MDMS मा ग्रे मोबाइल फोन कसरी दर्ता गर्ने? कसले गर्ने ? कति तिर्ने ? [ विस्तृतमा ]

REGISTER MOBILE IN MDMS

नेपालमा MDMS प्रणाली आउने या नआउने भन्ने कुराको अन्योलता हुँदाहुँदै यो प्रणाली नेपालमा जेष्ठ १ गतेबाट औपचारिक रुपमा नेपालमा सुचारु भएको छ। 

MDMS लाई सरल तरिकामा बुझ्ने हो भने यो नेपाल सरकारले ग्रे फोन र ग्रे फोन मार्केट पूर्ण रुपमा बन्द गर्न अपनाएको निति हो र यसको पूरा रुप मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (Mobile Device Management System) हो।

ग्रे फोन भनेकाे अवैध रुपमा भित्रिने फोनहरु हुन्। समग्र रुपमा बुझ्दा नेपालको भन्सार प्रणालीलाई छलेर नेपाल भित्रिने फोनहरुलाई “ग्रे फोन”को दायरमा राखिन्छ। भारतबाट खरीद गरिएका फोनहरु, विदेशबाट गीफ्ट स्वरुप आएका फोनहरु वा नेपालमा अवैध रुपमा बिक्रि हुने फोनहरु सबै ग्रे फोन अन्तर्गत पर्छन्।

नेपालमा ग्रे फोनको मार्केट धेरै छ। यसले देशको रेभन्यु (revenue) घटाएर समग्र अर्थतन्त्रमा नै असर पुर्याउँछ। यस कारणले नेपाल सरकारले MDMS प्रणाली सुचारु गर्ने निर्णय निकै अगाडि देखि नै बनाउन थालेको थियो तर बिचमा केहि कुराहरु नमिलेर यो प्रणाली सुचारु भएको भने थिएन।

तर गत जेष्ठ महिनाबाट नेपालमा MDMS प्रणाली सुचारु भएको छ। नेपालमा चलिरहेका कुनै पनि मोबाइल फोनहरु (नेपालमा खरीद गरिएका वा विदेशबाट अवैध रुपमा आयात गरिएका फोनहरु) MDMS प्रणालीमा यदि रेजिस्टर गरिएका छैनन् भने त्यस्ता फोनहरुमा सबै प्रकारको नेटवर्क सुविधाहरु वञ्चित गरिनेछन्।

विदेशबाट या भारतबाटै आफूलाई मन पर्ने मोबाइल फोन ल्याउने तर त्यो फोनको सुविधा उपयोग गर्न नपाउने हो भने यो निकै नै नराम्रो कुरा हुनेछ। यस आधारमा यस्ता फोनहरुलाई MDMS प्रणालीमा रेजिस्टर गर्नुपर्ने हुन्छ।

यस आर्टिकलमा ग्रे फोनहरुलाई MDMS प्रणालीमा कसरी दर्ता गर्न सकिन्छ, कस्ता फोनहरुलाई MDMS प्रणालीमा दर्ता गर्ने, कतिवटा मोबाइल फोनहरु MDMS मा निशुल्क रेजिस्टर गर्न सकिन्छ र मोबाइल फोन अनुसार MDMS को लागि कति शुल्क छुट्याइएको छ भन्ने कुराको जानकारी दिइएको छ।    

MDMS मा दर्ता नभएका फोन २०८० साल असार महिना पछि नचल्ने

नेपालमा भित्रिने हरेक १० लाख फोनहरुमा २.५ लाख भन्दा बढी फोनहरु ग्रे फोनहरु हुने गरेका छन्। अर्थात् २५ देखि ३० प्रतिशत मोबाइल फोनहरु नेपालमा “ग्रे फोन” को दायरामा रहेका छन्। विदेशबाट आउँदा मानिसहरु फोन लिएर आउने संख्या अझै पनि त्यत्तिकै छ र भारतबाट फोन खरीद गर्ने मानिसहरु पनि त्यत्तिकै छन्। यस आधारमा नेपालमा ग्रे फोन युजरहरुको संख्या धेरै छन्। 

