एउटै स्पेक भएको डेस्कटप र ल्यापटप कम्प्युटरमा कुन राम्रो ?

desktop-and-laptop-computer

“एउटै स्पेसिफिकेसन भएको ल्यापटप र डेस्कटप कम्प्युटरमा कुन राम्रो होला ?”। यो प्रश्न हरेक कम्प्युटर युजरहरुको मनमा एक न एक पटक पक्कै आएको होला।

उस्तै स्पेसिफिकेसन भएको ल्यापटप र कम्प्युटर छ, त्यसमाथि ल्यापटपलाई आफूसँगै जतै पनि लग्न मिल्छ। धेरैको मनमा उत्तर “ल्यापटप” होला। या धेरैलाई उस्तै नै हो भनेर लाग्ला तर वास्तविकता यो हैन।

जान्दा अचम्म लाग्न सक्छ तर प्राय हरेक क्षेत्रमा डेस्कटप कम्प्युटरले ल्यापटपलाई माथ दिएको हुन्छ। हो, तपाईंहरुले सहि सुन्नु भयो। एउटै स्पेसिफिकेसन भएको डेस्कटप र ल्यापटप कम्प्युटरमा तुलना गर्दा ल्यापटप भन्दा डेस्कटप कम्प्युटर नै राम्रो हुन्छ।

कुन क्षेत्रमा ल्यापटपभन्दा डेस्कटप कम्प्युटर राम्रो हुन्छ?

माथि लेखिए अनुसार एउटै स्पेसिफिकेसन छ भने तुलनात्मक रुपमा डेस्कटप कम्प्युटर नै राम्रो हुन्छ। निम्नलिखित क्षेत्रहरुमा एउटै स्पेसिफिकेसन भएको डेस्कटप कम्प्युटरले ल्यापटपलाई माथ गर्छ।

मूल्य (Cost)

दुवैको उस्तै पर्फमेन्स छ भने तापनि डेस्कटप कम्प्युटर ल्यापटपको तुलनामा जहिल्यै सस्तो हुन्छ। ल्यापटप डेस्कटप कम्प्युटरभन्दा महँगो हुनुको कारण भनेको यसमा समावेश हुने सानो हार्डवेयर पार्ट्सहरुले गरेर हो। उस्तै पर्फमेन्स दिने ल्यापटप र डेस्कटप कम्प्युटरमा ल्यापटप बढी महँगो हुन्छ।

ल्यापटप सानो हुने हुँदा सानै साइजको हार्डवेयर यसमा समावेश गर्नुपर्ने हुन्छ। पर्फमेन्स यथावत राखेर सानो हार्डवेयर बनाउनलाई यसको प्रोडक्सनमा उति नै धेरै खर्च बढ्छ। यसकारण ल्यापटपको मुल्य अन्त्यमा महँगो पर्न जान्छ।

यी दुई बिचको पैसाको फरक हेर्ने हो भने डेस्कटप कम्प्युटर खरीद गर्दा बचत भएको पैसाले अन्य केहि आवश्यक कुराहरु खरिद गर्न सकिन्छ।   

सेक्युरिटि (Security)

सेक्युरिटिको लागि ल्यापटप भन्दा डेस्कटप कम्प्युटर नै राम्रो हुन्छ। सेक्युरिटि यस अर्थ कि डेस्कटप कम्प्युटर यसको ठूलो साइजको कारण चोरी गर्न गार्हो हुन्छ। अर्को तिर ल्यापटपको सानो साइज र कम वजनको कारणले यसको हराउने सम्भावना बढी हुन्छ। 

यस बाहेक ल्यापटप पोर्टेबल भएको कारणले आफूसँगै जता पनि लग्न सक्ने हुनाले यो बिर्सिएर कतै गएर छोड्न पनि सकिन्छ। यस आधारमा सेक्युरिटिको आधारमा ल्यापटप भन्दा डेस्कटप कम्प्युटर नै बढी सुरक्षित हुन्छ।

अपग्रेड (Upgrade)

ल्यापटपकाे सानो साइजको कारणले यसमा साना साइजका हार्डवेयर कम्पोनेन्टहरु समावेश गरिएका हुन्छन्। डेस्कटप कम्प्युटरमा हेर्ने हो भने हार्डवेयरहरुको लागि प्रशस्त स्पेश रहेको हुन्छ र यसलाई अपग्रेड गर्न निकै सजिलो हुन्छ।

अर्को तिर डेस्कटप कम्प्युटरमा प्राय सबै पार्टहरु निकाल्न मिल्ने किसिमले तयार पारिएको हुन्छ। यसले गर्दा डेस्कटप कम्प्युटरमा प्राय जुनै पार्टहरुपनि अपग्रेड गर्न सकिन्छ। यसको तुलनामा ल्यापटपमा सिमित भएर मात्र हार्डवेयर पार्टहरु हटाउन सकिन्छ। 

