घरमै बसेर इन्टरनेट र सीप छ भने कस्ता-कस्ता कामबाट पैसा कमाउन सकिन्छ ?

Earn Money Online

इन्टरनेटको जमानामा काम गर्ने तरिकाहरू पनि तीव्र रूपमा परिवर्तन भइरहेको छ । आजकाल धेरैभन्दा धेरै मानिसहरू घरमै बसेर इन्टरनेट र आफूसँग भएका सीपहरू प्रयोग गरेर पैसा कमाइरहेका छन् ।

कोरोना आउनुभन्दा धेरै अगाडीदेखि नै मानिसहरू घरबाटै बसीबसी आफ्नो सीपको भरपूर प्रयोग गरेर मनग्य पैसा कमाउँदै आइरहेका थिए र छन् । 

आज हामी तपाईँहरूलाई त्यस्ता कामहरूबारे बताउँदैछौँ जुन तपाईँले पनि घरैमा बसीबसी गर्न सक्नुहुन्छ । तपाईँमा के सीप छ? त्यो पहिचान गरेर तल उल्लिखित कामहरूमध्य कुनै काम गर्नुस् ।

यि कामहरू मध्य थुप्रै कामहरुमा त तपाईँ आफ्नो मालिक आफै बन्न सक्नुहुन्छ । कसैलाई जवाफ दिइरहनु पनि पर्दैन, कसैसँग डील गरिरहनु पनि पर्दैन । ट्याक्क भनेको बेलामा उपस्थित हुनु पनि पर्दैन । 

आफूलाई मन परेको काम, आफूखुशी जहाँ गएर पनि गर्न सक्नुहुन्छ । सिर्फ तपाईँसँग इन्टरनेट हुनुपर्यो । र कुनै सीप । 

आउनुस् ती कामहरूबारे केही चर्चा गरौँ ।

डिजिटल क्रिएटर

टिकटकमार्फत् पैसा कमाउन सकिन्छ भन्ने कुरा त आजकाल बच्चादेखि बुढासम्म सबैलाई थाहा भैसकेको छ । तर टिकटकबाट मात्र हैन, फेसबुकले पनि तपाईँलाई पैसा कमाउने बाटो खोलेको धेरै भैसकेको छ । फेसबुकमा तपाईँ प्रोफेशनल मोडमा गएर पैसा कमाउन सक्नुहुन्छ ।

तर यसरी पैसा कमाउनको लागी तपाईँमा केही सीपहरू चाहीँ हुनु पर्छ । ती सीपहरू भनेको तत्तत् सामाजिक सञ्जालमा तिनको नीतिनियमहरू नमिचिकन जसरी हुन्छ बढीभन्दा बढी दर्शकहरू बटुल्ने, फलोवर बढाउने, तिनीहरूलाई आफ्ना भिडियो वा कन्टेन्ट हेर्न मन लाग्ने पार्ने इत्यादी नै हुन् ।

त्यो गर्दा कतिपयले सामाजिक मर्यादाको पालना गर्दैनन् जुन खासै राम्रो चाहीँ मानिदैन । पैसा कमाए नि इज्जत गुमाइन्छ । 

सकेसम्म मानिसहरूलाई कुनै मद्दत हुने खालको कुनै कन्टेन्ट बनाउँदा राम्रो हुन्छ । त्यस्तो गर्दा तपाईँको गुडविल पनि बढ्छ र लामो समयसम्म तपाईँ व्यवसायिक रूपमा अघि बढ्न सक्नुहुन्छ । 

फेसबुक, टिकटक, युट्युब त चर्चित सञ्जालहरू मात्र हुन् । अरू थुप्रै प्ल्याटफर्महरू छन् जसमार्फत् तपाईँले डिजिटल क्रिएटर भएर घरमै बसीबसी आफ्ना सीपहरू भएका कन्टेन्टहरू अपलोड गरी विज्ञापनमार्फत् मालामाल पैसा कमाउन सक्नुहुन्छ ।

