प्रोग्रामरलाई चाहिने ५ उत्कृष्ट याप्सहरु

5 Best apps

प्रोग्रामरहरु धेरै जसो कम्प्युटरमा प्रोग्राम बनाउनमा मै व्यस्त हुने गरेका छन्। आफ्नो कम्प्युटर स्क्रिनको अगाडि बसेर उनीहरु दिनदिनै कोड गर्नमा तैनाथ रहन्छन्। तर व्यस्त हुनुले मात्र कम्प्युटर प्रोग्रामरलाई राम्रो बनाउँदैन। व्यस्त हुनुको साथ उनीहरु सिर्जनशील पनि बन्न सक्नुपर्छ।

व्यस्त हुनु र उत्पादक हुनुमा फरक पर्छ। व्यस्त त जो कोहि पनि हुन सक्छन् भने उत्पादक जो कोही हुँदैनन्। यसरी प्रोग्रामरहरुमा उत्पादकता बढाउने फोकसका साथ केही एपहरु बनाइएका छन्। 

दिनानुदिन कम्प्युटर स्क्रिनको अगाडि बसेर प्रोग्राम गर्न भन्दा जति सजिलो छ, गर्दा उति नै गार्हो। त्यसैले फोकसमा कमी नहोस् भन्ने धारणाका साथ केही प्रोडक्टिभिटि एपहरु निर्माण भएका छन्। यस्ता एपहरु प्रोग्रामरले युज गर्ने हो भने उनीहरुको काममा यसको निकै प्रभाव पर्ने छ।   

यस आर्टिकलमा प्रोग्रामरहरुले आफ्नो सजिलोको लागि प्रयोग गर्नुपर्ने ५ वटा एपहरुको कुरा गरिएको छ। आउनुहोस् हेरौँ।

गिटहब (Github)

गिटहब प्रोग्रामरहरुको लागि एउटा महत्त्वपूर्ण टुल मध्येमा पर्छ। गिटहब मुख्यतः फाइल सेयरिङ र कामको ट्र्याक राख्न प्रयोग गरिन्छ। गिटहबले हजारौँ प्रोग्रामरहरुलाई एउटै प्रोग्राममा काम गर्न राम्रो वातावरण प्रदान गर्छ। चाहे त्यो पाइथनको प्रोग्राम होस्, चाहे त्यो जाभाको प्रोग्राम होस्, या अन्य कुनै प्रोग्राम होस् गिटहबले हरेक प्रोग्रामिङ ल्याङ्ग्वेजका कोडलाई सपोर्ट गर्छ।

गिटहब पनि गिटको डिस्ट्रिब्युटेड भर्जन कन्ट्रोल सिस्टममा आधारित हुने हुँदा यसमा धेरै युजरहरुले एकै पटक एडिट गर्न सक्छन्। यो बाहेक हरेक मोडिफिकेसनहरु अर्थात् भर्जनहरु यसमा रेकर्ड गर्न सकिन्छ र चाहिएको बेलामा जुनै भर्जन पनि निकाल्न सकिन्छ।

यो एउटा ओपन-सोर्स प्रोग्राम भएकोले यसलाई विश्वको जुनसुकै ठाउँबाट प्रोग्रामरहरुले यसलाई मोडि‌‌फाइ गर्न, जाँच्न र हेर्न सक्छन्। साथै विश्वका विभिन्न ठाउँबाट प्रोग्रामरहरुले एउटै प्रोग्राममा आफ्नो समन्वय जनाउन सक्छन्। ठुला-ठुला कम्पनीहरुले आफ्नो कर्मचारीको कामको ट्र्याक राख्न गिटहबको प्रयोग गर्ने गरेका छन्।

यो बाहेक गिटहबको रिपोजिटरीमा पब्लिक गरिएका प्रोग्रामहरु जो कोहिले पनि हेर्न सक्छन्। तपाईँहरुले पनि गिटहबमा कोड अपलोड गर्नुभएको छ र त्यसलाई पब्लिक बनाउनुभएको छ भने त्यसलाई अरुले पनि मोडिफाइ गर्न सक्छन्। 

