गत हप्ता मात्रै मेटाले थ्रेड्स अ्याप ल्याएपछि यसले प्रविधि जगतमा एकखालको सनसनी मच्चाएको छ र यसलाई ट्विटरको बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको छ । थ्रेड्सले छोटो समयमै करोडौँ प्रयोगकर्ता कमाएर रेकर्ड राख्न पनि सफल भएको थियो ।
थ्रेड्सले छोटो समयमै यति धेरै प्रयोगकर्ता पाउनुको मुख्य कारण भनेको यो इन्स्टाग्रामको अकाउण्टसँग समायोजन गरिएको छ । इन्स्टाग्रामका प्रयोगकर्ताको सङ्ख्या २ अर्ब छ र त्यसको अकाउण्ट भएका जो कसैले सजिलै थ्रेड्सको अकाउण्ट खोल्न सक्छन् ।
थ्रेड्स अकाउण्ट खोल्नुभएको छैन र कसरि प्रयोग गर्ने भनेर जान्न चाहनुहुन्छ भने हामीले थ्रेड्स कसरि प्रयोग गर्ने ? भनेर छुट्टै भिडियो बनाएका छौँ ।
त्यति मात्रै हैन, इन्स्टाग्राममा भएकै युजरनेम, प्रोफाइल पिक्चर, फलोवरहरू इत्यादि थ्रेड्समा पनि कायम राख्न सकिन्छ यदि तपाईँले त्यो छनौट गर्नुभयो भने । स्वभाविक रूपमा प्रायले त्यहि छनौट गर्छन् ।
बेक्कारमा किन फेरी फलोवर बढाउन अर्को मेहनत गरिरहने यदि तपाईँसँग पहिल्यै टन्नै फलोवरहरू छन् भने ?! खासमा यो मेटाको पुरानै रणनीति हो । टिकटकलाई टक्कर दिन मेटाले बनाएको रिल्स अ्याप पनि यसैगरि इन्स्टाग्रामसँग समायोजन गरिएको थियो ।
यद्यपी थ्रेड्स चाहिँ छुट्टै प्ल्याटफर्म जुन तपाईँले छुट्टै डाउनलोड गर्नुपर्छ; रिल्स जस्तो इन्स्टाग्राम भित्रै प्रयोग गर्न पाइने हैन । तर थ्रेड्सको अकाउण्ट खोल्नको लागी तपाईँको इन्स्टाग्राम अकाउण्ट हुनै पर्छ ।
थ्रेड्स खोल्नको लागी इन्स्टाग्रामकै अकाउण्टबाट मात्रै मिल्ने रणनीति मार्क जकरबर्गले ल्याउनु भनेकै प्रयोगकर्ता बढाउनको लागी हो भनेर माथि नै भनिसकियो ।
त्यति मात्रै हैन, यदि तपाईँले थ्रेड्स अकाउण्ट डिलिट गर्न चाहनुभयो भने यो मात्रै डिलिट गर्न सकिदैन; इन्स्टाग्रामको अकाउण्ट समेत डिलिट गर्नुपर्ने हुन्छ । अर्थात् इन्स्टाग्रामको माया मार्न नसक्नेले थ्रेड्सलाई मात्रै छाड्न सक्दैनन् ।
तर यति भन्दैमा खाने मुखलाई जुँगाले छेक्दैन । यदि तपाईँलाई थ्रेड्सबाट पर बस्नु छ भने पनि केहि उपायहरू छन् जुन अवलम्बन गर्न सजिलो छ ।
यसै पनि सामाजिक सञ्जालले पार्ने मानसिक समस्याहरूको बारेमा व्यापक बहस हुने गरेको छ, त्यसमाथि यसरी प्रयोगकर्तालाई कुनै एउटा अ्याप नचलाए अर्को पनि चलाउन नदिने जस्तो बाध्यकारी व्यवस्था गर्नु नैतिक रूपमा खासै राम्रो हैन, व्यावसायिक रूपमा राम्रो भएतापनि ।
यो पनि पढ्नुहोस्: फोन चलाउने लत कसरी कम गर्ने ? यस्तो छ मनोबैज्ञानिक रहस्य!
यद्यपी एउटा खुशीको कुरा छ कि इन्स्टाग्रामका सिईओ अ्याडम मोसेरिले इन्स्टाग्रामको अकाउण्ट डिलिट नगरिकनै थ्रेड्सको अकाउण्ट डिलिट गर्न सकिने व्यवस्था ल्याउने बारे विचार गरिरहेको बताएका छन् ।
इन्स्टाग्राम राखिरहेरै थ्रेड्स कसरि “डिलिट” गर्ने त ?
