के प्रविधिले जीवन सहज बनाएको छ त ? 

Has technology made life easier

शीर्षक पढ्नासाथ तपाईँलाई लाग्यो होला कि यो कस्तो खालको प्रश्न हो ? किनकी यो प्रश्नको जवाफ जोकसैलाई पनि थाहा छ । जो कसैले पनि सजिलै भन्न सक्छ कि प्रविधिले निस्सन्देह हाम्रो जीवनलाई धेरै तरिकाले र धेरै मामिलामा कायापलट नै गरेको छ भनेर । हामीले सञ्चार गर्ने र जानकारी पहुँच गर्ने तरिकादेखि हामीले यात्रा गर्ने र काम गर्ने तरिकासम्म। 

यसले कार्यहरूलाई सजिलो, थप प्रभावकारी र थप सुविधाजनक बनाएको छ। तर, प्रविधिको प्रभाव सधैं सकारात्मक हुन्छ भन्ने चाहीँ हुँदैन। यस लेखमा, हामी यसको आधुनिक चुनौतिहरू र हामीले यसलाई कसरी प्रयोग गर्छौं भन्ने कुरालाई मनन गर्दै, प्रविधिले जीवनलाई सजिलो बनाएको छ कि छैन भन्ने प्रश्नको अन्वेषण गर्नेछौं। 

थुप्रै तरिकाहरू र अवस्थाहरू छन् जसमार्फत् प्रविधिले जीवनलाई सजिलो बनाएको छ। सबैभन्दा महत्त्वपूर्ण मध्ये एक संचार माध्यम हो। इन्टरनेट, सामाजिक सञ्जाल र स्मार्टफोनको आगमनसँगै अब संसारभरका मानिसहरूसँग एकैछिनमा जोडिन सम्भव भएको छ। 

यसले साथीहरू र परिवारसँग सम्पर्कमा रहन, सहकर्मीहरूसँग सहकार्य गर्न र प्रेम वा विवाहको लागि साथी फेला पार्न सजिलो बनाएको छ। हामीलाई नयाँ कुराहरू सिक्न, समस्याहरू समाधान गर्न र सुसूचित निर्णयहरू गर्न सहयोग गर्दै, सजिलैसँग जानकारीमा पहुँच गर्ने क्षमता प्रदान गर्नु पनि प्रविधिको ठूलो फाइदा भएको छ।

प्रविधिले जीवनलाई सजिलो बनाएको अर्को तरिका भनेको यातायात हो। कार, रेल, हवाइजहाज र यातायातका अन्य साधनहरूले हामीलाई टाढा-टाढाका ठाउँहरू भ्रमण गर्न र विभिन्न संस्कृतिहरू अनुभव गर्न सहयोग गर्दै छिटो र सजिलै यात्रा गर्न सम्भव बनाएको छ। यसले व्यापार, शिक्षा, र व्यक्तिगत विकासको लागि नयाँ अवसरहरू खोलेको छ।

तर, प्रविधिको प्रभाव सधैं सकारात्मक हुन्छ भन्ने हुँदैन। हामीले सामना गर्ने सबैभन्दा ठूला चुनौतीहरू मध्ये एक निरन्तरको हडबडाहट र व्याकुलता अनि सूचनाको बाढी हो । उदाहरणका लागि, सोसल मिडिया र इमेल सूचनाहरू चिन्ता र वेचैनीको ठूलो स्रोत हुन सक्छ किनकी यसले महत्त्वपूर्ण कार्यहरूमा ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ। 

अनलाइनमा उपलब्ध जानकारी र समाचारहरू आँखा चिम्लेर पत्याउनु पनि प्रत्युत्पादक हुन सक्छ । यसले तथ्यलाई कल्पनाबाट छुट्याउन वा कुन स्रोतहरूमा विश्वास गर्ने भन्ने निर्णय गर्न गाह्रो बनाउँछ।

त्यसका साथै प्रविधिको निरन्तर प्रयोगले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ। दिनभरि कम्प्युटरको अगाडि बस्दा ढाड र घाँटी दुख्ने, आँखा दुख्ने र अन्य शारीरिक समस्याहरू निम्त्याउन सक्छ। 

स्क्रिनबाट उत्सर्जित नीलो प्रकाश (blue light) ले हाम्रो निद्राको स्वरूपलाई पनि बाधा पुर्‍याउन सक्छ, जसले थकान र चिडचिडापन निम्त्याउँछ। यसैबीच, सामाजिक सञ्जाल र अन्य अनलाइन गतिविधिहरूको निरन्तर प्रयोगले चिन्ता, डिप्रेसन र अन्य मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

त्यसोभए, के प्रविधिले जीवनलाई सजिलो बनाएको छ? सीधा जवाफ हामीसँग छैन। यो कुरा मूलत: हामीले यसलाई कसरी प्रयोग गर्छौं भन्ने कुरामा भर पर्छ। 

प्रविधि हाम्रो जीवनलाई सजिलो र थप परिपूरक बनाउनको लागि एक शक्तिशाली माध्यम त हुन सक्छ, तर हामीले यसलाई सन्तुलित र सजग तरीकाले प्रयोग गर्छौं भने मात्र। हामीले प्रविधिको जोखिम र चुनौतीहरू बारे सचेत हुन आवश्यक छ, र तिनीहरूलाई न्यूनीकरण गर्न केही खास कदम चाल्न आवश्यक छ।

हामीले अन्यमनस्कता, सूचनाको बाढी, र इन्टरनेटको लतप्रति हाम्रो आफ्नै बानी र प्रवृत्तिहरू बारे सचेत हुन आवश्यक छ, र तिनीहरूलाई नियन्त्रण गर्न पर्याप्त कदमहरू चाल्न पनि। यो गर्ने एउटा तरिका भनेको हाम्रो प्रविधिको प्रयोगमा सीमा तोक्ने हो। 

