स्टिभ जब्सदेखि टिम कुकसम्मको एप्पलको इतिहास

apple history

धेरैको लागी एप्पल कम्पनी एउटा ब्राण्ड हो तर एकथरीको लागी यो एउटा “धर्म” नै बनिसकेको छ, खासगरी प्रविधि जगतका यसका कट्टरपन्थी समर्थकहरुको लागी । किन पनि भने यो एउटा उत्पादन र एउटा व्यक्तिको असाधारण योगदानसँग मात्र सीमित छैन । 

प्रविधि क्षेत्रमा एप्पल आम्दानीको हिसाबले सबैभन्दा ठूलो कम्पनी हो भने बजार पुँजीकरणको हिसाबले जुनसुकै क्षेत्रको तुलनामा यो संसारकै सबैभन्दा ठूलो कम्पनी हो ।

एप्पललाई यो स्थानसम्म ल्याउनको लागी सबैभन्दा ठूलो योगदान स्टिभ जब्सको मानिएको छ तर उनको अवसानपछि पनि एप्पलले संसारलाई चकित पार्ने उत्पादनहरु ल्याउन छाडेको छैन ।

जस्तै एप्पलका वर्तमान सिईओ टिम कुकले एक महिना अघि एप्पल भिजन प्रो सार्वजनिक गरेका थिए । उनैले केही वर्ष अघि एप्पल वाच र एयरपड पनि सार्वजनिक गरेका थिए । अर्थात् टिम कुकले पनि एप्पलमा अभूतपूर्व योगदान पुर्याएका छन् । 

हामी यो लेखमा तपाईँलाई एप्पलले स्टिभ जब्सको पालादेखि आजको मितिसम्म एप्पलले गरेका प्रगतिको इतिहासको बारेमा जानकारी दिदैछौँ । यद्यपी यहाँ अत्यन्त प्राविधिक लाग्ने विवरणभन्दा पनि समयक्रममा एप्पलले ल्याएका उत्पादनहरुको क्रमिक विकासको बारेमा छोटोमिठो इतिहास पस्किदैछौँ ।

ग्यारेजमा एप्पल वान (Apple I in Garage)

सन् १९७६ मा दुईजना कलेज ड्रपआउट विद्यार्थीहरु, स्टिभ जब्स र स्टिभ वज्नियाकले जब्सको परिवारको ग्यारेजमा कम्प्युटर बनाउने निर्णय गरेका थिए । त्यतिबेलाको त्यो बिलकुलै क्रान्तिकारी मशिनलाई Apple I नाम दिइएको थियो जुन एप्पल कम्प्युटर कम्पनीको जन्मको सुरुवात थियो ।

प्रविधि क्षेत्रमा केही गरौँ भन्ने तीव्र हुटहुटी जब्स लगायतलाई थियो तर उनीहरुसँग पैसा खासै थिएन । त्यसकारण उनीहरूले आइपिओ बेच्ने निर्णय गरेका थिए । प्रतिशेयर $२२ मा ४६ लाख शेयर बेचेर उनीहरुले १० करोड डलर उठाएका थिए । 

एप्पलको नाम जब्स आफैले राखेका थिए; उनी अरेगनको एउटा फार्मबाट फर्केपछि किनकी त्यतिबेला उनी फलाहारमा प्राथमिकता दिन्थे । साथै त्यतिबेलाको चर्चित कम्पनी Atari भन्दा अगाडी Apple फोनबुकमा देखिन्थ्यो । 

कुनै बेला अल्फाबेटिकल नियम अनुसार कुनै कम्पनी अगाडी देखिइने प्रणाली थियो जसकारण यस्तो नाम कम्पनीहरुले छान्ने गर्थे । जस्तै याहुको सर्च बारमा पनि यस्तै प्रणाली थियो जसकारण अमेजन कम्पनीले आफू अगाडी आउनको लागी Amazon नाम राखेको थियो । 

म्याकिन्टोश क्रान्ति

सन् १९८४ एप्पलको लागी महत्वपूर्ण वर्ष थियो किनकी त्यो वर्ष उसले म्याकिन्टोश सार्वजनिक गरेको थियो जुन ग्राफिकल युजर इन्टरफेस र माउस भएको पहिलो व्यक्तिगत कम्प्युटर थियो । 

यो क्रान्तिकारी कम्प्युटरले प्रयोगकर्तालाई आफैले अन्तरक्रिया गर्न र स्वत: प्रयोग गर्न सक्ने सुविधा दिएको थियो । यद्यपी आइबिएम र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले पनि म्याकिन्टोश जस्ता व्यक्तिगत कम्प्युटरहरू बनाइरहेका थिए जसकारण तीव्र प्रतिस्पर्धाको सामना एप्पलले गर्नुपरेको थियो । 