प्राय मेमोरी, हार्ड ड्राइभ र थप केहि पार्टहरु गरी सिमित कम्पोनेन्टहरु मात्र ल्यापटपमा हटाउन सकिन्छ। अन्य पार्टहरु या त बिल्ट-इन हुन्छन् र हटाउन मिल्दैन, या ल्यापटप अन्य पार्टहरु अपग्रेड गर्न नमिल्ने किसिमले निर्मित भएको हुन्छ।

यसो हुँदा धेरै हार्डवेयर पार्टहरु अपग्रेड र सरल तरिकामा हार्डवेयर पार्टको अपग्रेडका लागि डेस्कटप कम्प्युटर नै ल्यापटप भन्दा राम्रो ठहरिन्छ। 

मर्मत (Repair)

मेसिनेरी सामान भएको कारण कहिले कुन पार्ट बिग्रिन्छ भन्ने कुराको ठेगान हुँदैन। सामान बिग्रिएपछि मर्मत गर्ने खण्डमा ल्यापटपको तुलनामा डेस्कटप कम्प्युटरमा नै मर्मत सजिलो हुन्छ।

पहिलो कुरा भनेको सिमित टेक्निकल ज्ञान हुँदा पनि डेस्कटप कम्प्युटरको केहि पार्ट मर्मत गर्न सकिन्छ। तर यो कुरा ल्यापटपको लागि लागु हुँदैन। ल्यापटप कम्प्याक्ट रुपमा साना हार्डवेयर पार्टहरु समावेश गरिएको हुँदा यसलाई मर्मत गर्न टेक्निकल ज्ञान भएको व्यक्तिको आवश्यक पर्छ।

दोस्रो कुरा भनेको सामानको उपलब्धता हो। डेस्कटप कम्प्युटरको लागि बजारमा प्राय सामानहरु भेटिन गार्हो पर्दैन तर ल्यापटपको लागि यसो नहुन सक्छ। ल्यापटपको लागि म्यानुफ्याकचरलाई नै सामानको लागि कन्ट्याक्ट गर्नुपर्ने पनि हुन सक्छ।

थप कम्पोनेन्टहरुको जडान (Adding Extra Components)

ल्यापटप भन्दा डेस्कटप कम्प्युटरमा धेरै पोर्टहरु हुने गरेको कुरामा त हामी अवगत नै छौँ। धेरै पोर्टहरुको भएको कारणले यसमा धेरै पेरिफेरल (peripherals) अर्थात् बाहिरी कम्पोनेन्टहरु जडान गर्न सकिन्छ। यदि कुनै पोर्ट छैन भने डेस्कटप कम्प्युटरमा पोर्ट थप्न पनि सकिन्छ।

ल्यापटपको कुरा गर्ने हो भने ल्यापटपमा यो सम्भव हुँदैन। नयाँ ल्यापटपहरुमा पहिला भन्दा पनि थोरै पोर्टहरु प्रदान गरिन्छ भने यसमा स्पेसको कमीले गरेर नयाँ पोर्ट पनि थप्न सकिँदैन। 

यो त भयो बाहिरी कम्पोनेन्टहरुको कुरा। भित्रि कम्पोनेन्टहरु थप्न पनि डेस्कटप कम्पोनेन्टमा नै सरल हुन्छ। डेस्कटप कम्प्युटरमा भित्रि कम्पोनेन्टहरु थप्नलाई स्पेस उपलब्ध रहेको हुन्छ जसकारण कुनै भित्रि कम्पोनेन्ट जडान गर्नलाई डेस्कटप कम्प्युटरमा गार्हो हुँदैन। ल्यापटपमा भित्रि कम्पोनेन्ट थप्न स्पेस बाँकी हुँदैन जसकारण कुनै भित्रि कम्पोनेन्टहरु थप्न सकिँदैन।

स्क्रिन साइज (Screen Size)

स्क्रिन साइजको कुरा गर्ने हो भने ल्यापटप भन्दा डेस्कटप कम्प्युटरमा नै स्क्रिन सइज ठूलो हुने गर्छ। ल्यापटपको स्क्रिन साइज समय यता बढ्दै गएको छ। हाल १७ इन्चको ल्यापटप स्क्रिन साइज साधारण बनेको छ। तर डेस्कटपको स्क्रिन साइजसँग तुलना गर्ने हो भने यो अझै सानो ठहरिन्छ।

डेस्क्टप कम्प्युटरहरुको स्क्रिन साइज प्राय १९ या २० इन्चदेखि सुरु हुन्छ। नयाँ डेस्कटपहरु झन् ठूलो स्क्रिन साइजका साथ उपलब्ध हुने गरेका छन्। एकै नासको मुल्यमा तुलना गर्ने हो भने डेस्कटप कम्प्युटरमा तपाईंहरुले ठुलो स्क्रिन साइज भेट्नुहुनेछ।

कस्तो क्षेत्रमा डेसक्टप कम्प्युटरभन्दा ल्यापटप राम्रो हुन्छ ?

