के तपाईँ ईन्टरनेट घोटाला (स्क्याम) मा त फस्नुभएको छैन ?

internet scam nepal

के तपाईँको मोबाइल वा कम्प्युटर वा ईमेल वा विभिन्न एपका अकाउण्टहरूमा तपाईँले यति नगद जित्नुभयो वा यो उपहार प्राप्त गर्नुभयो वा तपाईँको कम्प्युटर वा मोबाइलमा भाइरस छ, तुरून्तै अपडेट गर्न यो लिङ्क क्लिक गर्नुस जस्ता मेसेज वा नोटिफिकेशन आएको त छैन ?

छ भने सावधान हुनुस् । किनकी तपाईँलाई कुनै ठूलै गिरोहले ठग्न खोजिरहेको हुनसक्ने सम्भावना अधिक छ । संसारमा यो धन्दा वार्षिक अरबौँ डलरको हुन्छ । र यि गिरोहहरूले संसारभरी निकै बलियो सञ्जाल बनाएका हुन्छन् । 

र उनीहरूले वार्षिक दशौँलाख मानिसहरूलाई मुर्गा बनाएर उनीहरूको पैसा कुम्ल्याउँछन् । कस्ता-कस्ता मैँ हुँ भन्ने कम्पनीहरू र मानिसहरू समेत यस्ता ठगीहरूमा पर्ने गरेका समाचारहरू तपाईँले बेलाबेलामा सुन्नु नै भएको होला ।

ईन्टरनेट ठगीमा फसेको वा फस्न लागेको कसरि थाहा पाउने ?

नगद उपहार जितेको मेसेज वा नोटिफिकेशन आउँदा

ईन्टरनेटका ठगहरूले सबैभन्दा बढी प्रयोग गर्ने रणनीति भनेको तपाईँले यति र उति नगद उपहार पाउनुभयो भनेर मेसेज पठाउने हो । कहिँकतै केही पनि नगरेको मान्छेलाई त्यत्रो रकम उपहार आएको कुरा सोझासाझाले त पत्याउँछन् , पत्याउँछन् , ईन्टरनेटमा अलि चलाख मानिसहरू पनि फस्छन् ।

त्यो कसरि भन्दा चनाखो मानिसहरू पनि गुमाउन पर्ने के नै छ र भनेर पत्याएर कुरा गर्न थाल्छन् र ठगहरूले अनेक बहकाउमा पारेर ब्याङ्क अकाउण्टका विवरणहरू, पासवर्ड, आफ्ना अन्तरङ्ग कुराहरू इत्यादी खोलिदिन्छन् जसलाई उनीहरूले ब्ल्याकमेलिङको माध्यम बनाउँछन् ।

जस्तै तपाईँले पचासलाख रूपैँया जित्नुभयो तर कर तिर्नको लागी दश प्रतिशतको हिसाबले पचासहजार तिर्नुपर्छ, यो खातामा त्यति रकम हाल्नुभयो भने भोलि नै पैसा तपाईँको खातामा आउँछ भनेर ठगले भन्छन् । चनाखो मान्छेलाई समेत के लाग्छ भने “गए पचास हजार, आए पचास लाख” भनेर पैसा हाल्दिन्छन् । 

तर पैसा गएपछि गयो, त्यो न त फेरी आउँछ, न त उपहार नै आउँछ, न त ती ठगहरूले तपाईँलाई फेरी सम्पर्क नै गर्छन् । 

“तपाईँको कुनै समस्या छ” भन्ने कुरा गर्दा

ठगहरूले या त तपाईँको मोबाइल वा कम्प्युटरमा भाइरस भएको कुरा गर्छन् । या त तपाईँको ब्याङ्क अकाउण्ट वा स्वास्थ्य विवरणहरूमा समस्या भएको कुरा गरेर तिनको बारेमा सबै विवरण माग्छन् ।

वा तपाईँको परिवारको कुनै सदस्यलाई यस्तो भयो र उस्तो भयो भनेर अत्याउँछन् र पैसा माग्छन् । वा तपाईँले सरकारलाई तिर्नुपर्ने यति कर बुझाउनुभएको रहेनछ, अब तपाईँ जेल जानुपर्छ भनेर अत्याउँछन् र यति पैसा यो खातामा हालिदिए हामी तपाईँलाई बचाउँछौँ भन्ने दाबी गर्छन् । 