नेपाल सरकारले २०८० साल जेष्ठ १५ गतेसम्म नेपालमा रहेका मोबाइल फोनहरुलाई २०८० सालको असार मसान्त सम्म MDMS प्रणालीमा दर्ता नगराए ती फोनहरुमा कन्ट्रि लक (country lock) लगाउने निर्णय गरेको छ। तर यसो हैन कि २०८० साल जेष्ठ १५ गते भन्दा अगाडिका सबै फोनहरु सबैलाई MDMS प्रणालीमा दर्ता गराउनु पर्छ। यो समय अवधी २०७९ सालको भदौ महिना देखि २०८० सालको जेठ १५ गतेको लागि मात्र तोकिएको हो। 

नेपाल दुरसञ्चार प्राधीकरणकाे अनुसार यस समय अवधी भित्रमा करिब ५५ लाख मोबाइल फोनहरु ग्रे फोनको दायरामा रहेको र MDMS मा दर्ता नभएको जानकारी गराएको थियो। अर्थात् २०७९ साल भदौ महिना पश्चात् २०८० जेष्ठ १५ गतेसम्म करिब ५५ लाख ग्रे फोनहरु नेपालमा MDMS मा दर्ता नभई प्रयोगमा रहेका छन्।

त्यसैले यदि तपाईँहरुको फोन यो समय अवधीमा नेपालमा परिचालनमा आएको छ र यस्ता फोनहरु ग्रे फोनको दायरामा रहेको छ भने तपाईँहरुले आफ्नो फोनलाई असार मसान्तसम्म MDMS मा दर्ता गराइसक्नुपर्ने हुन्छ।

२०७९ साल भदौ र यो भन्दा अगाडिका मोबाइलहरुलाई चाहिँ MDMS प्रणालीमा दर्ता गराउने कि नगराउने भनेर सोच्नुहुन्छ भने यो भन्दा अगाडिका फोनहरु सबैलाई नेपाल सरकारले स्वतः वाइट लिस्ट (White list) मा समावेश गराएको छ र तपाईँहरुले फोनलाई MDMS मा दर्ता गराउनु पर्ने जरुरत छैन।

कति वटा फोनलाई MDMS प्रणालीमा निःशुल्क दर्ता गराउन सकिन्छ?

विदेशबाट आउने कुनै व्यक्तिले पनि आफूसँग लिएर आउने हरेक मोबाइल सेटको लागि शुल्क तिरेर MDMS मा दर्ता गर्नुपर्छ भन्ने नियम तोकिएको छैन। नेपाल सरकारले विदेशबाट आउने मानिसहरुले सिमित सेट लिएर आएमा त्यसलाई बिना कुनै शुल्क MDMS प्रणालीमा दर्ता गराउन सकिने प्रावधान छुट्याएको छ र तोकिएको संख्या भन्दा बढी मोबाइल सेटहरु ल्याइएमा मोबाइल सेटको मुल्य अनुसार केहि शुल्क तिर्नुपर्ने हुन्छ।

नेपाल सरकारले विदेशमा रहेका मानिसहरुका लागि कतिवटा मोबाइल सेटलाई निःशुल्क दर्ता गराउन सकिन्छ भन्ने बारेमा केहि नियम राखेको छ। ती नियम यसप्रकार छन्ः

१) विदेशमा नेपालमा आउने यात्रुले आफ्नो प्रयोजनको लागि एउटा फोन निःशुल्क ल्याउन पाउने प्रावधान छुट्याइएको छ। त्यसरी साथमा ल्याएको फोन निजले आफ्नै तरिकामा प्राधिकरणको सिस्टममा गएर दर्ता गराउन सक्नुहुनेछ।

२) यस बाहेक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो प्रयोजनको लागि ल्याएको एउटा फोन बाहेक थप १ थान मोबाइल फोन समेत ल्याएमा कुनै पनि महसुल लाग्दैन। अर्थात् श्रम स्वीकृति लिएर कम्तीमा ६ महिना वैदेशिक रोजगारमा कार्यरत मानिसहरुले २ वटा मोबाइल फोन निःशुल्क दर्ता गराउन सक्नुहुनेछ।

तोकिए भन्दा बढी मोबाइल फोनहरुमा कति शुल्क तिर्नुपर्छ ?

