माइक्रोसफ्ट जस्तै फ्री अफिस प्याकेज यस्ता छन्।

Free office package

संसारभरका अफिसहरूमा प्राय: विन्डोज नै प्रयोग गरिएकाे पाइन्छ र स्वभावत: यसकै अफिस प्याकेजहरू अर्थात् माइक्रोसफ्ट अफिस नै व्यापक प्रयोग गरिन्छ । यसमा हुने वर्ड, एक्सेल लगायतका सफ्टवेयरहरू अहिले पनि संसारभरि सबैभन्दा धेरै प्रयोगमा आउने मध्येमा पर्छन् ।

हुन त नेपालमा माइक्रोसफ्ट चलाइने भनेको प्रायजसोले पाइरेटेड भर्जन वा पुराना निशुल्क उपलब्ध हुने भर्जनहरू नै हुन् । निकै थोरै होलान् जसले नेपालमा पैसा तिरेर विन्डोज र माइक्रोसफ्ट अफिस प्याकेज चलाइरहेका होलान् । त्यसकारण नेपालमा पैसा बचाउने उद्देश्यले अरू फ्री अफिस प्याकेज चलाउनको लागि सिफारिस गरिरहनु पर्दैन ।

तर चलाउँदा खेरिको सहजता र सुविधा जो कसैका लागि पनि महत्वपूर्ण हुन सक्छ । त्यसकारण तपाईँको अफिसको लागि वा व्यक्तिगत प्रयोजनको लागि आवश्यक पर्ने माइक्रोसफ्ट जस्तै अन्य निशुल्क अफिस प्याकेजहरूबारे यो लेखमा चर्चा गरिएको छ ।

गुगल / गुगल वर्कस्पेश (Google / Google Workspace)

एक टेराबाइट स्टोरेजसम्म र अन्य केही व्यवसायिक प्लानहरू निशुल्क चलाउन पाइने गुगल वर्कस्पेश सम्भवत: पछिल्लो दशकमा संसारभरि  सबैभन्दा ज्यादा चलाइने सफ्टवेयरमध्ये एक होला । विभिन्न ठाउँबाट पनि एकै समयमा सँगसँगै काम गर्न सकिने गुगल वर्कस्पेशमा फाइलहरु स्टोर र शेयर गर्न मिल्ने, ब्राण्ड डोमेन इमेल राख्न मिल्ने इत्यादि मुख्य सुविधा छन् ।

चलाउन ज्यादै सजिलो गुगल वर्कस्पेशमा सबै एपहरू निशुल्क डाउनलोड गर्न सकिन्छ भने प्राय: सबै अपरेटिङ सफ्टेवेयरमा यसले काम गर्छ । यद्यपि यसमा स्प्यामहरू धेरै आउने समस्या भने छ ।

यसमा तपाईँले जिमेल, गुगल डक्स, गुगल मीट, गुगल च्याट, गुगल शीट, गुगल स्लाइड, गुगल फर्म मात्र हैन यसको अनलाइन स्टोरेजको लागि गुगल ड्राइभ समेत निशुल्क प्रयोग गर्न सक्नुहुन्छ । 

विन्डोज, म्याक, लिनक्स लगायत जुनसुकै अपरेटिङ सिस्टममा प्राय: सबै ब्राउजरहरूमा यसको प्रयोग सजिलै गर्न सकिन्छ । यसमा स्वत: अपडेट हुने, विभिन्न एड-अन (add-on), एक्सटेन्सन (extension) इत्यादी हाल्ने र माइक्रोसफ्टजस्ता प्रोग्रामका विभिन्न फर्म्याटहरूमा सजिलै काम गर्न सकिन्छ । 

एन्ड्रोइडमा पनि चलाउन मिल्ने यो सफ्टवेयरको सबैभन्दा खट्किने कुरा चाहिंअफलाइन हुँदा राम्ररी काम गर्न सकिदैन । हुन त त्यसको लागि एक्सटेन्सनको व्यवस्था गरिएको छ तर अनलाइनमा काम गरेजस्तो भरपर्दो चाहिंअलि हुँदैन । 

एप्पल अफिस सुइट / आइवर्क (Apple Office Suite / iWork)

आफ्नो एप्पल डिभाइसहरूसँग अनुकुल र प्रयोग गर्न सहज हुने गरी माइक्रोसफ्टको विकल्प खोज्नेको लागी आइवर्क उत्कृष्ट विकल्प हुनसक्छ । यो निशुल्क मात्र हैन, असीमित स्टोरेज प्रयोग गर्न सकिन्छ किनकी यो आइक्लाउडसँग सिङ्क गरिएको हुन्छ । यो बाहेक यसमा वर्ड प्रोसेसिङ, स्प्रेडशीट र प्रेजेन्टेशनहरूको प्रयोग गर्न सकिन्छ । 

हुन त यो माइक्रोसफ्ट र गुगलजस्तो चर्चित त छैन तर पनि म्याक प्रयोगकर्ताहरूको लागि एप्पलको इकोसिस्टममा अनुकुल हुने गरी चलाउन ज्यादै सहज हुन्छ । एप्पलले आइवर्कको वेब-भर्जन पनि निकालेको छ जुन सफारी, क्रोम र माइक्रोसफ्टका पछिल्ला भर्जनहरूमा मज्जाले चल्छ किनकी तिनलाई आइक्लाउडसँग सहजै एकिकृत (integrate) गर्न सकिन्छ । 

