस्तै हुन्छ एन्ड्रोइड १२ मा । 

७. पूरै नयाँ “विजेट लाइब्रेरी”

पहिलेका एन्ड्रोइडहरूमा गञ्जागोल विजेटहरू स्क्रिनमा देख्दा तपाईंलाई वाक्क लागिसकेको भए अहिले एन्ड्रोइड १२ मा गूगलले आइफोनको जस्तै “विजेट लाइब्रेरी” ल्याएको छ । यो नयाँ फिचरले विभिन्न विजेटहरूलाई सजिलै कोल्याप्स गर्न मिल्ने गरी संगठित गरिदिन्छ ।

हरेक सेक्शनले आफ्नो नाम र आइकनको साथै आफूसँग कतिवटा विजेट छ भनेर जानकारी दिन्छ । त्यसकारण तपाईंलाई चाहिएका र नचाहिएका विजेटहरू सजिलै पहिचान गर्न सक्नुहुन्छ । 

८. पिक्चर-इन-पिक्चर (Picture-in-Picture)

एन्ड्रोइड १२ मा तपाईँले भिडियो खोल्नुभएको छ तर त्यही बेलामा अर्को कुनै काम गर्नुपर्यो भने त्यसलाई बन्द नगरिकन दाँयाँ वा बाँयाँतिर सारेर आफ्नो कामलाई निरन्तरता दिन सक्नुहुन्छ । यो फिचर आइफोनको PiP mode जस्तै हो । 

यसको विन्डोमा एकचोटी ट्याप गर्नुभयो भने प्लेब्याक कन्ट्रोलहरू (playback controls) देखाउँछ भने दुईचोटी ट्याप गर्यो भने ठूलो र सानो विन्डोमा स्विच हुन्छ । साथै तपाईंले विन्डोलाई सानो वा ठूलो पार्न जुम पनि गर्न सक्नुहुन्छ । 

९. प्राइभेसी ड्याशबोर्ड (Privacy Dashboard)

एन्ड्रोइड १२ मा तपाईँले प्राइभेसी ड्याशबोर्ड पनि हेर्न सक्नुहुन्छ जसले तपाईंको गोपनीयतासम्बन्धी सबै कुराहरूको ट्र्याक गर्दछ । यसमा तपाईंले आफुले मोबाइलमा हालेका अ्यापहरूले प्राइभेसी सम्बन्धी कुराहरू जस्तै स्टोरेज, क्यामरा, माइक्रोफोन, लोकेशन इत्यादि के-केमा पहुँच पाएका छन् भनेर हेर्न र फेर्न मिल्छ । 

साथै यसले अरू सबै पर्मिशन र ती पाउने एपहरूको सूची पनि प्रदान गर्दछ । तपाईंको लोकेशन डेटामा पहुँच भएका अ्यापहरूको टाइमलाइन पनि तपाईं हेर्न सक्नुहुन्छ ताकी तिनले अनावश्यक लोकेशन डेटा बटुलेको खण्डमा हटाउन पनि सकियोस् । 

१०. अ्यापहरुलाई नजिकको लोकेशन मात्रै दिने 

सामान्यतया प्राय: अ्यापहरूले लोकेशनमा पहुँच पाएको खण्डमा ट्याक्र्याक्क तपाईं भएकै स्थानको डेटा माग्ने गर्छन् र पाउँछन् पनि । तर एन्ड्रोइड १२ मा ट्याक्राक्कै तपाईंकै लोकेशन दिइरहनु पर्दैन, त्यतै नजिकको कतैको लोकेशन दिन मिल्ने पार्न मिल्छ । यसले गर्दा तपाईंको प्राइभेसीमा धेरै हदसम्म सुरक्षा थपिदिन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.