सन् १९८५ मा एप्पलका सिइओले जब्सलाई जागिरबाट निकालेका थिए कस्तो उत्पादन गर्ने र कस्तो कम्पनी बनाउने भन्ने फरक बुझाइका कारण । जब्सको क्रान्तिकारी उत्पादनको बावजुद पनि निकालिए पछि उनले NeXT स्थापना गरेका थिए । 

एप्पलका अँध्यारा दिनहरू र जब्सको फिर्ति

खासमा जब्सलाई एप्पलबाट निकालेपछि यसको अँध्यारा दिनहरूको सुरूवात भएको थियो । आम्दानी र बजार पुँजीकरण घट्नु एउटा टड्कारो समस्या बनेको थियो भने आफ्ना प्रतिस्पर्धीको दाँजोमा एप्पलले खासै नयाँ कुरा बजारमा ल्याउन पनि सकिरहेको थिएन ।

उता, NeXT को उद्देश्य डेस्कटप कम्प्युटर बनाउने थियो तर पछि सन् १९९६ मा एप्पलले किनेपछि जब्स फेरी पनि पुरानो कम्पनीमा व्यवस्थापकिय जिम्मेवारीमा फर्किएका थिए । जब्सले पुन: कम्पनीलाई नयाँ भिजनका साथ अघि बढाउन थाले । 

त्यसपछि जब्सले एप्पलका उत्पादनहरू आधुनिक बनाउँदै आइम्याक, आइबुक र ल्यापटप जस्ता नवीन डिभाइसहरू ल्याएका थिए । यो समयमा यसले माइक्रोसफ्टसँग पनि ५ वर्षको सम्झौता गरेको थियो जसले यसमा थप लगानी र माइक्रोसफ्ट अफिस भित्र्याएको थियो । 

यो पनि पढ्नुहोस्: ग्यारेजबाट प्रविधिको टाइकुन सम्मको यात्राः माइक्रोसफ्टको कथा

आइपड र आइट्युन

सन् २००१ मा एप्पलले आइपड लञ्च गर्यो जसले मानिसहरूले सङ्गीत सुन्ने तरिकामा कायापलट नै ल्याइदियो । यसको उत्कृष्ट डिजाइन, सहज इन्टरफेस र आइट्युन प्ल्याटफर्मको कारण एप्पलले सङ्गीत उद्योगलाई नै पुनर्परिभाषित गरिदिएको थियो । 

त्यतिबेला आइपडलाई अन्य एमपिथ्री प्लेयरहरुले व्यापक टक्कर दिएका थिए तर पनि आइपडको उत्कृष्टता, हार्डवेयर-सफ्टवेयर-सेवाको समायोजन र विशाल म्युजिक लाइब्रेरीको अगाडी ती फिक्का जस्ता लाग्थे । 

यो पनि पढ्नुहोस्: एप्पलको कम्प्युटरमा इन्टेल देखि आफ्नै सिलिकन सम्म! कस्तो छ परिवर्तन ?

आइफोन

सन् २००७ मा एप्पलले आफ्नो पहिलो स्मार्टफोन बनायो जसले प्रविधि क्षेत्रमा अर्को कायापलट ल्याइदियो किनकी यस्तै प्रविधिमा टेकेर अरू धेरै कम्पनीले पनि यस्तै खालका स्मार्टफोनहरू ल्याउन थाले । साथै पुराना मोबाइल बनाउने नोकिया जस्ता कम्पनीहरूलाई यसले धुलो चटाइदियो । 

यो स्मार्टफोनमा मोबाइल फोन, आइपड र इन्टरनेटको समायोजन त थियो नै, साथै, बिलकुलै नवीन प्रविधिहरू टचस्क्रिन र एपस्टोर पनि थिए । यि विशेषताहरूले मोबाइलको आमधारणा बिलकुलै परिवर्तन गरिदिए र हाम्रो जिन्दगीमा व्यापक बदलाव ल्याइदिए । 

आइफोनले आफ्ना पुराना प्रतिस्पर्धीहरू जस्तै नोकिया, मोटोरोला, ब्ल्याकबेरी, सोनी, एलजिहरूलाई धुलो चटायो भने सामसुङ, ह्वावे, भिभो, रेड्मी जस्ता नयाँ प्रतिस्पर्धीहरू जन्माइदियो । भन्नु पर्दैन होला कि यी पछिल्ला प्रतिस्पर्धीले एप्पलबाटै आफ्ना प्रविधि चोरेका वा प्रभावित भएर बनाएका हुन् भनेर । 

यो पनि पढ्नुहोस्: फीचरहरू आइफोनमा धेरै कि एनड्रोइड फोनमा

यो पनि पढ्नुहोस्: आइफोनको अल्ट्रा मोडेल कस्तो हुने छ ?