इन्स्टाग्रामका सिईओले जे बताएतापनि निकट भविष्यमै थ्रेड्सको अकाउण्ट छुट्टै डाउनलोड गर्ने व्यवस्था मेटाले ल्याउला भनेर पत्याउन सकिन्न । कम्तीमा ट्विटरका प्रयोगकर्ताको सङख्या नकटेसम्म ।
मेटाले थ्रेड्सलाई अ्याक्टिभिटिपबमा जोडेर यसको अकाउण्ट नै नभएकाहरूले पनि चलाउन मिल्ने वा यसमा संवाद गर्न सकिने व्यवस्था गर्न लागेको छ । अर्थात् मेटाले थ्रेड्सका प्रयोगकर्ताको सङ्ख्या अरबौँ पुग्ने अपेक्षा गरेको ठान्न सकिन्छ।
त्यसो भए थ्रेड्स “डिलिट” कसरि गर्ने त ?
थ्रेड्सलाई डिअ्याक्टिभेट गर्नुस् । तपाईँका धेरै “समस्या” समाधान हुन्छन्। तर त्यो गर्नुभन्दा अगाडी तपाईँका जति पनि पोष्टहरू छन्, ती सबलाई डिलिट गर्नुभयो भने झनै राम्रो । यसले कम्तीमा डिलिट नै गरेको भान तपाईँलाई गराउँछ ।
थ्रेड्सलाई डिअ्याक्टिभेट गर्नको लागी तपाईँले यसको तलपट्टिको दायाँ कुनामा रहेको प्रोफाइल आइकनमा ट्याप गर्नुस् । त्यसपछि दुईटा धर्कोमा ट्याप गरेर Account छान्नुस् र Deactivate profile ट्याप गर्नुस् । त्यसपछि Deactivate Threads Profile मा ट्याप गरेर Confirm गर्नुस् । तपाईँको थ्रेड्स अकाउण्ट डिअ्याक्टिभेट हुन्छ ।
भन्नुपर्दैन होला कि डिअ्याक्टिभेट गरेपछि तपाईँको प्रोफाइल, पोष्ट, कमेन्ट, लाइक, रियाक्शन लगायत सबै हराउँछ भनेर । यद्यपी रिअ्याक्टिभेट गरेपछि भने सबै फेरी देखिन्छ । त्यसकारण डिअ्याक्टिभेट भनेको अस्थायी उपाय मात्रै हो ।
अर्को ध्यान दिनुपर्ने कुरा के भन्दा थ्रेड्स डिअ्याक्टिभेट गर्दैमा तपाईँको इन्स्टाग्राम पनि डिअ्याक्टिभेट चाहिँ हुँदैन । तर इन्स्टाग्राम डिअ्याक्टिभेट गर्नुभयो भने चाहिँ थ्रेड्स पनि डिअ्याक्टिभेट हुन्छ ।
यस्तो व्यवस्थाले थप अर्को सामाजिक सञ्जालमा मानिसको लत बढाउने काम पनि गर्छ भनेर मान्न सकिन्छ । तर यसको पनि अर्को “समाधान” छ ।
थ्रेड्स खोल्नको लागी अहिले भैरहेको इन्स्टाग्राम अकाउण्टको प्रयोग गर्नुको साटो अर्कै नयाँ अकाउण्ट खोल्ने केबल थ्रेड्सको लागी मात्रै भनेर; इन्स्टाग्राम त्योबाट चलाउँदै नचलाउने ।
यो उपाय अवलम्बन गर्दा कम्तीमा तपाईँको मनमा थ्रेड्स र इन्स्टाग्रामको अकाउण्ट छुट्टाछुट्टै छ भन्ने भान पर्छ र नचाहिएको खण्डमा सजिलै थ्रेड्स डिलिट नै गर्न सकिन्छ नयाँ नचलाइएको इन्स्टाग्राम सजिलै डिलिट गरेर ।
त्यसकारण मेटाले प्राविधिक रूपमा इन्स्टाग्राम अकाउण्ट डिलिट नगरिकनै थ्रेड्स अकाउण्ट डिलिट गर्ने सुविधा नदिए पनि तपाईँले मनोवैज्ञानिक रूपमा भए पनि यसलाई डिलिट गर्न सक्नुहुन्छ ।