कतिले तपाईँले यति पैसा कुनै खातामा हाल्दिनुपर्छ नत्र तपाईँलाई यस्तो र उस्तो हुन सक्छ भनेर डर देखाउने गर्छन् । 

कुनै चर्चित कम्पनी वा संस्थाको कर्मचारी भएको दाबी गर्दा

तपाईँले नाम सुनेको कुनै चर्चित कम्पनी वा संस्थाको नाम लिएर हामी त्यसको कर्मचारी हौँ, तपाईँले यहाँ यति तलबको जागिर पाउनुभयो । वा यो कम्पनीले यति पैसाको चिठ्ठा खोलेको थियो, तपाईँलाई पर्यो । त्यो पाउन यति पैसा यो खातामा पठाउनुस् । यस्तो कसैले भन्छ भने त्यो ठग हो भनेर बुझ्नुस् । 

त्यस्तै कतिले चाहीँ हामी यो संस्थाबाट परोपकारको लागी चन्दा र दान उठाउँछौँ, कृपया यति र उति वा सकेको रकम दान दिनुस् भन्ने खालको कुरा गर्छन् । 

कतिले त सरकारी अफिसबाटै फोन गरेजस्तो गर्छन् र वास्तविक जस्तो लाग्ने नाम, अफिस, फोन नम्बर इत्यादी प्रयोग गरेर विश्वास जित्न खोज्छन् । खासमा तिनीहरूले विभिन्न उपायहरू प्रयोग गरेर आफ्नो पहिचान लुकाउन सफल हुन्छन् । 

कुनै काम तुरून्तै गरिहाल्न दबाब दिँदा

ठगहरूले तपाईँले सोच्ने मौका पनि नदिइकन अहिले नै यस्तो वा उस्तो गरिहाल्नुस् नत्र यस्तो वा उस्तो हुन सक्छ भनेर दबाब दिने गर्छन् । 

जस्तै यस्तो गर्नु भएन भने तपाईँको कम्प्युटर चल्दैन वा तन्त्रमन्त्र प्रयोग गरेर यस्तो गर्दिन्छौँ वा घरमा पुलिस पठाइदिन्छौँ वा घरपरिवारको भित्री कुरा खोल्दिन्छौँ जस्ता अनेक डर देखाउँछन् ।

यस्ता डर देखाएर कुनै काम तुरून्तै गर्न तिनीहरूले दबाब दिएर पैसा वा तपाईँका गोप्य कुराहरू चोर्ने दाउ तिनीहरूको हुन्छ । 

कुनै विशेष माध्यममार्फत् पैसा पठाउन आग्रह गर्दा

चाहे रोग निको पार्ने होस् वा धनको वर्षा गराइदिन्छु भनेर होस् वा जुनसकुकै लोभ वा बहकाउमा फसाएर तिनीहरूले कुनै खास माध्यममार्फत् पैसा पठाउन अनुरोध गर्ने गर्छन् । 

पुलिसले थाहा नपाओस् भनेर बिटकोइनमार्फत् माग्ने त भइ नै हाल्यो । तर बिटकोइन नचल्ने नेपालजस्तो देशमा पेपाल, मनिग्राम, वेस्टर्न युनियन मनि ट्रान्सफर इत्यादीबाट माग्ने गर्छन् । 

कतिपयले गिफ्टकार्डको माध्यममार्फत् पैसा हालिदिन समेत आग्रह गर्छन् । 

अपरिचितहरू अनलाइनमार्फत् निकै चाँडै नजिकिन खोज्दा

चिन्नु न जान्नुका मानिसहरू अचानक अनलाइनमा कुनै माध्यममार्फत् नजिकिन खोज्छन् र मख्ख पार्छन् । त्यसपछि तपाईँ पुरूष हो भने महिलाले वा महिला हो भने पुरूषले गोप्य फोटो वा भिडियो पठाउन अनुरोध गर्छ । 

तपाईँले पठाउनासाथ फस्नुभयो भनेर बुझ्नुस् किनकी अब तिनीहरूले ती भिडियोहरू तपाईँको परिवार, आफन्त, साथी इत्यादीमाझ पठाइदिने धम्की दिएर पैसा असुल्न थाल्छन् ।