लेखक/कन्टेन्ट राइटर/ब्लगर

घरमै बसीबसी लेखेर पैसा कमाउने काम धेरै नै पुरानो पेशा हो । पहिले लेखकहरूले अखबारहरूमा लेख्थे । अहिले वेबसाइट र ब्लगहरू वा अनलाइन समाचारपत्रहरूमा लेख्ने गर्छन् ।

विभिन्न कम्पनीहरूले पनि घरबाटै काम गर्ने सुविधा कन्टेन्ट राइटरहरूलाई दिएको छ । तीमध्य कतिपय कम्पनीले मनिटरिङ् सफ्टवेयर राखेर निश्चित समयभित्रै काम गर्नुपर्ने सर्त राखेका हुन्छन् भने कतिपयले राइटरलाई जुनसुकै समयमा लेखे पनि हुने सुविधा दिएका हुन्छन् ।

तर यदी तपाईँलाई अरू कम्पनी वा अर्काको वेबसाइटमा लेखिरहन मन छैन, आफ्नो मर्जीले आफ्नै प्रतिभा र सीपहरू देखाउन मन छ र लगातार लेखिरहन सक्ने खुबी छ भने आफैले ब्लग लेखेर पैसा कमाउन पनि सक्नुहुन्छ । 

त्यसको लागी तपाईँले आफै ब्लग बनाउनु पर्छ । र तपाईँको ब्लगले धेरैभन्दा धेरै मान्छेलाई सहयोग गर्ने खालको कन्टेन्ट दिन सक्नुपर्छ । धेरैभन्दा धेरै मानिसहरूलाई आफ्नो लेखनले तानेर राखिरहन सक्ने खुबी चाहिन्छ । 

तपाईँ अङ्ग्रेजीमा पनि दख्खल राख्नुहुन्छ भने झन् राम्रो । किनकी नेपालीमा लेख्दा पैसा कम आउँछ तर अङ्ग्रेजीमा लेख्दा अङ्ग्रेजीभाषी देशका मान्छेले पनि हेर्ने हुँदा विज्ञापनको पैसा डलरमा आउँदा आम्दानी धेरै हुन्छ । 

सोसल मिडिया म्यानेजर

यदी तपाईँमा विभिन्न समाजिक सञ्जालहरू जस्तै फेसबुक, टिकटक, ट्विटर, इन्स्टग्राम, युट्युब इत्यादी चलाएको राम्रो अनुभव छ र तिनलाई व्यावसायिक हिसाबले व्यवस्थापन गर्न सक्नुहुन्छ भने सोसल मिडिया म्यानेजरको काम घरबाटै गर्न सक्नुहुन्छ ।

यो पदको लागी थुप्रै कम्पनीहरूले घरबाटै काम गर्ने सुविधा दिएका हुन्छन् । ती कम्पनीहरूको स्वार्थ र नीति अनुसारका कन्टेन्टहरूको सामाजिक सञ्जालमा व्यवसायिक तरिकाले प्रस्तुत गर्नु यो पदको प्रमूख जिम्मेवारी हो ।

कल सेन्टर 

तपाईँको बोली मीठो छ र बोलेरै मान्छेहरूलाई कुनै कम्पनीको सेवा लिन लालायित पार्न सक्नुहुन्छ भने विभिन्न कम्पनीहरूले यो काम पनि घरबाटै गर्न मिल्ने सुविधा दिएका हुन्छन् । 

कल सेन्टरसम्बन्धी कामहरूमा सुरूवाती चरणका कामहरूदेखि यसको प्रतिनिधि भएर पनि काम गर्न सक्नुहुन्छ । सेवामूलक कम्पनीहरू जस्तै टिभी नेटवर्क, इन्टरनेट कम्पनी, टेलिकम नेटवर्क इत्यादीहरूमा यस्तो काम निकै महत्वपूर्ण हुन्छ । 

कस्टोमर सर्भिस प्रतिनिधि

कुनै कम्पनीहरूको सेवा वा सामानहरूको बारेमा उपभोक्ताहरूमा अनेक खाले जिज्ञासाहरू र गुनासाहरू हुन्छन् । 