सबै क्षेत्रमा डेस्कटप कम्प्युटर नै राम्रो छ भन्ने हैन। निम्नलिखित कुराहरुमा डेस्कटप कम्प्युटर भन्दा ल्यापटप राम्रो हुन्छ।

पोर्टेबिलिटि (Portability)

यो एउटा महत्त्वपूर्ण क्षेत्र हो जहाँ ल्यापटपले डेस्कटप कम्प्युटरलाई माथ गर्छ। सामान्य गरी बुझ्ने हो भने पोर्टेबिलिटि भनेको कुनै सामानलाई एक ठाउँबाट अर्को ठाउँमा सजिलोसँग बोकेर लैजान सक्नु हो। 

ल्यापटपलाई हामी जहाँ हिँड्दा पनि आफूसँगै एउटा ब्याग या सुटकेसमा हाली सरल तरिकामा लैजान सक्छौँ। तर डेस्कटप कम्प्युटरको कुरा गर्ने हो भने यो सम्बभ छैन। सेटअप भएपछि यो एक ठाउँबाट अर्को ठाउँमा सार्न गार्हो हुन्छ र यसको ठूलो साइज र वजनले यो सम्भव पनि हुँदैन। 

पावर आवश्यकता (Power Requirement)

ल्यापटप र कम्प्युटर दुवै इलेक्ट्रिकल मेसिनहरु भएका हुनाले यसकाे कम्पोनेन्टहरु चल्न इलेक्ट्रिक पावरको आवश्यकता पर्छ। 

डेस्क्टप कम्प्युटरको तुलनामा ल्यापटपको सानो साइजको कारणले यसमा हार्डवेयर पार्टहरु पनि सानाे हुने गरेका छन्। यी साना कम्पोनेन्टहरुले त्यति धेरै पावर खपत गर्दैनन्। अर्को तिर डेस्कटप कम्प्युटरले धेरै पावर खपत गर्ने गर्दछ।

ल्यापटपलाई सामान्यतया १५ वाट देखि ६० वाटको पावर खपत गर्छ भने डेस्कटप कम्प्युटरले ६० वाट देखि २५० वाट सम्म पनि पावर खपत गर्ने गर्दछ।   

ब्याट्रि ब्याकप (Battery Backup)

यो अर्को क्षेत्र हो जहाँ ल्यापटपले डेस्कटप कम्प्युटरलाई माथ गर्छ। डेस्कटप कम्प्युटर पुरा इलेक्ट्रिक पावरमा मात्र भर पर्ने हुनाले यसमा इलेक्ट्रिकल पावर हराउने बित्तिकै कम्प्युटर अफ हुन्छ। अर्थात बत्ति भएन भने डेस्कटप कम्प्युटर प्रयोग गर्न सकिन्न। डेस्कटपमा केहि काम गर्दा गर्दै बिचमा बत्ति गयो भने त्यो काम रद्द पनि हुन सक्छ।  

अर्को तिर ल्यापटपमा ब्याट्रि समावेश हुने हुनाले यसले बत्ति नहुँदा पनि यसको ब्याट्रिमा बाँकी रहेको चार्जको ब्याकपमा काम गर्छ। यसमा कुनै काम या टास्क हराउने चिन्ता हुँदैन।  

सेटप (Setup)

यो महत्त्वपूर्ण क्षेत्र नभएतापनि छाड्न मिल्ने कुरा पनि हैन। डेस्कटप कम्प्युटर खरीद गरेर ल्याए पछि यसलाई चलाउन थालौँ भन्दा सकिँदैन। यसलाई सेटप गर्न केहि समय लाग्छ नै।

तर ल्यापटपको लागि केही बाहिरी सेटप मिलाउनु पर्दैन। ल्यापटप खरीद गरेर ल्याउने बित्तिकै चलाउन सक्नुहुन्छ।

डिभाइस सेटपमा पनि ल्यापटपले नै अग्रता लिन्छ।

अन्त्यमा, 

एउटै स्पेकको लागि सबै क्षेत्रहरुबाट विचार गर्दा ल्यापटप भन्दा डेस्कटप नै राम्रो हुन्छ। तर यो भन्दैमा ल्यापटप नराम्रो हुने हैन। आफ्नो कामको लागि उपयुक्त हुने गरी ल्यापटप र डेस्कटपमा जुनै पनि खरीद गर्न सक्नुहुन्छ।

यदि तपाईँहरुलाई हिँडिरहने काम पर्छ भने ल्यापटप अवश्य तपाईँहरुको लागि राम्रो रोजाइ हुनेछ। हैन, बाहिर लग्नुपर्ने काम पर्दैन, घरमा नै बसेर काम गर्नुहुन्छ भने सबै कुरा विचार गर्दा डेस्कटप कम्प्युटर नै राम्रो रोजाइ हुनेछ।

एकै मूल्य भएको ल्यापटप र डेस्कटप विचार गर्नुहुन्छ भने तपाईंहरुले सोही मूल्यमा ल्यापटप भन्दा अझै राम्रो र पावरफूल पर्फमेन्स भएको डेस्कटप कम्प्युटर पाउनु हुनेछ। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.