आइप्याड

आइफोन लञ्च गरेको तीन वर्षमै अर्थात् सन् २०१० मै एप्पलले आफ्नो पहिलो ट्याबलेट कम्प्युटर आइप्याड निकाल्यो जुन प्रविधि क्षेत्रमा अर्को एक नवीनतम उत्पादन थियो । यसको उत्कृष्ट डिजाइन र कार्यक्षमता अनि सहज इन्टरफेसका कारण धेरैले यो किन्न थाले । 

एन्ड्रोइड लगायतका ट्याबलेट यसका प्रमुख प्रतिस्पर्धी हुन् तर आजसम्म पनि आइप्याडलाई चुनौती दिने स्तरको ट्याबलेट बजारमा देखिएको छैन । आजका सबै ट्याबलेटहरू आइप्याडकै सिको गरेर बनाइएका हुन् । 

जब्सलाई सन् २००३ मा क्यान्सर भएको थियो तर पनि सन् २०११ सम्म अर्थात् मृत्युपर्यन्त उनी एप्पलका सिईओ रहे । टिम कुक सिओओ (चिफ अपरेटिङ अफिसर) थिए । जब्सको अवसानपछि उनको गौरवशाली बिँडो थाम्नको लागी टिम कुक आए ।

यो पनि पढ्नुहोस्: Apple Mac Studio (2023): M2 Max र M2 Ultra अब नेपालमा पनि उपलब्ध

एप्पल वाच, एयर पड, एप्पल टिभि, एप्पल म्युजिक, एप्पल पे

स्वभाविक रूपमै प्रविधि जगतमा जब्सको अवसान पछि एप्पलले पहिलेको जस्तो क्रान्तिकारी उत्पादनहरू कुक वा अन्य सिईओको पालामा खासै हुन नसक्ने शंका व्यक्त गरेका थिए जुन समयक्रममा गलत सिध्द भयो । 

सन् २०१५ मा एप्पलले एप्पल वाच ल्यायो जुन पहिलो लगाउन मिल्ने प्रविधि बन्यो । यो पहिलो स्मार्टवाच हो जसले लगाउने मानिसको स्वास्थ्य सम्बन्धी विभिन्न गतिविधिहरूको निगरानी गर्ने गर्छ ।

सन् २०१६ मा एप्पलले ताररहित इयरबड अर्थात् एयरपड ल्यायो जसले मानिसले सङ्गीत सुन्ने तरिकालाई पनि पूर्णत: परिवर्तन गरिदियो । यो जुनसुकै एप्पल डिभाइसहरूसँग सिङ्क गर्न मिल्छ । 

साथै एप्पलले एप्पल टिभि, एप्पल म्युजिक, एप्पल पे जस्ता सेवाहरू पनि थपेको छ कुकको पालामा । 

यो पनि पढ्नुहोस्: एप्पल कसरी युएसबी टाइप सी प्रयोग गर्न बाध्य भयो ?

एप्पल भिजन प्रो

एप्पल वाच र एयरपड ल्याएपछि प्रविधि जगतमा लामो समयसम्म प्रविधिविदहरूले अब एप्पलले कुनै पनि क्रान्तिकारी उत्पादन ल्याउन नसक्ने हो कि भन्ने शंका व्यक्त गरेका थिए जसलाई कुकले एप्पल भिजन प्रो सार्वजनिक गरेर आश्चर्यचकित पारिदिए । 

एप्पल भिजन प्रो के हो र यसले के-के गर्ने सक्छ ? भनेर हामीले छुट्टै लेख लेखेका छौँ । छोटकरीमा बुझ्दा यसले एआर, भिआर र एमआरलाई साकार तुल्याउने एउटा महत्वपूर्ण कोशेढुङ्गाको काम गर्दछ ।

एप्पलको भिजन प्रो डिभाइसको मुख्य प्रतिस्पर्धी भनेका गूगल र मेटा नै हुन् । मेटाका मालिक मार्क जकरबर्गले भने एप्पलको भन्दा भिन्न, सामाजिक र सस्तो भिआर हेडसेट ल्याउने बताएका छन् । जकरबर्ग भिजन प्रो बारे खासै सन्तुष्ट छैनन् । 

यो पनि पढ्नुहोस्: Apple WWDC23 हाइलाइटहरू: एप्पलले भर्खरै घोषणा गरेको सबै कुरा यहाँ छ

अन्त्यमा,

यसरी जब्सको परिवारको ग्यारेजबाट सुरू भएर आज संसारकै सबैभन्दा ठूलो कम्पनीसम्मको यात्रा कम रोचक, क्रान्तिकारी र चुनौतीपूर्ण छैन । जब्सको बिँडो कुकले धेरै हदसम्म थामेको जस्तो देखिएको छ, कम्तीमा भिजन प्रोको लञ्चलाई हेर्दा ।

अर्थतन्त्र र प्रविधि जगत जुन निर्मम प्रतिस्पर्धा हुन्छ, त्यसमा यति लामो समयसम्म नवीनताको अग्रपङ्क्तिमा रहन सक्नु चानचुने कुरा हैन । आगामी दिनहरूमा एप्पलले के-कस्ता उत्पादनहरूले संसारमा कायापलट ल्याउला, त्यो चाहिँ समयले नै बताउला । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.