तिनको समस्या समाधान गर्नको लागी तिनले कम्पनीमा कि त कल गर्छन् कि त सामाजिक सञ्जाल वा वेबसाइट वा यापमार्फत् प्रश्न सोध्छन् । ती प्रश्नको जवाफ जुनसुकै माध्यममार्फत् दिन र उपभोक्ताहरूलाई खुशी पारेर राखिरहन सक्नुहुन्छ भने यो काम तपाईँले गर्न सक्नुहुन्छ ।

नेपाली कम्पनीहरूले त यो सुविधा घरबाटै प्रदान गर्ने भैहाले, तपाईँ विदेशी भाषामा पनि उत्कृष्ट हुनुहुन्छ भने विदेशी कम्पनीहरुले नेपालीलाई समेत यो काम निश्चित समयभित्र अनलाइन हुनुपर्ने सर्तमा दिएका हुन्छन् । 

डेटा एन्ट्री

प्रशासनिक सेवाहरूमा spreadsheet हरूमा डेटा भर्नुपर्ने, सूचनाहरू अरू कम्प्युटरमा पठाउनुपर्ने जस्ता सामान्य कामहरू यसमा पर्छन् । सामान्य कम्प्युटर चलाउन जान्नेले पनि यो गर्न सक्छ ।

अनुवादक

यदी तपाईँ एउटा भाषामा लेखिएका वा बोलिएका कुराहरूलाई अर्को भाषामा अनुवाद गर्न सक्नुहुन्छ भने विभिन्न फ्रिल्यान्स कामहरू दिने फाइभरजस्ता प्ल्याटफर्महरूले यस्तो काम पाउने सहजता प्रदान गरिरहेका छन् । 

फोटो/भिडियो एडिटर

फोटो वा भिडियो एडिट गर्ने सीप राम्रो छ भने यो काम घरमै बसीबसी गर्न सकिन्छ । विभिन्न फ्रिल्यान्स प्ल्याटफर्ममार्फत् क्लाइन्टहरू पाउन सकिन्छ । विदेशका क्लाइन्टहरू पाउनुभयो भने झन् धेरै आम्दानी गर्न सकिन्छ । 

ग्राफिक्स डिजाइनर

ग्राफिक्स डिजाइनिङ् र यससम्बन्धी टूलहरूमा तपाईँ राम्रो दख्खल राख्नुहुन्छ भने थुप्रै कम्पनीहरूले यो काम पनि घरमै बसीबसी गर्न मिल्ने सुविधा दिएका छन् । वा तपाईँले यो काम फ्रिल्यान्सिङ् पनि गर्न मिल्छ । 

अनलाइन ट्युटर

अनलाइन मार्फत् पढाउन सक्नुहुन्छ भने यो काम तपाईँले घरमै बसीबसी गर्न सक्नुहुन्छ । त्यसको लागी तपाईँले विद्यार्थीहरूको समूह बनाउनुपर्ने हुन्छ र आफ्नो क्षमता र अनुभवको बारेमा उनीहरूलाई निश्चिन्त पारिसकेपछि अनलाइनमार्फत् नै कुनै विषयको बारेमा क्लास दिने वा ट्युशन पढाउने गर्न सक्नुहुन्छ । 

ट्राभल एजेन्ट

महत्वपूर्ण पर्यटकिय गन्तव्यहरूको अनुसन्धान गर्ने, पहिचान गर्ने, लक्षित पर्यटकहरूलाई आकर्षित गरेर ट्राभल प्याकेजहरू विक्रि गर्ने र घुमाइदिने जिम्मा लिने काम ट्राभल एजेन्टहरूको हुन्छ । 

यसको लागी मूख्यत: तपाईँमा ट्राभल एजेन्सीमा काम गरेको अनुभव वा कम्तीमा पनि सो सम्बन्धी काम गर्न सक्ने खूबी चाहिन्छ ।  यो काम धेरैले घरबाटै गरिरहेका छन् । 