माथि उल्लेखित जानकारी अनुसार विदेशबाट नेपाल फर्कने मानिसहरुले कम्तीमा १ र बढीमा २ वटा मोबाइल फोनको लागि कुनै प्रकारको महसुल तिर्नुपर्ने छैन र यसलाई बिना कुनै महसुल नै MDMS मा दर्ता गराउन सकिन्छ।

तर विदेशहरुबाट फर्कने मानिसहरुले १ या २ वटा मोबाइल मात्र आफूसाथ लिएर आउँछन् भन्न सकिँदैन। परिवारका सदस्य सबैलाई नै जोड्ने हो भने पनि २ वटा भन्दा धेरै मोबाइलको आवश्यकता पर्छ। यस्तो हुँदा १ या २ मोबाइलको लागि कुनै महसुल तिर्नु नपरेपनि सो भन्दा बढी मोबाइललाई महसुल तिर्नुपर्ने हुन्छ।

मोबाइलको मुल्य अनुसार महसुल छुट्याइएको हुनाले कति महसुल तिर्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ मोबाइलको मुल्यमा भर पर्ने देखिन्छ। मोबाइलको मुल्य अनुसार यस प्रकारले महसुल छुट्याइएको छः

  • १ लाख वा सो भन्दा बढी मुल्यका मोबाइलको लागि प्रति सेट १० हजार,
  • एपल ब्रान्डका मोबाइल फोनको लागि प्रति सेट १० हजार,
  • १ लाख भन्दा कम मुल्यका मोबाइलको लागि प्रति सेट ३ हजार, तथा,
  • किप्याड भएका फोन लगायत अन्य मोबाइको लागि प्रति सेट रु. २०० को महसुल दर छुट्याइएको छ।

के विदेशबाट आएका सबै व्यक्तिले MDMS को लागि रेजिस्टर गराउनुपर्छ?

विदेशबाट फर्किएका सबै व्यक्तिहरुले MDMS प्रणालीमा आफ्नो मोबाइल फोन दर्ता गराउनै पर्छ भन्ने छैन। यो तपाईँहरु नेपालमा कति समयावधीको लागि फर्कँदै हुनुहुन्छ भन्ने कुरामा पनि निर्भर हुन्छ। 

यसको लागि तपाईँहरुको समय १५ दिनको लागि छुट्याइएको हुन्छ। कोहि व्यक्ति विदेशबाट १५ दिन पनि नेपालमा नरहने गरी फर्किनु भएको छ भने तपाईँहरुले आफ्नो फोनलाई MDMS मा दर्ता गराउनु पर्छ भन्ने छैन। किनभने १५ दिन सम्ममा तपाईँहरुले आफ्नो फोनको नेटवर्क सुविधा प्रयोग गर्न सक्नुहुनेछ।

१५ दिन पछाडि मोबाइल फोनमा कन्ट्रि लक (country lock) लागेतापनि यतिबेला सम्म ती व्यक्तिहरु फर्किसक्नुभएको हुन्छ। तर कुनै व्यक्ति नेपालमा १५ दिन भन्दा बढी बस्ने गरी आउनुहुन्छ भने चाहिँ उक्त व्यक्तिले MDMS मा आफ्नो दर्ता गराउनुपर्ने हुन्छ। यदि १५ दिन भित्रमा यसो गरिएन भने मोबाइलमा कन्ट्रि लक लाग्छ र मोबाइलको सधुपयोग गर्न पाइँदैन।

त्यसै गरी कोहि विदेशी नागरिक पनि नेपाल घुम्ने हिसाबले आउनुभएको छ भने वहाँहरुलाई पनि MDMS मा फोन दर्ता गराउनुपर्ने नियम लागु हुन्छ।  

विदेशबाट आउने व्यक्तिलाई MDMS प्रणालीमा मोबाइल फोन दर्ता गर्न के-कस्ता कागजात चाहिन्छन्?

नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले देहाय बमोजिमका कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

  • राहदानी/नागरिकता |
  • डिपार्चर स्ट्याम्प (Departure Stamp) र एराइभल स्ट्याम्प (Arrival Stamp) देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास |

MDMS प्रणालीमा मोबाइल फोन कसरी दर्ता गर्ने ?