आइवर्कको आफ्नै फाइल फर्म्याट हुन्छ र आफ्नै हिसाबले माइक्रोसफ्टका चर्चित फर्म्याटहरूमा समेत इम्पोर्ट र एक्सपोर्ट गर्न मिल्छ । यद्यपि यसको नकारात्मक पक्ष भनेको चाहिं यसको व्यापक प्रयोग नगरिएको कारण सपोर्ट र ट्युटोरियलहरू कमै हुन्छ र विभिन्न अन्य डिभाइस र सफ्टवेयरहरूसँग उचित रूपमा अनुकुल हुँदैन । 

डब्लु.पी.एस अफिस (WPS Office)

एक जिबिसम्म स्टोरेज प्रयोग गर्न र डाउनलोड गर्न निशुल्क उपलब्ध यो एपमा वर्ड प्रोसेसिङ, स्प्रेडशीट, ग्राफिक्स, प्रेजेन्टेशन इत्यादि प्रयोग गर्न सकिन्छ । यो विभिन्न प्ल्याटफर्महरूमा अनुकुल हुन्छ भने थुप्रै कस्टोमाइजेशन अप्शनहरू पनि उपलब्ध छन् । यद्यपि यसको सपोर्ट टिम सीमित छ र व्यापक प्रयोग गरिदैन ।

विज्ञापनसहितको प्याकेज निशुल्क तर विज्ञापनरहित प्याकेजको लागी भने निश्चित शुल्क तिर्नुपर्ने यो डब्लुपीएसले विन्डोज, म्याक, लिनक्स, एन्ड्रोइड, आइओएस लगायतमा अनुकुल हुने भर्जन ल्याएको छ । 

चिनियाँ कम्पनी किङसफ्टले तयार पारेको यो अफिस प्याकेजको युजर इन्टरफेस सबैभन्दा राम्रो मानिएको छ भने कस्टोमाइजेशन फीचरहरू पनि टन्नै छन् । निकै चाँडो चल्ने यो एपमा वेब ब्राउजरमा जस्तै डकुमेन्ट एडिट गर्न मिल्छ । 

फ्रीअफिस (FreeOffice)

डब्लुपीएस जस्तै यो पनि विज्ञापनसहितको प्याकेज निशुल्क उपलब्ध छ र यसमा वर्ड प्रोसेसिङ, स्प्रेडशीट, प्रेजेन्टेशन जस्ता प्रोग्रामहरू उपलब्ध छन् । यसको एउटा राम्रो उपादेयता भनेको विभिन्न प्ल्याटफर्मसँगको अनुकुलता र माइक्रोसफ्टसँगको फाइल कम्प्याटिबिलिटि हो । 

हेर्दा र प्रयोग गर्दा माइक्रोसफ्ट जस्तै लाग्ने यो प्याकेज विन्डोज, म्याक, लिनक्स इत्यादिमा पनि काम गर्छ । यसका मुख्य एपहरू मध्ये टेक्स्टमेकर, प्लानमेकर र प्रजेन्टेशन हुन् जसले क्रमश: वर्ड, एक्शेल र पावरपोइन्टको जस्तै काम गर्छन् ।

एन्ड्रोइडमा समेत उपलब्ध यो प्याकेजमा एडोबको पिडिएफ एडिटर पनि प्रयोग गर्न मिल्छ । 

लिब्रेअफिस (Libre Office)

वर्ड प्रोसेसिङ, स्प्रेडशीट, प्रेजेन्टेशन, ड्रइङ, डेटाबेस लगायतका थुप्रै सफ्टवेयर भएको यो प्याकेज ओपन सोर्स सफ्टवेयर हो र निशुल्क डाउनलोड गर्न र प्रयोग गर्न सकिन्छ । विभिन्न फाइल फर्म्याटसँग अनुकुल हुने यसको बेफाइदा भनेको चाहीँ आफ्नै स्टोरेज हुँदैन र सीमित टेक्निकल सपोर्ट मात्र छ । यसको युजर इन्टरफेस पनि धेरैका लागी अलि गाह्रो लाग्न सक्छ । 

द डक्युमेन्ट फाउन्डेशनले बनाएको यो सफ्टवेयरमा प्रयोगकर्ताहरु आफैले नयाँ फीचरहरू थपथाप पार्ने वा पुराना फीचरहरू काटकुट पार्न मिल्छ । बेलाबेलामा अपडेट निकालिरहेने यो सफ्टवेयर पनि विन्डोज, म्याक, लिनक्स, एन्ड्रोइड इत्यादिमा प्रयोग गर्न मिल्छ । 

यसको व्यापक प्रयोग नभए तापनि त्यस्तो सानो कट्टर वर्ग छ जो यसका केही चर्चित एपहरू, जस्तै Writer, Calc र Impress को बारेमा व्यापक सकारात्मक कुरा गर्ने गर्छन् ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.