सूचना प्रविधि क्षेत्रमा सबैभन्दा ठूलो पार्टनरशीप  

google and apple

जुनसुकै क्षेत्रमा छुट्टाछुट्टै कम्पनीहरूबीच पार्टनरशीप हुनु सामान्य कुरा हाे। प्रविधिको क्षेत्रमा त झनै हुने भैहाल्यो । यसो सोच्नुहाेस् त  प्रविधिको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टनरशीप कुन-कुन कम्पनीहरूबीच भएको होला ?

तपाईँका मनमा विभिन्न कम्पनीहरूका नाम आए होलान्  जुन एकापसमा प्रतिस्पर्धी छैनन् । जस्तै एप्पल र सोनी वा सामसुङ र एण्ड्रोइड इत्यादि। यिनीहरू एकापसका प्रतिस्पर्धी हैनन् बरू एकले अर्कोलाई सहयोग गर्छन् र छुट्टाछुट्टै प्रविधिको उत्पादन गर्छन् ।

 सुन्दै अचम्म लाग्ने कुरा के हो भने प्रविधिमा अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टनरशीप भएको छ सम्भवत: अहिलेसम्मकै सबैभन्दा ठूला प्रतिस्पर्धीहरूमाझ ! ती हुन् गुगल र एप्पल ।

यिनीहरूको प्रतिस्पर्धा मूलत: अपरेटिङ सिस्टममा छ (आइओएस र एण्ड्रोइड) । साथै अन्य कुराहरू जस्तै एप्पल म्याप र गुगल म्याप, सफारी ब्राउजर र गुगल क्रोम, पिक्सेल फोन र आइफोन इत्यादि ।

तर पनि यिनीहरूले सबैभन्दा ठूलो पार्टनरशीप गरेका छन् जसबारे हामी यहाँ तपाईँलाई बताउँदैछौँ । र यो कुनै गोप्य कुरा चाहिँ  हाेइन । वर्षौँदेखि यिनीहरूको पार्टनरशीप खुला नै छ तर हालसालै यिनीहरूको कारोबारमा सरकारी निकायहरूले चासो देखाएकाले यो विषयले चर्चा पाएको हो । 

एप्पल र गुगलको पार्टनरशीप केका लागि ?

थुप्रै कुराहरूमा प्रतिस्पर्धी हुँदाहुँदै पनि यिनीहरूको पार्टनरशीप केको लागी त ? त्यसको उत्तर हो – गुगलको सर्च ईन्जिनको लागि। एप्पलको आफ्नै सर्च ईन्जिन छैन र त्यसकै प्रयोग एप्पलले गर्ने सर्तमा यो पार्टनरशीप भएको हो ।

एप्पल डिभाइसहरूमा सफारी ब्राउजर हुँदाहुँदै पनि यसको डीफल्ट सर्च ईन्जिन चाहिँ  गुगललाई बनाइदिए बापत एप्पलले पैसा पाउने गर्छ । हुन त यसमा डीफल्ट ब्राउजर फेर्न पनि मिल्छ तर हामी सबैलाई थाहा छ, मानिसहरू प्रविधिमा पोख्त नहुने भएकाले यो झ्याउलोतिर जाँदैनन् । हो, यसकै फाइदा गुगलले भरपुर उठाउँछ र एप्पललाई त्यसको ब्याज तिर्छ ।

उत्तर अमेरिकामा झण्डै आधा स्मार्टफोन प्रयोगकर्ता आईफोन चलाउँछन् । एप्पल डिभाइसहरूको हिसाब छुट्टै छ । अनि द न्युयोर्क पोष्ट ले गरेको एक अध्ययन अनुसार गुगलको झण्डै आधा ट्राफिक त एप्पल डिभाइसहरूबाटै आउँछ । 

सन् २०२० मा गुगलले सर्च ईन्जिनबाट हुने विज्ञापनबाट मात्रै अनुमानित १०४ बिलियन डलर कमाएको थियो । यो भनेको गुगलको कमाईको ७१% हो । हो, यसरी एप्पलले सर्च ईन्जिन विज्ञापनहरू लक्षित समूहमाझ पुर्याउने कुराको सुनिश्चितता दिन्छ ।

गुगलले एप्पललाई कति पैसा तिर्छ ?

त्यसो भए तपाईँलाई लाग्यो होला, गुगलले एप्पललाई कति पैसा तिर्छ त ? लास्टै धेरै पैसा तिर्छ । वर्षैपिच्छे । जसकारण नै हामीले यसलाई प्रविधि जगतकै सबैभन्दा ठूलो पार्टनरशीप भनेका छौँ ।

सन् २००५ मा पहिलोपटक सम्झौता हुँदा आइफोन उत्पादन भैसकेको थिएन र म्याक डिभाइसहरूमा सफारी ब्राउजरमा गुगल सर्च ईन्जिनलाई डीफल्ट बनाउने निर्णय भएको थियो । त्यसको दुई वर्षपछि आइफोन र पाँच वर्षपछि आइप्याड आयो जसकारण एप्पल डिभाइसहरू बढ्दै गए । र तिर्नुपर्ने पैसा पनि एप्पलले बढाउँदै गयो ।

सन् २०१४ मा १ बिलियन डलर तिरेको गुगलले २०२१ मा १५ बिलियन डलर तिरेको थियो । गत वर्ष मात्रै अनुमानित २० बिलियन डलर गुगलले एप्पललाई तिरेको थियो । 

अनुमान अनुसार गुगलले एप्पललाई तिर्ने पैसा भनेको एप्पलको जम्मा आम्दानीको २०% भन्दा धेरै हो । 

यद्यपि गुगलले एप्पललाई मात्रै हैन, अन्य थुप्रै कम्पनीहरूलाई पनि डीफल्ट सर्च ईन्जिन राखिदिए बापत पैसा तिर्ने गरेको छ तर एप्पललाई जति चाहिँ  कसैलाई पनि तिरेको छैन । र प्रविधि जगतको यो सबैभन्दा ठूलो पार्टनरशीप अझै कति समय जारी रहला त्यो चाहिँ समयले बताउला ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.