MDMS प्रणालीमा मोबाइल फोन दर्ता गराएन भने यसले के गर्छ भन्ने कुराको जानकारी त यहाँहरुला पाउनुभयो। तर आफ्नो मोबाइल फोनलाई MDMS प्रणालीमा कसरी दर्ता गराउने त? 

आफ्नो फोनलाई MDMS प्रणालीमा दर्ता गर्न निम्नलिखित स्टेपहरु हेर्नुहोस्।

१) नेपाल सरकारले MDMS प्रणालीको लागि तयार पारेको लिंकमा प्रवेश गर्नुहोस्।

MDMS home page

२) यस पेजमा तपाईँहरुले थोरै तलतिर स्क्रोल गर्नुभएपछि आफ्नो मोबाईलको IMEI MDMS मा दर्ता भए/नभएको हेर्नुहोस् लेखिएको देख्नुहुनेछ।

यो लेखिएको ठाउँको ठ्यक्क तल तपाईँहरुले एउटा बक्स देख्नुहुनेछ। यस बक्समा आफ्नो मोबाइल फोनको IMEI नम्बर हालेर बक्साको तल रहेको खोज्नुहोस् लेखिएको बटनमा क्लिक गर्नुहोस्।

IMEI MDMS registration search

आफ्नो मोबाइलको IMEI नम्बरको तपाईँहरुले मोबाइल खरीद गर्दा आएको मोबाइलको बट्टामा पनि भेट्नसक्नुहुनेछ। या आफ्नो मोबाइलमा *#06# डायल गर्नुभयो भने पनि तपाईँहरुले आफ्नो मोबाइलको IMEI नम्बर हेर्न सक्नुहुनेछ।

३) यदि तपाईँहरुको मोबाइल फोन पहिला नै MDMS मा दर्ता भइसकेको छ भने तपाईँहरुले तपाईँको मोबाइल NTA को MDMS मा दर्ता भैसकेको छ भन्ने मेसेज देख्नुहुनेछ। यस्तो मेसेज देख्नुभयो भने तपाईँहरुले अन्य केहि काम गर्नुपर्ने छैन।

mobile registered

तर यदि तपाईँहरुको फोन MDMS मा दर्ता भएको छैन भने तपाईँहरुले तपाईँको मोबाइल NTA को MDMS मा दर्ता भएको छैन। दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् भन्ने मेसेज देख्न सक्नुहुनेछ।

mobile not registered

४) अब तपाईँहरुले आफ्नो फोनलाई MDMS प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ। यसको लागि तपाईँहरु MDMS प्रणाली वेबपेजको अन्त्यमा आउनुहोस्। यहाँ तपाईँहरुले Useful Links अन्तर्गत Registration Portal लेखिएको देख्नुहुनेछ। यसमा क्लिक गर्नुहोस्।

registration portal

५) यति गर्नुभएपछि तपाईँहरु Welcome to MDMS Registrations Portal भन्ने पेजमा प्रवेश गर्नुहुनेछ। यहाँ तपाईँहरुले चारवटा विधाहरु देख्नुहुनेछ।

MDMS registration portal

तपाईँहरुले विदेशबाट व्यक्तिगत प्रयोजनको लागी ल्याउनुभएको फोनको लागि रेजिस्टर गर्दै हुनुहुन्छ भने यहाँबाट Individual Registration भित्र रहेको Click here to register लेखिएको बटमा क्लिक गर्नुहोस्। 

यदि यसो हैन र श्रम स्वीकृति सहित ६ महिना काम गरेर आफूसँग थप १ थान मोबाइल थान ल्याउनुभएको छ भने यहाँबाट Pre Registration अन्तर्गत Click here to register लेखिएको बटनमा क्लिक गर्नसक्नुहुनेछ।

त्सैगरी नेपाल भित्र ग्रे फोन चलाउँदै हुनुहुन्छ र असार मसान्तसम्म तिर्न खोज्दै हुनुहुन्छ भने यसको लागि Grey Registration अन्तर्गत Click here to register लेखिएको बटनमा क्लिक गर्नुहोस्। यहाँ तपाईँहरुलाई Grey Registration को लागि उदाहरण देखाइएको छ।