क्लिकबेट लिङ्कहरूमा पुर्याएर

शीर्षक वा फोटो (thumbnail) हेर्दै अपत्यारिलो जस्तो राख्ने र मानिसहरूलाई क्लिक गरौँ गरौँ लाग्ने पारेर तपाईँको मोबाइल वा कम्प्युटरमा भाइरस वा म्यालवेयर पठाएर तपाईँको डिभाइसका प्राय: कुराहरू चोर्ने काम पनि हुन्छ । 

तिनीहरू क्लिक गर्दा केही पनि नआउने वा पटक-पटक पप-अप आइरहने वा अन्य वेबसाइटहरूमा रिडिरेक्ट गराइरहने इत्यादी हुन्छ । पछि अति नै संवेदनशील कुराहरू रहेको खण्डमा तपाईँलाई ति ह्याकरहरूले ब्ल्याकमेलिङ गर्ने गर्छन् । 

साह्रै सजिलो अनलाइन जागिरको लागी व्यक्तिगत विवरणहरू माग्दा

कतिपयले प्राय: गरिब देशहरूका नागरिकहरूलाई लक्षित गरेर अनलाइन मार्फत् नै मनग्य नाफा हुने साह्रै सजिला कामहरू दिलाइदिने र त्यसको लागी इङ्लिश टाइप गर्न जाने पुग्ने गफ दिन्छन् ।

तपाईँलाई जागिरको लागी अनलाईन फारम भर्न लगाइन्छ र त्यसमा अत्यन्त गोप्य विवरणहरू पनि मागिन्छ । जस्तै पासपोर्ट, ब्याङ्क अकाउण्ट, नागरिकता, स्वास्थ्य विवरण, कम्पनीहरूमा काम गरेका लगायत कुराहरूको सबै विवरण मागिन्छ । 

झट्ट हेर्दा ती कुराहरू आवश्यक पर्ला जस्तो लागे पनि खासमा तपाईँका डेटा चोरी गरेर डार्क मार्केटमा बेच्ने काम तिनले गर्छन् । कहिलेकाहीँ तपाईँका महत्वपूर्ण लाग्ने कुराहरू छन् भने तिनले त्यो पनि खोतलखातल पारेर ब्ल्याकमेलिङ् गर्दै पैसा असुल्ने काम पनि गर्छन् । 

ईन्टरनेट ठगीबाट कसरी बच्ने ?

त्यसो भए ईन्टरनेट ठगीबाट कसरी बच्ने त ? भन्ने प्रश्न तपाईँको दिमागमा आइरहेको होला । कस्ता-कस्ता ठूला र प्रख्यात कम्पनीहरू त यस्ता ठगहरूबाट बच्न नसकेको समयमा तपाईँहामी जस्ता झिनामसिना मानिसहरू बचौँला र ? जस्तो तपाईँलाई लाग्ला ।

ईन्टरनेटमा ठगी र आक्रमण जुनसुकै बेलामा पनि हुन सक्छ । हुन त ईन्टरनेटमा सुरक्षाको लागी भनेर दशौँ अर्ब डलर वर्षेनी खन्याइएको छ तर सामान्य मानिसहरूले ती सुरक्षा प्याकेजहरू खरिद गर्न सक्दैनन् ।

तैपनि तपाईँले आफूलाई बचाउन धेरै थोक गर्न सक्नुहुन्छ । छोटकरीमा भन्दा माथि अघि चर्चा गरेका कुराहरूबाट बच्ने नै राम्रो निर्णय हो । तल उल्लेख गरिएका उपायहरू अपनाउनु तपाईँको हितमा छ ।

सेक्युरिटि सफ्टवेयरहरू प्रयोग गर्ने

तपाईँको मोबाइल वा कम्प्युटर सुरक्षित राख्नको लागी विभिन्न सफ्टवेयरहरू हुन्छन् । जस्तै एन्टिभाइरस सफ्टवेयरहरू, फायरवाल इत्यादी । तिनीहरूको प्रयोगले धेरै हदसम्म तपाईँ अनलाईन आक्रमणहरूबाट बच्न सक्नुहुन्छ । 

डिभाइस अपडेट गर्ने

तपाईँको मोबाइल वा कम्प्युटरले भाइरस वा म्यालवेयरहरूबाट बच्न र अझ सुरक्षित हुनको लागी पनि नयाँ-नयाँ अपडेट गरिरहेका हुन्छन् । त्यो थाहा पाउने बित्तिकै अपरेटिङ् सिस्टम अपडेट गर्नु राम्रो मानिन्छ ।