यसको मतलब कामको समयमा सूचनाहरू बन्द गर्ने, हामीले सामाजिक सञ्जालमा बिताउने समय सीमित गर्ने वा सुत्ने समय अघि एक घण्टासम्म स्क्रिनको पूर्णत: बेवास्ता गर्नु हुन सक्छ। उदाहरणका लागि हामीलाई हाम्रो समय ट्र्याक गर्न वा हाम्रा कार्यहरूलाई प्राथमिकता दिन मद्दत गर्ने एपहरू प्रयोग गरेर।

प्रविधिको शक्ति प्रयोग गर्ने अर्को तरिका भनेको यसको नकारात्मक प्रभावलाई कम गर्दै हाम्रो मनोविज्ञान, समाज र दैनिक जीवनको लागि यसको फाइदाहरूमा ध्यान केन्द्रित गर्नु हो। उदाहरणका लागि, प्रविधि मानसिक स्वास्थ्य सुधार गर्नका लागि सशक्त उपकरण हुन सक्छ । 

थुप्रै त्यस्ता एपहरू छन् जसमार्फत तपाईँले चिन्तन, मनन, ध्यान, वा थेरापीमा प्रगति गर्न सक्नुहुन्छ। त्यस्तै हामीलाई समान विचारधारा भएका व्यक्तिहरूसँग जोड्न र राजनीतिक वा सामाजिक कामहरूका लागि संगठित गर्न सहयोग गरेर यो सामाजिक परिवर्तनको लागि प्रविधि एक शक्तिशाली उपकरण पनि हुन सक्छ।

यी बाहेक पनि अन्य थुप्रै तरिकाहरू छन् जसमा प्रविधिले हाम्रो समाज र दैनिक जीवनलाई असर गरेको छ। सबैभन्दा महत्त्वपूर्ण मध्ये एक यसले कामको प्रकृति नै परिवर्तन गरेको छ। 

प्रविधिले धेरै मानिसहरूलाई कार्यालयमा नगइकनै घरबाटै वा इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँबाट काम गर्न सम्भव बनाएको छ जसकारण काममा अधिक लचकता र कार्य-जीवनमा सन्तुलन आएको छ । 

यसले उद्यमशीलता र नवप्रवर्तन (innovation) का लागि नयाँ अवसरहरू पनि खोलेको छ, किनकि मानिसहरूले व्यवसाय सुरु गर्न र संसारको जुनसुकै ठाउँबाट ग्राहकहरूसम्म पुग्न सक्छन्।

यद्यपि, अटोमेशन र एआइको वृद्धिले रोजगारी विस्थापन र आम्दानीमा हुने असमानताको चिन्ता पनि निम्त्याएको छ। मेशिनहरू अझ उन्नत हुँदै जाँदा, मानिसले गरेको धेरै कामहरू अप्रचलित हुन सक्छन्, जसले आर्थिक अवरोध र सामाजिक अशान्ति निम्त्याउन सक्छ। 

तर त्यो बेकारको चिन्ता मात्र हो । मार्क्सले मशिनले मानिसको रोजगार खोस्ने भएकाले मजदुर र किसानले ठूलै दुख पाउने कुरा गरेका थिए र सोही अनुसार “कम्युनिष्टको घोषणापत्र” लेखेका थिए तर अहिले ७ अर्ब जनसङ्ख्या भएको विश्वमा रोजगारी नै धेरै छ र जीवनस्तर पनि अकासिएको छ ।

खासमा मशिनले जसरी मानिसको रोजगारी विस्थापित गरे पनि पहिले कहिल्यै कल्पना नगरिएका अन्य थप रोजगारीहरू सिर्जना गर्यो, ठिक त्यस्तै प्रविधिले पनि अहिले भएका थुप्रै रोजगारहरू प्रतिस्थापन गरे पनि अझ धेरै नयाँनयाँ रोजगारीहरू सिर्जना गर्नेछ ।

प्रविधिले हाम्रो समाजलाई प्रभाव पार्ने अर्को तरिका भनेको सामाजिक सञ्जाल र अनलाइन समुदायहरूको उदय हो। जबकि यी प्लेटफर्महरूमा मानिसहरूलाई एकसाथ ल्याउने र अर्थपूर्ण सङ्गतलाई सहज बनाउने क्षमता छ । यद्यपि तिनीहरू विभाजन र द्वन्द्वको स्रोत पनि हुन सक्छन्। 

सोसल मिडियामा प्रयोग भएका एल्गोरिदमहरूले हाम्रो पूर्वाग्रहहरूलाई अझै सुदृढ पार्न सक्छ र “इको चेम्बर” हरू सिर्जना गर्न सक्छ, जहाँ हामी केवल हाम्रो आफ्नै पूर्वाग्रह र पूर्वधारणाहरू मात्रै सुन्छौं। यसले राजनीतिक ध्रुवीकरण र नागरिक बहसमा विचलन ल्याउन हुन सक्छ।

यी चुनौतिहरूको बावजुद पनि के कुरा याद राख्नु महत्त्वपूर्ण छ भने प्रविधिमा हाम्रो जीवनलाई सजिलो र थप परिपूरक बनाउने क्षमता छ तर हामीले यसलाई जिम्मेवार तरिकाले प्रयोग गर्यौं भने। 

हाम्रा आफ्नै झुकावहरूलाई ध्यानमा राखेर र प्रविधिको हाम्रो प्रयोगमा सीमाहरू तय गरेर, हामीले हाम्रो मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्न, अरूसँग जोडिन र संसारमा सकारात्मक प्रभाव पार्न यसको शक्ति प्रयोग गर्न सक्छौं।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.