केही कारणवश तपाईँहरुको कम्प्युटरबाट अहिले काम गर्दैगर्नुभएको फाइल डिलिट भयो या हरायो भने पनि तपाईँहरुले त्यो फाइल गिटहबबाट फिर्ता ल्याउन सक्नुहुनेछ। तर त्यसको लागि गिटहबमा फाइल अपलोड गरेको हुनुपर्छ।

सोर्सग्राफ (SourceGraph)

प्रोग्रामरहरु भन्ने बित्तिकै अर्को कुरा कोड आउँछ। प्रोग्रामरहरुले कोडिङ गर्नुपर्छ। कुनै पनि नयाँ कोडको काम बुझ्नलाई त्यो कोड युज भएको अन्य प्रोग्रामहरु पनि हेर्नुपर्ने हुनसक्छ। तर हरेक प्रोग्रामहरु खोज्न सम्भव हुँदैन। 

यसको लागि सोर्सग्राफलाई प्रयोगमा ल्याउन सकिन्छ। सोर्सग्राफको प्रयोग गरेर लाखौँ ओपन-सोर्स रिपोजिटरीहरु बाट कोड सर्च गर्न सकिन्छ। यसका साथै यसमा सर्च गर्दा केस सेन्सिटिभिटि, रेगुलर एक्स्प्रेसन र स्ट्रक्चर सर्च इनेबल या डिसेबल गर्ने सुविधा पनि प्रदान गरिएको हुन्छ।

कोडसोर्सबाट तपाईँहरुलाई पुरा क्वेरी कपि गर्ने सुविधा पनि प्रदान गरिएको हुन्छ। सोर्सकोड लाखौँ प्रोग्रामरहरुले विभिन्न प्रयोजनको लागि चलाउँदै आउनुभएको छ जसअन्तर्गत धेरै रिपोजिटरीबाट कोड खोज्न, कोड परिवर्तन गर्ने अलग सर्भिसहरुलाई कोडसँग एकिकृत गर्ने आदि पर्दछन्।     

सोर्सकोडले गिटहब, गिटल्याब, बिगबकेटका साथै अन्य रिपोजिटरीहरु, पाइथन(Python), जाभा(Java) लगायत अन्य ल्याङ्ग्वेजहरु पनि सपोर्ट गर्दछ।

डेस्कटाइम (Desktime)

प्रोग्रामरहरुले जुनै प्रोजेक्ट पनि एउटा टाइमलाइनमा सक्नुपर्ने हुन्छ। त्यसैले एउटा प्रोग्रामरले टाइम म्यानेज गर्दै राम्रो क्वालिटिको प्रोजेक्ट बनाउनु पर्ने हुन्छ।  

कुनै प्रोजेक्टको टाइम ट्र्याकिङ राख्नलाई डेस्कटाइम एउटा राम्रो एप्लिकेसन हो। मोबाइल र डेस्कटप दुवैको लागि उपलब्ध यस प्रोग्रामले टाइम ट्र्याकिङ गर्नुका साथै अटोमेटिक अटेन्डेन्स पनि लिन सक्छ। अलग-अलग कार्यको लागि सोहीअनुसारको टाइम म्यानेज गर्न यस एप्लिकेसनले सहयोग गर्छ।

कुनै कुराको उत्पादकता टाइम म्यानेजमेन्टमा भर पर्ने हुनाले डेस्कटाइमको स्मार्ट टाइम म्यानेजमेन्टले उत्पादकतामा पनि पक्कै असर पार्नेछ। डेस्कटाइमले गोल, रुटिन, र प्रोजेक्टमा ट्र्याक राख्ने हुँदा यसले तपाईँहरुलाई ट्र्याकबाट बाँङ्गिन पनि दिने छैन भने यसले तपाईँहरुलाई टाइम म्यानेज गर्न पनि सक्षम बनाउनेछ।

भिजुवल स्टुडियो कोड (Visual Studio Code)