६) Grey registration अन्तर्गत click here to register मा क्लिक गर्नुभएपछि तपाईँहरु Grey listed mobile registration भन्नर पेजमा प्रवेश गर्नुहुनेछ।

यहाँ तपाईँहरुले स्क्रोल डाउन गर्नुभयो एउटा फर्म देख्नुहुनेछ। यो फर्म भरेर फर्मको अन्तिममा रहेको Proceed to next step बटनमा क्लिक गर्नुहोस्।

grey phone form fill

फर्म भर्दा तपाईँहरुले * चिह्न लागेका बक्सहरु भर्नै पर्नेहुन्छ र * चिह्न नलागेको बक्सहरु नभर्दा पनि केहि फरक पर्ने छैन।

यहाँ तपाईँहरुले IMEI नम्बर *#06# डायल गरेर थाहा पाउन सक्नुहुनेछ भने मोडल नम्बर माथि लेखिएको स्टेप ३ बाट थाहा पाउन सक्नुहुनेछ।  तर Brand र Model फिल्डहरु IMEI नम्बर भर्नुभएपछि स्वतः अपडेट हुन्छ।

७) यस पछाडि तपाईँहरु Applications Details पेजमा पुग्नुहुनेछ जहाँ तपाईँहरुले भर्खरै भर्नुभएको फर्मको डिटेलहरु हेर्न पाउनुहुनेछ।

यदि डिटेल चेक गर्ने क्रममा कुनै डिटेल मिलेको छैन भने तपाईँहरुले यस पेजको माथि रहेका Reset form वा Return मा क्लिक गर्नुभएर फेरी एप्लिकेसन फर्म सँच्याउन सक्नुहुनेछ।

यहाँका डिटेलहरु सबै चेक गर्नुभएर मिल्छ भन्ने सुनिश्चित हुनुभएपछि Proceed to payment बटनमा क्लिक गर्नुहोस्।

application detail check and proceed payment

८) यस पछाडि तपाईँहरु रकम भुक्तानी गर्ने पेजमा पुग्नुहुनेछ। यस पेजमा तपाईँहरुले भुक्तानी कर्ताको विवरण अन्तर्गत फर्ममा भर्नुभए अनुसारको डिटेल देख्न सक्नुहुनेछ भने यस विवरणको ठ्याक्कै तल एउटा टेबलमा बुझाउनु पर्ने रकमको विवरण पनि देख्न सक्नुहुनेछ।

payment page

यहाँ माथि पनि उल्लेख गरिए अनुसार १ लाख भन्दा बढी मूल्य पर्ने मोबाइल फोन रहेको हुनाले रकम अन्तर्गत १०,००० लेखिएको देख्न सकिनेछ।   

यस पेजमा टेबलको दायाँ तिर हेर्नुभयो भने तपाईँहरुले रकम भुक्तानी गर्ने विकल्प छान्नुहोस् भन्ने शीर्षक अन्तर्गत eSewa, Khalti र connectIPS गरी तीनवटा अपसन रहेको देख्नुहुनेछ।

यहाँबाट आफूलाई शुलभ हुने माध्यम छानेर १०,००० रकम दर्ता गरी नीलो रङको बटनमा लेखिएको रकम भुक्तानी गर्नुहोस्मा क्लिक गर्नुहोस्। यति गर्नुभएपछि तपाईँहरुले मोबाइल अनुसारको महसुल तिर्नुभएर आफूसँग रहेको ग्रे फोनलाई MDMS मा दर्ता गर्न सक्नुहुनेछ। 

केहि गरी पेमेन्ट गर्न मन बदलियो भने नीलो बटनको छेउमा रहेको रातो बटनमा लेखिएको क्यान्सल गर्नुहोस्मा पनि क्लिक गर्न सक्नुहुनेछ।

यसै गरी तपाईँहरुले Individual Registration र Pre Registration को लागि पनि फर्म भरेर मोबाइल फोनलाई MDMS मा दर्ता गराउन सक्नुहुनेछ। 

 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.