सफ्टवेयर इन्जिनियर

तपाईँलाई कोडिङ्को राम्रो सीप छ भने सफ्टवेयर इन्जिनियरको काम घरबाटै मज्जाले गर्न सक्नुहुन्छ । भन्नै पर्दैन होला कि उनीहरूले आफ्नो क्लाइन्ट वा कम्पनीको लागि सफ्टवेयर डेभलप गर्ने, टेक्निकल समस्या हेर्ने इत्यादि काम गर्छन् । 

सम्पादक/प्रूफरीडर

सम्पादक र प्रुफरीडरको काम मूख्यत: कम्पनीको गाइडलाइन अनुसार कन्टेन्टहरू लेखिएको छ कि छैन भनेर हेर्ने हो । यसमा हिज्जे र व्याकरण (spelling and grammar), लेखनको गुणस्तर, मौलिकता इत्यादीको जाँच हुन्छ । 

त्यो बाहेक उनीहरूले लेखनलाई काँटछाँट गर्ने वा लेखकलाई पनर्लेखन गर्न लगाउने, कहिलेकाहीँ आफै लेख्ने इत्यादी पनि हुन्छन् । उनीहरूले लेखकहरूको नेतृत्व गर्ने र कम्पनीले चाहे अनुसारका कन्टेन्टहरू प्रदान गर्ने दायित्व लिन्छन् । 

डिजिटल मार्केटर

डिजिटल मार्केटिङमा एस.ई.ओ, अनलाइन मार्केटिङ, अनलाइन विज्ञापन, कपिराइटिङ लगायतका कुराहरू पर्छन् । यदी तपाईँमा यि र यस्तै सम्बन्धी कामहरूबारे सीप वा अनुभव छ भने घरबाटै यि कामहरू गर्न सक्नुहुन्छ ।

थुप्रै कम्पनीहरूले आजकाल यो काम पनि घरबाटै वा जहाँसुकैबाट गर्न पाउने सुविधा दिएका छन् । नेपालमै पनि यि कामहरू फ्रिल्यान्सिङको रूपमा गर्नेहरू टन्नै भेटिन्छन् । 

वेबसाइट डिजाइनर/डेभलपर

वेबसाइट डिजाइन गर्ने, डेभलप गर्ने, यसका टेक्निकल समस्याहरू समाधान गरिदिने, यसको सुरक्षाको जिम्मा लिने, समयानुकुल अपडेट गर्ने लगायतका कुराहरू यसमा पर्छन् । यि कामहरू पनि घरमै बसीबसी गर्नेहरू अहिले धेरै छन् । 

अन्त्यमा,

माथि उल्लेख गरिएका कामहरू चर्चित् र नेपालमै उपलब्ध छन् तर ती बाहेक अरू पनि धेरै कामहरू छन् जुन फगत ईन्टरनेटको सहयोगमा आफ्ना सीप र अनुभवको सहयोग लिएर घरमै गर्न सकिन्छन् ।

अहिले विदेशमा यति धेरै लचकता र स्वतन्त्रता दिन थालिइसकिएको छ कि पहिले अनिवार्य अफिस जानैपर्ने कामहरू पनि जहाँबाट जसरी गरे पनि हुन्छ, सिर्फ भनेको टाइममा आफ्नो काम सक्काउनुपर्यो ।

यो कारण अहिले घरबाटै गर्न सकिने कामहरू अनगिन्ति भएका छन् । र विस्तारै त्यसको हावा नेपालमा पनि आउने नै छ । 

हामी चाहीँ तपाईँलाई तपाईँको सीप र अनुभव अनलाइनमार्फत् धेरैभन्दा धेरै मानिसहरूमाझ बाँड्नको लागी सल्लाह दिन्छौँ ताकी त्यो अरूको लागी सहयोग होस् जसकारण त्यसले तपाईँलाई व्यवसायिक रूपमा घरमै बसीबसी पैसा कमाउन मद्दत गरोस् । सीप र अनुभव जे र जस्तो पनि हुन सक्छ । 

One thought on “घरमै बसेर इन्टरनेट र सीप छ भने कस्ता-कस्ता कामबाट पैसा कमाउन सकिन्छ ?

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.