अपरेटिङ् सिस्टममै बलिया फायरवाल र एन्टिभाइरस सफ्टवेयरहरू हुने र सिस्टम अपडेट हुँदा तिनीहरू पनि समयानुकुल अपडेट हुने भएकाले यो उपाय ज्यादै सुरक्षित हुन्छ । 

तपाईँले त्यसको लागी आफै डिभाइस स्वत: अपडेट (automatic update) हुने गरि सेटिङमा मिलाउन पनि सक्नुहुन्छ । 

मल्टिफ्याक्टर अथेन्टिकेशन (Multi-factor Authentication) प्रयोग गर्ने

आफ्नो अकाउण्टहरू खोल्दा अतिरिक्त सुरक्षा दिन एकभन्दा बढी पासवर्ड वा कोड वा फिङ्गरप्रिन्ट माग्ने व्यवस्थालाई मल्टिफ्याक्टर अथेन्टिकेशन भनिन्छ । 

यस्तो व्यवस्था प्रयोग गर्दा ह्याकर वा ठगहरूले तपाईँको युजरनेम त के, पासवर्ड नै थाहा पाए नि अकाउण्ट खोल्न सक्दैनन् । विशेष गरेर निकै संवेदनशील अकाउण्टहरूमा तपाईँले यो व्यवस्थाको उपयोग गर्न सक्नुहुन्छ । 

डेटा ब्याकअप गर्ने

मोबाइल वा कम्प्युटरका डेटा ब्याकअप गर्न कुनै बाह्य डिभाइस, जस्तै पोर्टेबल हार्डड्राइभ प्रयोग गर्ने । वा क्लाउड वा गुगल ड्राइभ वा अन्य यस्तै सेवाहरू प्रयोग गर्ने ।

अनावश्यक कल वा मेसेज ब्लक गरिदिने

चिन्नु न जान्नुका मानिसहरूले पत्याउनै नसकिने वा अलिअलि पत्याउने खालका फाइदाकारी कुरा गर्दै मेसेज वा कलहरू गर्न थाले भने तिनलाई ब्लक गरिदिए हुन्छ । 

संसार स्वार्थी छ । तपाईँले अरूलाई केही फाईदा हुने काम नगरि कसैले पनि तपाईँलाई फाईदा पुर्याउने काम गर्दैन । मालामाल पैसा दिने त पर को कुरो । 

आफ्ना गोप्य कुराहरू कसैलाई पनि नदिने

तपाईँलाई अनलाईनमार्फत् आफ्ना व्यक्तिगत तथा व्यावसायिक विवरणहरू माग्नेहरूसँग सधैँ सतर्क रहनुस् । तपाईँ आफैलाई समस्या नपरिकन र तपाईँ आफैले सहयोग नमागिकन आधिकारिक निकायहरूले समेत तपाईँका विवरणहरू माग्दैनन् भने चिन्नु न जान्नुका मान्छेहरूलाई किन चाहिएको हो ? यो कुरा सधैँ सोच्नुस् । 

कसैले ईमेल वा कलमार्फत् कुनै आधिकारिक निकाय (जस्तै ब्याङ्क) बाट कल गरेर माग्यो भने पनि पहिले तिनीहरूको आधिकारिक नम्बर हो हैन, त्यो हेरेर वा धेरै शंका गरिवरि मात्र चाहिने जति मात्र सूचना दिनुस् । पासवर्ड, कोड इत्यादीचाहीँ त्यो अवस्थामा पनि नदिनुस् । 

अपरिचितहरूको विश्वास वा दबाबबाट टाढै बस्नुस् 

अपरिचितहरूलाई हत्तपत्त कहिल्यै विश्वास नगर्नुस् । तिनले दबाब दिए तिनलाई ब्लक गर्ने, रिपोर्ट गर्ने, सकिन्छ भने प्रहरीलाई फोन गर्ने र सकेसम्म तिनीहरूबाट परै बस्ने गर्नुस् । 

तिनले यो वा त्यो माध्यममार्फत् पैसा पठाउन अनुरोध गरे तिनको विवरणहरू टिपेर राख्नुस् र प्रहरीलाई खबर गर्नुस् वा पठाउँला भनेर पछि मतलबै नगर्नुस् ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.