प्रोग्रामरहरुले कुनै कोड लेख्नलाई सोर्स कोड एडिटरको प्रयोग गर्दछन्। यस्ता सोर्स कोड एडिटरहरुमा भिजुवल स्टुडियो कोड एउटा राम्रो सोर्स कोड एडिटरको रुपमा चिनिन्छ भने यसलाई १ करोड ४० लाख युजरहरुले प्रयोग गरेको पाइन्छ जबकी स्ट्याटिस्टिक्स अनुसार विश्वमा डेभलपर्सहरुको संख्या २ करोड ४० लाखजति रहेको छ।

भिएस कोड पनि भनिने भिजुवल स्टुडियो कोड एउटा सोर्स कोड एडिटर हो जसबाट जुनै प्रोग्रामिङ ल्याङ्ग्वेजका प्रोग्राम या कोडहरु लेख्न र एडिट गर्न सकिन्छ। प्रोग्राम एडिट गर्नुको साथै यसमा सिन्ट्याक्स हाइलाइट,  स्निपेट्स (snippets) जसता अन्य सुविधाहरु पनि रहेका छन्।

जाभास्क्रिप्ट(JavaScript), टाइपस्क्रिप्ट(TypeScript), नोड.जेएस(Node.js)  जस्ता ल्याङ्ग्वेजहरु यसमा पहिले देखि नै समावेश गरिएका हुन्छन् भने चाहिएको कुनै एक ल्याङ्ग्वेजका लागि यसमा एक्स्टेन्सन थप्नुपर्ने हुन्छ। माक्रोसफ्टले निर्माण गरेको यो एप्लिकेसन विन्डोज (Windows), म्याक ओएस(Mac OS), लिनक्स (Linux) सबै सिस्टममा चलाउन सकिन्छ।

एफ.लक्स (f.lux)

व्यस्त भएर मात्र प्रोग्रामिङ गरिँदैन। फोकस पनि प्रोग्रामिङको एउटा महत्त्वपूर्ण पाटो हो। एफ.लक्स एउटा यस्तो प्रोग्राम हो जुनले तपाईँहरुको फोकस बढाउन सघाउँछ।

एफ.लक्सको केही विशेषताको कुरा गर्दा यसले तपाईँहरुलाई आफ्नो स्क्रिनको डिस्प्ले कलरलाई दिनको अलग-अलग समय अनुसार फरक पार्न सक्छ। दिउसोको समयको लागि सोहीअनुसारको र रातीको लागि सोहीअनुसारको स्क्रिन कलर यसले परिवर्तन गर्ने हुँदा आँखामा पर्ने असरलाई यसले केही हदसम्म कम गर्छ।

अर्को कुरा भनेको यसले तपाईँहरुको सुत्ने ढाँचामा पनि परिवर्तन ल्याउँछ। कम्प्युटर स्क्रिनको राती गरिने युजका कारण यसले सुताइमा नकारात्मक असर पार्न सक्छ या तपाईँहरुको स्वास्थ्यमा पनि नजानिँदो गरी हानी पुर्याइरहेको हुन्छ। यस्तो कुरालाई यस प्रोग्रामले म्यानेज गर्न सकिन्छ।

एफ.लक्स विन्डोज (Windows), म्याक ओएस(Mac OS), लिनक्स (Linux), एन्ड्रोइड(Android), आइओएस (IOS) जस्ता सबै किसिमका अपरेटिङ सिस्टम भएका डिभाइसका लागि उपलब्ध छ।   

अन्त्यमा,

प्रोग्रामरहरुले प्रोग्रामिङ गरुन्जेल व्यस्त हुनुका साथ उत्पादक हुनु पनि एकदमै जरुरी छ। अन्य कुरामा स्वास्थ्य वा वेलबिइङ त पर्ने नै भयो। यसरी ओभरल सबै कुरामा ध्यान पुर्याउन सकियो भने उत्पादकता पनि स्वतः आफैँ बढ्ने नै छ। यस्ता एपहरुले प्रोग्रामरहरुलाई दक्ष बन्न पक्कै पनि सहयोग मिल्नेछ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.